लोसारको भ्रम र वास्तविकता

पुस १५ अर्थात तोला लोसार बौद्धधर्म मान्ने गुरुङ समुदायले तामझामका साथ मनाए। मनोरञ्जनका कार्यक्रमसहित रक्सी र वियरका व्यानरले धपक्कै ढाकेको काठमाडौंको टुँडिखेल देख्दा लाग्थ्यो यो कुनै रक्सीको मेला हो। बौद्धधर्मावलम्बीले मनाउने लोसार पछिल्लो समय डिस्को र डिजेसम्मको प्रभावले विकृत भएको छ। बौद्धधर्मअन्र्तगत महायानी सम्प्रदायमा सम्बोडा लिपिले समेटेको हिमाली भोटचन्द्र पात्रो (दतु) मा तिथिमिति परिर्वतन भई पुरानो वर्षलाई बिदा गरी नयाँ वर्ष मनाउनु नै लोसार हो। ‘लो’ को अर्थ वर्ष र ‘सार’ को ‘अर्थ’ बाट ‘लोसार’ शब्दको उत्पत्ति भएको हो।

वर्ष (लो) परिर्वतन हुँदा लोसार मनाइन्छ। बाँदर, चरा, कुकुर, सुँगुर, मुसा, गाई, बाघ, बिरालो, ड्रागन, सर्प, घोडा, भेडा गरी १२ वर्षमा एक पटक लो (वर्ष ) परिर्वतन हुने गर्छ। त्यसैले हिमवत् खण्डबाट सुरु भएको ‘च्या लो’ (चरा वर्ष) लाई बिदा गरी ‘खि लो ’ (कुकुर वर्ष) २१४५ वर्ष स्वागतका साथ लोसार मनाउन थालिएको हो। पात्रोअनुसार कोङ्पो, तोला, सोनाम र ग्याल्पो गरी चारवटा लोसार उल्लेख छ। यी चारै नयाँ वर्ष (लोसार) बौद्धधर्मालम्बीले परम्पराको रूपमा मान्दै आएका छन्। केही समुदायले भने पर्वको रूपमा मान्दै आएका छन्। नौ प्रकारका पदार्थ मिसाएर पकाइएका खाना (गुथुक), खप्स र फलफूल खाएर शुभकामना साटासाट गरी विश्वभर लोसार मनाउने गरिन्छ।

कोङ्पो (तिब्बत क्षेत्र) प्रान्तका राजा आग्यालले युद्ध लड्न जानुअघि लोसार नमनाई नजाने घोषणापछि युद्धमा जित हासिल गर्ने उद्देश्यले लोसार मनाउन सुरु गरेको मत पनि छ। यो लोसार नै कोङ्पो लोसारको नामले परिचित छ। हिजोआज लोपोन्मुख लोसारको रूपमा यसलाई मानिन्छ। अर्को तोला लोसार ग्रह, नक्षत्र वा आकाशीय पिण्डहरूको चलायमान अवस्थालाई मानेर मनाउने गरिएको धर्मका अग्रजको तर्क छ। ११ आंै महिना पुस हो। विषेश गरी हिउँदको घाम फर्कंदा लोसार मान्ने प्रचलन मञ्जु श्री (नाग्चिपा) ज्योतिषी परम्परामा पनि छ। पात्रोअनुसार तोला लोसार पुस संक्रान्तिदेखि मसान्तभित्र पर्दछ। सोनामको अर्थ कृषि हो। किसानले रोपेको खेतीको उत्पादन भित्र्याएपछि हुने खुसीयालीमा सोनाम लोसार मनाइने गरिएको इतिहास छ।

पात्रोअनुसार १२ महिनाको पहिलो दिन सोनाम लोसार मनाउने चलन छ। यता पात्रोमा तिथि परिर्वतन भई नयाँ वर्ष सुरुवातसँगै १२ महिना सकेर ग्याल्पो लोसार मनाइन्छ। बौद्धधर्मको इतिहास हेर्दा लोसारलाई यसरी प्रष्ट बुझ्न सकिन्छ। तर पात्रोमा नयाँ वर्ष परिर्वतनभन्दा पनि २०४६ सालसँगै भएको राजनीतिक परिर्वतनपछि लोसार जातिगत रूपमा मनाउने चलन बढेको छ। अहिले तामाङ जातिले सोनाम र गुरुङ जातिले तोला लोसारलाई ‘तमू’ नामकरण गरी ‘हाम्रो’ भन्दै मनाउने गरेका छन्। यसरी तिथिमिति र बिनाआधार लोसारलाई जातिगत रूपमा मनाउनुले लोसारप्रति प्रश्न उठ्नु पनि स्वाभाविक छ। परम्परा र इतिहास तोड्दै पर्व मनाउनुले इतिहास र बौद्धधर्ममाथि राजनीति गरिएको बुझिन्छ।

गुरुङ समुदायले पुस १५ मा ‘तोला’ लाई ‘तमू लोसार’ नामकरण गरे। बौद्धधर्मको लिपिमा लोसार उल्लेख नै छैन। यसरी आगन्तुक लोसार सिर्जना गर्नु बौद्धधर्ममाथि भएको अपमानसमेत ठान्छन् कतिपय धर्मगुरु। केही अग्रजहरू ‘तोला लोसारलाई तमू लोसार बनाएको’ भन्ने कच्ची जवाफ दिने गर्छन् तर यो तर्कलाई सिंगो बौद्धजनले स्वीकार्न सक्छन् त ? तामाङ समुदायले सोनाम लोसारलाई आफ्नो भन्दै मनाउने गरेका छन्। पात्रोअनुसार २१४५ वर्ष पूरा भएको मानिन्छ तर २८५३ वर्षअघि झिंवा लोमा चीनको एक पहाडमा पहिलो पटक मञ्जु श्रीले लो (वर्ग) परम्पराको विषयमा धर्म देशना गरेको भन्दै नेपाल तामाङ घेदुङ संघको नेतृत्वमा सोनाम लोसारलाई संवत् परिर्वतन हो भनी लोसार मान्ने गरिएको छ। यता नेपाल तामाङ बौद्ध महासंघले सोनामको बारेमा फरक धारणा राख्दै तीन वर्षयता पात्रोअनुसार लोसार मान्न अभियान नै सुरु गरेको छ। यसरी तामाङ समुदायका धर्मगुरु र जातीय अगुवामा देखिएको विवादले पनि लोसारमाथिको विवादको पुष्टि हुन्छ। इतिहास हेर्दा यसमा स्पष्ट देखिन्न। यो संवत् ४७१६ पुगेको दाबी छ कतिको भने केहीले मञ्जु श्रीको जन्म भएको दिन मानेको भनेका छन्।

लोसारमा पछिल्लो समय विकृति भित्रिएपछि यसको अनुसन्धान सुरु भएको छ। यो पर्वमा नयाँ कपडा लगाउने, मिठो खाने, रमाइलो गर्ने मात्र युवापुस्तामा ध्यान जाने गरेको छ तर किन र कसरी लोसारलाई मौलिक र परम्परागत ढंगले मनाउने भन्नेबारे कसैमा चेत भएको पाइँदैन। धर्मसंस्कृति र परम्परा एकातिर र लोसारको उत्सव अर्कातिर हुँदै गरेकाले अर्को अर्थ लाग्न थालेको भन्दै लोसारको अनुसन्धानमा जुटेका लाक्पा शेर्पा यस्तो परिपाटी सच्याउन र दोस्रो पुस्तालाई सचेत बनाउन आवश्यक भएको बताउँछन्।

बौद्धधर्म मान्ने शेर्पा, भोटे, थकाली, गुरुङ, तामाङलगायतका समुदाय पछिल्लो समय आगन्तुक धर्मप्रति आस्था राख्न थालेका छन्। लोसारलाई प्राथमिकता दिएर मनाए पनि संस्कार र संस्कृति फरक पर्दै गएकाले लोसारमाथि नै प्रश्न उठ्न थालेको छ। काठमाडौंको टुँडिखेलमा आयोजना हुने लोसार कार्यक्रमको छुट्टै प्रयोजन र फरक आसयले आयोजना हुने गरेको बौद्धधर्म गुरुहरूको भनाइ छ। उनीहरूको मत छ-टुँडिखेलमा मनाइने लोसार बौद्धधर्मअनुसार मनाइने गरिएको छैन।

जसरी मनाए पनि हुने त कुनै पर्व हुँदैन। त्यस्तै व्यवस्था परिवर्तनको प्रभावमा धर्ममाथि प्रहार हुनु पनि अनुचित हुन्छ नै। यो विषयलाई बहसमा ल्याएर सार्थक समधान गर्न पनि जरुरी छ। त्यसमाथि बौद्ध धर्मअनुसार महायानी धर्मावलम्बीले सम्बोडा लिपि दिएको तिथिमिति पात्रोअनुसार न्वारान, घेवा, विवाह, समग्र धार्मिक परम्परा शेर्पा, तामाङ, गुरुङ, भोटेलगायत सबै बौद्धधर्मालम्बीले अनुशरण गर्दै आएका छन्। त्यसो हुँदा लोसारबारे सबै बौद्धमार्गीले एउटा मत बनाउनु आवश्यक छ।

०४७ सालदेखि हाम्रो पहिचान भन्दै लोसार मान्ने चलन सुरु भएको हो। यसले पहिचानको कुरा ३० वर्षदेखिको मात्र कि त्योभन्दा पहिलेको पनि भन्ने प्रश्न उठ्छ। लोसारलाई शब्द र लेखाइमा समेत फरक पारेर ‘ल्होछार’ लेख्ने गरेको पाइन्छ। ‘लो’ भनेको वर्ष र ‘ल्हो’ भनेको दक्षिण भन्ने अर्थ दिन्छ। सारको अर्थ परिर्वतन हुनु हो। त्यसैले ल्होछार नभएर लोसारको अर्थ वर्ष परिर्वतन भन्ने अर्थ लाग्नुले लिपि अध्ययन गर्ने जो कोही पनि लोसारबारे प्रष्ट हुन्छ। त्यसैले हिम्मत खण्डबाट सुरु भएको ‘च्या लो’ (चरा वर्ष) लाई बिदा गरी ‘खि लो ’ (कुकुर वर्ष) २१४५ वर्षको ग्याल्पो लोसारलाई ‘राष्ट्रिय पर्व’ को रूपमा मनाउन सुरुवात गर्नुपर्छ।

लोसार जाति विशेष भनिनु, मनाउन प्रेरित गर्नु धार्मिक चेतको अभाव हो। तिथिअनुसार परिर्वतन हुने मितिले नयाँ वर्ष जनाउने भएकाले लोसार कहिल्यै पनि जाति विशेष हुन सक्दैन। धार्मिक पहिचान जे छ त्यो मान्नुको विकल्प छैन। संसारभर मानिँदै आएको लोसारलाई परिर्वतन गर्नु र पहिचान भन्दै जातिगत बनाउनुमा सच्चा बौद्धधर्मावलम्बीले एक पटक गम्भीर भएर सोच्नुपर्ला कि ? परापूर्वकालमा यातायात र सूचनाको अभावमा चारैवटा लोसार मनाउने गरेको इतिहास छ। तर जातिगत रूपमा भन्दा पनि परम्परागत रूपमा क्रमैसँग लोसार मनाएको प्रचलन थियो। त्यसैले चारवटै लोसार उत्तिकै महत्वको भएको तर वर्ष परिर्वतनसँगै मनाउने लोसार ग्याल्वो हो। राज्यले पनि हिन्दुको दसैंलाई ठूलो पर्वका रूपमा लामो बिदा दिँदै आएको छ। लोसारलाई पनि जातिगत पर्व नमानी दसैंकै जस्तो चाडको रूपमा राज्यले व्यवहार गर्नु उचित हुन्छ।

बौद्धअनुयायी बज्रयानीले लोसार मान्दैन तर महायानीले लोसार मान्ने भएकाले लोसारजस्तो धार्मिक पृष्ठभूमिमा राजनीति घुसाएर लोप बनाउने प्रयास कसैले पनि गर्नु राम्रो होइन। बौद्धअनुयायीमध्ये महायानी तिथिमितिअनुसार ग्याल्पो लोसार नै मूल हो भन्ने पुष्टि गर्न सकिन्छ। भ्रामक कुप्रचार र बौद्ध धर्ममाथि उठेका प्रश्नलाई एकीकृत भएर चिर्नु जरुरी छ। त्यसका लागि नयाँ वर्ष या राष्ट्रिय पर्वको रूपमा ग्याल्वो लोसारलाई मनाउनुको विकल्प छैन।

प्रकाशित मिति ५ माघ २०७४, शुक्रबार १३:३७

सम्बन्धित समाचारहरु