no-image

– पेम्बा गेलु शेर्पा

नेपालको विविधतालाई मूल रुपमा बोकेका बहुसंख्यक जातिहरूको प्रतिनिधित्व गर्ने आदिवासी जनजातिहरूको साझा संस्थाको रुपमा नेपाल आदिवासी जनजाति महसंघको स्थापना भएको हो । विशेष गरी नेपालमा लामो समयसम्म रहेको एकल जाति र धर्मको एकात्मकतावादी शासन व्यवस्थाबाट प्रताडित भई जातीय धार्मिक र सांस्कृतिक रुपले उत्पीडनमा परेका आदिवासी जनजातिहरूको हक अधिकार स्थापित गर्ने एक मात्रै मुल उद्देश्य बोकेर स्थापना भएको आदिवासी जनजाति महासंघको नेतृत्वमा नेपालका आदिवासी जनजातिहरू लामो समयदेखि आजसम्म पनि आन्दोलित नै भईरहेको अवस्था छ । यसै क्रममा पछिल्लो समय प्रवासमा रहेका आदिवासी जनजातिहरूले पनि सोही मुद्दालाई अझ शसक्त साथ सहयोग र समर्थन गर्दै आ–आफ्नो ठाउँबाट भुमिका खेल्न धेरै देशहरूमा नेपाल आदिवासी जनजाति महासंघकै नामबाट संस्था स्थापना गरेका छन ।
मुलतः प्रवासमा रहेका सबै नेपालीहरूको साझा संस्था भनेर दावी गर्दै चिनिएका एन.आर.एन र नारी, महिला समाज जस्ता संस्थाहरूले यहाँ पनि उही नेपाल कै विगतका एकल जाति र धर्मको मात्रै पक्षपोषण गर्ने एकात्मकतावादी व्यवहारमा आफुलाई केन्द्रीत गर्दै आईरहेका छन । त्यसै सोचको विरुद्ध र नेपाल भनेको जातिय धार्मिक, भाषिक र सांस्कृतिक विविधताले भरिपूर्ण भएको देश हो भनेर चिनाउनका लागि प्रवासमा गठन भएका आदिवासी जनजाति महासंघहरूले आ–आफ्नो ठाँउहरूबाट भुमिका खेल्दै आईरहेका छन । यसैको पृष्ठभुमिमा मैले यहाँ जोडन खोजेको कुरा नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलको हो । सन २००९ मा औपचारिक रुपमा पोर्तुगलको राजधानी लिस्बनमा नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलको स्थापना भएको हो । स्थापनाकाल देखि नै पोर्तुगलमा नेपालको ईन्द्रेणी राष्ट्रियता अर्थात विविधताको पक्षमा पोर्तुगलमा रहेका नेपाली समाजको बीचमा सशक्त भुमिका निर्वाह गर्दै आएको जनजाति महासंघ पोर्तुगल पछिल्लो समयमा आएर चाहिँ एकदमै कमजोर निरीह संस्थाको रुपमा यतिबेला देखिरहेको छ । कुनैबेला सामाजिक संस्थाहरू मध्ये एनआरएन पोर्तुगल पछिको दोस्रो हैसियत बोक्ने संस्थाको रुपमा रहेको जनजाति महासंघ पोर्तुगललाई यतिबेला पोर्तुगलमा सामाजिक अभियानकै साझा महत्व राख्ने बैठक र छलफलहरूमा समेत बोलाउन सहभागी गराउन आवश्यक ठानेका छैनन । यतिबेला पोर्तुगलमा गैह्रआवासीय नेपाली संघको आसन्न अधिवेशनले माहौल तातिएको छ । यसै सन्दर्भमा विभिन्न खाले छलफल र बैठकहरू चरणबद्ध रुपमा भईरहेका छन । सबैको साझा संस्था भनेर उद्देश्य राखेको संस्था भएकोले एन.आर.एनको अधिवेशन प्रति सबैको चासो र सरोकार हुने नै भए । त्यसैले सर्वपक्षीय रुपमा सहमति खोज्दै आगामी एनआरएनको अधिवेशनलाई व्यवस्थित गर्न र आगामी कार्यकालमा सबै पक्षको सहभागिता गराउन अहिलेसम्म झण्डै १२ पटक भन्दा बढी चरणबद्ध बैठक छलफलहरू भएकोमा जनजाति महासंघको उपस्थिती विरलै भएको छ । हुन पनि एनआरएन पोर्तुगलको सदस्य बनाउने बेलमा लगभग शुन्य भुमिकामा रहेको जनजाति महासंघका नेतृत्वलाई हरेक पटकको बैठकहरूमा स्थान दिन आवश्यक नठानिएको हुन सक्छ । जेहोस यो सबै अवस्थाहरूले के देखाउछ भने, यतिबेला पोर्तुगलको आदिवासी जनजाति महासंघ निकै कमजोर र संस्थाको उचाईको मात्रा भन्दा निकै तलको हैसियतमा प्रस्तुत भईरहेको छ ।

किन कमजोर भयो, जनजाति महासंघ पोर्तुगल ।

चौथो अधिवेशनबाट स्व. नरभुपाल राईको अध्यक्षतामा कार्यसमिति बनेपछिको एक बर्षसम्म पनि जनजाति महासंघको हैसियत पोर्तुगलको नेपाली समाजमा राम्रै थियो । भित्र आन्तरिक रुपमा केही कठिनाईहरू भएता पनि बाहिर अध्यक्षको हैसियतले स्व. नरभुपाल राईले खेलेको भुमिका र उहाँको व्यक्तित्वको कारणले कसैले पनि सिधै जनजाति महासंघ पोर्तुगललाई हेपाह प्रवृत्तिको तहमै गएर व्यवहार गर्न सकेका थिएनन । तर जब उहाँ २०१८ को अप्रिलमा नेपाल गए र त्यत्ति नै बेला नेपालमै उहाँको दुःखद निधन भयो । त्यसपछि मौजुदा कार्यसमितिमा रहेका कसैले पनि उहाँको त्यो उचाईलाई कायम राख्ने गरी जनजाति महासंघ पोर्तुगललाई नेतृत्व दिन सकेनन । उहाँ नेपाल जाने बेलामा ३ जना उपाध्यक्षहरू मध्ये राजेन्द्र शेर्पालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर गएका थिए । तर नेपाल बसाईकै क्रममा एउटा दुःखद दुर्घटनाका कारण उहाँको निधन भएपछि कार्यवाहक अध्यक्ष राजेन्द्र शेर्पाले बाध्यताबस महासंघ पोर्तुगलको नेतृत्व लिनुपर्ने अवस्थाको सिर्जना भयो । त्यसपछिको अवस्थामा कार्यसमिति भित्रै मुख्य पदमा भएकाहरूको बीच एक आपसमा टकराब सुरु हुँदै गएर जनजाति महासंघ पोर्तुगललाई कमजोर पार्ने अवस्थाको सिर्जना भएको हो । हुन त चौथो अधिवेशनताका नै दुई तीन जनाको एउटा समूह जब आदिवासी जनजाति महासंघ पोर्तुगलमा जुन नियतका साथ प्रवेश गरे त्यही बेलादेखि नै महासंघलाई कमजोर पर्ने खेलको सुरुवात भईसकेकै थियो । जसले गर्दा तात्कालिन अध्यक्ष स्व. नरभुपाल राईलाई पनि धेरैपटक निकै अप्ठ्यारो परिस्थितीहरूको सामना गर्नुपरेको तितो यथार्थ र अनुभव उहाँले आफैसँग लिएर गएका छन । जसको गुनासो अब उहाँबाट कहिल्यै आउने छैन । राजनीतिक पार्टीको कार्यकर्ताका रुपमा प्रवेश गरेका ति समूहका व्यक्तिहरूको उद्देश्य भनेको पोर्तुगलमा स्थापनाकालदेखि आदिवासी जनजातिहरूको समानता र अधिकारका लागि अहोरात्र लागिपरेका अनि शसक्त आवज उठाउदै आएका अभियान्ताहरूलाई जनजाति महासंघबाट निरुत्साहित गरेर पाखा लगाउनु थियो । त्यसैको संकेतस्वरुप तेस्रो कार्यकालसम्म संरक्षकको भुमिकामा रहेका पोर्तुगलका आदिवासी जनजाति अभियानमा लागिपरेका अग्रज अभियान्तहरूलाई विधानको हवाला दिएर संरक्षकबाट हटाईएको थियो भने सल्लाहकार समितिलाई पनि संख्यात्मक सिमिततामा राखेर अंकुश लगाउने कार्य त्यही समूहको योजना मुताविक गरिएको थियो । जसले गर्दा निर्भिकताका साथ आदिवासी जनजाति महासंघ पोर्तुगलको हरेक अभियानमा सरसहयोग र सल्लाह सुझाव दिएर योगदान गर्दै आएका अभियान्तहरूले अपमानित महसुस गर्दै जनजाति महासंघको मौजुदा कार्यसमितिको अरु गतिविधिहरूमा कम सहयोग गर्दै गए र कतिले सहयोग गर्न छाडे ।
यता कार्यसमितिमा उस्तै किचलो अवस्था सिर्जना भईरहेको थियो । कार्यवाहक अध्यक्षको भुमिका रहेका राजेन्द्र शेर्पालाई पनि सोही समूहका उपाध्यक्षद्धय हेम गुरुङ र अगमसिंह तामाङ अनि महासचिव मदन लिम्बुले उचित तवरबाट सहयोग नगरेको बताउथे । एकआपसमा नै सहकार्य र सहमतिको खडेरी लागेर गतिविधि र भुमिका शुन्यप्राय भईरहेको अवस्थामा गत अप्रिल १४ तारीख एनआरएन पोर्तुगलको आयोजनामा भएको नेपाल मेला कार्यक्रमको व्यनरमा आदिवासी जनजाति महासंघ पोर्तुगलको एउटा लोगो र नाम राख्न सम्म राख्न दिएनन । उक्त कार्यक्रमको तयारी गरिरहेकै अवस्थामा महासंघको भुमिकाबारे छलफल गर्दा एनआरएनका अध्यक्ष कुबेर कार्कीले पनि जनजाति महासंघ पोर्तुगल र कार्यवाहक अध्यक्ष राजेन्द्र शेर्पा लगायतका कार्यसमितिलाई निकै तल्लो स्तरबाट हेपाह प्रवृत्ति देखाएको कारण प्रताडित भएको जनजाति महासंघका तात्कालिन कार्यसमितिले बाध्य भएर हिजो आफैले पाखा लगाएका आदिवासी अभियान्तहरूलाई सहयोगका लागि गुहार्न पुगेका थिए । त्यसपछि एन.आर.एन. को उक्त कार्यक्रमलाई कथित नेपाल मेला करार गर्दै वहिष्कार गरेर सोही दिन एकै समयमा जनजातिहरूले छुट्टै भव्य कार्यक्रमको आयोजना समेत गरेको थियो । तर त्यो सबै जनजाति महासंघ पोर्तुगलको तात्कालिन कार्यसमितिको जोडबलमा नभई आदिवासी अभियान्तहरूको सरसहयोग र जोडबलमा सम्पन्न भएको कार्यक्रम थियो । त्यो बेला त कार्यसमितिमा भएका तात्कालिन उपाध्यक्षद्धय अगमसिंह तामाङ र हेम गुरुङ त आफ्नै संस्थाले वहिष्कार कार्यक्रम आयोजना गर्नका लागि तयार पारिएको सुचना सामाग्रीहरूलाई आफ्नो सामाजिक संजालको माध्यमबाट सेयर समेत गरिरहेका थिएनन्, अर्थात गर्न सकिरहेका थिएनन् । कार्यसमितिका जिम्मेवार पद लिएर बसेकाहरूको यस्तै अवस्थाका बाबजुत पनि उक्त कार्यक्रमको भव्य सफलताले पोर्तुगलमा नेपाली आदिवासी जनजातिहरूको एकपटक जबरजस्त उपस्थिती देखियो र एउटा उचाई लियो । संस्थागत रुपमा जनजाति महासंघले नै त्यो उचाईको मुख्य लाभंश पनि लियो तर त्यो उचाई दोश्रो भागको पाँचौ अधिवेशनको समयसम्म आईपुग्दा पुरै स्खलित भएर पुरानै डर्रामा महासंघको हैसियत सीमित हुन पुग्यो । त्यो भन्दा अगाडी पनि एकपटक पाँचौ अधिवेशनको मिति घोषणा गरेर पनि अन्तिम समयमा आएर अधिवेशन सम्पन्न गर्न नसकेका महासंको कार्यसमितिले पाँचौ अधिवेशन दोश्रो भागको तयारी पनि निकै फितलो ढङ्गले गरेका कारण उक्त अधिवेशनबाट महासंघको मौजुदा विधानले नै सुली चढ्नु पर्ने अवस्था बन्यो । अघिल्लो पटकको पाँचौ अधिवेशन आयोजना गर्ने तयारी हुँदा डा. ज्याति तुलाधरको संयोजकत्वमा बनेको विधान समितिले पर्याप्त समय उपलब्ध गरेर निकै गम्भीरताका साथ छलफल गर्दै तयार पारेको संशोधित विधानको मस्यौदालाई पनि दोश्रो भागको पाँचौ अधिवेशनले अपनत्व ग्रहण गर्न सकेन । अझ त्यसलाई त अनावश्यक ठान्दै रद्दीको टोकरीमै फाल्यो र अहिले जनजाति महासंघ पोर्तुगलको कार्यकाल मुलतः विधान विहिन अवस्थामा रहेको छ ।
गत अप्रिल २८, २०१९ मा पाँचौ अधिवेशन दोश्रो भागको उद्घाटन सत्र सम्पन्न गरेको भएता पनि त्यो अधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्न झण्डै एक महिना लागेको थियो, त्यो पनि अवैधानिक बाटो अपनाएर तात्कालिन उपध्यक्ष हेम गुरुङलाई अध्यक्ष घोषणा गरिएको थियो । महासंघको विधान बमोजिम अधिवेशन आयोजना हुनुपुर्व नै महासंघमा आवद्ध मातृसंस्थाहरूबाट अधिवेशन प्रतिनिधिहरूको नाम सिफरिस भइसक्नुपर्ने व्यवस्था छ र त्यही तोकिएको समयभित्र सिफारिस भएका अधिवेशन प्रतिनिधिहरू मध्येबाट अर्को नयाँ कार्यकालका लागि कार्यसमिति चयन गर्न मौजुदा कार्यसमितिको सर्वसम्मत वा बहुमतको आधारमा एक निर्वाचन समिति गठन गर्ने व्यवस्था विधानमा रहेको छ । तर, कार्यवाहक अध्यक्ष राजेन्द्र शेर्पा नेतृत्वको मौजुद कार्यसमितिले पाँचौ अधिवेशन सम्पन्न गर्नका लागि बनाएको निर्वाचन समितिको औचित्य माथि नै सोही कार्यसमितिका उपाध्यक्ष अगमसिंह तामाङले नै प्रश्न उठाउदै हिड्न थाल्यो । कार्यवाहक अध्यक्ष शेर्पा र महासचिव मदन लिम्बुले एकांकी ढङ्गबाट निर्वाचन समिति घोषणा गरेको भन्दै उपाध्यक्ष तामाङले सो निर्णयको माईनुट देखाउन चुनौती दिईरहेका थिए । मौजुदा कार्यसमितिकै त्यस्तो किचलोका कारण हलो अड्किएको उक्त पाँचौ अधिवेशनले अन्ततः विधानको व्यवस्था विपरीत महाधिवेशन प्रतिनिधि नै नभएका अधिकांशलाई समावेश गर्दै अवैधानिक रुपमा नयाँ कार्यसमिति चयन भएको घोषणा गर्‍यो । तात्कालिन कार्यवाहक अध्यक्ष राजेन्द्र शेर्पाले केवल भेटघाट र छलफल गर्नका लागि भनेर सुचना जारी बोलाईएको जमघटलाई बन्दसत्रको रुप दिएर कार्यसमिति घोषणा गरेको स्थानमा अधिवेशन प्रतिनिधिहरूकै उपस्थिती नगन्य मात्रमा थियो । अझ अधिवेशनको उदघाटन सत्र सकिएको लगभग १ महिनाको समय बित्दा पनि  अधिवेशनमा प्रस्तुत गर्नुपर्ने महासचिवको प्रतिवेदन नै तयारी नभएर सोही दिन हतार हतार तयार गरी प्रस्तुत गरेको महासचिव मदन लिम्बुको प्रतिवेदनको अवस्था ज्यादै दयानीय थियो । दुई तीन कक्षामा पढदै गरेका सिकारु विद्यार्थीले लेखेको निवन्धको झझल्को दिने गरी महासचिवको दुईबर्षे कार्यकालको प्रतिवेदन प्रस्तुत हुनुले जनजाति महासंघकै अवस्था ज्यादै दयानीय छ भन्ने अनुभुति दर्शाउथ्यो, अनि त्यहाँ आर्थिक प्रतिवेदन त प्रस्तुत नै भएन । यस्तो अवस्थाका बाबजुत पनि बन्द सत्रको नाम दिएर महासंघको नयाँ कार्यसमिति हेम गुरुङलाई अध्यक्ष बनाएर अवैधानिक रुपमा घोषणा भएपछि हिजो विधि र विधानको चर्को कुरा गर्दै संस्था विधिसम्मत तरिकाले विधानमुताविक अलिकति पनि दायाँबायाँ नगरी चल्नुपर्छ भनेर आदर्श छाट्ने तात्कालिन उपाध्यक्ष हेम गुरुङको आदर्शमा पनि राम्रैसँग विर्को लागेर बसेको अवस्था छ ।
यसरी पोर्तुगलको जनजाति महासंघलाई हैसियत विहिन बनाएर अनिर्णयको बन्दी बनाउने काम कार्यसमितिको आन्तरिक किचलोका कारण भएको जस्तो देखिए पनि त्यसको रसायन बाहिर गैरआदिवासीहरूसँग पनि प्रत्यक्ष जोडिएको थियो । विशेष गरी गैरआदिवासीहरूको नेतृत्वमा रहेका राजनीतिक पार्टीका संगठनहरूले आफ्नो संगठनमा आवद्ध रहेका जनजाति सिपाहीहरूलाई परिचालन गरेर कठपुतलीको माध्यमबाट जनजाति महासंघको उक्त विवादलाई चलाईरहेको पनि परिणाममा देखिएको छ । महासंघको त्यो अधिवेशनबाट स्वतस्फुर्त आदिवासी जनजातिहरूको मुद्दालाई सशक्त रुपमा उठाउदै हरेक ठाउँमा बहस पैरवी गर्न सक्ने क्षमता भएका अभियान्तहरूलाई पाखा लगाउने खेलमा तात्कालिन उपाध्यक्ष अगमसिंह तामाङको राम्रै भुमिका रह्यो । उनको त्यो भुमिका गैरआदिवासीहरूद्धारा निर्देशित थियो भन्ने कुरा महासंघको अवैधानिक कार्यसमिति घोषणा भएसँगै नेपाल काँग्रेसका जनसम्पर्क समितिले उनलाई बेमौसमी रुपमा उपाध्यक्ष पदमा मनोनित गरेर पुष्टि गरेको छ । त्यसै गरी शालिन र बौद्धिक व्यक्तित्व जस्तै देखिने एनआरएन पोर्तुगलका पुर्व उपाध्यक्ष सुनिल श्रेष्ठ संगमको पनि जनजाति महासंघको अधिवेशनताका अहिलेको जस्तै हैसियतविहिन कार्यसमिति बनाउने अभियानमा राम्रै भुमिको रह्यो । त्यस भन्दा अगाडी कहिल्यै जनजाति महासंघको बारेमा केही नबोल्ने उनको भुमिका किन त्यो बेलामा त्यसरी हठात देखियो भन्ने प्रश्नको जवाफ पनि त्यही जनसम्पर्क समितिले बेमौसमै उनलाई महामन्त्रीमा मनोनित गर्दै पुरस्कृत गरेर दिएको छ । यसरी बाहिरी चलखेल नै चलखेको सिकार बन्दै विधि र विधानविहिन अहिले नामको मात्राको जनजाति महासंघ पोर्तुगलको हैसियत दयनीय अवस्थामा पुगेको छ ।

अबको निकास के ?

पोर्तुगलमा आदिवासी जनजाति महासंघलाई यहाँ भएका सबै नेपाली आदिवासी जनजातिहरूको साझा सामथ्र्य बोक्ने संस्थाको रुपमा विकास गर्नु छ भने निश्चय नै संस्थालाई विधि र विधान बमोजिम नै अगाडी बढाउनुको विकल्प छैन । त्यसै गरी राजनीतिक पार्टीमा आफ्नो हैसियतको छलाङ्ग मार्ने निजी स्वार्थसहित जनजाति महासंघमा छिरेर आफ्नो पार्टीईतरका मान्छेहरूलाई पाखा लगाउने, अग्रज अभियान्तहरूलाई अपमानित गर्ने र गैरआदिवासीहरूको निर्देशनमा जनजाति महासंघको हैसियतलाई गिराउन भुमिका खेल्ने आदिवासी जनजाति अनुहार बोकेकाहरूको चेतनामा घाम लाग्न जरुरी छ । पद लिनेबेलमा मरिहत्ते गर्ने अनि त्यही पदको जिम्मेवारी पुरा गर्नुपर्नेबेलामा मिहनेत नगर्ने र समय दिन नसक्नेहरूलाई मुर्तिको रुपमा सजाएर संस्थामा पुजा गर्ने खालको अहिलेको अवस्थालाई खारेज गरेर आदिवासी जनजातिको सवालमा बहस र पैरवी गर्न सक्ने, समय दिएर संस्थालाई उचाईमा लिएर जान सक्नेहरूलाई जनजाति महासंघको जिम्मेवारी दिनुपर्छ । आवद्ध संस्थाका विशेष गरी अध्यक्षहरूले पनि नजीकका साथीभाई र आफ्नो आफन्त नातागोता भएको भरमा उसले महासंघमा बसेर गरेका गल्ती कमीकमजोरीलाई ढाकछोप गर्दै नजरान्दाज गर्ने कार्यलाई विराम दिनुपर्छ । अतः अहिलेकै अवस्थालाई कायम राख्नै गिर्दौ हैसियतमा महासंघलाई निरन्तरता दिने हो भने, आदिवासी जनजातिका शसक्त अभियान्त र अग्रजहरूलाई बाहिरै रमिते बनाएर राख्ने हो भने विभिन्न क्षेत्रमा आवद्ध रहेका आदिवासी जनजाति अभियान्तहरूको व्यक्तिगत आवद्धता रहने गरी पोर्तुगलका स्वतस्फुर्त आदिवासी जनजाति अभियान्तहरूको साझा मञ्च वा संजाल विकल्पको रुपमा खडा हुन सक्छ । जसले आदिवासी जनजातिहरूको मुद्दलाई सही अर्थमा सशक्त रुपले उचाईमा लिएर जाने अवस्था पनि बन्न सक्छन् ।
– थचिछे, धन्यवाद ।

प्रकाशित मिति २८ श्रावण २०७६, मंगलवार ०५:३१