एन्फा निर्वाचनमा प्रतिबन्धित पूर्वअध्यक्ष थापाको छटपटी !

प्रकाश तिमल्सिना काठमाडौं – अपवाद बाहेक चैत १४ गते अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ नेतृत्व पाउनेछ । हरेक चार वर्षमा हुने निर्वाचनबाट पुरानैको नेतृत्वको निरन्तरता वा नयाँ नेतृत्व स्थापित हुनु स्वभाविक हुन आउँछ । एन्फाको नेतृत्व लिनका लागि स्पष्ट रुपमा दुईवटा प्यानल प्रचार प्रसारमा व्यस्त छन् ।
एउटा पक्षको नेतृत्व एन्फाका वरिष्ठ उपाध्यक्ष मणी कुँवरले र अर्कोको नेतृत्व एन्फाका पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले गरेका छन् । दुवैले तामझामका साथ अध्यक्षको उम्मेदवारी घोषणा गरेबाट पनि एन्फा अध्यक्ष पदक कति आकर्षक छ भन्ने अनुमान गर्न सकिन्छ । कुँवर र शेर्पाले आ आफ्ना एजेन्डा मात्र सार्वजनिक गरेका छैनन्, आरोप प्रत्यारोपमा पनि पर्याप्त समय खर्च गरेका छन् । परिवर्तनको नारा दिएपनि आलोचनाका मामलामा शेर्पा समूह अलि अगाडि नै छ ।

यहाँ सम्म सबै ठिकै लाग्छ । तर, यो सबै प्रक्रियामा सबैभन्दा बढी छटपटि कुनै एउटा व्यक्तिलाई भएको छ भने ती हुन् एन्फाका पूर्व अध्यक्ष गणेश थापा । एन्फा राजनीतिलाई नजिकबाट बुझ्नेलाई प्रष्ट छ, उनी यो निर्वाचनमा पनि उत्तिकै सक्रिय छन्, जति उनीको आफ्नो समयमा हुने गर्दथे । भ्रष्टाचारको अभियोगमा प्रत्यक्ष फुटबल गतिविधिबाट फिफाले उनलाई १० वर्ष प्रतिबन्ध लगाएको २ वर्ष भइसकेको छ । तर, यहाँ थापालाई रोक्ने कसले । एन्फा बाहिरबाट सबैभन्दा बढी सक्रिय उनै छन् । शेर्पा समूहले उनलाई निर्वाचन प्रभावित गर्न सक्रिय रहेको आरोप लगाउँदै आएको थियो । त्यसको पुष्टि थापा आफैले गरिदिएका छन् ।

उनले प्रष्ट पारेका छन्, हो म एन्फा निर्वाचनमा सक्रिय छु, मलाई कसैले रोक्न सक्दैन भन्ने प्रष्ट सन्देश दिएका छन् । यो साता उनले एउटा पत्रकार सम्मेलन गरेर भने, देशको फुटबल बिर्गेको म टुलुटुलु हेरेर बस्न सक्दिन ।’ हुन त पत्रकार सम्मेलन गर्नुको उद्देश्य नेपाल स्पोर्टस अर्गनाइजेसन गठनको सार्वजनिक गर्नु भनिएको थियो । तर, त्यहाँ नयाँ अर्गनाइजेसनमा भन्दा फुटबल र एन्फा निर्वाचनकै विषयमा थापाले समय खर्चे ।

थापाको अभिव्यक्तिबाट लाग्थ्यो, नेपाली फुटबलमा उनले सोचेको र भनेकै कुरा अन्तिम सत्य हो । उनको निष्कर्ष थियो, ‘कर्मा छिरिङ शेर्पा को नेतृत्व निर्वाचित भयो भने त्यो नेपाली फुटबलका लागि दुर्भाग्य हुनेछ ।’ उनको थप आरोप थियो, ‘शेर्पा निर्वाचित भएको खण्डमा एन्फा कुनै पार्टीको भातृ संगठन जस्तै हुनेछ ।’ थापाले कुनै पार्टीको नाम त लिएनन् , इशारा भने प्रष्ट थियो । शेर्पाको राजनीतिक संलग्नताका हिसाबमा उनी आउँदा नेपाली काँग्रेसको भातृ संगठन हुन्छ भन्ने उनको आरोप बुझ्न गाह्रो थिएन ।

राजनीतिक कारण देखाएपनि आफुविरुद्ध आन्दोलनको नेतृत्व गरेकै कारण शेर्पा एन्फा नेतृत्वमा नआउन भन्ने नै थापाको चहाना हो । शर्पा आउँदा उनले फुटबलमा अझै हार्नुपरेको मान्ने अवस्था बन्नेछ । आफ्नै नेतृत्वमा लामो समयमा एन्फामा बसेका शेर्पाबाट उनले आन्दोलनको कल्पना गरेका थिएनन् । अहिले त उनीहरका बीचमा व्यक्तिगत ओलोचना पनि त्यत्तिकै हुने गरेका छन् । २०५२ सालमा उनी आफै राजनीतिक भर्याङ चढेर एन्फा पुगेका थापाले अरुलाई राजनीतिक भातृ संगठन जस्तो हुन्छ भन्दा धेरैलाई अचम्म लाग्ने विषय भएन ।

आफ्नो समयमा राम्रो फुटबल खेलाडी थापा राजनीतिक शक्ति प्रयोग गर्न पनि माहिर थिए । २०७२ सम्म एन्फा नेतृत्वमा रहँदा समय अनुसार राजनीतिक शक्तिको प्रयोग गर्ने थापालाई कतिले खेलकुदका सबैभन्दा शक्तिशाली व्यक्तिका रुपमा हेर्थे । समय बदलियो, कुनै बेला सम्मानका साथ नाम लिइने थापालाई सामाजिक सञ्जालमा अहिले भ्रष्टाचारी भनेर आलोचना गर्ने पनि त्यत्तिकै छन् ।

पत्रकार सम्मेलनमा उनले आफुलाई फुटबलको गतिवधिबाट प्रतिबन्ध लागेपनि बोल्न प्रतिबन्ध नलागेको र निर्वाचनमा अझै सक्रिय हुने संकेत गरे । उनको भनाई थियो, ‘यो पनि नर्बिसिउ म देशका लागि स्वर्ण पदक जितेको खेलाडी हु । फुटबलको बारेमा बोल्ने हक म राख्छु । मलाई फुटबलको चिन्ता छ ।’ फुटबलमा आफ्नो योगदान कति थियो र छ भन्ने उनले दुई दशक अध्यक्ष हुँदा निकै पढाए, मौका मिल्दा अहिले पनि पढाउँछन् । कतिलाई त्यो स्वभाविक पनि लाग्छ । अहिले प्रचारको जमाना भएकोले आफ्नो कुरा आफैले भन्दा बढी न्याय गरे जस्तो पनि हुँदो हो ।

उनले नातामा सालो मणी कुँवरका लागि मत त मागेनन्, तर शेर्पा समूहलाई भोट दिन हुन्न भन्छु भन्नुको अर्थ कुँवरलाई नै जिताउ भन्ने थियो । थापा एन्फामा छैनन् । तर, व्यक्तिगत रुपमा एन्फा भित्र अहिले पनि उनै सबैभन्दा बढी प्रभाव राख्दछन् । उनले बोलेको कुराको फुटबल बृतमा अर्थ नहुने कुरै भएन ।

थापाको प्रतिबन्धपछि बाँकी अवधिका लागि गत वर्ष भएको निर्वाचनमा पनि थापा सबैभन्दा बढी सक्रिय थिए । उनलाई सफलता पनि मिल्यो । उनले अघि बढाएका नरेन्द्र श्रेष्ठ अध्यक्ष र कुँवर उपाध्यक्षमा निर्वाचित भए । अध्यक्षमा शेर्पा तथा उपाध्यक्षमा दीपक खाती र उपेन्द्रमान सिंह पराजित भए । त्यसले थापाको हौसला बुलन्द नबनाउने कुरै भएन । एन्फामा आफैले चाहेको हुनेमा उनी थप ढुक्क भए । तर, एक वर्षमा फुटबल राजनीतिको को समिकरणमा निकै फेरबदल आएको छ । हिजो सम्म थापाको इच्छालाई आदेश मान्ने थुप्रै शेर्पा समूहमा पुगेका छन् ।

थापाकै योजनामा एन्फाको मानार्थ अध्यक्ष बनाइएका तासी घले, पूर्व खेलाडी विज्ञान शर्मा, पूर्व सिइओ इन्द्रमान तुलाधार, उपाध्यक्ष वीरबहादुर खड्का, सदस्य रत्न श्रेष्ठलगायत अरु पनि शेर्पालाई अध्यक्ष बनाउने अभियानमा लागेका छन् । सायद अर्को पक्षमा रहेका र गएका सबैलाई एकमुष्ट जवाफ दिन उनले फरक प्रसंगमा राखेको पत्रकार सम्मेलनमा त्यसको भरपुर उपयोग गरे ।

अर्गनाइजेसनको प्रष्ट खाका केहि नभएपनि केहि व्यक्तिगत खेलका खेलाडी उत्पादन गर्ने योजना, पुराना खेलाडीलाई सम्मान गर्ने र तीन महिना भित्र ब्याडमिन्टनको ठूलो प्रतियोगिता आयोजना गर्ने लक्ष्य राखिएको सुनाउनका लागि मात्र पत्रकार सम्मेलन गरिएको थिएन । खास मक्सद फुटबलकै बारेमा बोल्नु थियो । उनले बोले पनि । आफ्नो समय देखिको अहिलेको अवस्था सम्मको सबै कुरा गर्न भ्याए ।

शेर्पा समूहले अघि सारेको परिवर्तनको एजेन्डामा पनि उनले मजैले चुस्की लिए । आफैसँग काम गरेका र आफैले एन्फामा हुर्काएकाले अहिले परिवर्तनको एन्जेडा बोक्नुलाई उनले निकै हल्का रुपमा प्रस्तुत गरे । लाग्थ्योकी परिवर्तनको नारा अघि सार्नै हुन्नथ्यो । आफ्नो पालामा भएभन्दा फरक गरे देखाउन सकेमात्र परिवर्तन मान्न सकिने उनको भनाई थियो ।

अर्को एन्फा भवन बनाए, लिगको पुरस्कार राशी १ करोडबाट २ करोड बनाए, राष्ट्रिय खेलाडीको तलब १५ हजारबाट बढाए, क्लबलाई सुविधा थपे मात्र त्यसलाई परिवर्तन भन्न सकिने उनको तर्क थियो । शेर्पा वाला समूहले पनि थापाका विषयमा धेरै बोल्न पर्ने कारण छैन । परिवर्तनको एजेन्डा स्थापित गर्न थापाको आलोचना गर्न आवश्यक छैन । थापा आफ्नो गल्तिमा जहाँ हुनु पर्ने थियो, त्यहाँ पुगेका छन् । त्यसमा अहिले पनि उनीलाई नै शक्ति मानेर डराउनु भनेको आफु र मतदातामा विश्वास नहुनु हो । जसले जे भने पनि जिल्ला, क्लब र समितिका प्रतिनिधिले मतदान गर्ने एन्फा निर्वाचनमा बाहिरको हल्लाले मात्र धेरै प्रभाव पार्ने देखिन्न ।

हिजो सम्म एन्फामा एक्लो रवाफ जमाएका थापाले फुटबलको कुरा गर्न अर्को बाटो लिनुपर्ला कसले सोचेको थियो र ? अरुको आलोचना गर्दा उनी आफु किन फुटबलबाट बाहिरिनु पर्यो भन्ने बिर्सन्छन् । एन्फा र आफ्नाविरुद्ध आलोचना र आन्दोलन हुँदा फिफा र एएफसीले प्रतिबन्ध लगाउने सक्ने धम्की दिने उनै हुन् । फिफा एएफसीमा उनको जति पहुँच नेपालमा कसैको थिएन, उनले भनेकै कुरा अन्तर्राष्ट्रिय निकायको आदेश बुझ्न पर्ने परिस्थिति बनाइएको थियो ।

कलान्तरमा त्यहि फिफाले उनीमाथि भ्रष्टाचारको अभियोग लगायो र प्रतिबन्ध लगायो । देश भित्र एन्फाको जाँचबुझ गर्न पटक पटक बनेको समितिबाट सफाई पाएको ठूलो आवाजमा भन्दै आएका थापा फिफाबाट भ्रष्टाचारको अभियोगमा परेको किन बिर्सन्छन् । हिजो उनले सबैभन्दा बढी ढालका रुपमा प्रयोग गरेकै निकायले उनलाई भ्रष्टाचारको अभियोग लगाएको हो । देश भित्र एक रुपैयाँ भ्रष्टाचार नगरेको दाबी गर्ने उनी फिफाको विषयलाई चटक्कै बिर्सन खोज्छन् । तर, आफ्नै कारण अहिले उनीमाथि भ्रष्टाचारको टिका त लाग्यो । त्यसलाई उनले ढाकछोप गरेर सक्ने अवस्था छैन । त्यसमा भन्छन्, ‘त्यसमा जसलाई जे सोच्न मन लाग्छ सोच्दा हुन्छ मेरो केही भन्नु छैन । तर देश भित्र मैले केहि नराम्रो गरेको छैन ।’

घाम जत्तिकै छर्लङ छ प्रतिबन्धमा नपरेको भए अहिले पनि एन्फा अध्यक्षमा उनै हुने थिए । तर, अहिले पनि आफैले चाहेको व्यक्ति हुनुपर्ने मात्र होइन उनलाई स्थापित गर्न आफु अझै सक्रिय हुने संकेत गर्छन् । फुटबलबाट उनलाई कसैले हटाएको हुँदै होइन । उनी आफ्नै कारण हट्नु परेको हो । फिफाको अनुसन्धानमा उनी भ्रष्टाचारी भएका हुन् । त्यसका विरुद्ध जाने कानुनी बाटो नलिनुले पनि उनी दोषी थिए भन्ने नै हुन्छ ।

नैतिकताको खडेरी परेको देशमा प्रतिबन्धलाई पुरै वेवास्ता गर्दै म फुटबल विषयमा बोल्छु , आफुलाई लागेको गर्छु भन्नु व्यवस्थापिका सांसद भइसकेको व्यक्तिका लागि शोभा दिने भएरै बोलेका होलान् । इतिहास बदलिदैन । थापाले खेलाडी र व्यवस्थापकका रुपमा ३५ वर्ष फुटबलमा रहे । इतिहासमा उनको मुल्याङकन हुँदै जानेछ नै ।

यो साढे तीन दशक सबैभन्दा बढी कसैको चर्चा हुन्छ भने त्यो थापा नै हुन् । अभिभावक भएर एन्फाबाट बारिहने मौका गुमाइसकेका थापाले फेरि निर्वाचनमा सक्रिय भएर सहानुभुती राख्नेलाई पनि दुश्मनको कित्तामा पुराउने काम नगरेकै बेस । उनले भविष्यमा प्रतिबन्धमुक्त पछि पनि एन्फामा फर्कने इच्छा रहेको त्यहि पत्रकार सम्मेलनमा बताए । उनले त्यो इच्छा पनि राख्न पाउँछन्, तर त्यसका लागि प्रतिबन्धमुक्त हुने समय सम्म त धर्यता राख्नै पर्यो ।

उनले त्यहि कार्यक्रममा शेर्पा सच्चेर आए उनलाई नेतृत्वमा स्वीकार्न सक्ने बताएका छन् । सबै पक्षलाई समेटेर अघि बढ्न सुझाव पनि दिन भ्याए । निर्वाचनबाट जो आएपनि आउने चार वर्षलाई मान्नुको विकल्प कोहीसँग छैन । थापाले मणी र कर्मा जो आएपनि आफ्ना लागि बराबर भएको पनि भने । भन्नका लागि भने पनि जो आएपनि नेपाली फुटबलको राम्रो होस् भन्ने कामना सम्म गर्दा थापालाई कसैले अन्थया लिने छैनन् । तर,फुटबलका विषयमा बोल्ने र सक्रिय हुने नैतिक धरातल थापाले गुमाइसकेका छन् ।

प्रकाशित मिति १९ फाल्गुन २०७४, शनिबार २२:१६