कोरोना महामारी कसरी अन्त्य होला ?

कोरोना महामारी कहिले अन्त्य होलारु कसरी अन्त्य होला ?

यो संसारभरिका लागि ज्वलन्त प्रश्न हो।

इतिहासकारहरूका अनुसार कुनै पनि महामारी प्रायः दुई किसिमबाट अन्त्य हुन्छ – एउटा, स्वास्थ्य विज्ञानका कारण, जसले महामारीको प्रभाव र मृत्युदर घट्दै जान्छ। अर्को, सामाजिक कारण, जसले मानिस आजित भएर महामारीले निम्त्याउने रोगबाट भयभीत हुन छाड्छन्।

‘मानिसले महामारी कहिले अन्त्य होला भनेर सोध्नुको अर्थ यसको सामाजिक प्रभाव कहिले सकिएला भन्ने हो,’ जोन हप्किन्स विश्वविद्यालयमा स्वास्थ्य विज्ञानसम्बन्धी इतिहासकार जेरेमी ग्रीनले भने।

अर्को शब्दमा भन्दा, महामारी अन्त्य हुन रोगको निदान पत्ता लाग्नुपर्छ भन्ने छैन। जब मानिस वाक्कदिक्क भएर रोग सँगसँगै बाँच्न अभ्यस्त हुन्छन्, तब महामारी अन्त्य हुन्छ।

कोरोना महामारीमा पनि यस्तै हुने हार्वर्ड विश्वविद्यालयका इतिहासकार एलन ब्रान्ट बताउँछन्।

‘यति बेला हामी संसारभरि अर्थतन्त्र कसरी पुनजीर्वित पार्ने भन्ने बहस सुनिरहेका छौं,’ उनले भने, ‘यो स्वास्थ्य विज्ञान वा जनस्वास्थ्य तथ्यांकमा होइन, सामाजिक–राजनीतिक प्रक्रियामा निर्भर गर्छ।

युनिभर्सिटी अफ एक्सेटरकी इतिहासकार डोरा भर्घा त महामारीको अन्त्य असाध्यै अप्रिय हुने बताउँछिन्, ‘पछाडि फर्केर हेर्दा हामी अत्यन्तै रुग्ण कथाहरू भेट्छौं।’


भयको बाटोमा

रोगको महामारी सकिन जति समय लाग्छ, त्योभन्दा बढी समय भयको महामारी सकिन लाग्छ।

यसको प्रत्यक्ष प्रमाण डब्लिनस्थित रोयल कलेज अफ सर्जन्सकी डा। सुसन मुरे हुन्, जसले सन् २०१४ तिर आयरल्यान्डको एक ग्रामीण अस्पतालमा अध्ययनरत रहँदा त्यस्तै भोगाइ बेहोरेकी थिइन्।

पश्चिम अफ्रिकामा त्यति बेला इबोला भाइरसले ११ हजारभन्दा बढीको मृत्यु भएको थियो। महामारी अत्यन्तै डरलाग्दो भए पनि आयरल्यान्डमा एउटै पनि बिरामी देखिएको थिएन। तै पनि त्यहाँका मानिसमा इबोलाको डरले भयावह अवस्था सिर्जना गरेको थियो।

‘सडकदेखि अस्पतालका वार्डहरूसम्म मानिस आत्तिएका देखिन्थे,’ भर्खरै दी न्यू इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा छापिएको लेखमा डा। मुरेले लेखेकी छन्, ‘बसमा यात्रा गरिरहँदा छेउमा सवार व्यक्ति बेग्लै वर्णको देखिनासाथ मान्छे तर्किन थाल्थे। तिनले खोक्ने हो भने त भागाभागै मच्चिन्थ्यो।’

डब्लिन अस्पतालका कर्मचारीलाई भयावह परिस्थितिका लागि तयार रहन सचेत गराइएको थियो। त्यहाँका स्वास्थ्यकर्मी आफूकहाँ पर्याप्त सुरक्षा उपकरण नभएकोमा चिन्ता मान्थे। आतंकित पनि थिए।

जब इबोला भाइरसले प्रभावित मुलुकबाट आएका एक तन्नेरीलाई आकस्मिक कक्षमा ल्याइयो, उनको नजिक पर्नधरि कोही मानेनन्। नर्सहरू डराएर भागे। डाक्टरहरूले अस्पतालै छाड्ने धम्की दिए।

त्यस्तो बेला डा। मुरेले एक्लै ती बिरामी हेरचाह गर्ने हिम्मत जुटाएकी थिइन्।

जर्नलमा लेखिएअनुसार ती तन्नेरी क्यान्सरका बिरामी थिए। उनको अवस्था जटिल थियो। डा। मुरेले बिरामीको अप्ठ्यारो सहज पार्नमा आफूलाई केन्द्रित गरेकी थिइन्। केही दिनपछि ती बिरामीलाई इबोला नभएको प्रमाणित भयो। त्यसको एक घन्टाजतिमै उनले ज्यान गुमाए।

त्यो घटनाको तीन दिनपछि विश्व स्वास्थ्य संगठन (WHO) ले इबोला महामारी अन्त्य भएको घोषणा गरेको थियो।

‘अरू भाइरसविरुद्ध लड्दा हामी जसरी तनमन लगाएर एकाग्र हुन्छौं, त्यस्तै व्यवहार कोरोनाका हकमा नदेखाउने हो भने यसले समाजलाई अन्त्यहीन भयको बाटोमा लैजानेछ,’ उनी भन्छिन्, ‘त्यो डरले हामीलाई यस्तरी गाँज्छ, कोरोना बिरामी हुँदै नभएको ठाउँमा पनि डढेलोझैं सल्किन्छ।’

यस्तो भयको महामारीले जात, धर्म, भाषा र उँचनिचको जटिलता समातेर अझ डरलाग्दो अवस्था सिर्जना गर्न सक्ने उनको भनाइ छ।


‘ब्ल्याक डेथ’ का अँध्यारा सम्झना

दुई हजार वर्षयता प्लेगको महामारीले पटक(पटक आक्रमण गरेको छ। लाखौंले ज्यान गुमाएका छन्। प्रत्येक महामारीसँगै त्यसको भय पनि गुणात्मक वृद्धि हुन्छ।

यो रोग ‘एरसिनिया पेस्टिस’ भन्ने ब्याक्टेरियाबाट सल्केको थियो, जुन मुसाहरूमा लाग्ने एक प्रकारको उपियाँमा बाँच्थ्यो। ‘ब्ल्याक डेथ’ नाम दिइएको प्लेग रोग खकारका माध्यमबाट मानिस(मानिसबीच पनि संक्रमण हुन सक्थ्यो। त्यसैले, मुसा मारेर मात्र यो महामारी अन्त्य हुन सक्दैन थियो।

‘इतिहासकारहरूको वर्णनमा प्लेगका तीन विशाल तरंगको उल्लेख पाइन्छ,’ जोन हप्किन्सकी इतिहासकार मारी फिसेल भन्छिन्, ‘छैठौं शताब्दीमा प्लेग अफ जस्टिनियन, चौधौं शताब्दीमा मध्यकालीन महामारी र उन्नाइसौं शताब्दीको अन्त्य तथा बीसौं शताब्दीको प्रारम्भतिर फैलिएको महामारी।’

मध्यकालीन महामारीको सुरूआत सन् १३३१ मा चीनबाट भयो। त्यो रोग र त्यति बेला चीनलाई गाँजेको गृहयुद्धले मुलुककै आधाजसो जनसंख्या विनाश गरिदिएको थियो।

प्लेगले चीनबाट युरोपतर्फको व्यापारिक मार्ग समात्दै मध्यपूर्व र उत्तर अमेरिकासम्म विस्तार भयो। सन् १३४७ देखि १३५१ बीच यसले सिंगो युरोपकै कम्तिमा एकतिहाइ जनसंख्यालाई सिध्याइसकेको थियो। इटालीको सियनामा त आधा जनसंख्याकै मृत्यु भयो।

‘भयावह सत्यलाई मानिसले बयान गर्न असम्भव छ,’ चौधौं शताब्दीताकाका अभिलेखनकर्ता एग्नोलो डी तुराले लेखेका छन्, ‘त्यो भयावह समय ज(जसले देख्नुपरेन, उनीहरू पक्कै पनि भाग्यमानी थिए।’

संक्रमितहरूबारे उल्लेख गर्दै उनले भनेका छन्, ‘मान्छेको काखीमुनि, पेट र तिघ्राको कापमुनि सुन्निएर आउँथ्यो। मान्छेहरू कुरा गर्दागर्दै ढल्थे।’

त्यति बेला मृतकहरूलाई एउटै खाडलमा चाङ लगाएर अन्त्येष्टि गर्नुपरेको उनले वर्णन गरेका छन्।


मध्य-इटालीको फ्लोरेन्समा फैलिएको महामारीबारे जियोभानी बोकासियोले लेखेका छन्, ‘त्यो समय मरेका मान्छेले मरेका भेँडाबाख्रा जत्ति पनि सम्मान पाएका थिएनन्। केही मानिस घरमा लुकेर आफूलाई संक्रमित हुनबाट बचाए। यसरी बाँचेकाहरू असाध्यै पिउँथे, जीवनको खुब आनन्द लिन्थे। उत्सव मनाउँदै–गाउँदै यताउता गर्थे र मौका पाउनेबित्तिकै आफ्ना लालसाहरू प्रकट गर्थे।’


त्यो महामारी एकदिन थामियो, तर प्लेग फेरि-फेरि पनि देखा परिरह्यो।

सबभन्दा भयावह प्लेग सन् १८५५ मा चीनबाट सुरू भएर विश्वभरि फैलिएको थियो। त्यसले भारतमा मात्र एक करोड २० लाखको ज्यान लियो। मुम्बईका स्वास्थ्य अधिकारीहरूले प्लेग नियन्त्रण गर्न त्यहाँका थुप्रै झुपडपट्टीमा आगो लगाइदिएका थिए।

‘यसले केही फरक पार्‍यो वा पारेन भन्ने कसैले थाहा पाएनन्,’ येल विश्वविद्यालयका इतिहासकार फ्रान्क स्नोडेन भन्छन्।

प्लेगको त्यस्तो भयावह महामारी कसरी अन्त्य भयो भन्ने अहिलेसम्म प्रस्ट छैन। केही अध्येताले चिसो मौसमका कारण रोग फैलाउने उपियाँ नष्ट भएको उल्लेख गरेका छन्। डा. स्नोडेन भने यसमा सहमत छैनन्। श्वासप्रश्वासबाट फैलिने संक्रमणलाई चिसो मौसमले रोक्नु नपर्ने उनको तर्क छ।

मुसाहरूमा आएको कुनै परिवर्तनले महामारी थामिएको पनि हुनसक्छ। उन्नाइसौं शताब्दीसम्म आइपुग्दा कालो मुसाले नभई खैरो मुसाले प्लेग फैलाउन थालेको थियो। यो मुसा तुलनात्मक रूपले बलियो र मानिसहरूबाट अलग्गै बस्न बढी अभ्यस्त थियो।

‘मानिसहरू पक्कै पनि त्यो खैरो मुसा पाल्न मनपराउँदैनन्,’ डा. स्नोडेन भन्छन्।

यति मात्र होइन, कालान्तरमा प्लेग फैलाउने ब्याक्टेरिया नै कम खतरनाक बन्दै गएको अनुमान पनि छ। वा हुनसक्छ, जसरी गाउँका गाउँ जलाइएका थिए, त्यसबाट पनि महामारी थामिएको होस्।

यसो भन्दैमा प्लेग सदाका लागि अन्त्य भइसकेको छैन। अमेरिकाको दक्षिण-पश्चिमी भेगमा पाइने जनावर ‘प्रेयरी डग’ मा यसको संक्रमण देखिएको छ, जुन मानिसमा पनि सर्न सक्छ।

डा. स्नोडेन आफ्ना एक जना साथी न्यूमेक्सिकोस्थित होटलमा बस्दा संक्रमित बन्न पुगेको सम्झन्छन्। होटलको त्यही कोठामा पहिले बस्ने मानिसले उक्त जनावर पालेका रहेछन्, जसमा त्यो किटाणु बोकेर उड्ने उपियाँहरू रहेछन्।

यस्ता घटना अचेल दुर्लभ भइसकेका छन्। एन्टिबायोटिकको मद्दतले हिजोआज सजिलै उपचार हुनसक्छ। यति हुँदाहुँदै प्लेगको कुनै रिपोर्ट कतै फेला परेछ भने आज पनि त्यसको त्रासले मानिसलाई समात्छ।


एउटा रोग जुन वास्तवमै निर्मूल भयो

स्वास्थ्य विज्ञानले पूर्णतया निर्मूल पारेको एउटै मात्र भाइरस संक्रमण बिफर हो। यसको निम्ति वैज्ञानिकहरूले असाध्यै प्रभावकारी खोप पत्ता लगाएका छन्, जसले मानिसलाई जीवनभर बिफरबाट सुरक्षा प्रदान गर्छ।

यो भाइरस कुनै जनावरबाट सर्दैन। त्यसैले मानिसमा रोग समाप्त पार्नेबित्तिकै स्वतः निर्मूल भयो। अर्को कारण, यो रोगको लक्षण यति फरक छ, कसैमा संक्रमण देख्नेबित्तिकै ऊ अरूबाट टाढा सुरक्षित भएर बस्छ, जसले संक्रमण फैलिन पाउँदैन।

जति बेला बिफरले आफ्नो प्रकोप फैलाएको थियो, त्यो बेला यो भयावह नै थियो। कम्तिमा तीन हजार वर्षयता बिफरको एकपछि अर्को महामारीले विश्वलाई बढार्दै आएको थियो।

यो भाइरसका संक्रमितमा उच्च ज्वरो देखिन्छ। छालामा दानाजस्तो फोका देखापर्छ, जसमा पिप भरिँदै जान्छ। त्यो फोकाले छालाभरि दागजस्तो चिह्न छाड्दै जान्छ।

बिफर महामारीका रूपमा फैलिँदा दस जना संक्रमितमध्ये तीन जनाको ज्यान गएको थियो। मृत्युअघि बिरामीले असाध्यै पीडा भोग्नुपर्थ्यो।

‘सन् १६३३ तिर अमेरिकी आदिवासीमा फैलिएको बिफर महामारीले उत्तरपूर्वी भेगका तमाम आदिवासी समुदायलाई चपेटामा लिएको थियो। यसले म्यासाचुसेट्सजस्ता स्थानमा अंग्रेजहरूको बसोबास सहज बनाइदियो,’ हार्वर्ड विश्वविद्यालयका इतिहासकार डा। डेविड एस जोन्स भन्छन्।

बिफर लागेका सबभन्दा पछिल्ला व्यक्ति सोमालियाको एक अस्पतालमा खाना पकाउने अलि माओ मालिन थिए। उनलाई सन् १९७७ मा लागेको बिफर निको भए पनि सन् २०१३ मा मलेरियाबाट उनको मृत्यु भयो।


बिर्सिएको इन्फ्लुएन्जा

महामारीले कतिसम्म चर्को रूप लिनसक्छ भन्ने उदाहरण सन् १९१८ मा फैलिएको इन्फ्लुएन्जा हो। यही महामारीपछि क्वारेन्टाइनु र सामाजिक दुरीु जस्ता अभ्यास चल्तीमा आएका हुन्।

त्यो घातक महामारी अन्त्य हुनुअघि विश्वका पाँचदेखि दस करोड मानिसको ज्यान लिएको थियो। यो तन्नेरी र अधवैंशेहरूमा यस्तरी विस्तार भयो, कैयन केटाकेटी टुहुरा भए। उनीहरूमै आश्रित परिवारको मुखबाट आहारा खोसियो। प्रथम विश्वयुद्धका क्रममा यसले थुप्रै सेनाको पनि ज्यान लियो। सन् १९१८ को शरद याममा एक प्रतिष्ठित चिकित्सक विलियम भोनलाई बोस्टन सहरनजिक क्याम्पमा फैलिएको प्रकोपबारे रिपोर्ट दिन खटाइएको थियो।

‘त्यहाँ सैन्य पोसाक लगाएका सयौं बहादुर तन्नेरीलाई अस्पताल ल्याइँदै थियो। एकपटकमै दस जना वा त्योभन्दा बढी बिरामी ल्याइन्थे,’ उनले लेखेका छन्, ‘अस्पतालको शैयामा बिरामी राख्न नपाउँदै थप भीड जम्मा भइसक्थ्यो। उनीहरूको अनुहार निलो हुँदै जान्थ्यो। खोक्दा रगतका थोपा निस्किन्थे। बिहान हुँदा नहुँदै शवगृहमा कार्डबोर्ड थुपारेजस्तो लाशको थुप्रो लाग्थ्यो।’ उनले अगाडि लेखेका छन्, ‘त्यो भाइरसको प्रभाव हेर्दा वैज्ञानिक आविष्कारहरू कति निरीह रहेछन् भन्ने प्रमाणित भइरहेको थियो।’

संसारलाई आफ्नो लपेटमा लिइसकेपछि त्यो घातक भाइरस विस्तारै मत्थर हुँदै गयो। हिजोआज बर्सेनि सामान्य हिसाबले देखापर्ने रूघाखोकी वा मर्कीमा सीमित बन्न पुगेको छ।

इन्फ्लुएन्जा वा रूघाको महामारी सामाजिक हिसाबबाट पनि अन्त्य भयो। पहिलो विश्वयुद्ध थामिएपछि मानिसहरू नयाँ किसिमले बाँच्न खोज्दै थिए। एउटा नयाँ युगको स्वागतमा उनीहरू पछिल्लो समय बेहोरेको महामारीको आतंक र युद्धको उन्माद बिर्सन चाहन्थे। सबैतिर नयाँ जीवनको खोजी हुँदै थियो।

त्यो भयावह रूघापछि पनि लगातार अन्य रूघाको महामारी थपिँदै गयो। ती त्यति डरलाग्दा थिएनन्, तै पनि त्यसले विश्व हल्लाउने काम गरेकै थियो।

सन् १९६८ मा फैलिएको ‘हङकङ फ्लू’ ले पनि संसारभर दस लाख मानिसको ज्यान लियो। तीमध्ये एक लाख त अमेरिकीहरू नै थिए। अधिकांश मृतक ६५ वर्षभन्दा बढी उमेरका थिए। त्यो भाइरस अहिले पनि मौसमी सर्दीका रूपमा देखा परिरहन्छ।

कोरोना महामारी कसरी अन्त्य होला र ?

विगतका यी महामारी नासिएजस्तै कोरोना महामारी पनि अन्त्य होला र ?

इतिहासकारहरूका अनुसार एउटा सम्भावना के छ भने, कोरोनाले फैलाएको महामारीलाई स्वास्थ्य विज्ञानले भन्दा पहिले मानिसले सामाजिक तवरबाटै पराजित गरिदिन सक्छन्।

यसको प्रभावकारी खोप वा अचूक औषधि फेला पर्नुअघि नै मानिसहरू आफ्ना निम्ति लगाइएको लकडाउनको बन्धनबाट वाक्कदिक्क हुन सक्छन्। भाइरसले आफ्नो प्रभाव विस्तार गरिरहेकै बेला मानिसले यसलाई महामारी मान्न छाडिदिने सम्भावना पनि देखिन्छ।

‘मान्छेमा त्यो हदसम्मको निराशा र थकान उत्पन्न हुने गरी सामाजिक तथा मनोवैज्ञानिक अवस्था विकास भइरहेको मलाई लागिरहेको छ,’ येल विश्वविद्यालयकी इतिहासकार नाओमी रोजर्स भन्छिन्, ‘मान्छेले अब अति भयो, मलाई मेरो सामान्य दैनिकी जसरी पनि फिर्ता चाहियो भन्ने क्षणको सायद हामी नजिक पुग्दैछौं।’

यसको सुरूआत भइसकेको छ।

अमेरिकाका केही राज्यमा त्यहाँका गभर्नरले लकडाउन फुकुवा गर्दै जान थालेका छन्। कपाल काट्ने पसल, ब्यूटिपार्लर र जिमहरू फेरि खुल्न थालेका छन्। यो कदमलाई जनस्वास्थ्य अधिकारीहरूले अपरिपक्वु भनिरहेका छन्। लकडाउनले अर्थतन्त्रसँग जोडिएका समस्या बढ्दै गइरहेका बेला मानिसहरू दिनप्रतिदिन ‘अति भयो’ भन्न तम्तयार देखिन्छन्। नागरिक समाजका केही सदस्य पनि अब यो महामारीको सामाजिक अन्त्यबारे विचार गर्न थालेका छन्।

  • The New York Times

प्रकाशित मिति ३० बैशाख २०७७, मंगलवार १८:२४