जसपा किन वैकल्पिक राजनीतिक शक्ति ?

विश्वसमाजमा हाम्रो स्वतन्त्रता, समानता, आत्मासम्मानको रक्षा गर्न नेपाली पहिचान तथा नेपाल राज्य अपरिहार्य भइसकेको छ । नेपाल राज्यप्रति हाम्रो पनि दायित्व छ। तर, ‘नेपाली नागरिक राष्ट्रियता’ को पहिचान मात्रले हाम्रो स्वतन्त्रता, समानता र आत्मगौरव स्थापित भएन र हुँदैन ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) को स्थापनापछि गम्भीर रूपमा उठेको प्रश्न हो– एकीकृत पार्टी विगतकै निरन्तरता हुने कि नयाँ वैकल्पिक शक्तिको आधार तयार पार्ने ? राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालको एकीकरणपछि जसपाको गठन नेपाली राजनीतिका लागि महत्त्व राख्ने विषय हो । मधेसकेन्द्रित रहेका सद्भावना, मधेसी जनाधिकार फोरम तथा तराई मधेस लोकतान्त्रिक पार्टीबाट विभिन्न कालखण्डमा विभाजित भएकाहरू सबैको एकीकरण भएको छ । अर्कातर्फ, विभिन्न समयमा कांग्रेस, एमाले र माओवादीबाट अधिकार, पहिचान, सुशासन र समृद्धि तथा परिवर्तनका लागि विद्रोह गरी अलग भएका सबै शक्ति, पार्टी र समूहहरू एकीकृत भई आज वैकल्पिक धारका रूपमा देश र जनताका अगाडि जसपा उदाएको छ । उत्पीडित जाति–वर्गका जनतालाई आफ्नै एक सशक्त र भरपर्दो राजनीतिक शक्ति प्राप्त भएको छ ।

जसपामा एकीकृत भएकाहरू विगतका राजनीतिक लिगेसीलाई जबर्जस्त रूपान्तरण गर्दै नयाँ यात्राको थालनी गर्ने विन्दुमा छौं । विगतमा हामी कोही कम्युनिस्ट धारका थियौं, कोही पुँजीवादी धारका थियौं । कोही आफ्नो राजनीतिक जीवनको सुरुआती बेलादेखि नै मधेसी, आदिवासी जनजातिलगायत उत्पीडित र राज्यविहीन राष्ट्रहरूको पहिचान र मुक्तिका निम्ति प्रतिबद्ध थियौं । तर आज हामी न उदारवादी रह्यौं न मार्क्सवादी, न पुँजीवादी रह्यौं न साम्यवादी । हिजोका ती मान्यताहरूलाई रूपान्तरण गर्दै आज हामी आफू ‘समाजवादी’ भएको दाबी गरिरहेका छौं ।

सैद्धान्तिक–राजनीतिक रूपले ‘समाजवाद’ को नयाँ व्याख्या अनिवार्य भएको छ । हाम्रो राजनीतिक लिगेसीको सुरुआत युरोपेली पुनर्जागरणबाट भएको हो । आधुनिकीकरण मूलतः पश्चिमीकरणअनुरूप भयो र अन्ततः विशाल औपनिवेशिकीकरण परियोजनामा परिणत भयो । करिब सात सय वर्षको आधुनिकीकरणको सबैभन्दा अँध्यारो पक्ष यही नै हो । कम्युनिस्ट वा क्यापिटलिस्ट हुँदाको हाम्रो लिगेसी यही आधुनिकीकरण परियोजनाबाटै निःसृत भएको थियो, जुन वास्तवमा औपनिवेशिक परियोजना थियो ।

परिणामतः पश्चिमी साम्राज्यवादबाट सापेक्षित राष्ट्रिय स्वाधीनता वा मुक्ति प्राप्त भएको अवस्थामा पनि विश्वका अधिकांश जनता र राज्य औपनिवेशिकताको सिकार हुँदै आएका छन् । किनकि आधुनिक राष्ट्र–राज्यहरूको निर्माणको जग त्यही पश्चिमी ज्ञानमीमांसा नै थियो, जहाँ राष्ट्र–राज्यहरूले साम्राज्यवादविरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्षमा बहुलराष्ट्रिय जनतालाई सामेल गराउँदै आए । तर, राज्यहरू आफैंले ती बहुलराष्ट्रिय जनतालाई राज्यविहीनताकै अवस्थामा राखिदिए, उनीहरूको राष्ट्रिय स्वाधीनतालाई कुल्चिँदै गए ।

विश्वभर धर्ममा आधारित सामन्तवादविरुद्ध स्थापित भएको लोकतान्त्रिक उदारवाद तथा साम्यवादको आधुनिकीकरण परियोजनालाई हाँक्न राष्ट्र–राज्य अवधारणा विकास भयो । नेपाली इतिहासको करिब १,५०० वर्षको कालखण्ड विविध राष्ट्रिय सामन्तहरूबीच भएका शक्तिसंघर्षका कथाहरूले भरिएको छ ।

त्यसबीच कुनै एक राष्ट्रिय सामन्त अन्यमाथि सैन्य विजय हासिल गर्दै सामन्तबाट महासामन्त वा महाराजाधिराज घोषित हुँदै गए । इतिहासका साना राष्ट्रिय सामन्तहरूमध्ये गोरखाका खस–आर्यको संयुक्त राष्ट्रिय वा जातीय सामन्त वंशभित्रका पृथ्वीनारायण शाह एक हुन् । उनी र उनका सन्तानहरूद्वारा सैन्य विजयमार्फत वर्तमान नेपालको भौगोलिक सीमा निर्धारण भयो । उनलाई खस–आर्य राष्ट्रियताको जगमा निर्मित एकल राष्ट्रिय राज्य नेपालको निर्माता घोषित गरियो, जसरी अमेरिकामा युरोपेली आप्रवासीहरूले क्रिस्टोफर कोलम्बसलाई गरेका थिए । रंगभेदको नीतिद्वारा प्रताडित अमेरिकी नागरिकले अहिले तिनै क्रिस्टोफर कोलम्बसको मूर्ति ढाल्दै छन् । युरोपेली गोराहरूद्वारा निर्मित अमेरिकी राज्य सम्भ्रान्तहरूको स्वार्थ सुरक्षा गर्ने हतियार मात्र भएको रंगभेदको सिकार बनिरहेका अमेरिकी नागरिकहरूको दाबी छ ।

राज्यलाई एकलराष्ट्रिय स्वरूपबाट बहुलराष्ट्रिय स्वरूपमा रूपान्तरण गर्नु कति महत्त्वपूर्ण तथा अनिवार्य भएको छ भन्ने विषय अमेरिकी घटनाले पनि पुष्टि गरेको छ । नेपालका ऐतिहासिक राष्ट्रियताहरू विश्वमा अन्यत्रझैं राज्य निर्माणका नाममा औपनिवेशिकीकरणको सिकार भएकै हुन् । औपनिवेशिकीकरणले मधेसी तथा आदिवासी जनजाति लगायतलाई राज्यविहीनताको अवस्थामा पुर्‍यायो । तर, इतिहासको एक चरणमा नेपाल राष्ट्र तथा राष्ट्रियताको विकासमा उनीहरूको योगदान पनि महत्त्वपूर्ण देखिएको छ । इतिहासदेखि नै नेपाल बहुलराष्ट्रिय राज्य रहँदै आएको छ । भौगोलिक एकीकरणपश्चात् स्थापित एकीकृत राज्य पनि यहाँको बहुलतालाई स्वीकार गर्न बाध्यकारी बन्यो । त्यही अर्थमा नेपाल ‘चार वर्ण छत्तीस जातको साझा फूलबारी’ भएको व्याख्या गरियो । तर नेपाल हालसम्म पनि साझा फूलबारी भने बनेको छैन । भौगोलिक एकीकरणले भावनात्मक एकतालाई जोड्न सकेन ।

हाम्रो राष्ट्रियता तथा राष्ट्रिय भावना आधुनिक नेपाल राज्य निर्माण हुनुभन्दा हजारौं वर्ष पहिलेदेखि विद्यमान थियो । तथापि, मधेसी र आदिवासी जनजातिले आत्मसात् गरिसकेको विषय हो– हामी नेपाल राज्य बन्नुभन्दा अगाडिको राष्ट्रका जनता रहेनौं, नेपाल राज्यमा अन्तर्घुलन भइसकेका छौं । हाम्रो स्वतन्त्र राष्ट्रियता नेपाल राज्यको अधीन आएको करिब २७० वर्ष भइसकेको छ । आधुनिक विश्वसमाजमा हाम्रो स्वतन्त्रता, समानता, आत्मसम्मानको रक्षा गर्न नेपाली पहिचान तथा नेपाल राज्य अपरिहार्य भइसकेको छ । यो नेपाल राज्यप्रति हाम्रो पनि दायित्व छ । तर, ‘नेपाली नागरिक राष्ट्रियता’ को पहिचान मात्रले हाम्रो स्वतन्त्रता, समानता र आत्मगौरव स्थापित भएन र हुँदैन । आ–आफ्नो ‘सांस्कृतिक राष्ट्रियता’ नै हाम्रो राष्ट्रियताको पहिचान हो । यसर्थ यहाँ बहुल सांस्कृतिक राष्ट्रियताहरू कायम छन् । हाम्रा लागि ‘नेपाली नागरिक राष्ट्रियता’ एक सम्झौता मात्र हो र भूराजनीतिक रूपले उक्त सम्झौता फलदायी भएको छ ।

सम्झौतामार्फत निर्माण भएको आधुनिक राज्य ‘नेपाल’ अब हाम्रो साझा आवश्यकता भइसकेको छ र हाम्रो अस्तित्वका निम्ति अपरिहार्य भएको छ । नेपाल अब संयुक्त राष्ट्र संघको चार्टर मुताबिकको एक सार्वभौम सदस्य राज्य हो । यसको अस्तित्व विश्वसमाजमा स्थापित छ । तथापि, हामी आन्तरिक रूपमा यो राज्यको स्वरूप कस्तो हुने भन्ने विषयमा घनीभूत छलफल खोजिरहेका छौं । हामीले भन्दै आएका छौं, नेपाली जनताको नागरिक राष्ट्रियतालाई मजबुत बनाउन अब राज्यलाई वर्तमानको एकलराष्ट्रिय स्वरूपबाट बहुलराष्ट्रिय स्वरूपमा रूपान्तरण गर्न ढिलो गर्नु हुन्न ।

विक्रम संवत् २००७ सालको जनक्रान्तिदेखि नेपालमा हुँदै आएका सबै किसिमका ठूला–साना जनसंघर्षहरूमार्फत अभिव्यक्त जनताको आवाज यही प्रश्नमाथि केन्द्रित रहँदै आएको छ– राज्य निर्माण भयो तर यो एकलराष्ट्रिय हुने कि बहुलराष्ट्रिय ? यो सवाल जनताको ‘स्वतन्त्रता, समानता र आत्मगौरव’ स्थापना गर्ने लोकतान्त्रिक प्रणालीसँग जोडिएको छ । अबको हाम्रो मुख्य कार्यभार राष्ट्रिय मुक्ति क्रान्ति हो जसले बहुलराष्ट्रिय जनताको आत्मगौरव स्थापित गर्नेछ एवं जनता राजनीतिक स्वतन्त्रता र आर्थिक समानताका निम्ति प्रतिस्पर्धा गर्न सक्षम भई मुलुकले समृद्धिको मार्ग लिनेछ । पहिलो संविधानसभाको निर्वाचनमार्फत नै नेपालमा मधेसको भूमिबाट नयाँ वैकल्पिक शक्तिको जग बसेको हो । निर्वाचनमा मधेसी जनाधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी तथा सद्भावना पार्टीले सानदार विजय हासिल गरे । ऐतिहासिक मधेस आन्दोलनको जगमा प्राप्त यस सफलताले नेपाली कांग्रेस, साम्यवादी कम्युनिस्ट तथा नवसंरक्षणवादी राष्ट्रिय प्रजातन्त्र पार्टीविरुद्ध मधेसमा वैकल्पिक शक्तिको उदय गराएको थियो ।

वैकल्पिक शक्ति निर्माणको क्रमलाई गोलबद्ध गरिएको अहिलेको परिप्रेक्ष्यमा केही गम्भीर तथा महत्त्वपूर्ण सैद्धान्तिक, राजनीतिक र सांगठनिक सवालहरू जसपाका अगाडि छन् । पार्टीको राजनीतिक कार्यदिशा कस्तो हुने, कस्तो समाजवाद अवलम्बन गर्ने, पार्टीको संगठनात्मक सिद्धान्त, विचार, नेतृत्व कस्तो हुने लगायतका विषयमा बहस आवश्यक छ । बाह्य सुझाव र पार्टीको आन्तरिक छलफलले पार्टीको सैद्धान्तिक– वैचारिक नीति र कार्यक्रम बनाई मुलुकको वैकल्पिक राजनीतिक शाक्ति निर्माण गर्ने अभियानमा जुट्नु पहिलो दायित्व हो ।

अब प्रश्न उठ्छ– वैकल्पिक शक्तिको औचित्य र आवश्यकता पुष्टि कसरी गर्ने ? जसपा कांग्रेस र कम्युनिस्टहरूजस्तो वर्गीय समाजको समस्या हल गर्ने शक्ति हो वा राष्ट्रिय समस्या हल गर्ने शक्ति ? कांग्रेस र कम्युनिस्ट पार्टीका संगठनहरूभन्दा हामी कुन हिसाबले फरक, नयाँ र वैकल्पिक शक्ति हौं ? समाजमा त्यस्तो कुन समस्या देखा पर्‍यो वा समाज विभाजित हुने कुन त्यस्तो नयाँ विषय आयो जसका कारण कांग्रेस र कम्युनिस्टभन्दा वैकल्पिक शक्ति वा दलको आवश्यकता पर्‍यो ? कि हामी छद्म रूपमा कांग्रेस वा कम्युनिस्टजस्तै हौं ? हामी किन फरक शक्ति, नयाँ शक्ति वा वैकल्पिक शक्ति ? २०४७ सालको संवैधानिक प्रजातन्त्र हाम्रा निम्ति किन अस्वीकार्य भयो र वर्तमानको संघीय गणतन्त्र हाम्रा निम्ति किन अपर्याप्त छ ? नेपाली कांग्रेस लोकतान्त्रिक गणतन्त्रवादी पक्षधर हो र कम्युनिस्टहरू समाजवादी गणतन्त्र पक्षधर भए भने हामी कुन पक्षधर ? हामीले भनेको लोकतन्त्र कस्तो हो ? समाजवाद कस्तो हो र गणतन्त्र कस्तो हो ?

कांग्रेस र कम्युनिस्ट पार्टीहरूले दाबी गरेअनुसार लोकतान्त्रिक क्रान्ति वा पुँजीवादी क्रान्ति सम्पन्न भएको छ । अब समाजवादी क्रान्तिको कार्यभार बाँकी रहेको भन्ने तर्कका साथ संविधानमै ‘समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र’ उल्लेख भएको निष्कर्षसँग हामी किन असहमत छौं ? किन हाम्रा निम्ति अझै लोकतान्त्रिक क्रान्तिको कार्यभार नै पूरा भएको छैन ? किन हाम्रो समाजवादी क्रान्तिको मोडल उनीहरूको भन्दा फरक छ ? किन हामी राष्ट्रिय मुक्ति क्रान्तिको कार्यभार सम्पन्न नभएसम्म लोकतान्त्रिक क्रान्ति र समाजवादी क्रान्ति अपूर्ण नै रहन्छ भनिरहेका छौं ? राष्ट्रिय मुक्ति क्रान्तिले समाजको कुन खाले विशेष अन्तरविरोधको हल गर्छ ? राजनीतिक रूपमा हाम्रा निम्ति समाजमा निहित वर्गीय सवाल प्रधान हो कि राष्ट्रियताको सवाल ?

यस्ता अनेकौं प्रश्नको उत्तर नवगठित जसपाले दिनुपर्नेछ । वैकल्पिक शक्ति लेखिएको साइनबोर्ड टाँसेर जसपा वैकल्पिक शक्ति भयो भन्दैमा कसैले पत्याउनेवाला छैन । हामीले आधार र प्रमाणहरू नदिईकन कसैले वैकल्पिक शक्ति मान्नेवाला पनि छैन । यो सत्य हो, जनताले वैकल्पिक शक्ति खोजिरहेका छन् । जनतालाई विकल्प चाहिएको हो तर तिनलाई विश्वास दिलाउने गरी आधार चाहियो, सिद्धान्त चाहियो, आदर्श चाहियो ।

बिनामूल्यमान्यता, बिनाआदर्श अरूभन्दा भिन्न, अरूभन्दा फरक र अरूको विकल्प बन्न सकिन्न । विकल्प बन्नका लागि हामीले आफ्ना कुरा राख्नैपर्छ, जुन नयाँ ढंगले राख्नुपर्छ । हिजोकै विचारबाट हामीलाई कसैले पत्याउनेवाला छैन । हाम्रा निम्ति सामाजिक अन्तरविरोधको प्रमुख आधार राष्ट्रिय अन्तरविरोध हो एवं यो ऐतिहासिक र वस्तुगत तथ्य हो । राष्ट्रिय अन्तरविरोधको हल नभएसम्म लोकतन्त्र पूर्ण हुन्न । व्यक्तिगत स्वतन्त्रतालाई ग्राह्यता दिने उदार लोकतन्त्र र सर्वहारा अधिनायकत्व रहने समाजवादी लोकतन्त्र हाम्रा निम्ति अस्वीकार्य छ । हामी उत्पीडित राष्ट्रहरूले पूर्ण लोकतान्त्रिक अभ्यास गर्ने बहुलराष्ट्रिय लोकतन्त्रका पक्षधर हौं । किनकि बहुलराष्ट्रिय लोकतन्त्रमा मात्र राष्ट्रिय मुक्ति सम्भव हुन्छ । हाम्रो लक्ष्य बहुलराष्ट्रिय राज्य स्थापना हो । हामी सांस्कृतिक राष्ट्रवाद तथा स्वदेशवादको पक्षधर हौं । सांस्कृतिक राष्ट्रवादले राज्यहरूभित्र रहेको बहुलराष्ट्रिय संस्कृति र त्यसको जगमा निर्माण हुने विश्वदृष्टिकोण, ब्रह्माण्डिकी तथा राष्ट्रिय समूहलाई राजनीतिक शक्ति संरचनाको आधारभूत एकाइ मान्छ । व्यक्तिलाई राजनीतिक शक्ति संरचनाको आधारभूत एकाइ मान्ने उदारवाद र वर्गलाई राजनीतिक शक्ति संरचनाको आधारभूत एकाइ मान्ने मार्क्सवादभन्दा फरक छ यो । सांस्कृतिक राष्ट्रियतालाई राजनीतिक शक्ति संरचनाको आधारभूत तत्त्व मान्ने हामी सांस्कृतिक बहुल स्वरूपतालाई प्रधानता दिन्छौं ।

अन्त्यमा, आगामी स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचनबाट हाम्रो विजययात्राको सुरुआत गर्नुपर्छ । जति वैकल्पिक शक्तिको कुरा गरे पनि परिणाम त्यति बेला देखिने हो । त्यसैले त्यसको तयारी पनि हुने गरी अहिलेदेखि नै नीति तथा कार्यक्रमहरू पार्टीले दिनुपर्नेछ । अर्कातर्फ, शोषण र उत्पीडनमा परेका जनताको पहिचानसम्बन्धी अधिकारको प्राप्ति तथा देशलाई सुशासन र समृद्धितर्फ लैजान राष्ट्रिय मुक्ति क्रान्तिको तयारी साथसाथै गर्दै जानुपर्नेछ र नेपाली जनताले खोजेको वैकल्पिक राजनीतिक शक्ति प्राप्त गर्नुपर्नेछ । किनकि जसपाको गठन वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ भएको हो । पार्टी एकीकरणको लक्ष्य त्यही हो । विकल्प दिनकै लागि एकता गरेका हौं । त्यसैले लक्ष्यप्राप्तिका लागि हाम्रो मुख्य र अन्तिम लक्ष्य भनेको वैकल्पिक शक्ति निर्माण नै हो ।

(महतो जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता हुन् ।)
rjpn.rajendra@gmail.com

प्रकाशित मिति २५ आश्विन २०७७, आईतवार ०६:४४