
जर्मनीभर सैयौं उडानहरू रद्द भएका छन्। विमानस्थलका कर्मचारीहरूले तलब बृद्धिको माग लिएर राष्ट्रव्यापी हड्ताल गरेका हुन्। यसले विमान यात्रुहरूमा ठूलो असर पारेको छ। व्यापार संघ भर्दी (Verdi) को नेतृत्वमा यो हड्ताल आकस्मिक रूपमा रविवार हाम्बर्ग विमानस्थलबाट सुरु भएको थियो र पछि यो राष्ट्रव्यापी बन्यो।
फ्र्याङ्कफर्ट, म्युनिख, बर्लिन लगायतका प्रमुख विमानस्थलहरूमा यात्रुहरूलाई विमानस्थल नजान अनुरोध गरिएको छ। जर्मनीको सबैभन्दा व्यस्त विमानस्थल फ्र्याङ्कफर्टले यात्रुहरूले उडानमा चढ्न नपाउने र ट्रान्सफर सेवा पनि प्रभावित हुने बताएको छ।
सार्वजनिक क्षेत्र र यातायात कर्मचारीहरूको प्रतिनिधित्व गर्ने भर्दी संघले वेतन र कामको अवस्थाको मुद्दामा लामो समयदेखि विवाद चलाइरहेको छ। जर्मन मिडियाका अनुसार, आज भरि हजारौं उडानहरू रद्द हुन सक्नेछ भने ५ लाखभन्दा बढी यात्रुहरूको यात्रा प्रभावित हुनेछ।
जर्मनीको प्रमुख एयरलाइन्स लुफ्थान्साले पनि सबै उडानहरूमा ढिलाइ र व्यापक रद्दीकरण भएको पुष्टि गरेको छ। म्युनिख विमानस्थलले पनि उडान सुची न्यून भएको चेतावनी दिएको छ। हाम्बर्ग विमानस्थलका प्रवक्ता काट्जा ब्रोमले भर्दी संघले छुट्टीको मौसमको सुरुवातमा अग्रिम सूचना नदिई हड्ताल गरेकोमा आलोचना गर्दै यो कदम “अनुचित” र “यात्रुहरूप्रति अन्यायपूर्ण” बताइन्।
भर्दीका प्रवक्ताले यो हड्तालले धेरैलाई असर पार्ने स्वीकार गरे तापनि उनले नियोक्ताहरूबाट राम्रो प्रस्ताव प्राप्त गर्न यस्तो कदम आवश्यक भएको बताए। फ्र्याङ्कफर्ट विमानस्थलका १,७७० नियोजित उडानहरू मध्ये धेरै रद्द भइसकेका छन् भने म्युनिखका ८२० उडानहरू मध्ये अधिकांश रद्द हुने अपेक्षा छ।
स्टुटगार्ट, डसेलडर्फ, कोलोन र बर्लिनमा पनि सयौं उडानहरू रद्द हुने अनुमान छ। सार्वजनिक प्रसारक एनडीआरले धेरै यात्रुहरूले सामान चेक इन गरिसकेका थिए तर फिर्ता पाउन समस्या भएको जानकारी दिएको छ। हनोभर विमानस्थलमा त यो हड्तालले हवाई यातायातलाई पूर्ण रूपमा ठप्प पारेको छ।
विमानस्थल बाहेक, भर्दीले बर्लिन, एसेन र किल लगायतका धेरै जर्मन शहरहरूमा कचरा संकलन कर्मचारीहरूको पनि हड्ताल गरेको छ। यसले गत हप्तादेखि यी शहरहरूमा कचरा संकलन बन्द भएको छ। संघले विमानस्थल कर्मचारीहरूको लागि ८% वेतन बृद्धि वा कम्तिमा प्रतिमहिना ३५० युरो बढी तलब, बढी बोनस र अतिरिक्त छुट्टीको माग गरेको छ। नियोक्ताहरूले यो माग अस्वीकार गर्दै यो असम्भव रहेको बताएका छन्।
समाचार संस्था डीपीएले भर्दीका प्रवक्ताको हवाला दिँदै यस हप्ता संघीय सरकार र स्थानीय प्रशासनले सञ्चालन गर्ने अन्य सुविधाहरूमा पनि हड्ताल हुने सम्भावना रहेको जानकारी दिएको छ। अर्को दौरको वार्ता शुक्रवार पोट्सडममा हुने तय भएको छ।