पोर्तुगलमा कोरोनाबाट मृत्यु र संक्रमितको संख्यामा निरन्तर वृद्धि, लगभग ६०० जनाको मृत्यू (अपडेट)

१५ अप्रिल/लिस्बन पोर्तुगल – पोर्तुगलको स्वास्थ्य महानिर्देशनालय (DGS) द्धारा जारी गरिएको महामारी विज्ञान बुलेटिनका अनुसार  अहिलेसम्म पोर्तुगलमा कोरोना भईरसबाट संक्रमित ५९९ जनाको मृत्यू भएको छ । त्यसै गरी संक्रमण पुष्टि हुनेको संख्या १८,०९१ जना पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ३२ जना थप मृत्यु र ६४३ जनामा थप संक्रमण पुष्टि भएको हो । ती मध्ये ३८३ जना संक्रमित भएकाहरु निको भएका छन ।

मंगलबारको मध्यराती १२ बजे सम्मको तथ्यांक समेटिएको डिजिएसको रिपोर्ट अनुसार पोर्तुगलको उत्तरी क्षेत्रमा सबैभन्दा बढी ३३९ जनाको मृत्यु भएको छ, त्यसैगरी मध्य क्षेत्रमा १३६ जना, राजधानी लिस्बन र तगुस भ्याली क्षेत्रबाट १११ जना, अल्गार्भ क्षेत्रबाट ९ जना र अजोरेस क्षेत्रबाट चार जनाको मृत्यु भएको हो । यसरी कोरोना भाईरसबाट मृत्यु हुने जम्मा ५३५ जना मध्ये ३९१ जना ८० बर्ष भन्दा बढी उमेरका छन । त्यसै गरी ७०–७९ उमेरका १२५ जना, ६०–६९ उमेरका ५८ जना, ५०–५९ उमेरका १८ जना रहेका छन । बाँकी ७ जना ४०–४९ उमेर समूहका रहेका छन । अझै पनि १,२०० जना अस्पतालमा भर्ना भएका मध्ये २०८ जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।

गत जनवरी १ तारीखदेखि अहिलेसम्म भाईरसको संक्रमण हुन सक्ने आशंकको दायरामा राखिएको कुल संख्या १५०,८०४ जना मध्ये ४,०६० जना SARS- CoV -2 प्रयोगशाला परिक्षणका लागि प्रतिक्षारत रहेको र २६,१४४ जनालाई स्वास्थ्यकर्मीहरुको निगरानीमा राखिएको स्वास्थ्य महानिर्देशनालय (DGS) द्धारा मङ्गगलबार जारी गरिएको रिपोर्टमा भनिएको छ । पोर्तुगलमा COVID-19 संक्रमित हुने १८,०९१ जनामा सबभन्दा बढी ५० देखि ५९ बर्ष उमेर समूहका व्यक्तिहरु भएको जनाएका छन । डाटा अनुसार ५०–५९ उमेरका ३,१३३ जना रहेका छन भने ९ बर्ष सम्मका बालबालिकाहरु समेत ३०४ जना रहेका छन । त्यसै गरी क्रमशः १०–१९ उमेरका ४७० जना, २०–२९ उमेरका १,८९८ जना, ३०–३९ उमेरका २,५०६ जना, ४०–४९ उमेरका ३,१३४ जना, ६०–६९ उमेरका २,२४२ जना, ७०–७९ उमेरका १,६७३ जना र ८० बर्ष माथिका २,७४१ जना संक्रमित रहेका छन । जसमा ७,४२१ जना पुरुष र १०,६७० जना महिला भएको पोर्तुगलको स्वास्थ्य महानिर्देशनालय (DGS) को रिपोर्टले देखाएको छ ।
कोरोना महामारीको अवस्थाबारे पोर्तुगलको स्वास्थ्य महानिर्देशानलयले दैनिक रुपमा पत्रकार सम्मेलन गरेर जानकारी गराईरहेका छन । गत मार्च १९ बाट नै पोर्तुगल सरकारले मार्च २ सम्म १५ दिनको आपतकाल लागु गरेता पनि संक्रमित र मृत्यु हुनेको संख्यामा क्रमिक वृद्धि भएकाले पुनः गत अप्रिलको ३ बाट आगामी १७ तारीखसम्म अर्को १५ दिन आपतकाल लागु गरिएको छ ।

पोर्तुगलमा नेपालीको खबर

यसैबीच धेरै नेपालीहरुको बसोबास रहेको पोर्तुगलमा अहिलेसम्म २२ जना नेपालीहरुलाई कोरोनाको संक्रमण भएको भनिएको छ । यसभन्दा अगाडी कृषि क्षेत्रमा कार्यरत १७ जना नेपालीसहित केही भारतीय नागारिहरुलाई समेत कोरोना भाईरस संक्रमण भएको हुनसक्ने आशंकामा सबैलाई क्वारेनटाईन राखेपनि उनीहरुमा कुनै संक्रमण नदेखिएपछि केही दिन आगाडी मात्रै सबैजनालाई घर पठाएका थिए । नेपालीहरुको अवस्थाबारे स्पष्ट जानकारी दिने कुनै निकाय नभएको कारणले पनि कति जना नेपालीहरुमा संक्रमण भएका हुन भन्ने बारे एकिनका साथ भन्न सकिने अवस्था छैन । पोर्तुगल स्थित नेपाली कन्सुलेट र गैह्र आवासीय नेपाली संघ जस्ता संस्थाहरुसँग पनि यस बिषयमा बेखबर प्रायः छन ।
अलि अगाडी पोर्तुगल आई काम गरिरहेका र यहाँको बसाई अनुमति रेसिडेन्सी कार्ड पाएकाहरुको रोजगारी गुमेता पनि तत्काललाई आर्थिक संकट पर्ने छैन । उनीहरुका लागि सरकारले सीमित अवधिका लागि सामाजिक सुरक्षा दिनेछन । तर भर्खर पोर्तुगल आएका नेपालीहरु भने यी सुविधाहरुबाट लाभन्वित नहुने भएकाले र खाने बस्ने स्थानको समेत टुङ्गो नलागिसकेकाहरु भने यो महामारीको चपेटामा प्रताडित हुने देखिएको छ ।

प्रकाशित मिति २९ चैत्र २०७६, शनिबार ०१:२४