मन्त्रालयसँगै छैन पर्यटकको तथ्यांक

वीरेन्द्रनगर –  कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरस्थित बुलबुले उद्यानबाट नेपाल भ्रमण वर्ष २०२० उद्घाटन ग-यो। यसपालि, घुमौं कर्णाली’ नारा दिइएको प्रदेश सरकारले एक लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। तर, भ्रमण वर्ष उद्घाटन गरेको एक महिना बितिसकेको छ। प्रदेश सरकारसँग यस अवधिमा कर्णालीमा कति पर्यटक आए कुनै तथ्यांक छैन।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले डोल्पास्थित शे–फोक्सुण्डो तालको मात्रै तथ्यांक राखेको छ। यहाँ नेपाल भ्रमण वर्ष शुभारम्भयता ३८ पर्यटक घुम्न आएका छन्। सोहीमध्ये तीन विदेशी पर्यटक हुन्। यस आर्थिक वर्षमा यहाँ दुई हजार दुई दुई सय ११ पर्यटक यहाँ पुगेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ। अन्य जिल्लामा यही संख्याको हारहारीमा यहाँ पर्यटक भित्रिएको अनुमान गरिएको छ। तथ्यांक नहुने र बाह्य पर्यटक भित्र्याउन प्रदेश सरकारले विशेषखालका कार्यक्रम नगरे लक्ष्य पछ्याउन मुस्किल पर्ने देखिन्छ।

भ्रमण वर्ष सुरु भएयता आन्तरिक तथा बाह्य पर्यटक आगमन के कति भयो जानकारी नहुनु दुर्भाग्य भएको पर्यटन व्यवसायी बताउँछन्। अन्य स्थानबाट माग गरिए पनि तथ्यांक आइनपुगेको मन्त्रालयको भनाइ छ। साविक कर्णालीको प्रवेशद्वार सुर्खेतमा अपेक्षाकृतरूपमा पर्यटक आउन सकेका छैनन्। प्रदेशका नाकाबाट कति पर्यटक भित्रिए भन्ने जानकारी पाउने कुनै संयन्त्रसमेत छैन, जसले गर्दा पनि पर्यटकको तथ्यांक राख्न सरकारलाई समस्या देखिएको छ। कुन देशबाट कसरी पर्यटक भित्र्याउने भन्ने गुरुयोजनासमेत निर्माण भएको छैन। नेपालसँग सीमा जोडिएका भारत र चीनबाट पर्यटक ल्याउन प्रदेश सरकारले त्यस्ताखालका कार्यक्रम सञ्चालन गर्न सकेको देखिँदैन।

प्राकृतिक सुन्दरताले कर्णालीमा भौगोलिक विकटता हुँदा बाह्य पर्यटक यहाँसम्म पुग्न ठूलो चुनौती छ। प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय नहुँदा पनि तथ्यांक नआएको पर्यटन व्यवसायी गोपाल केसीले बताए। ‘प्रदेश र स्थानीय तहबीच समन्वय हुन जरुरी छ,’ उनले भने, ‘महिनामा कति पर्यटक भित्र्याए यसको तथ्यांक हुन जरुरी छ।’ प्रत्येक महिनाको तथ्यांक आउँदा कर्णालीमा पर्यटक भित्र्याउन सहज हुने होटेल व्यवसायी संघका अध्यक्ष गोरख शाहीले बताए। ‘यहाँ आउने पर्यटकभन्दा पनि काम विशेषले आएका हुन्छन्,’ उनले भने, ‘सोही बहानामा कोही घुम्न निस्किन्छन्।

अबको केही दिनमा पर्यटकसम्बन्धी गतिविधि गर्ने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्यटन शाखाका नायब सुब्बा सुशिल शर्माले बताए। ‘हामीले तथ्यांक संकलनका लागि सबै क्षेत्रलाई पत्राचार गरेका छौं,’ उनले भने, ‘तर कसैले उपलब्ध गराएका छैनन्।’ तथ्यांक नहुँदा पर्यटक भित्र्याउन रणनीति बनाउन समस्या हुने उनले बताए।

रारा ताल मुगु
राराताल नेपालको कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित छ। यो नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो। यो ताल समुद्र सतहदेखि दुई हजार नौ सय ७२ मिटर उचाइमा अवस्थित छ। जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चमतर्फ करिब तीन घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ। १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्बाइ पाँच किलोमिटर र अधिकतम चौडाइ ३.२ किलोमिटर छ भने गहिराइ एक सय ६७ मिटर छ। प्रकृतिको उपहारको रूपमा सृृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवाजस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चराचुरुंगीले समेत थप शोभा पु-याएका छन्। यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।

शे–फोक्सुण्डो ताल
शे–फोकसुण्डो ताल ३६११.५ मिटरको उचाइमा डोल्पा जिल्लामा अवस्थित छ। फोक्सुण्डो ताल नेपालको सबैभन्दा गहिरो ताल हो। समुद्री सतहभन्दा करिब तीन हजार नौ सय मिटरको उचाइमा यो ताल छ। उक्त तालको लम्बाइ ४.८ किमि, चौडाइ १.६ किमि छ भने गहिराइ ६ सय ५० मिटर छ। काञ्जिरोवा हिमालका काखमा अवस्थित यो ताल ‘वाई’ आकारको छ। फोक्सुण्डो तालबाटी सुलिगाँड झरना निस्केको छ। सन् २००४ मा नेपालको जल तथा मौसम विज्ञान विभागद्वारा एउटा सर्बेक्षणमा तालको अधिकतम गहिराइ एक सय ४५ मिटर (४७६ फिट) रहेको पाइएको थियो। सन् २००७ सेप्टेम्बरमा फोक्सुण्डो ताललाई रामसार क्षेत्रमा सूचीकृत गरियो।

सिंजा उपत्यकाको एक दृश्य
सिञ्जा उपत्यका ऐतिहासिक जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको प्रशासनिक संरचनामा कर्णाली प्रदेश तथा जुम्ला जिल्लामा अवस्थित छ। अत्यन्त विकट पहाडी तथा हिमाली क्षेत्रबीच रहेको यो उपत्यका भूगोल अनुपम छ। तिला नदी यो उपत्यकालाई चिर्दै बाहिर निस्केको छ। ऐतिहासिक बजार रहेर पनि हवाई सम्पर्कमात्र भएको सिंजा उपत्यकामा हालै मात्रै कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकासँग कर्णाली राजमार्गमार्फत जोडिएको छ। कर्णाली प्रदेशको केन्द्र सिंजालाई नेपाली भाषाको उद्गमस्थल मानिन्छ । सिंजाबाट जारी भएका ताम्रपत्र, स्वर्णपत्र, शिलालेखमा त्यस बेलाको पहिलो नेपाली भाषाको विकसित रुप फेला परेका यहाँका नागरिककर्मी डिबी बुढाले बताउँछन्। कर्णालीका राजाहरूको मुख्य योगदान भनेको अहिले बोलीचालीमा रहेको खस भाषाको उद्गमस्थल हो। सिंजा उपत्यकामा इसाको १३ औं शताब्दीको पुरातन देवनागरी लिपि फेला परेको थियो। सिंजा उपत्यका खस मल्लहरूको राजधानी थियो। १२ औं शताब्दीदेखि इसाको १४ औं शताब्दीसम्ममा नेपाली भाषाको उत्पत्ति सिंजामा भएको विभिन्न इतिहासमा लेखिएको पाइन्छ।

प्रकाशित मिति २७ माघ २०७६, सोमबार १५:२३