दोश्रो विश्व शेर्पा सम्मेलन सिक्किममा हुने ।

९ सेप्टेम्बर – विश्वभरीका शेर्पाहरुको प्रतिनिधिमुलक सहभागिता रहने गरी सन २०१७ मा स्थापना भएको जम्बुलिङ श्यर्वी छोक्पाले दोश्रो विश्व शेर्पा सम्मेलनको आयोजना सिक्किममा गर्ने भएको छ । गत जुन ९ तारीख छोक्पाका अध्यक्ष आङ दोर्जी लामाको अध्यक्षतामा बसेको अनलाईन बैठकले छोक्पाको प्रथम प्रत्यक्ष बैठक र दोश्रो विश्व शेर्पा सम्मेलन सिक्किममा आयोजना गर्ने निर्णय गरेको थियो । सोही अनुसार हिजो ८ सेप्टेम्बरमा बसेको अर्को बैठकले कार्यक्रमको तयारीबारे अपडेट गराएको छ । बैठकमा आगामी अक्टोबरको ९ र १० तारीख आयोजना हुने सो कार्यक्रमलाई भव्यताका साथ सफल बनाउनका लागि व्यवस्थापकीय रुपमा भरपुर तयारी भईरहेको छोक्पाका महासचिव पासाङ गेली शेर्पा र कोषाध्यक्ष मिङमा शेर्पाले जानकारी गराएका छन । उहाँहरु दुवैजना जम्बुलिङ श्यर्वी छोक्पमा सिक्किमका प्रतिनिधिहरु हुन ।
उहाँहरुका अनुसार डेन्जोङ शेर्पा संघ सिक्किमले व्यवस्थापन गर्ने उ क्त कार्यक्रम सिक्किम राज्यको गान्तोक सहरमा आयोजना हुनेछ । कार्यक्रमलाई भव्य र सभ्य रुपमा आयोजना गर्नका लागि यहाँका स्थानीय राज्य सरकारसँग समेत समन्वय गरी तयारी भईरहेको छ, महासचिव पासाङ गेली शेर्पाले बताए । सिक्किममा दोश्रो विश्व शेर्पा सम्मेनल आयोजना हुने कुराले त्यहाँका शेर्पाहरु निकै उत्साहित भएको पनि महासचिव शेर्पाले थपे । स्थापनाको सुरुवाती अवस्थामा भएकाले र जनअपेक्षा धेरै भएको अवस्थामा जम्बुलिङ श्यर्वी छोक्पाले चाहे जति ठोस काम गर्न नसकेको छोक्पाका अध्यक्ष आङ दोर्जी लामा शेर्पाले स्वीकार गरेका छन । यद्यपी यो अभियान दुरगामी महत्वको भएकाले यो दुईबर्षको अवधिमा मात्रै के भयो वा भएन भनेर मात्रै नसोचिदिन आग्रह गर्दै अध्यक्ष शेर्पाले सिक्किममा आयोजना हुने दोश्रो विश्व शेर्पा सम्मेलनमा विश्वका सबै देशहरुबाट प्रतिनिधिमुलक रुपले सहभागिता जनाईदिन अनुरोध गरेका छन ।

प्रकाशित मिति २३ भाद्र २०७६, सोमबार १७:३२