पद्मरत्न तुलाधरः ‘फेक प्रचण्ड’ र पहिचान आन्दोलन

२५ भदौ, काठमाडौं । जनपक्षीय उम्मेदवार बनेर ०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित पद्मरत्न तुलाधर ०५१ सालमा एमालेको ९ महिने सरकारमा श्रम तथा स्वास्थ्य मन्त्री बनेका थिए । तत्कालीन विद्रोही नेकपा (माओवादी) लाई शान्ति वार्तामा ल्याउने सहजकर्ताको भूमिका निर्वाह गरेका उनी ०६० को दशकसम्म पनि नेपाली राजनीतिका ‘हट केक’ थिए ।

नेपाल भाषा मंकाः खलः को अध्यक्ष बनेर भाषिक आन्दोलनमा लागेका काठमाडौंका रैथाने तुलाधर चालीसको दशकअघि भाषिक अधिकारकर्मीका रुपमा परिचित थिए । पछि एमाले नजिक भए । त्यसपछि माओवादीनिकट भनेर चिनिए । त्यससँगै उनले पहिचानवादी आन्दोलनका अभियन्ताको दहि्रलो पहिचान बनाए ।

आधिकारिक रुपमा कुनै पनि दलको सदस्य नबनेका उनी लोकतान्त्रिक र वामपन्थी आन्दोलनमा सक्रियतापूर्वक लागे । ०४६ सालमा उनी पञ्चायतविरुद्ध संयुक्त आन्दोलनका लागि कांग्रेस र बाममोर्चालाई एक ठाउँमा ल्याउने सूत्रधारमध्ये एक थिए ।

शान्त, सरल र मिजासिला स्वाभावका तुलाधर मञ्चमा भने निकै चर्को भाषण गर्छन् । भाषणकै क्रममा उनी पटक-पटक भावुक बन्छन् । यति भावुक बन्छन् कि, कतिपय बेलामा उनी भाषण गर्दागर्दै रुन्छन् पनि । भाषणकै कारण तुलाधर ०५१ सालमा स्वास्थ्य मन्त्री बनेका बेला ‘गाई विवाद’ मा मुछिए ।

भदौ ३० गते राजधानीमा तुलाधारको नागरिक अभिनन्दन हुँदैछ । यसबाहेक पछिल्लोपटक ०७२ सालमा आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको नेतृत्व गरेका तुलाधर केही वर्षयता सार्वजनिक कार्यक्रममा देखिन छाडेका छन् । आफैं अध्यक्ष रहेको राष्ट्रिय आन्दोलनले गत महिना बानेश्वरमा आयोजना गरेको कार्यक्रममा उनी स्वास्थ्यकै कारण सहभागी हुन सकेनन् ।

अनलाइनखबरकर्मीसँगको भेटमा तुलाधरले हिँडडुल गर्न नसके पनि आफू अस्वस्थ नभएको बताए । लाजिम्पाटस्थित निवासमा तुलाधरले पञ्चायतकालीन संघर्ष, एमालेलाई पुर्‍याएको योगदान, गाईकाण्डको प्रशंग अनि सरकार-माओवादी वार्ताका गोप्य प्रशंगहरु र शान्ति प्रक्रियापछिको राजनीतिक घटनाक्रमको स्मरण गरे ।

म यसरी वामपन्थी भएँ

मेरा बुबा ल्हासामा व्यापार गर्नुहुन्थ्यो । त्यहाँ चाइनिजहरू आएपछि निजी व्यापार बन्द भयो । त्यसपछि बुबा नेपाल फर्कनुभयो । बुबाले चीनको खुब प्रशंसा गर्नुहुन्थ्यो । बुबा मात्रै होइन काका, दाजुहरूले पनि चाइनजिहरू यस्तो उस्तो भनेर मीठामीठा कुरा गर्थे । यस्तो माहोलले कम्युनिष्ट व्यवस्था भएको देश यस्तो हुँदो रहेछ भन्ने छाप बस्यो ।
त्यसबेला माधव नेपाल साइकल चढेर मेरो घरमा आउनुहुन्थ्यो । त्यहीँ बसेर घण्टौं कुरा गर्थेँ । उहाँ ट्रान्जिस्टर बोकेर आउनुहुन्थ्यो । हाम्रो कुरा अरुले नसुनोस् भनेर ट्रान्जिस्टर बजाउँदै कुरा गर्थ्यौं ।

तिब्बतको कुरा बुझ्न पुष्पलाल श्रेष्ठ हाम्रो घरमा आउनुहुन्थ्यो । खासगरी चाइनिजहरूले तिब्बतमा आएपछि के-के गरे भन्नेमा उहाँको चासो देखिन्थ्यो । म बुबासँग बस्ने र पुष्पलालको कुरा सुन्ने गर्थें । बुबा रेडियो खुब सुन्नुहुन्थ्यो । दाजु र म बुबासँगै रेडियो सुन्नेे र पत्रपत्रिका पढ्ने गथ्र्यौं ।

१२-१३ वर्षको हुँदा म र बहिनी अमृतलक्ष्मी दुर्गालाल श्रेष्ठसँग पढ्न असन जान्थ्यौं । दुर्गालालसँग दाजुको जस्तो, गुरुको जस्तो सम्बन्ध थियो । त्यतिबेला उहाँले सडक नाटक लेख्नुहुन्थ्यो । दुर्गालाल दाइ आफू जहाँ-जहाँ जानुहुन्थ्यो, मलाई पनि साथमा लैजानुहुन्थ्यो । दुर्गालाल दाइका कारणले पनि ममा वामपन्थी झुकाव बढेजस्तो लाग्छ । २०१७ सालपछि भने पुष्पलाल श्रेष्ठ भूमिगत हुनुभयो ।

कमलाक्षी, भोटाहिटीमा निरञ्जन गोविन्द वैद्य (नेपाल कम्युनिष्ट पार्टीका एक संस्थापक) को पुस्तक पसल थियो । हामी त्यहाँ थएर पुस्तक पढ्थ्यौं । वामपन्थी झुकाव हुनेहरूका लागि त्यहाँ किताब किन्नु एक किसिमको फेशनजस्तै थियो । सस्तो-सस्तो पुस्तक किन्थ्यौं । चाइना टुडे, पिपुल्स रिभ्यू पढ्थ्यौं ।

विसं. २०१४ सालमा त्रिचन्द्र कलेजमा पढ्ने बेलामा निर्मल लामा, रुपचन्द्र विष्टहरू मेरा सहपाठी थिए । कुनै पिरियड खाली भयो कि उनीहरु चउरमा बसेर बामपन्थी गफ दिइहाल्थे । यो माहोलले पनि मलाई वामपन्थी बनाउन मद्दत गर्‍यो ।

केपी ओली र विद्या भण्डारीको क्षेत्रमा भाषण गरें

पछि भाषा आन्दोलनमा पनि लागियो । म नेपाल भाषा मंकाः खलः को अध्यक्ष भएँ । त्यतिबेला साहित्य सम्मेलन हुने गर्दथ्यो । म कीर्तिपुर, बनेपासम्म साइकल चढेर चिठी बाँड्न जान्थें । सुदर्शन भन्ते लगायतका भाषिक कार्यक्रमका वक्ताहरू विभिन्न कारणले सम्मेलनमा आउन सक्नुभएन । त्यहीबेला म नाई भन्न नजान्ने मान्छेलाई साथीहरूले वक्ताका रुपमा अघि सारे । नेपाल भाषामा दुई-तीन ठाउँमा बोलेपछि भाषण गर्न पनि सिकें । त्यसले एक किसिमको आत्मबल मिल्यो ।

२०३६ सालमा विद्यार्थी आन्दोलन भयो । म कुनै विद्यार्थी संगठनको सदस्य थिइनँ । तर, सबैको जुलुसमा जान्थेँ । इन्कलाब भन्न होइन जिन्दावाद मात्रै भन्न । नाराको लिड गर्ने होइन कि पछिपछि लागेर स्वरै सुक्ने गरी जिन्दावाद भनेर कराउँथें ।

विद्यार्थी, राजनीति, मजदुर जुनसुकै जुलुसमा पुग्थेँ । पछिपछि त मनमोहन अधिकारी, सुशील कोइराला, झलनाथ खनाल, माधव नेपालसँग जुलुसमा सँगै हिँड्थ्यौं । साँच्चै भन्ने हो भने म अहिले पनि सडक आन्दोलनमै छुजस्तो लाग्छ । कहिले भाषा आन्दोलनको विषयमा त कहिले आदिवासी जनजातिको आन्दोलनका लागि सडकमा पुगिरहेको हुन्छु ।

जनमत संग्रहमा पनि म एक दुई ठाउँमा वक्ता भएर गएको थिएँ । अनेरास्ववियु पाँचांैको राष्ट्रिय सम्मेलन मित्रपार्क, चावहिलमा भएको थियो । त्यतिबेला प्रेस सञ्चालन गरेर बसेको थिएँ । त्यहीताका रघुजी पन्तसँग सम्पर्क भयो । विद्यार्थी सम्मेलन हुँदा मलाई वक्ताको रुपमा आमन्त्रण गरे । अब कस्तो फसाद, मैले नेपालीमा कहिल्यै भाषण नगरेको । म बोल्न सक्छु भन्ने आत्मविश्वासै थिएन ।

नाई भन्दाभन्दै पनि बोल्नैपर्ने भयो । शम्भुराम श्रेष्ठ र मलाई अतिथि वक्ता बनाएका थिए । मैले पहिलोपटक नेपाली भाषामा भाषण गरेको त्यहीँ नै हो । भाषणमा तालीका ताली आयो ।

त्यसपछि त शिक्षक आन्दोलनमा पनि बोलाउन थालियो । ०४८ सालमा मनमोहन अधिकारी, मदन भण्डारी, साहना प्रधान, केपी शर्मा ओली र उपनिर्वाचनमा विद्या भण्डारीको निर्वाचन क्षेत्रमा गएर भाषण गरेँ । ओलीजीलाई जिताउन झापाको दमकमा गएर पनि भाषण गरेँ ।

सूर्य चिह्नमा दाबी

विसं. ०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्य (रापस) मा उम्मेदवारी दिएको थिएँ । गोरखापत्रमा नाम प्रकाशित भएपछि असनमा गणेशमान सिंहसँग भेट भयो । उनले के गरेको पद्म भाइ भन्दै, अहिले चुनावमा उठ्नुहुँदैन भने । अर्को एक जना मेरो काकी पर्नेले पनि पद्म तिमी पनि पञ्च हुन गएको ? भनेपछि उम्मेदवारी फिर्ता लिएँ ।

त्यतिबेला पञ्चायतमा जानु भनेको भ्रष्टाचार गर्न जानु हो भन्ने छाप थियो । हुन पनि कांग्रेस-कम्युनिष्टबाट गएर मन्त्री बनेकाहरू पनि पतीत भइरहेका थिए ।

विसं. ०४३ सालमा नेकपा मालेले निर्वाचनलाई उपयोग गर्नुपर्छ भन्ने नीति लियो । गणेशमान सिंह, ऋषिकेश शाह, डिल्लीरमण रेग्मी, टंकप्रसाद आचार्यसँग सल्लाह गर्न गएँ । गणेशमानजीले ऋषिकेश शाह र रुपचन्द्र विष्ट जस्तै हुने हो भने जाँदा हुन्छ भने । उनीहरूको भनाइको अर्थ रापंस भए पनि पञ्च नहुने र अडानमा बस्ने भन्ने थियो ।
मैले पञ्च नबन्ने शर्तमा जनपक्षीय उम्मेदवार बन्ने निर्णय गरें । मालेका कार्यकर्ताहरू मेरै पक्षमा लागेका थिए । कांग्रेसको पनि समर्थन मलाई नै थियो । खुलेआम प्रजातन्त्रको पक्षमा भोट मागें । पञ्चायती व्यवस्था होइन, अव्यवस्था हो भनेर भाषण गरेँ । ८२ हजार मत ल्याएर जितेँ पनि ।

त्यतिबेला मेरो चुनाव चिह्न सूर्य थियो । चुनावपछि सूर्य चिह्न पनि लोकपि्रय भयो, म पनि नेकपा मालेसँग नजिक भएँ ।

त्यसबेला माधव नेपाल साइकल चढेर मेरो घरमा आउनुहुन्थ्यो । त्यहीँ बसेर घण्टौं कुरा गर्थेँ । उहाँ ट्रान्जिस्टर बोकेर आउनुहुन्थ्यो । हाम्रो कुरा अरुले नसुनोस् भनेर ट्रान्जिस्टर बजाउँदै कुरा गर्थ्यौं ।

जीवराज आश्रित पनि मलाई भेट्न बालकुमारीको प्रेसमा आइराख्नुहुन्थ्यो । बाईन्डिङ कोठामा घण्टौं बसेर कुरा गर्थ्यौं । मालेका अरु नेताहरू सम्पर्कमा हुनुहुन्थ्यो ।

सूर्य चिह्न ०४६ अघि नै लोकप्रिय भइसकेको थियो । नेकपा एमालेले त्यही चिह्न रोज्यो । म त कुनै पार्टीमा नभएको मान्छे । म स्वतन्त्र हुँ, सूर्य मेरो स्वतन्त्र चिह्न हो भन्दा पनि कोही मानेन । एमालेले त्यही चिह्न दिएर मलाई टिकट दिन लागेको थियो । साथीहरूले पनि सूर्य चिह्न एमालेको भन्दा पनि हाम्रै हो । चुनाव लड्न जानु भन्थे ।

अहिलेसम्म पनि त्यो चिह्नको विषयमा विवाद छ । नेकपाले पनि त्यही चिह्न रोजेको छ । मैले सूर्य चिह्नबाट ०४३, ०४८ र ०५१ मा चुनाव जितेँ ।

सूर्य चिह्नबाट जितेर गए पनि म संसदमा स्वतन्त्र सांसदकै रुपमा प्रस्तुत भएँ । बजेट प्रस्तुत हुँदा एमाले र कांग्रेस दुबैको आलोचना गथेर्ं । एमालेको आलोचना गर्दा कांग्रेसहरू हात मिलाएर हामीले बोल्न नसकेको कुरा दाइले बोल्नुभयो भन्न आउँथे ।

‘गाईकाण्ड’ ले गाह्रो !

म स्वास्थ्य मन्त्री भएका बेला ‘गाईकाण्ड’ भनेर एउटा विषय उचाले । म मानवअधिकारवादी पनि हुँ । म संगठितरुपमै मावनअधिकारवादी संगठनमा आवद्ध हुँ । मन्त्री भएका बेलामा बारा जिल्लामा हाम्रो अधिवेशन भएको थियो ।

त्यहाँ बोल्दा मैले राजनीतिक अधिकार प्राप्त भयो, सामाजिक, सांस्कृतिकरुपमा भने मानवअधिकार प्राप्त भइसकेको छैन भनें । उदाहरणका लागि मुस्लिम समुदाय वा गाईको मासु खाने जनजाति समुदाय आएर, हामीले आ-आफ्नो क्षेत्रमा गाईको मासु खान पाउनु मानवअधिकार हो कि होइन भनेर सोध्यो भने मैले मानवअधिकारकर्मीको नाताले पाउनुपर्छ भन्छु भनें ।

त्यो भनाइ के खान हुन्छ वा हुँदैन भन्नेसँग होइन, मानवअधिकार के हो भन्ने कुरा बुझाउनका लागि थियो । त्यहाँ अगाडि एकजना कांग्रेसका पत्रकार रहेछन् । तिनले आफ्नो पत्रिकामा पद्मरत्नले गाई काट्नुपर्छ भन्यो भनेर लेख्यो ।
लगातार पहल गरेपछि माओवादी र सरकारबीच पहिलो वार्ता भयो तर, असफल । त्यसको एक/दुई दिनमै म दिल्ली जानुपर्ने थियो । ठूलो छोरालाई लिएर त्रिभुवन विमानस्थल पुगेको प्रहरीले पक्राउ गरेर हनुमानढोका खोर हाल्यो ।त्यहाँ धेरैचोटि पुगेको थिएँ तर, त्यसपटक साँच्चै चित्त दुख्यो ।यत्तिका वर्ष भयो, शेरबहादुरजीले मलाई ‘सरी’ भन्नुभएको छैन

कसैले गाई काटेको प्रसँग आयो कि पद्मरत्नले पठाएको हो भन्थे । स्वास्थ्य मन्त्री भएर जिल्ला अस्पतालमा जाँदा मेराविरुद्ध नारा लगाउँथे । मेरो विरुद्धमा कोणसभा गरिन्थ्यो । भाषण सकिएपछि वक्ताले जय नेपाल भन्थे । त्यसबाट विरोध गर्नेहरू कांग्रेस थिए भन्ने स्वतः सिद्ध हुन्थ्यो ।

एमाले मात्रै होइन, म कुनै पार्टीमा कहिल्यै सदस्य भइनँ । मदन भण्डारीको अवसानपछि एमालेका जम्मै नेताहरू आएर पार्टीमा आउनुपर्‍यो भने । तपाईले जे पद चाहनुहुन्छ, त्यो पद दिन तयार छौं भन्थे । मैले पद चाहिन्छ त भनिनँ । तर, एमाले विभाजित नहोस् भनेर मेरो घरको तलको कोठामा पटक-पटक मिटिङ राखे । दुबै पक्षमा नेताहरुलाई राखेर कुरा गरेँ । तर, सफल भइनँ ।

महाकाली सन्धिको सम्बन्धमा विभाजित हुँदा मैले सन्धिको विपक्षमा मतदान गरेको थिएँ । त्यसकारण म बामदेव गौतमहरूको साइडमा बसेँ । त्यसपछि मालेको तारा चिह्न लिएर चुनावमा उठें र हारेँ ।

त्यसको मलाई एउटा फाइदा भयो । जसले पनि मकां खलःको, नेवारको भोटले जितेको, साम्प्रदायिक भन्थे । मालेबाट हारेपछि मैले नेवारको भोटले जितेको भए किन हारें त ? भनेर प्रश्न गर्न पाएँ । नेवारको भोटले जितेको भए त अहिले पनि जित्नुपर्ने भनंे । त्यसअघिका तीनवटा चुनावमा मैले पाएको भोट राजनीतिक नै थियो भन्ने पुष्टि भयो ।

शेरबहादुरजीले सरी भन्नुपर्थ्यो

माओवादीले ०५२ मा हतियार उठायो । मेरो सबैसँग राम्रो सम्बन्ध थियो । म संसदमा थिएँ । बाबुरामजीसँग पहिलेदेखि नै परिचित थिएँ । मेरो शान्त र नरम स्वभाव भन्छन्, तर म जहिल्यै पनि क्रान्तिको पक्षमा उभिएँ । जसले रेडिकल विचार राख्छ, मानसिकरुपमै उनीहरुको पक्षमा लाग्नेे स्वाभाव छ । त्यसैले होला, माओवादीको समर्थकजस्तो देखिएको ।

जनयुद्ध शुरु भएको एक/दुई वर्षमा उनीहरूले मलाई सम्पर्क गर्न थाले । प्रचण्डजीले बारम्बार फोन गर्नुहुन्थ्यो । घरको फोन ट्याप हुन्छ भनेपछि बाहिर गएर फोन गर्थेँ । माओवादीलाई भेट्न दिल्ली, रक्सौल, लखनऊ कहाँ गइनँ ?

माओवादी नेता दिनेश शर्मा एक दिन प्रचण्डलाई लिएर मेरो यही घरमा आउनुभयो । हामी पुरै आतंकित भयौं । प्रचण्डले रोल्पाबाट फर्केको, दाइको घरमा नपसी कसरी जाने भनेर आएको भने । निस्कने बेलामा त उनीहरू पनि आत्तिएछन् । एउटा ट्याक्सी लिएर गए । बाहिर मान्छेहरू थिए । तर, प्रचण्डलाई प्रहरीले चिन्दैनथे ।

श्रीलंकामा एउटा कार्यक्रममा गएका बेलामा दमननाथ ढुंगानाजीले एकपटक प्रचण्डलाई भेट्न पाए हुन्थ्यो भने । त्यसपछि उहाँलाई भेट्टाउन दिल्ली लिएर गएँ ।
लगातार पहल गरेपछि माओवादी र सरकारबीच पहिलो वार्ता भयो । तर, वार्ता असफल भयो । त्यसको एक/दुई दिनमै म दिल्ली जानुपर्ने थियो । ठूलो छोरालाई लिएर त्रिभुवन विमानस्थल पुगेँ । बोर्डिङ पास लिएर बसिरहेको थिएँ । एकजना प्रहरी आएर सलाम गर्‍यो । सरलाई डीएसपी साहेबले डाक्नुभएको छ भनेर पक्राउ गरे । त्यसपछि हनुमान ढोका खोरमा लगेर कोचिदिए ।

त्यतिखेर शेरबहादुर देउवाजी प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँकै जानकारीमा म वार्ताको काममा सक्रिय भएको थिएँ । त्यो घटनाभन्दा केही दिन पहिला शेरबहादुरजीसँग दमननाथजी र मेरो भेट भएको थियो । दमननाथजीले मेरो उपचारमा सरकारले सहयोग गर्नुपर्‍यो समेत भन्नुभएको थियो । तर, मैले सहयोग चाहिँदैन भनें । म मुटुको विरामी उपचारका लागि दिल्ली जान लाग्दा हनुमान ढोका खोरमा पुँगे ।

त्यो खोरमा म धेरैचोटि पुगेको थिएँ । तर, त्यसपटक साँच्चै चित्त दुख्यो । पञ्चायत फेरि फर्केछ जस्तो लाग्यो । एउटा सानो झ्याल मात्रै भएको अँध्यारो कोठामा राख्दा अचम्मित भएको थिएँ । देशको शान्ति प्रक्रियामा सहभागी हुँदा म त्यसरी खोरमा जाकिएको थिएँ । धन्न छोरो साथमा भएकाले दमननाथजी र गौरी प्रधानलाई फोन गरेछ र म छुटेँ ।

त्यतिबेला शान्ति प्रक्रियाका लागि शेरबहादुरजीलाई मैलेजति कसले सहयोग गर्‍यो होला ? मेरो एक मात्र उद्देश्य शान्ति कायम होस् भन्ने थियो । पछि दमनजीले सोध्दा उहाँ भाग्न लाग्नुभएकोले प्रहरीले समातेको रे भनेछन् । जबकि मेरो उपचारको विषयमा शेरबहादुरजी पूरापूर जानकार हुनुहुन्थ्यो । म भाग्नुपर्ने कारणै छैन भन्ने पनि उहाँलाई थाहा थियो ।

यत्तिका वर्ष भयो, शेरबहादुरजीले मलाई अहिलेसम्म ‘सरी’ भन्नुभएको छैन ।

पद्मरत्न नै प्रचण्ड !

जिल्ला-जिल्लामा जाँदा मलाई निकै नमीठो अनुभव हुन्थ्यो । हामी वार्ता होस् भनेर निस्वार्थ लागिरहेका हुन्थ्यौं । तर सेना, प्रहरीले हामीले सुन्ने गरी ‘यिनीहरू केको मानवअधिकारवादी, यिनीहरू माओवादी हुन, दुबैलाई सिध्याउनुपर्छ’ भन्थे । दमनजी र म सुनेको नसुन्या जस्तो गरेर बस्थ्यौं ।

म मालेको तारा चिन्ह लिएर चुनावमा उठेका बेला खिचेको तस्वीर थियो एउटा । त्यसैलाई देखाएर कतिपयले प्रचण्ड भनेकै पद्मरत्न तुलाधर हो पनि भने । टाइम्स अफ इन्डिया, द स्टेसम्यानसीप लगायतका दैनिकले मेरै तस्वीरलाई प्रचण्ड भनेर प्रकाशित गरे । जी न्यूजले पनि ०६२ सालमा ओसामा बिन लादेनभन्दा सर्वाधिक खोजी गरिएको प्रचण्ड भनेर मेरै फोटो देखायो ।

प्रधानमन्त्रीसँग सल्लाह गरेरै वार्ता गरिरहेका हुन्थ्यौं । तर, सरकारले आधिकारिक पत्र केही दिएको थिएन ।

दोस्रो वार्ता असफल भएपछि राजाका पालामा गृहमन्त्री कमल थापाले हामीलाई तपाईहरू सहजकर्ता रहनुभएन भनेर पत्र दिए । ‘नियुक्त गर्दा पत्र दिनुनपर्ने, हटाउँदा पत्र दिनुपर्ने’ भनेर ठट्टा पनि गर्थ्यौं ।

त्यतिबेला वार्ताको विषयमा गम्भीरता थिएन । कतिसम्म भने सरकार र माओवादी दुबै पक्षसँग मागपत्र लिखितरुपमा प्रस्तुत गर्ने अवस्था समेत थिएन । वार्ताको विषयमा छलफल गरेको बैठकमा नेताहरू पालैपालो चुनावी भाषण गरेर बस्थे ।

दमननाथ ढुंगाना, शैलेन्द्रकुमार उपाध्याय, कृष्णध्वज अधिकारी र म सहजकर्ताका रुपमा लामो समय सक्रिय थियौं । प्रचण्डजी संसारमा कम्युनिष्टहरूले शुरु गरेका सशस्त्र क्रान्ति सफल पनि भएका छन्, असफल पनि । लाखौं लाखकोे ज्यान जाने गरी नरसंहार पनि भएका छन् भन्थे । शान्तिपूर्वक समाधान निस्कन्छ भने हामी वार्ताबाट निकास निकाल्न तयार छौं भनेका थिए । प्रचण्डको त्यही भनाइकै आधारमा म कन्भिन्स भएको थिएँ कि उनीहरु वार्तामा आउन तयार छन् ।

त्यसबेला माओवादीबाट अपहरण भयो भनेर परिवारका सदस्यहरु मेरो घरमा आउँथे । चन्दा आतंक भयो भन्ने गुनासो लिएर पनि आउँथे । डीएसपी ठूले राईको परिवारले पनि आएर मलाई भेट्नुभयो । प्रचण्डको फोन आयो भने रिहाइ गर्न भन्नुहोला भन्न आएका थिए । राजा वीरेन्द्रको पूर्व प्रेस सेक्रेटरीलाई पनि छोड्नू भनिदिएँ । मैले भनेको कुरा प्रचण्डले नाइँ गर्दैनथे ।

गृहमन्त्री रामचन्द्र पौडेल सुरक्षा गार्डविनै….

उपप्रधान तथा गृहमन्त्री भएकाबेला रामचन्द्र पौडेलले माओवादीलाई भेट्न खोजिरहनुभएको थियो । माओवादीले दिनेश शर्मा लगायतका वेपत्ता नेताहरूको अवस्था सार्वजनिक गर्न माग गरिरहेको थियो ।

रामचन्द्रजीको आग्रहमा प्रचण्डजीलाई फोन गरेँ । माओवादीले काठमाडौंमा उपलब्ध आफ्ना नेता रविन्द्र श्रेष्ठलाई वार्ताको जिम्मेवारी दियो ।

मैले व्यक्ति र स्थान नतोकेर वार्ता हुँदैछ भन्ने कुरा सञ्चार माध्यमलाई बताएँ । त्यसपछि बाबुरामजीले वार्ता कि रोक्नुपर्‍यो, होइन भने सार्नुपर्‍यो भनेर फोन गर्नुभयो । फेरि प्रचण्डले पनि फोन गरेर वार्ता रोक्नु पर्‍यो भने । रविन्द्रको सुरक्षाको कुरा पनि उठाए । मैले त्यसको पनि जिम्मा लिन्छु भनें ।

पाटनमा एकजना साथीको घरमा वार्ता भयो । तत्कालीन गृहमन्त्री रामचन्द्रजी विनासुरक्षा गार्ड त्यहाँ जानुभएको थियो । उहाँकै छोराले हाँकेको गाडीमा बसेर । रविन्द्र सडकमा यात्रुजसरी उभिइरहेका थिए, गृहमन्त्री पौडेल चढेको गाडीले पिकअप गरेर वार्तास्थल लगिएको थियो ।

डीभी पीडितलाई साथ दिँदा…

भाषा आन्दोलन, आदिवासी जनजाति आन्दोलनमा लागेकाले मलाई कतिपयले साम्प्रदायिक पनि भन्ने गर्छन् । तर, वास्तविकता के हो भने म अधिकारवादी जुनसुकै आन्दोलनमा समाहित हुन्छु । सडकमै पुगिरहेको हुन्छु ।

मानवअधिकार, नागरिक आन्दोलन, लोकतन्त्र जोगाउने आन्दोलन, महिला, दलित आन्दोलन सबैमा सहभागी हुन्छु । दलित आन्दोलन भनेपछि त छुटाउँदै छुटाउँदिनँ ।
एकपटक नेकपा नेतृ शशी श्रेष्ठले दाइ हाम्रो आन्दोलन छ भनेर जानकारी दिइन् । म पनि गएँ । रत्नपार्कमा थियो आन्दोलन । यस्सो हेर्छु त त्यो जुलुसमा म एक्लो पुरुष रहेछु । यसरी पटक-पटक स्टेज महिलाहरूको बीचमा एक्लो परेको छु ।

तर, सबैको आन्दोलनमा जानुको बेफाइदा पनि रहेछ । अमेरिका जान नपाएका ‘डीभी पीडित’ हरू एक दिन मेरो घरमा आए । केही दिनमा उनीहरूले अमेरिकन दुतावास अगाडि अनसन शुरु गरेछन् । जति अनसन बसे पनि उनीहरुको मागको कतैबाट सुनुवाइ भइरहेको थिएन । त्यसपछि अनसन तोड्ने निस्कर्षमा पुगेछन् । उनीहरूलाई जुस खुवाएर अनसन तोडाउन म एक्लै त्यहाँ पुगेँ ।

त्योसम्म त ठीकै थियो । तर, एउटा ठिटोले अमेरिका जान नपाएको झोंकमा अमेरिकालाई तथानाम गाली गरे । परेन, फसाद Û एउटा मानवअधिकारवादी नेतालाई साथमा राखेर त्यो युवाले उच्चारणै गर्न नमिल्ने शब्द प्रयोग गरेर एकघण्टा भन्दा बढी धाराप्रवाह गाली गरे । मलाई त बसुँ कि भागौंजस्तो भयो । धेरै सरल हुनुको पनि बेफाइदा रहेछ ।

प्रचण्ड र बाबुरामको विवशता ?

युद्धकालमा माओवादीहरू राज्यपुनःसंरचना, समावेशिता, पहिचान जस्ता विषयमा व्यवस्थितरुपमै प्रस्तुत भएका थिए । जातीय मुक्ति मोर्चाहरू बनाए । नेवाः प्रदेश, मगरात घोषणा गरे । १० प्रदेशको कुरा अघि सारे ।

अघिल्लो संविधानसभाबाट संविधान जारी भएको भए आदिवासी जनजाति लगायतले अधिकार पाउँथे पनि भने । कसैकसैले त प्रचण्डले बेइमानी गरेको पनि भने । जनजाति, मधेशी आन्दोलनका साथीहरूले प्रचण्डले गद्दारी गरेको आरोप पनि लगाए ।

संविधानसभामा आउनु भनेको संसदीय प्रणालीमा आउनु थियो । जहाँ दुईतिहाई बहुमत नभई केही हुँदैनथ्यो । तर, त्यो भोट उहाँहरुसँग थिएन ।

संविधानसभा विघटन गरेको भनियो । तर, त्यो समयावधि सकिएर समाप्त भएको थियो । बाबुरामजीलाई सबैले दोष दिए । समय पुगेपछि विघटन भएको थियो ।

दोस्रो संविधानसभामा त माओवादीको शक्ति नै कमजोर भयो । त्यतिबेला पनि प्रचण्डजीले मलाई फोन गरेर समावेशीता र जनजाति अधिकारको विषय छोड्दिनँ भनेका थिए । हामी त ढुक्क भएर बसेका थियौं । विवशता थियो होला वा के थियो होला, सम्झौता गरेर उतातिर लाग्नुभयो ।

प्रचण्डले चाहेको भए अडान लिन सक्थेे भन्ने होला । अडान लिए पनि पर्याप्त सिट त उहाँसँग थिएन । एमालेको समर्थन चाहिन्थ्यो । पहिचान र समावेशिताको सवालमा एमाले अलि अनुदार थियो । संघीयताकै कुरा पनि समस्या थियो ।

आदिवासी जनजाति मात्रै होइन, अन्य धेरै-धेरै मुक्तकामी जनताहरूमा प्रचण्डजीप्रति ठूलो आशा थियो । अहिले पनि सार्वजनिक ठाउँमा बोल्दा उहाँ जनजाति, मधेसीको पक्ष वा पहिचानकै पक्षमा कुरा गर्नुहुन्छ ।

क्रान्ति सम्झौतामा टुङ्गियो । यो संसदीय व्यवस्था हो । कम्युनिष्ट पार्टीको सरकार भए पनि कम्युनिष्ट व्यवस्था होइन । दुईतिहाई भए पनि धमाधम संविधान संशोधन गर्न सक्नुहुन्न उहाँहरू ।

बाबुरामजीको दुईवटा सभामा मलाई पनि वक्ताका रुपमा बोलाएर गएको थिएँ । उहाँले धेरै मान्छे ल्याउनुभयो । तर व्यवस्थित गर्न सक्नुभएन । बाबुरामजी भेट्न आउँछु भन्नुभएको छ तर आउनु भएको छैन ।

प्रचण्डजीसँग एउटा कार्यक्रममा भेट भएको थियो । पहिलाको जस्तो स्थिति छैन । सल्लाह लिन आवश्यक नभएर पनि होला । जनजातिको कार्यक्रममा पनि मैले फोन गरेर धन्यवाद भनें । उहाँले दाइको घरमा आउँछु भन्नुभएको थियो । आधार इलाका तयार गर्ने बेलामा पनि मलाई सोध्नुभएको थियो । अहिले त्यस्तो स्थिति छैन ।

प्रचण्डले नमानेको एउटा कुरा

राज्यको नीति पहिलाको जस्तै छ । झण्डै अवस्था पञ्चायतकालकै ‘एक भाषा, एक भेष’ को नीतिजस्तै छ । गणतन्त्र घोषणा भए पनि भाषिक विभेद, जातीय विभेद, सांस्कृतिक विभेद जारी नै छ ।

सबै भाषामा सम्भव नभए पनि एक-एकवटा भाषामा विद्यालय खोले हुन्थ्यो । यो सरकारले पनि बहुभाषिक नीति ल्याउनुपर्दथ्यो । प्रचण्डजी प्रधानमन्त्री भएका बेलामा उहाँ प्रमुख अतिथि भएको कार्यक्रममा मैले रोएरै बहुभाषिक व्यवस्था हुनुपर्छ भनेँ । उहाँले गर्छु पनि भन्नुभयो । तर, प्रधानमन्त्रीबाट हट्नुभयो । त्यसपछि कहिल्यै सम्झनुभएन ।

अहिले पनि सम्झनुभएको भए त नेकपाको अध्यक्ष नै हुनुहुन्छ । शिक्षामन्त्री पनि उहाँकै निकट नेता हुनुहुन्छ । निर्देशन दिन सक्नुहुन्छ । मसँग प्रचण्ड जतिसुकै नजिक भए पनि मेरो त्यो कुरा लागु भएन । एउटै कुरा दोहोर्‍याएर भन्ने मेरो स्वाभाव छैन ।

हालसालै माधव नेपाल, ईश्वर पोखरेल, विष्णु पौडेल छुट्टाछुट्टै मेरो घरमा आउनुभएको थियो । तर, राजनीतिको ‘र’ पनि कुरा गर्नुभएन । विष्णु पौडेलले मात्रै सोध्नुभयो, दाइको केही सल्लाह छ कि भनेर ।

ठूला कुरा त कति छन् कति, तत्काललाई बाटो मर्मत गर्नुस् भनें । त्यति गरे जनताले तपाईहरुलाई धन्यवाद भन्नेछन् भनेँ ।

जनजातिकै आफ्नै कमजोरी

आदिवासी जनजातिहरूले सुस्त गतिमै भए पनि आन्दोलन गरिरहेका छन् । नेपाल आदिवासी जनजाति महासंघले आन्दोलन गरिरहन्छ । जनजातिको माग पूरा नहुनुमा जनजातिकै पनि कमी कमजोरी छ । मेरै नेतृत्वमा पहिचान यात्रा भयो । कालो झण्डा, जुलुस, कोणसभा गरियो । तर, आन्दोलन उठाउन सकिएन । कमसेकम १०/२० हजारको जुलुस गर्न सकेको भए प्रभावशाली हुन्थ्यो होला ।

हामीले गर्न सक्ने भनेको डेलिगसन हो । तर, त्यस्तो डेलिगेसनमा जाँदा नेताहरू हुन्छ हुन्छ त भन्छन्, तर कार्यान्वयन गर्दैनन् । संसदमा भएका जनजातिहरु नबोल्दा पनि यस्तो अवस्था आएको हो ।

आन्दोलनका बेला राजधानीमा नेवारहरु हजारौंको संख्यामा आउँछन् भन्ने अन्य जनजातिको अपेक्षा हुन्छ । तर, त्यति सजिलै आन्दोलनमा आउँदैनन् । चन्दा संकलनमा जाँदा पनि लाखौं रुपैयाँ उठ्छ भन्छन् । म आफैं जाँदा पनि बढीमा सय रुपैयाँ दिन्छन् । धार्मिक, सामाजिक काममा भने करोडौं रुपैयाँ दिन्छन्, राजनीति र भाषाको आन्दोलनका लागि दिँदैनन् । पढेलेखका, बौद्धिक वर्गलाई नै यसमा चासो छैन ।

अनलाइनखबर बाट साभार

प्रकाशित मिति २६ भाद्र २०७५, मंगलवार २०:४६