संस्कृत भाषा-भ्रम र यथार्थ- १

संस्कृत प्राचीनतम् भाषा हो भन्ने कथन भ्रमात्मक छ । यसले महान भ्रम सिर्जना गरेको छ र मानव ज्ञानमा बिर्को लगाइदिएको छ । संस्कृत प्राचीन भाषा हो तर प्राचीनतम् भाषा होइन । विश्वका इजिप्सियन, ग्रिक, चिनी, अरामाइक, ल्याटिन जस्ता प्राचीन भाषाहरूको सूचीमा संस्कृत पनि पर्दछ । भारतीय महाद्वीप कै कुरा गर्ने हो भने पनि द्रविड परिवारका तामिल भाषा प्राचीन भाषा हो (आर्यहरूको आगमन पूर्व नै यो भाषाका वक्ता थिए) । यसपछि प्राकृत, पालि अनि संस्कृत भाषालाई क्रमशः देखापर्छ ।

संस्कृत भाषाबारे जनमानसमा पारिएको भ्रम र यथार्थबारे यहाँ ७ वटा बुँदा मार्फत् प्रष्ट पार्न चाहन्छु ।

(१) गौतम बुद्ध र साम्राट अशोकको पालाको भाषा ‘प्राकृत’ थियो। अशोकका ४८ वटा अभिलेख पाइएको छ र यीमध्ये ४६ प्राकृत भाषामा, एउटा ग्रिक र एउटा अरैमिक भाषामा छन्। संस्कृत भाषामा एउटा पनि अभिलेख पाइएको छैन। यसके संस्कृत भाषा त्यस कालमा थिएन भन्ने हुन्छ ।

(२) राजा अशोकका अभिलेखहरू चार लिपिमा छन्, ब्राह्मी, खरोष्टी, ग्रिक र आरमाइक। ब्राह्मी लिपिमा ४४ अभिलेख, खरोष्टी लिपिमा २, ग्रीकमा १ र आरमाइकमा १ छन्। यी कुनै लिपिमा संस्कृत भाषा नपाइनुले सम्राट अशोक (ई.पू. २७१–२३२) को पालासम्म संस्कृत भाषा अस्तित्वमा थिएन भन्ने प्रष्टिन्छ। केही लिपिविज्ञहरूले ब्राह्मी लिपिलाई अशोका लिपि भनेका छन् । कुनै ब्राह्मण समाज नहुनु तर लिपिको नाम ब्राम्ही भन्नु हास्यपद कुरा हो। तत्कालीन ब्राह्मणहरूले गर्ने गरेको दावीको यो दरो नमुना हो। यस्ता धेरै दावीहरू इतिहासका पानाहरूमा छन्। लिपि प्रयोगको इतिहासबाट पनि ई.पू. संस्कृत भाषाको अस्तित्व थिएन भन्ने प्रष्टै छ। ई. १५० तिरमात्र संस्कृत अभिलेख पाइएको जानकारी प्रा. राजेन्द्रप्रसाद सिहको दिएका छन् ।

(३) बुद्ध कालमा लिपि थिएन। लिपि नभएपछि लेख्ने सम्भव नै हुँदैन। भारतको पुरानो लिपि अशोक लिपि (ब्राह्मी लिपि) हो। अशोका लिपिको विकास भएपछि वुद्ध वचन पालि भाषा (प्राकृत भाषाका एक रूप) मा लेखियो। पालि भाषाका ग्रन्थहरू संस्कृत भाषामा अनुवाद भएका छन् तर संस्कृतका एउटा पनि ग्रन्थ पालि भाषामा अनुवाद भएका छैनन्। यसबाट पनि संस्कृत पालि भाषाभन्दा पनि पछिको रहेछ भन्ने अर्थवोध हुन्छ।

(४) बौद्ध यात्री फाहियान चौथो शताब्दीमा वुद्ध वचन लेखिएको पालि ग्रन्थहरू खोज्न नेपाल हुँदै भारत गए तर उनले एउटा पनि पालि ग्रन्थहरू पाउन सकेनन्। उनले संस्कृत ग्रन्थहरू मात्र पाए। यस कथनले पनि पालि भाषा पुरानो र संस्कृत भाषा पछिल्लो भन्ने अर्थ लाग्छ। किनकि अगिल्ला भाषाका गतिला बाङ्मय र कृतिहरू पछिल्ला भाषा अनुवाद हुन्छ।
(५) नेपाल प्रज्ञा प्रतिष्ठानबाट सम्पादित तथा प्रकाशित नेपाली वृहत् शब्दकोशमा ‘पालि भाषा’ संस्कृत भाषाभन्दा अगाडिको हो भनिएको छ। लेखिएको छ– ‘बुद्धले दिइएका उपदेशहरू संकलन गरिएको संस्कृतभन्दा पहिलो भाषा।’ कोशकारहरूको यस अभिव्यक्तिबाट पनि संस्कृतको स्थान प्रष्ट हुन्छ ।

(६) नेपाली वृहत् शब्दकोशमा संस्कृत भाषाको अर्थ यसरी दिइएको छ :

संस्कृत– १. संस्कार गरिएको वा शुद्ध पारिएकोस परिमार्जन गरिएको वा परिष्कृत । २. शुद्ध गरिएको, सुद्ध्याइएको, संशोधित। ३. साजसज्जा गरिएकोस अलंकृत। संस्कृत भाषा( आर्य भाषा, परिष्कृत वा अत्यन्त परिमार्जित भाषा । यस शब्दार्थबाट पनि जनसाधरणले बोल्ने भाषालाई संस्कारित तथा परिमार्जन गरेर विद्वानहरूले संस्कृत भाषाको विकास गरेका रहेछन् भन्ने प्रष्टै हुन्छ। संस्कृत परिमार्जित भाषा रहेछ भन्ने बुझिन्छ तर कुन भाषाको भन्ने खुलदुली उब्जिन्छ। यसलाई तल सातौं बुँदामा हेर्न सकिन्छ।

(७) ‘प्राकृत भाषा’ को अर्थ यस्तो छ– प्राकृत– १. प्रकृति सम्वन्धी, प्रकृतिको, प्राकृतिक। २. संस्कार नगरिएको वा नभएको, असंस्कृत, कोरा। ३. अकृत्रिम, सहज, स्वाभाविक, सहज साध्य। ४. सामान्य, साधारण, नैसर्गिक ५. संस्कृत भाषाको प्रचलन पछाडि जन साधारणले लोक भाषाको रूपमा बोल्ने गरेको भाषा। ६. संस्कृत भाषाको प्रचलनभन्दा अगाडि वैदिक कालतिर लोकभाषाको रूपमा चलेको भाषा, कथ्य संस्कृत। (नेपाली वृहत् शब्दकोश, नेपाल प्रज्ञा(प्रतिष्ठान)। यस परिभाषा वा शब्दार्थले ‘प्राकृत भाषा’ जनमानसमा बोलिने लोकभाषा रहेछ । यो भाषा ’संस्कृत भाषाको प्रचलनभन्दा अगाडि’ नै चलेको रहेछ भन्ने प्रष्टिन्छ।

यी तथ्यहरूबाट संस्कृत प्राचीनतम् वा सबैभन्दा पुरानो भाषा हो भन्ने भ्रम हटछ। अरू त कुरा नगरौं संस्कृत भारपेली भाषा परिवारकै पनि पुरानो भाषा होइन रहेछ भन्ने प्रष्ट हुन्छ। अब यस्ता बकमफुसे स्रिजित गफ वा अफवाहको पछाडि लाग्नु हुँदैन र लागे धेरैपछि परिन्छ भनेर जान्नु आवश्यक छ ।
Source:sailungonline

प्रकाशित मिति ५ जेष्ठ २०७७, सोमबार १४:४७