कौडीको मूल्यबराबर हिमाल आरोहीहरुको कीर्तिमान

साहसिकमध्ये मुख्य मानिने पर्वतारोहण पछिल्लो समय धमिलिन थालेको छ । न्यायालयको नजरमा सबैभन्दा माथि चढेर सकुशल फर्कनेका लागि दिइँदै आएको विश्व चर्चित रेकर्ड (कीर्तिमान) पनि नक्कली भएको फैसला गरेको छ । सर्वोच्च अदालतले मंसिर १२ गते सबैभन्दा छोटो समय ८ घन्टा १० मिनेटमा आधार शिविरदेखि सगरमाथाको चुचुरोसम्म सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेको भनी पर्यटन विभागले प्रमाणित गरेको तथ्य नक्कली भएको ठहर ग¥यो । सन् २००४ मे २१ मा पेम्बा दोर्जी शेर्पाले छोटो समय ८ घन्टा १० मिनेटमा आरोहण गरेको भनी पेस गरेको कागजात नक्कली र कानुनी आधार पूरा नगरेको ठहर भयो । यता सन् २०१६ मे २३ मा भारतीय प्रहरी दिनेश राठोर र निजकी श्रीमती तारकेश्वरीले ६ हजार मिटरबाट फर्केर फोटोसपबाट नक्कली तस्बिर तयार गरी विभागमा पेस ग¥यो । विभागले पनि प्रमाणित गरी प्रमाणपत्र वितरण ग¥यो ।

आरोहण गरेको प्रमाणित गर्न कानुनी रूपमा सम्पर्क अधिकृत, एजेन्सीको प्रतिवेदन, चुचुरोको सक्कल तस्बिर र थप आधारका लागि साक्षी प्रमाण पेस गर्नुपर्ने हुन्छ, तर यी कानुनलाई मिच्दै पर्यटन विभागले पेम्बादोर्जी शेर्पा र भारतीय दम्पतीलाई प्रमाणित गरे । यी घटना पर्वतारोहणको ६५ वर्षकै कालो इतिहास बनेको छ । करिब ४ हजार पाँच सय बढी आरोही र सयौं विश्व कीर्तिमानीका लागि यो घटना दुःखद पक्ष बनेको छ ।

आरोहीले गर्न खोजेको गद्दारी र विभागले कानुनी आधार पूरा नगरी प्रमाणित गर्नुको कारण के होला भनी पर्वतारोहीहरू प्रश्न गर्ने गर्छन् ? केही पर्वतारोही त सीधै पैसामा कीर्तिमान खरिदबिक्री हुने दाबीसमेत गर्छन् । नेपाली आरोही तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका आरोही एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा चुचुरो चुम्न गरेको साहस, मेहनत र दुःखलाई विभागका कर्मचारीले पैसामा बिक्री गरे । कुनै आधार प्रमाण नहेरी पहुँच र पैसामा सयौं प्रमाणपत्र बिक्री गरेपछि विश्व कीर्तिमानसमेत कौडीको मूल्यबराबर हुन पुगेको छ । सबैभन्दा छिटो समयमा सगरमाथाको चुचुरो चुमेको विश्व कीर्तिमानलाई विभागले प्रमाणित गरेपछि गिनिज बुक अफ वल्र्ड रेकर्डले समेत मान्यता दियो, तर आज यो रेकर्ड अपुष्ट र नक्कली ठहरिँदा नेपाली आरोहीको साहसमाथि प्रश्न उठेको छ ।

किन यसरी सरकारी प्रतिनिधिहरू पर्वतारोहण र कीर्तिमानलाई पैसामा बिक्री गर्ने आँट गर्छन् ? भारतीय दम्पतीको आरोहण दलका पर्वतारोहण गाइड फुर्तेम्बा शेर्पा र फुर्वा शेर्पा थिए । सरकारले सम्पर्क अधिकृत गणेश तिमिल्सिनालाई खटाएका थिए । यता मकालु एड्भेन्चर प्रालि कम्पनीले हिमाल आरोहणमा आरोही पठाएका थिए । यी प्रतिनिधिको प्रतिवेदनकै आधारमा विभागले सफल आरोहण गरेको प्रमाणित गरेको थियो । पछि गलत सावित हँुदासमेत ती स्रोतमाथि कुनै कारबाही हुन सकेन । यसले अन्य सम्पर्क अधिकृत, गाइड, एजेन्सीको पनि मनोबल बढ्दै गएको देखिन्छ । सन् २००१ र २००२ मा एक बेलायती नागरिकले नक्कली तस्बिर प्रयोग गरी आरोहणको दाबी गरेका थिए ।

पेम्बादोर्जी शेर्पाले सगरमाथा आरोहण गरेको प्रमाणित गरी पर्यटन विभागले प्रमाणपत्र वितरण गरेपछि त्यसलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०६१ भदौ २९ गते आरोहण गरेको भनी निर्णय ग¥यो र २०६१ भदौ ३१ गते प्रेस विज्ञप्तिमार्फत सबैलाई जानकारी गरायो । तर पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम ३० सँग सम्बन्धित कुनै पनि आधार पूरा नगरी प्रमाणित गरेको भन्दै सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबरा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आरोहण नगरेको भनी निर्णय खारेज ग¥यो । आठ हजारमाथिका १४ हिमाल अरोहणदेखि सगरमाथा र अन्य हिमाल अरोहण गरेको भनी दर्जनौं आरोहीहरूले यस्ता प्रमाणपत्र लिएको आरोहीहरू दाबी गर्छन् । ६ हजारमाथि नपुगेकाहरूले पनि आरोहणको प्रमाणपत्र हात परेको पाइएको छ । यी नियतलाई कर्मचारीले सुधार नगर्ने हो भने र गलत नियत बोकेका पर्वतारोहीलाई कारबाही नगर्ने हो भने हामीसँग भएको चार सय बढी हिमालको प्रवर्धन सम्भव छैन । आरोहणलाई नयाँ प्रविधियुक्त बनाउन ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) अनिवार्य गर्नुपर्ने प्रस्ताव दुई वर्षदेखि भए पनि राज्यका निकाय किन चासो राख्दैनन् ? कर्मचारीले पर्वतारोहणलाई सेतो हात्तीको रूपमा हेर्न नत्यागेसम्म पर्वतारोहण क्षेत्रको विकासमा प्रश्न उठिरहन्छ ।

हिमालसँग दोस्रो पुस्ता

विश्वमा हिमाल र शेर्पा पर्यायवाचीका रूपमा चिनिन्छन् । त्यसैले यी दुई पक्षलाई एक रथका दुई पाङग्रा हुन् भन्दा अत्युक्ति नहोला । इतिहास हेर्दा हिमालसँग मानिसको प्रत्यक्ष सम्बन्ध गाँसिएको सन् १९२२ देखि हो । त्यस समयमा सगरमाथा आरोहणका क्रममा सातजना शेर्पाको मृत्यु भएको थियो । तर २९ मे १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक एड्मन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेपश्चात् हिमालसँग मानवीय सम्बन्ध बढ्दै गएको छ ।
इतिहासदेखि अहिलेसम्म हिमालमा बहादुरी देखाउनेमा नेपाली नै हँुदै आएका छन् । इतिहासदेखि सन् २०१६ सम्मको आरोहण तथ्यांक हेर्दा अहिलेसम्म ४८७९ जनाले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । यस कार्यमा विश्व कीर्तिमान कायम गर्नेहरूको होड पनि उत्तिकै चलेको छ । जस्तै– कम उमेर, धेरैपटक, लामो समयसम्म चुचुरोमा बस्ने, सबैभन्दा छिटो पुग्ने आदि । भरिया, शेर्पा सरदारको उपाधिदेखि हिमचितुवाका उपमा समेत पाएका नेपालीहरूको दोस्रो पुस्ता हिमालसँग नकारात्मक बन्दै गएको छ । चढाउने र सुरक्षित ओराल्नेभन्दा पनि कसरी चाँडै धनाढ्य बन्ने भन्ने प्रतिस्पर्धा बढेको देखिन्छ ।

अघिल्लो पुस्ताले हिमालमा देखाएको बहादुरी, लगनशीलता र इमानदारीले शेर्पाको इज्जत र हैसियत हिजोआजका पुस्तामा कमै देखिन्छ । पछिल्लो समय हिमाल आरोहणका क्षेत्रमा केही गल्ती, कमजोरी र नियतवश नकारात्मक काम पनि भएका छन् । अगुवाहरूले बनाएको बाटोमा पछिल्लो पुस्ताले निरन्तरता दिन नसक्नु र गलत क्रियाकलाप गरेर विश्वमा नकारात्मक सन्देश फैलाउने गरिएको छ । पर्यटकमाथि हातपात र दुव्र्यवहार भएका छन् । बेथिति, कुसंस्कार र गलत क्रियाकलापले शेर्पाको दोस्रो पुस्ताको हिमालसँगको सम्बन्ध नाजुकतिर ढल्किएको छ । आजको पुस्ताले प्रतिष्ठा र सम्मानको रूपमा भन्दा पनि हिमाललाई पेसा र व्यवसायको रूपमा हेर्दै आएको छ ।

विश्वले पर्वतारोहीमाथि हुने आक्रमणको निन्दा गरेको छ । पर्वतारोहणमा महँगो मूल्य असुल गर्नु, प्रतिस्पर्धी बजार भन्दै सस्तो दररेटमा पर्वतारोहण गराउने आदि समस्या छन् । कम्पनी र कामदारहरूबीच परामर्श नहुँदा पेसा नै संकटमा परेको छ । गलत नियत भएकाहरू पर्यटकमाथि खानापिनमै मिसावट गरी आरोहण र ट्रेकिङलाई बीचबाटै रद्द गराउने, आरोहणका क्रममा गद्दारी गरेर असफल बनाउने, उद्दार (रेस्क्यु) मा समेत गलत गतिविधि गरी रकम असुल गर्ने गरेका प्रशस्तै उदाहरण छन् । यी क्रियाकलापले नेपाल पर्वतारोहण मात्र नभएर रेस्क्युका लागि समेत विश्वले कालोसूचीमा राख्ने तयारी गरेको बुझिन्छ । यसर्थ दोस्रो पुस्ताले यस्ता गल्ती सच्याउन जरुरी छ ।

पछिल्लो पुस्तामा देखिएको अर्को कमजोरी हो, बहादुरी देखाउँदै कीर्तिमान कायम गर्न चुचुरो चुमेकाहरू शतप्रतिशत विदेश पलायन नरोकिनु । यो नेपाल, नेपाली र हाम्रो समुदायको लागि पनि दुःखद बनेको छ । स्वदेशको सम्मानको आत्मबोध गरेर इतिहास बनाएका पुर्खाहरूको पनि सम्मान गर्न सिकौं । हामीले हिमाल त्याग्नु राम्रो हुँदैन ।
Source:annapurna post

प्रकाशित मिति २२ मंसिर २०७४, शुक्रबार ०९:२५

सम्बन्धित समाचारहरु