कोरियाको व्यथा नेपाल बस्नेलाई के थाहा ?

सौल,अहिले कोरियामा मजदुरहरुको तलब बढेसंगै बेसिक ड्युटि बाहेक प्राय जसो सबै कम्पनिहरुले अति रिक्त काम दिन छोडेका छन् । त्यसैले दैनिक आठ घण्टाको काम सकेर कोठामा कति बस्नु । मोबाइल कति हेर्नु । वाक्कै लागिसक्यो । एक दिन यसो नेपाली रहेको कम्पनितिर काम कस्तो छ? कतिको चलिराछ भनेर जान्न मन लाग्यो । साँझ साँढे पाँचबजेसम्मको ड्युटी सकेर नुहाई हल्का खाजा खाएर दुइ जना साथी संग गफ गर्दै मेरो कम्पनि नजिकै रहेको अर्को कम्पनि पुगेर यसो भित्र हेरे नेपाल सरकारको इपिस शाखाले कोरिया आउदा दिएको नेपाल र कोरियाको झन्डाको लोगो भएको ज्याकेट लगाएको, टाउकोमा टोपी, मुखमा माक्स लगाएको झट्ट हेर्दा कलिलो सानो उमेरको जस्तो केटा काम गरिरहेको थियो ।

साथीले भन्यो, ‘उ हेर यो कम्पनिमा नेपाली रहेछ । जाँउ न कुरा गरौ ।’ हामी त्यो नेपाली साथीको छेउमा पुगेर बोलायौंँ । ‘भाई, के छ हाल खबर ?’ नेपालीबाट बोलाउदा त्यो भाईलाई पनि आफ्नै मान्छे भेटे जस्तै खुशी र अचम्मित मुद्रामा गर्दा गर्दैको काम टक्क छाडेर मन्द मुस्कान छर्दै भन्यो, ‘हजुर ? ठिकै छ दाई ।’ ‘नाम के हो नि भाईको? अनि नेपाल कुन ठाउँ हो नि ? कति भो कोरिया आको?’ मैंले एकैचोटी सोधें, ‘मेरो नाम कृष्ण भट्टराई हो। घर गुल्मी । कोरिया आएको एक वर्ष भयो दाई ।’ मसँगै गएको साथी पोखराको भएकोले उसले सोधिहाल्यो, ‘गुल्मी कुन ठाउँ हो ? म गुल्मी जिल्ला पुरै घुमेको छु ।’ ‘गुल्मी सत्वती गाउपालिक हो’, भाईले भन्यो । ‘अनि, दाईहरु चाही?’ हामीले पनि हाम्रो पनि एक एक गर्दै परिचय दिन थाल्यौं ।

हामीलार्इ अझ थप उसको काम, दाम, साहु र नाइकेको कार्य स्थलमा हुने व्यवहारबारे जान्न मन लाग्यो र सोध्दै गयौं । हेर्दा कलिलो अनि जिउड़ाल पनि पातलो देखेर ती भाईको उमेर पनि सोधिहाल्यौंं । भर्खर २१ वर्षका भएछन् । ‘ओहो !भाई , यति सानै उमेरमा किन विदेश आएको त? अहिले त पढने पढ्ने उमेर पो त । कति पढेका छौं?’, हामीले फेरी सोध्यौं । उनी आफ्नो कामलाई निरन्तर दिदै भने, ‘दाई, नेपालमा जति पढे लेखे नि के गर्नु जागिर पाईदैन । आखिर बिदेश जानै पर्छ । त्यो भन्दा सानै उमेरमा टन्न पैसा कमाउने र आफ्नो सपना साकार पर्ने भन्ने उदेश्यले कोरिया आएको हो । कोरियामा महिनाको लाख लाख कमाइ हुन्छ रे सबै साथीहरु बिदेश गए त्यसैले म पनि यता आए ।’

‘भाई, नेपालमा पढ़ाई छोडेर काम गर्न आयौ अनि काम चाही कस्तो छ नि ?’ उनी गर्दागर्दैको कामलाई रोकेर एकछिन हामीलाई हेरे अनि मन नलागी नलागी भने, ‘दाई के भन्नु काम त धेरै गाह्रो नि । नेपालमा हुँदा भाषा पास गरेर कोरिया जान पाए हुन्थ्यो पहाडै फोरुला जस्तो लाग्थ्यो । कोरिया आए पछि सोचे जस्तो कहाँ हुँदो रहेछ र ? सुरुमा त झन् भाषाको समस्याले साह्रै गाह्रो भो नि’, उनी आफ्नो अनुभव, पिँडा एकैसाथ पोखे । ‘नेपालमा ९८ अंक ल्याएर इपिएस पास गरियो । कोरिया गए पछि जाबो भाषा खटटट बोलिन्छ जस्तो लागेका त कहाँ नेपालमा सिकेको भाषाले काम गर्नु ?’

उनी पहिलो पटक कोरिया प्रवेश गरेर कम्पनिमा जाँदा त्यहाँ पहिलादेखि नै काम गरिरहेको अरु नेपालीहरु पनि थिए । काममा लागेको दोस्रो दिन उनीसँगै काम गर्ने दाङ्को रामु सिङ् भन्ने एक जना साथीलाई काम अराउने नाइकेले स्टोरमा केहि सामान लिन पठाएछ । ऊ छिटो नआएकोले नाइकेले त्यो भाईलाई कोरियन भाषामा भनेछ, ‘रामुहागो खाची गास मुलगनन पाल्लि खाचिगो वा ‘ (रामु संग गएर छिटो सामान लिएर आउ )। उसले ‘ने आल्गेस्सुम्दिा!’ ( हस हजुर) भन्दै बाहिर गएर चारैतिर खोज्न थालेछ । काठको टुक्रा कहिँ कतै नदेखेपछि भित्र गएर नाइकेलाई भने छ. ‘नामु अब्सयो’ (काठ छैन) । नाइकेले झर्केर उल्टै सोधेछ, ‘म्हरागो ? नामु अब्स ?’ (के भन्छ? काठ छैन रे?) नाइके रिसले चुरमुरिदै अर्को सँगै काम गर्ने नेपाली साथीलाई सोध्न लगाएछ । भाषा बुझ्ने नेपाली साथीले मुसुमुसु हाँस्दै भनेछ, ‘ए भाई, तिमीलाई स्टोरमा रामुसंग गएर सामान पो छिटो ल्याउ भनेको के को काठ खोजीरा ।’ त्यसपछि पो बल्ल थाहा भयो नेपालमा सिकेको भाषाले कतिको काम गर्दो रहेछ भनेर उसको पहिलो अनुभव सुनाउदा हामी पनि हाँसो थाम्न सकेनौं ।

वास्तवमा भाषाको कारण त्यो भाई मात्र होइन हामी धेरैले सुरुमा यस्ता धेरै परिस्थितिसँग सामना गर्नु पर्छ । हामीले फेरी त्यो भाइले काम गरिरहेको सामानको बारेमा सोध्यौं, ‘यो के हो भाई, पिठो जस्तो छ त?’ ‘फिल्टर बनाउने केमिकल पाउडर हो दाई,’ उसले पाउडर देखाउदै भन्यो । ‘२० / २५ केजिको हुन्छ जुरुक्क उठाएर मेसिनमा हाल्नु पर्छ ।’ ‘ओ हो भाईको काम डेन्जर रहेछ केमिकलले शरीरलाई असर गर्ला नि’, मैले सोधें । ‘किन नगर्नु दाई, गर्छ नि । रात भरि जिउ चिलाउछ सुत्न गार्हो हुन्छ । कोरियाको औषधि जति खाए नि खासै निको भएन । के गर्नु महिनाको लाख सम्झन्छु काम गर्छु । नेपालमा बस्नेहरुले कोरियामा लाख कमाउछन भन्छन लाख कमाउनेको ब्यथा के थाहा नेपाल बस्नेलाई ?’ उनी आफ्नो दुखेसो पोखिरहेका थिए ।

‘यस्तै छ जिन्दगि अनि तपाईहरु को कस्तो छ नि ?’ उनी आफ्नो कुरालाई बिट मार्दै हामीलाई सोध्न थाले । हामीले पनि आफ्नो कामको बारेमा बतायौं । कुरा गर्दागर्दै समयले नेटो काटीसकेछ । हामी ती भाईसँग आइतबार भेटने बाचा गर्दै कोठातिर फर्कियौं ।

-source:fonijkorea

प्रकाशित मिति १४ कार्तिक २०७५, बुधबार १७:३१