कसरी शुरु भयो किरातको नयाँ वर्ष येले संवत् ?

यतिखेर सामाजिक सञ्जाल फेसबुकको भित्ताहरूमा किरात येले संवत्को शुभकामना आदान प्रदान गर्नेहरुको ताँती देखिन्छ । विशेषगरी किराती युवामाझमा विस्तारै लोकप्रियता बढेको अनुभूति भइरहेको छ । आपसी सद्भाव साटासाट गर्ने सहज बनेको छ । हामी किरातीहरुको पहिचानसित जोडिएको किरात येले संवत्लाई थप चासोका साथ हेर्ने गरिएको छ ।

देश–विदेशमा रहेका किरातीहरुलाई जोड्ने सेतुको काम पनि गरेको छ । वि.सं. ०७५ सालकै कुरा गर्दा शुभकामना व्यक्त गर्नेहरुको भित्तामा कतिले किरात येले संवत् दुई थरी संवत् उल्लेख देखिन्छ । एकथरीले किरात येले संवत् ३७९८ को शुभकामना दिइरहेका छन् भने अर्को थरीले किरात येले संवत् ५०७९ भनिरहेका छन् ।

प्रथम किरात राजा यलम्बर हाङको स्मृतिमा किरात येले संवत् प्रचलनमा छ । यसलाई किरात सम्वत् भनेर हरेक माघ १ गते नयाँ वर्षको रुपमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । माघ महिनाको पहिलो दिन गाउँघरमा नदीको दोभानमा गएर जात्रा भर्ने चलन छ । घर तरुल, बन तरुल, सिम्बल तरुल, सुठुनीजस्ता कन्दमुल खाएर माघेसंक्रान्ति मान्ने गरिन्छ । वास्तवमा यो किरातकालका प्रवर्तक हाङ यलम्बरको सम्झनामा मनाउने गरिएको रहेछ ।

किरात समुदायले यलम्बरप्रति गौरव गर्दछन् । किरात समुदायभित्र राई, लिम्बु, याक्खा, सुनुवार, हायु, सुरेल, जिरेललगायत पर्दछन् । किरात राई समुदायमा २८ वटा जति भाषा छन् । किरात येले संवत्लाई येले तङ्बे, येले दोङ, येले थोचे आदि भनेर मनाउने गर्दछन् ।

लेख्य रुपमा पनि त्यस्तै उल्लेख रहेको पाइएको छ । विगत २५ वर्षदेखि किराती वाम्बुले भाषामा प्रकाशित पत्रिका ‘लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिका (२०७५ वैशाख–असार) अंकमा किरात येले संवत् ३७९७ उल्लेख छ ।

त्यसैगरी विगत १४ वर्षदेखि किराती बान्तावा भाषामा प्रकाशित ‘बुङ्वाखा’ मासिक पत्रिका (२०७५ पुस) अंकमा येलेदोङ ५०७८ उल्लेख छ । किरात येले संवत्को प्रयोगचाहिं फरक मिति उल्लेख भएको पाइएको छ । यसैगरी किरात याक्थुङ चुम्लुङको मुखपत्र ‘तान्छोप्पा’ मासिक वर्ष २३, अंक ११, वि.सं. २०७५ मंसिरमा येले तङ्बे ५०७८ उल्लेख छ । गोरखापत्र दैनिक लिम्बु भाषा पृष्ठमा येले तङ्बे ३७९७ उल्लेख छ । यसरी लिम्बु जातिको प्रकाशनमै किरात येले संवत् फरक फरक उल्लेख छ ।

वास्तवमा वि.सं.२०३० सालतिर देखि किरात संवत् भनेर यो संवत् प्रचलनमा लाइएको रहेछ । दार्जिलिङ र सिक्किमबाट किरात संवत्को प्रचलन सुरु भएको हो । बैरागी काइँलाका अनुसार संवत् प्रयोगमा दार्जिलिङभन्दा ४० कम्ति अर्थात् येले तङ्बे ५०४९ भनेर उल्लेख थियो । त्यही संवत्लाई नेपालका सामाजिक संस्थाले आफ्नो प्रकाशन उल्लेख गर्दै आएका हुन् ।

नेपालमा किरात याक्थुङ चुम्लुङले भित्तेपात्रामा उल्लेख गरेपछि क्रमशः किरात राई यायोक्खा, सुनुवार सेवा समाज, किरात याक्खा छुम्मालगायत संस्थाले आफ्नो प्रकाशनमा उल्लेख गर्दैआएका छन् । तर, यो संवत्लाई इतिहासका आधारमा प्रमाणित भइसकेको छैन । त्यसैले बैरागी काइँलाको संयोजनमा वि.सं. २०६६ कात्तिक २८–२९ गते राजधानी काठमाडौंमा ‘किरात येले संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी’ सम्पन्न भयो ।

गोष्ठीमा इतिहासविद्हरुले यो किरात येले संवत्लाई पहिलो किरात राजा यलम्बरको ‘स्मारक संवत्’ का रुपमा प्रचलन गर्न सकिने निष्कर्ष दिए । जसअनुसार काल गणना गर्दा प्रयोग हुदैआएको ५०७६ मा दुईहजार वर्ष घटेर ३७९५ भएको हो भन्ने छ । त्यसैले गर्दा किराती समाजमा किरात येले संवत्का मिति फरक परेको हो ।

यलम्बर फाउन्डेसन (किरातोलोजी रिसर्च सेन्टर) संस्था र नेपाल प्रज्ञा प्रतिष्ठानले २०६९ जेठ २८ गते संयुक्त आयोजनामा ‘सामाजिक संस्कारको सांस्कृतिक महत्व तथा नेपालमा प्रयोग र प्रचलनमा रहेका संवत्हरूको पात्रो लेखन पद्धति’ विषयक संगोष्ठी सम्पन्न भएको थियो । संगोष्ठीपछि फाउन्डेसनले सिद्धान्तसारणीय नेपाल पञ्चाङ्गपत्र ‘किरात येले संवत् ३७९२’ (कलिगत आधारित ५०७३) पात्रो प्रकाशन गरेको पाइन्छ ।

त्यसको अर्को वर्ष ‘किरात येले संवत् ३७९३’ (कगित आधारित ५०७४) समेत प्रकाशनमा आएको छ । तर समाजमा एकरुपमा ल्याउने काम अहिलेसम्म भएको छैन । संवत् यकिन नभए पनि संघीय नेपाल प्रदेश नं.१ मा किरात येले संवत्को प्रयोग जारी छ । त्यसैले यसबारे बृहत् बहससहित एकरुपता ल्याउन जरुरी छ ।

वास्तवमै, मानव विज्ञानको सुरुआत २६ लाख वर्षअघि भएको हो । अस्तित्वको इतिहास त्यहीबाट अघि बढेको हो । सत्य र तथ्य थाहा पाउन समय लाग्दोरहेछ । मानव विकासको उत्पत्ति कथा आ–आफ्नै छन् । सामाजिक मूल्य मान्यता, धार्मिक आस्थाले निर्देशित गरेको मानव उत्पत्तिका कथाहरु छन् । मिथकहरु पाइन्छन् ।

तर, सन् १९२४ मा रेमन्ड डार्टले अफ्रिकाको टाउङमा खप्पर फेलापारेपछि मानवको पुर्खा ढेडु बाँदर हो भन्ने सत्य आजसम्म कायम छ । आज इतिहासविद्हरुको खोपडीमा यलम्बरको खप्पर कहिले कुन कालको थियो भने पत्तालगाउनु पर्ने चुनौती थपिएको छ । समाजलाई भ्रमबाट मुक्ति दिलाउनका निम्ति प्रामाणिक इतिहासलाई सबै सामू छर्लङ्ग पार्न अहिलेको आवश्यकता हो ।

(लेखिका किरात राई लेखक संघकी कार्यकारी सदस्य हुन् ।)

प्रकाशित मिति २ माघ २०७५, बुधबार १७:३७