ओलीको प्रवृत्ति गोमन सर्पको जस्तो छ : चन्द्रप्रकाश मैनाली


काठमाडौं । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता घोषणा भएर नेकपाको सरकार बनेको दुई वर्ष बितेको छ । नामले कम्युनिस्ट पार्टीको सरकार छ तर यसले जे–जस्तो सिद्धान्त, नीति र विचार तथा योजना अघि सारेको छ, तिनलाई अध्ययन गर्ने हो भने माक्र्सवादबाट धेरै टाढा गएको छ । र, यसलाई सैद्धान्तिक राजनीतिक कोणबाट हेर्ने हो भने कम्युनिस्ट सरकार भन्नै सकिदैन ।
पहिलो कुरा, सत्तारुढ नेकपाको समाजको विश्लेषण नै मनोगतवादी छ । राजतन्त्र गइसकेपछि सामन्तवाद सकियो, हामी पूँजीवादमा छौँ, अब समाजवादमा जाने हो भनेका छन् । जबकि हेर्ने हो भने अहिले पनि हाम्रो अर्थतन्त्र रेमिट्यान्समा आधारित नै छ । अझै पनि औद्योगिक अर्थतन्त्र बन्न सकेको छैन । यसलाई अर्को अर्थमा भन्दा परावलम्बी अर्थतन्त्रभन्दा पनि हुन्छ । राष्ट्रिय पूँजीको अवस्था अत्यन्त कमजोर छ ।

कृषि, पर्यटनजस्ता सेवा क्षेत्रबाट पैदा हुने, लघु तथा मझौला उद्योगबाट पैदा हुने पूँजी कमजोर बन्दै गएको छ । हाम्रै समाजबाट पैदा भएको पूँजी कमजोर भएपछि दलाल पूँजीवाद, कमिसन पूँजीवाद हावी भएको छ । पछिल्लो समय सरकारकै चासोमा बनेको क्रोनी पूँजीवाद छ । नेपालको उत्पादनको ढाँचालाई हेरेर भन्ने हो यस्तोखाले पूँजीवाद सुगौली सन्धीबाट नै आएको भन्न सकिन्छ । तर पूँजीवाद नै खडा भने दोस्रो विश्वयुद्धपछि भएको हो । पछि २०४६ सालको परिवर्तनपछि जुन ढंगले निजीकरण र उदारिकरणमा नेपाली काँग्रेस लाग्यो र तत्कालीन एमाले पनि त्यसैको पुच्छर बनेर गयो, जसले यहाँ भएका औद्योगिक क्षेत्र घट्दै गयो । सारमा भन्नुपर्दा उद्यमशीलता घटेको छ, दलाल र व्यापारिक पूँजी हावी भएको छ । जसले हालको नेकपालाई विनासको डिलमा पु¥याइरहेको छ । अहिलेको कम्युनिस्ट पार्टी र त्यस नेतृत्वको सरकारले नै त्यस्तो पक्षलाई साथ दिइरहेको छ ।

मानिसको आशा थियो कि यो सरकारले सही नीति लेला र जनजीविकाका साथै राष्ट्रिय पूँजी बढ्ला, देश र जनताको मुहार फेरिएला । तर सरकारले उल्टो बाटो हिँड्दा त्यो आशा र अपेक्षामा ठेस लागेको छ । जनतन्त्र, जनजीविका र अर्थतन्त्रको विकास तथा राष्ट्रियताको प्रबद्र्धन गर्ने काममा सरकार चुक्दै गएको छ । यसमा खास पात्र र प्रवृत्तिको दोष छ ।

भड्खालोमा फसेका छौँ

दोस्रो विश्वयुद्ध, त्यसमा पनि चिनियाँ क्रान्तिपछि विश्वमा रुस र चीनपछि इण्डोनेसियाको कम्युनिस्ट पार्टी सबैभन्दा बलियो थियो । तर ०६४ मा पुगेर त्यो समाप्तजस्तै भयो । अहिले त त्यहाँ कम्युनिस्ट पार्टीले टाउको नै उठाउन सकेको छैन । नेपालमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी गठन भयो । त्यसमा पुष्पलालले कैयौँ आधारभुत कुराहरु अघि सारेका थिए । त्यसले समाज सुधार र सकारात्मक पक्ष पनि दिएको छ । तर चीन, रुस र भियतनामभन्दा नेपाल भिन्न विशेषता बोकेको देश हो । नेपालका परिवर्तनका विशिष्ठतालाई नचिन्दा हामी भड्खालोमा फसेका छौँ ।

हो, अहिले नेपालमा नेकपा ठूलो पार्टीका रुपमा छ । तर त्यस पार्टीको गुदीमा कम्युनिस्ट माक्र्सवादका कुराहरु २०४९ सालदेखि घट्दै गएर बाँकी नै रहेको छैन भन्दा पनि हुन्छ । यसले कम्युनिस्ट पार्टीको चरित्र त गुमायो नै, आफ्ना स्ट्रेन्थ पनि गुमाउने खतरामा उभिएको छ ।

बाह्य शक्तिले सत्तारुढ र प्रतिपक्ष दललाई खेलाइरहेका छन् । अर्को वैकल्पिक शक्ति आइनसकेको अवस्थामा सत्तारुढ नेकपाले कमाएको प्रतिष्ठा सकिने र नेपाली कम्युनिस्ट आन्दोलन अत्यन्त ठूलो भड्खालोमा फस्ने स्थिति बन्दै गएको छ । यसको जिम्मा यो पार्टीको नेतृत्व गर्ने नेताले लिनुपर्छ । सरकार र पार्टी दुवैको नेतृत्व गर्ने नेता केपी शर्मा ओली भएकाले उहाँले त्यो जिम्मेवारी लिनुपर्छ । केपी ओलीका कयौँ कमजोरीले पनि अहिले यो पार्टी कमजोर बन्दै गएको छ । सरकारप्रति विश्वास घट्दै गएको छ ।

नेतृत्वको सोच र दृष्टिकोण

नेतृत्वको दृष्टिकोण, सोच, शैली, व्यवहार, कार्यक्षमताले पार्टीको प्रगति वा अवनतिमा ठूलो भूमिका खेल्छ । अहिले नेकपाका अध्यक्ष र प्रधानमन्त्रीसमेत रहेका केपी ओलीको ‘आलोचना सुन्न र सहन नसक्ने’ प्रवृतिबारे बहस भइरहेको छ । ओलीका कमजोरीका कारण नेकपा संख्यात्मक रुपमा ठूलो भए पनि गुुदीको हिसावले सकिन लागेको छ नै, संख्यात्मक रुपमा पनि सकिने हैसियतमा पुगेको छ ।

हुन त केपी ओलीमा एउटा राम्रो गुण पनि छ । त्यो गुणले कहिले राम्रो परिणाम पनि दिन्छ, कहिले नराम्रो परिणाम पनि दिन्छ । त्यो के हो भने, ओली आफुले आन्तरिक रुपमा जुन निर्णय गर्छन्, जे उद्देश्य राख्छन्, जुन ध्येय राख्छन्, त्यसलाई पूरा गर्न उनी एकदमै एकोहोरो भएर लाग्छन् । अहिले पनि लागिरहेका छन् । त्यो उनको व्यवहारमै पनि देखिन्छ । यदि उनको आन्तरिक, निर्णय, उद्देश्य र ध्येय राम्रो हुन्थ्यो, पार्टीका निम्ति, जनता र राष्ट्रका निम्ति राम्रो हुन्थ्यो भने त्यसरी एकोहोरिएर लाग्ने गुणले देशलाई राम्रै गर्दथ्यो । तर उनले जे जति निर्णय गरेका छन्, ती सैद्धान्तिक राजनीतिक रुपमा गलत छन् । उनको उद्देश्य भनेको सत्तामा टिकिरहने मात्रै छ । त्योे ध्येय पूरा गर्न उनले धेरै गलत तौर तरिकालाई अवलम्बन गरिरहेका छन् । ओलीको यो एकोहोरोपन आफ्नै आन्तरिक उद्देश्य पुरा गर्न केन्द्रित हुँदा नेकपालाई विनाशको डिलमा उभ्याइदिएको छ ।

ओलीको स्वभाव

यो बाहेक अरु सबैले र मैले पनि झापा आन्दोलनदेखि महशुस गरेको कुरा के हो भने ओलीमा बठ्याइँले अरुलाई मख्खपार्ने प्रवृति थियो । यही कारण उनलाई अहिले आएर कतिपय मानिसले ‘गफाडी प्रवृत्ति’को पनि भन्छन् । ‘उखान टुक्के’ पनि भन्छन् । तर पहिला पनि उनमा त्यो प्रवृत्ति नभएको होइन ।

उनमा अर्को विशेषता पनि छ, हाजिरजवाफी वा ओठे शैली । केही बोले भने ओठे जवाफ दिइहाल्छन् । प्रतिपक्ष वा सामान्य नागरिकले कुनै कुरा उठायो, आलोचना ग¥यो या भिन्न मत राख्यो भने तुरुन्तै जवाफ दिइहाल्ने उनको शैली छ । त्यो शैली केपी शर्मा ओलीमा अहिले पनि देखिइरहेको छ । यसले नेकपाका समर्थक बढाउने होइन, घटाउने काम गरिरहेको छ ।

अर्को कुरा, ओली हिजो हामी ‘महाएक्सन’मा लाग्दा पनि यो कारण वा ऊ कारणले सकिनँ भनेर भन्थे । झापामा सुखानी काण्डपछि यो कारणले टिक्न सकिनँ भनेर २०३० फागुनतिर जिल्ला नै छाडेर लखनउ पुगे । पछि फर्कने क्रममा रौतहटमा समातिए । बहाना बनाउने उनको कला छ । बहाना बनाउन ओली चतुर छन् । आफुले जे जति गलत कुरा गरे पनि पुष्टि गर्न हजारवटा बहाना बनाउन सक्छन् । त्यो क्षमता ओलीमा छ । त्यो मैले पहिले पनि देखेको छु, अहिले पनि देखिरहेको छु ।

त्यतिमात्रै होइन, उनमा एकपाखे प्रवृत्ति पनि छ । केपी ओलीले कुनै एउटा राम्रो पक्ष देखे भने नराम्रो देख्दै देख्दैनन् । नराम्रो देखे भने राम्रो देख्दै देख्दैनन् । उनमा माक्र्सवादीमा हुनुपर्ने आधारभूत दृष्टिकोण नै छैन । यसले गर्दा अहिले उनले आफु नजिकका मानिसहरु जतिसुकै अयोग्य, स्वार्थी, पापी, लोभी भए पनि नैतिकवान र चरित्रवान देख्छन् । पछिल्लो पटक जति पनि उनका नजिकका मानिसहरुमाथि भ्रष्टाचार केसमा आरोप लाग्यो, राजीनामा दिए । उनले तिनीहरुमाथि छानविन गर्ने कुरै गर्दैनन् । हरेक भाषण या राष्ट्रका नाममा सम्बोधन गर्दा नै किन नहोस्, त्यसबेला उनले समाजले आलोचना गरेकाहरुको डिफेन्स गरेका हुन्छन् । त्यो बानी पुरानै हो, अहिले पनि छ ।

पाचौँ कुरा, केपी ओली अत्यन्त इख राख्ने प्रवृतिका हुन् । यसलाई अर्को भाषामा बदलाको भावना लिने भनेर पनि बुझ्न सकिन्छ । कुनैबेलामा कसैसँग केही बहस र छलफल चलेको थियो र उनको विचारको खण्डनमण्डन गरेको थियो भने उनले मौका मिल्ने बित्तिकै दबाउन पछि पर्दैनन् । यसलाई अझ प्रस्ट भन्नुपर्दा गोमन सर्पको जस्तो प्रवृत्ति छ । किनभने गोमन सर्पको आँखामा बाचुन्जेल उसको विरोधीको चित्र रहन्छ रे । त्यस्तै छ ओलीमा । यसले उनलाई नोक्सान गरेको छ । ओलीको अर्को विशेषता हो कृतघ्न चरित्र । कृतघ्न चरित्र अलि बढी नै छ । ओलीका बारेमा म धेरै त अहिले नभनौँ, एउटामात्रै उदाहरण काफी छ । त्यो हो रामनाथ दाहाल ।

कम्युनिस्ट आन्दोलन उठान कालमा केपी ओलीलाई शिक्षादीक्षादेखि लालनपालन र राजनीति जे जति सिकाउने र पढाउने काम भयो त्यो सबै रामनाथले नै गरे । तर केपी ओली अहिले ती रामनाथ दाहाललाई सम्झन पनि चाहँदैनन् । मेरो त उनीसँग त्यति धेरै लामो जेलजीवन बस्ने अवसर मिलेन । केही समयमात्रै सँगै बसियो तर ओलीसँग लामो जेल बसे राधाकृष्ण मैनाली र अरु मानिसहरु । जेलभित्र के थियो ? कस्तो थियो ? कसरी केपी ओलीलाई खुवाउने, पिलाउने दिशा–पिसाब गर्ने काममा आरके लगायत अरु मानिसहरुले कस्तो सहयोग गरेका थिए ? अहिले आएर ती मानिसहरुलाई ओलीले दल्न, डुबाउन पेल्नबाहेक केही देख्दैनन् । केही नभए पनि ती मानिसहरुमा ओलीको अहिले कृतघ्नता हुनुपर्ने हो । ल ठिक छ, उनले पार्टीमा राख्न सकेनन्, ठूलो बनाउन सकेनन् तर एउटा कृतज्ञ भाव त राख्न सकिन्छ नि । तर त्यो पनि देखिएन । केपी ओलीको पहिलेदेखि नै दृष्टिदोष थियो, त्यो अहिले पनि हराएको छैन । अज्ञानता, अल्पदृष्टि र आग्रही थिए ओली । परिणाम नसोची बोल्थे त्यसवेला पनि । ती दोष अहिले पनि छन् ।

उनी व्यक्तिलाई बढी र सामूहिकतालाई कम विश्वास गर्छन् । कुनै कुरामा पाटीभित्र बहस भयो भने उनी ‘लाइट म्याण्डेट मेन’लाई ल्याएर बहस चलाउँछन् । समुहमा छलफल गरेर तथ्य र तर्कका आधारमा ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्ने गुण पहिला पनि थिएन र अहिले पनि देखिदैँन । यसलाई व्यक्तिगत महत्वाकाङ्क्षा भन्दा हुन्छ । तर समयक्रम, आन्दोलन र जनताको सहकार्यमा केपी ओलीले ती कुराहरुलाई महशुस गर्दै र सच्याउँदै जानुपथ्र्यो । त्यसरी गएको भए अहिले देश बनाउने र रक्षा गर्ने जति ठूलो अवसर पाएका छन्, त्यसलाई कार्यन्वयन गरेर सम्पूर्ण कम्युनिस्टहरुलाई एउटा सिद्धान्त, राजनीति, चरित्र र नीति–कार्यक्रममा आउने वातावरण बनाएर यिनले आफ्नो नाम पनि उच्च गर्न सक्थे । कम्युनिस्ट आन्दोलनलाई पनि सुदृढ गर्न सक्थे । देशको एकता, अखण्डता र आर्थिक विकासलाई बलियो बनाउन सक्थे । राजनीतिक पार्टीहरुले काम गर्न सक्ने वातावरण पनि सिर्जना गर्न सक्थे । तर केपी ओलीमा आन्तरिक ध्येय पुरा गर्ने एकोहोरोपन छ, त्यसले देशलाई नै डुबाइरहेको छ । माओत्से तुङ्गले भन्नुहुन्छ आलोचना गर्ने व्यक्तिहरुसँग रिस नगर तर आलोचनाबाट सतर्क रहू । हुनुपर्ने त के भने, आलोचना ग-यो भने ठिक–बेठिक के हो ? कति सुधार्नुपर्ने हो वा होइन भन्नेमा पनि ध्यान देऊ ।

मान्छे डायनामिक हुनुपर्छ । त्यसबेला केपी ओलीले के सोच्थे, अहिले पनि सम्बन्धित विषयमा त्यही कुरा सोच्नुनपर्ने हो । मुख्य कुरा, केपी ओलीले माक्र्सवाद विपरितका गलत कुरालाई सच्याउनै सकेनन् । महशुस गर्न सकेनन् । त्यही भएकाले उनले अरुलाई पनि आफुजस्तै देख्छन् । विगतकालमा सिपी मैनाली, आरके मैनाली वा मोहनचन्द्रले सहकार्य गरेनन् होला, प्रचण्डसँग केही कुरा मिलेन होला तर मान्छे बदलिन सक्छ । र ऊ कतिसम्म बदलेको छ ? उसको वास्तविक इन्टेन्सन के हो ? कति परिवर्तन भएको छ भन्ने कुराको ख्यालै नगरी आग्रह र पूर्वाग्रहमा उभिएर निर्णय लिने केपी ओलीको जुन प्रवृत्ति छ, यसको ठूलो मूल्य देशले चुकाउनु परिरहेको छ ।

नेतामा रहेका राम्रा गुणले आन्दोलन या पार्टीलाई अघि बढाउन मद्दत पु-याउँछ । त्यसरी नै नेतामा रहेका दुर्गुण र दुस्प्रवृत्ति, गलत शैली र चिन्तनहरुले पार्टीलाई डुबाउनमा उत्तिकै मद्दत गर्छ ।

(नेकपा मालेका महासचिव सीपी मैनालीसँगको कुराकानीमा आधारित )

प्रकाशित मिति ५ बैशाख २०७७, शुक्रबार १४:३०