एभरेष्ट अल्ट्रा ट्रेल रेस दोलखामा सुरु, ११ देशका ४१ प्रतिष्पर्धी भिड्दै

चरिकोट : पूर्वी दोलखाको पर्यटकीय नगरी जिरीमा बिहीबारदेखि अन्तर्राष्ट्रियस्तरको एभरेष्ट अल्ट्रा ट्रेल रेस प्रतियोगिता सुरु भएको छ । प्रथम पटक सगरमाथा आरोहण गर्ने तेञ्जीङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले प्रयोग गरेको ट्रेकिङ रुटलाई जीवन्त राखि उनीहरुको सम्मान गर्न यो जोखिमपूर्ण रेस आयोजना गरिएको हो ।

एक हजार ९ सय ५३ मिटरको उचाईमा रहेको जिरीबाट बिहान ९ बजे सुरु भएको अल्ट्रा ट्रेल रेसमा नेपालसहित ११ देशका ४१ प्रतिष्पर्धीहरुले भाग लिएका छन् । विश्वको जोखिमपूर्ण उत्कृष्ट १० रेसमध्ये पर्ने यो रेसको जिरी नगरपालिकाका मेयर टंक जिरेलले रिबन काटेर उद्घाटन गरेका छन् ।

पर्यटनको दिगो विकास, संरक्षण र प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिले सन् २०११ देखि यो अन्तर्राष्ट्रियस्तरको रेस प्रतियोगिता आयोजना गरिरहेको छ । जिरीबाट सुरु भएको दौड बिहीबार बेलुकी रामेछाप जिल्लाको बाम्ती भण्डार पुग्ने आयोजक अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिका प्रमुख कामी शेर्पाले जानकारी दिए ।

६ दिन लगातार चल्ने रेस सोलुखुम्बुको पीके, नाम्चे र तेङ्बोचे हुँदै लुक्ला पुगेर कात्तिक २७ गते पुरा हुनेछ ।

प्रतियोगितामा नेपालसहित ११ देशका ७ महिला र ३४ पुरुष गरी कूल ४१ जनाले प्रतिष्पर्धा गरिरहेको आयोजक शेर्पाले जानकारी दिए । त्यसमा २ महिलासहित ४ नेपालीले पनि प्रतिष्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा अमेरिका, इंगल्याण्ड, स्वीजरल्याण्ड, स्पेन, पोर्चुगल, व्रिटेन, नेदरल्याण्ड, अष्ट्रेलिया, मेक्सीको, टर्कीलगायत नेपालका धावकहरु सहभागी छन् । प्रतियोगितामा पुरुष र महिलाको छुट्टा–छुट्टै मूल्याङ्कन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेहरुले जनही क्रमशः एकलाख ५० हजार, एकलाख २० हजार र एकलाख नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।
-annapurna post

प्रकाशित मिति २२ कार्तिक २०७५, बिहीबार १६:३८