नेपाल शेर्पा संघको अपिल ‘शेर्पा लेख्न नविर्सिऔं’

लाक्पा जी शेर्पा, ३ कार्तिक २०७७ काठमाडौं । नेपाल शेर्पा संघले निकट भविष्यमा नै शुरु हुने जनगणनाको सन्दर्भमा एक अपिल जारी गरेको छ । १२ औं राष्ट्रिय जनगणनामा सोधिने प्रश्नको उत्तर सही रुपमा टिपाउन अपिल जारी गरेको हो । शिक्षा, स्वास्थ्य तथा जनसंख्या विभागले जनगणना–२०७८ को सन्दर्भमा प्रस्ताव पत्र पेश गरे लगतै अपिल जारी भएको जनाएको छ । आगामी जेठ २५ देखि असार ८ गतेसम्म हुने जनगणनामा घरदैलो, टोलमा आउने गणकहरुले सोधिने प्रश्नावली मध्ये मूख्य रुपमा बुँदाहरु ३.६, ३.७, ३.८, ३.९, र ३.१० को उत्तर ठीक–ठीक रुपमा दिन संघले आग्रह गरेको छ ।

‘जनगणनाबाट आउने तथ्याङले आर्थिक, सामाजिक, सांस्कृतिक, राजनैतिक लगायतका क्षेत्रमा महत्वपूर्ण भूमिका र प्रभाव पार्दछ ।’ अपिलमा भनिएको छ ‘यस महाअभियानमा सम्पूर्ण शेर्पा समुदायले अनिवार्य सहभागिता र सक्रियतापूर्वक भूमिका निर्वाह गर्नु नितान्त जरुरी छ ।’ आफ्नो जातीय पहिचान, भाषा, धर्मबारे स्पष्ट रुपमा टिपोट गर्न अनुरोध गर्दै बुँदा नं. ३.६– प्रश्नः जाति÷जाति के हो ?को उत्तरः शेर्पा, बुँदा नं. ३.७– प्रश्नः पूर्खाको भाषा कुन हो ?उत्तरः शेर्पा, बुँदा नं. ३.८ – प्रश्नः मातृभाषा कुन हो ? उत्तरः शेर्पा, बुँदा नं. ३.९– प्रश्नः दोस्रो भाषा कुन हो ? उत्तरः नजिकैको कुनै आदिवासी समुदायले बोलिने भाषा वा नेपाली ।, बुँदा नं. ३.१०– प्रश्नः धर्म कुन मान्नु हुन्छ ?    उत्तरः बौद्ध÷बुद्ध भनेर उल्लेख गर्नुपर्ने भनिएको छ । त्यस्तै कतिपय शेर्पाहरुको थर मात्रै टिपाउने गरेकोमा आगामी जनगणनामा थरसँगै शेर्पा अनिवार्य लेख्न भनिएको छ । थरसँगै जात अनिवार्य लेख्नुपर्ने हुन्छ नत्र अन्यथा हुनेदेखिएको उल्लेख गर्दै संघका अध्यक्ष गेल्ज लामा शेर्पाले भने ‘कुनैको थर लामा हो भनेपनि लामा शेर्पा लेख्न लगाउनुपर्छ । नागरिकतामा लामा मात्रै भएकाले पनि जनगणनामा शेर्पा लेख्नुपर्दछ ।’

संघले अपिलमा थप भनिएको छ ‘कुनै दुविधा भएमा स्थानीय जनप्रतिनिधी, शेर्पा शिक्षक कर्मचारी, राजनैतिककर्मी, बुद्धिजिविहरुसँग सल्लाह लिनु हुन र सामाजिक अभियान्तहरुले आफ्नो गाउँटोल, छिमेकमा यसरी नै सही तथ्याङ संकलनमा सहयोग गरी दिन समेत अनुरोध छ ।’

संघले निकट भविष्यमा नै जनगणनाको सन्दर्भमा विभिन्न कार्यक्रम तयार गरी अघि बढाइएको समेत जनाएको छ । कार्यक्रम अन्तर्गत केन्द्र, प्रदेश र जिल्लास्तरमा अभिमूखिकरण कार्यक्रम, सचेतना गोष्ठि, श्रव्यदृप्य सामाग्री मार्फत व्यापक प्रचारप्रसार, रेडियोहरुमा सूचना प्रसारण, देशभर युवा स्वयमसेवक परिचालन लगायन गर्ने तयारी गरेको शिक्षा, स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख दावा शेर्पाले शेर्पाखबरलाई जानकारी दिए ।

प्रकाशित मिति ३ कार्तिक २०७७, सोमबार १७:२०