विदेशमा बस्ने मन त कहाँ छ र ?

जब बिहानको ठिक ४ बज्छ अनि मोबाइलको घण्टी बज्छ । मिठो निन्द्राबाट म जबजस्ती ब्युझन्छु । बिहानको नित्यकर्म सकेर कम्पनीको युनिफर्म पहिरिन्छु । यो सँगै सुरु हुन्छ मेरो दैनिकी । साथीहरुसँग लामबद्ध हुन्छु । यसरी नै सुरु हुन्छ मेरो हेरेक दैनिकी पसिनासँग पैसा साटनको लागि ।
अशोक लेल्यान्ड, टाटा,स्वराज मज्दा भारतीय कम्पनमा बनेको बडेमानको बस पाकिस्तानी गुरुजी बिहानै ‘अल्ल हो अख्बेर’ भन्दै उ आफ्नो मन्त्र जपिरहेको हुन्छ । देश अनुसारको भेष भनेजस्तै सबै आ–आफ्नो देशको पहिचान र धर्म आस्था सबैले गुनगुनाउछन । ‘अ सलमालेकुम’ को अभिनन्दन गर्दै बसको बायाँ कर्नरमा टुसुक्क बस्छु ।

कहिले नेपाली साथी कहिले कहिले अरबिक मिस्री, कहिले फिलिपिन नजिकै नेस्नलिटी अनुसार हिन्दीमा हुन्छ कि,अरबिकमा हुन्छ संवाद चै गरेका हुन्छौ । पाकिस्तानी गुरुजी बिस्तार बस अगाडि बढाउछन । झण्डै ४५ मिनेटपछि डियुटी लोकेसन पुगिन्छ । केही समय बचेको समयलाई सदुपयोग गर्दै नेपालमा रहेको अफ्नो आफन्तलाई फोन गरेर हालखबर नसोधी मन नै बुझदैन । यतिसम्म कि मोबाइलमा पैसा सकिएपछि मात्र आफन्तको फोन काटिन्छ । ठिक त्यही बेला फोर म्यानको गिद्दे नजर मै माथी परेको हुन्छ । काममा लाग्यो कि लागेन । ठुस–ठुस गन्हाएको डाङग्रे कपड़ाले हिजोे १२ बजेको ५० डिग्रीको याद दिलाई हाल्छ्र ।
चारैतिर खुला रेगिस्थानको उजाड मरुभुमी मात्र देखिन्छ । अलि–अलि पोथ्रापोथ्री बुट्यान अनि तेहि बुट्यान्मा करिब १० फिट आग्ला उडहरु आफ्नो अहारा खोजी रहेको हुन्छन । यही दृष्य दिनभर चल्छ । म दिनभरी पसिनासँग पैसा साटिरहेको हुन्छ । सोच्छु–यो पसिना देशभित्र नै बगाउन पाएको भए मेरो देश कस्तो हुन्थ्यो होला । विदेशमा बस्ने मन त कहाँ छ र ? सबै आफन्त नेपालमा छन । परिवार पाल्ने चिन्ताले डोहोर्याउदै पसिना चुहाउन खाडी आउनु परेको छ । दिनभर काम गर्दा चर्को घामको राप त्यो म बयान नै गर्न सक्दिन । जब घामले भतभती पोल्न थाल्छ मेरो मन एक्कासी रामेछाप जहाँ म जन्मिएको गाउँबस्तीमा पुग्छ ।
चर्को घाममा म जब ब्यकुल हुन्छु । अनि मेरो जिल्ला रामेछापको जुनार, गुरासको जुस सम्झन्छु । गर्मीको दिन अरबको दुःख सम्झिदा नेपाल प्राकृतिले दिएको एक स्वर्ग हो जस्तो लाग्छ । नेपाल साच्चिकै प्राकृतिक स्रोत र साधनले निकै धनी छ । गरिब छ त राजनीतिक दलका नेतारुको दरिद्र सोच र चिन्तन । स्वर्ग छोडेर बाँध्यता र विवशताको अगाडि लाखौ युवाहरु भारी मन लिएर विदेशिने गरेका छन् ।
विदेशमा बस्न पटक्कै मन छैन् । आफ्नै गाउँघर । आफन्तको माया । कहाँ विर्सन सकिन्छ र ? अब मैले पनि विदेशमा धेरै पसिना नबगाउने निष्कर्ष निकालेको छु । केही पुँजी जम्मा गर्नको लागि अहिले रातदिन पसिना बगाइरहेको छ । अब यो कमाईलाई आफ्नै गाउँघरमा सदुपयोग गर्ने अठोट गरेको छु । अब आफ्नै गाउँघरमा फर्किएर बाख्रा पालन, गाई पालन, माछा पालन, तरकारी खेती, फलफुल खेती गर्ने हो । यी काम नेपालको आफ्नै घरगाउँमा सम्भव छ ।

तेजबहादुर सुनुवार
(उमाकुण्ड गाउँपालिका–६, हाल संयुक्त अरब एमिरेट्स)

प्रकाशित मिति १६ मंसिर २०७५, आईतवार ०८:२०