एलडिपीको अध्यक्षमा वर्तमान मन्त्रिपरिषदको मुख्य सचिव सुगा विजयी

टोकियो – आज सोमवार भएको जापानको सत्ताधारी दल लिबरल डेमोक्र्याटिक पार्टीको अध्यक्षको चुनावमा वर्तमान मन्त्रिपरिषदको मुख्य सचिव रहेका योशिहिदे सुगा विजयी भएका छन् ।

यससंगै एलडीपीको नेतृत्वको विजेता योशिहिदे प्रधानमन्त्री शिन्जो आबेको उत्तराधिकारी बनेका छन् र सेप्टेम्बर १६ मा संसदमा प्रधानमन्त्री बन्न सक्नेछन् । आबेका विश्वास पात्रका रुपमा रहेका योशिहिदे सुगाले सरकारले यसअघि लिएको नीतिलाई निरन्तरता दिने बताइएको छ । एक स्ट्रबेरी किसान परिवारबाट जापानी राजनीतिमा उच्च नेतृत्वमा पुग्न सफल ७१ वर्षीय सुगालाई जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिकले एक बर्षका लागि अर्को अध्यक्षको रुपमा नियुक्ति गरेको हो । तीन उम्मेद्वार पूर्व रक्षामन्त्री इशिबा शिगेर , पूर्व विदेशमन्त्री फुमिओ किशिदा र मुख्य क्याबिनेट सचिव योशिहिदे सुगाले पार्टीको अध्यक्ष हुने आशामा गत मंगलबार देखि औपचारिक अभियान सुरु गरेका थिए ।

पार्टीको सांसदहरु र स्थानीय एलडीपी प्रतिनिधिहरुबाट गरी सुगाले ३७७ मत , किशिदाले ८ ९ मत र इशिबाले ६८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति २९ भाद्र २०७७, सोमबार १७:३९