समुदाय लक्षित भाषिक कार्यक्रम दीर्घकालीन संचालन हुन नसक्नु  समुदायको  कमजोरी

नेपालको हिमाली भू-भागमा परापूर्वकाल देखि बसोबास गर्दै आई रहेका शेर्पा समुदाय विश्वले चिनिएको समुदाय हो । आफ्नो छुटै भाषा, धर्म, संस्कृति, संस्कार रहेको विश्वमा चिनिएको जाती हो। संसारमा नेपाल भन्ने बितिकै शेर्पा समुदायलाई चिन्ने गरिन्छ । पूर्वधारको विकाशसँगै शिक्षा, रोजगार लगायत व्यापार व्यावसायको सिलसिलामा संसारको विभिन्न देशमा छरिएर रहेका छन ।
एउटा सोझो सिधा, अशिक्षित समुदायको रुपमा चिनिने शेर्पा २१ औं शताब्दिमा आईपुग्दा धेरै परिवर्तन देख्न सकिन्छ । समुदायको विकाशलाई गौरव त मान्नै पर्छ तर यो गौरवको विषय सँगसँगै अर्को पीडा शेर्पा समुदायले लिन बाध्यात्मक स्थिति सृजना भई सकेको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत हिमाली चट्टानसँग सामना गर्न सक्ने शेर्पा समुदाय पत्रकारिताको चट्टानलाई भने अझै चिर्न सकेको छैन भनौ या पत्रकारितालाई समुदायले अझै चिन्न सकेन । औलामा गन्न सकिने शेर्पा पत्रकारले समुदायलाई पत्रकारिता के हो भनेर बुझाउन नै शताब्दि पार गर्नु भनेको समुदायको लागि दुखद कुरा हो । भनिन्छ बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भने झैँ राज्यलाई समुदायको खबर पु¥याउने र चौथो अंगको रुपमा लिएको पत्रकारलाई नै चिन्न नसके पछि राज्य स्तरमा समुदायको स्थिति र स्थान खोज्नु त मुर्ख नै हो भन्दा फरक नपर्ला । यदि मात्र हैन नेपालको संघियताको सपनासँगै समुदायको पहिचान र यसको संरक्षणमा अहिलेको राजनीति अघि बढेका छन् । राजनीतिक परिवर्तनसँगै सबै समुदाय आफ्नो भाषा, संस्कृति संरक्षणमा जुटेका छन् । अन्य समुदायको तुलनामा शेर्पा समुदाय राजनितिक, शैक्षिक, र पत्रकारितामा निकै पछी छ । आर्थिक रुपले सम्पन्न शेर्पा समुदायको भाषा पनि दयनीय अवस्थमा पुगि सकेको छ । समुदायको विकासमा पत्रकारिताको ठूलो प्रभाव हुन्छ त्यस माथि मातृभाषामा संचार गर्दा यस्को प्रभावकारिता अझ राम्रो हुन्छ । तर शेर्पा समुदायकोे मातृभाषी पत्रकारितामा सहाभागी छैन । लोपोन्मुख अवस्थामा रहेको मातृभाषी पत्रकारितालाई समुदायले हेर्ने दृष्टिकोण नै बेग्लै छ । भाषणमा भाषा, संस्कृति जोगाउने शेर्पा समुदाय ब्यावहाँरमा भने शुन्य नै छ । यसले पत्रकारलाई मात्र हैन भाषा, संस्कृति संरक्षणका गर्न लागि परेका युवा पुस्तालाई खिन्नता भएको छ ।

शेर्पा समुदायको पत्रकारिता इतिहासलाई हेर्ने हो भने आङ दोर्जी शेर्पाले राजधानी पत्रिका दर्ता गरि संचालमा ल्याएसँगै सुरुवात भएको पाईन्छ । तर पनि यसको वास्ताविक तथ्य भने अझै पाउन सकेको छैन । यसरी सुरु भएको पत्रकारिता अहिलेसम्म आईपुग्दा केही हदसम्म परिवर्तन भएको पाईन्छ तर पनि शेर्पा समुदायको आफ्नै एउटा संचार गृह नहुनु, समुदायमा आएका पत्रपत्रिका, समुदायलाई लक्षित रेडियो तथा टेलिभिजन कार्यक्रमहरु दीर्गकालिन र प्रभावकारी नहुनुमा पत्रकार जति जिम्मेवार छन् त्यस भन्दा बढी समुदाय जिम्मेवार हुनु पर्छ । समुदायमा भाषा, संस्कृति संरक्षणका लागि भनि स्थापना भएका संघसंस्थाहरु पनि नाममा मात्र सिमित हुनु दुखद कुरा हो । समुदायमा स्थापना भएका नेतृत्व पङ्तीमा रहेका संघसंस्थाले विशेष ध्यान दिई यसलाई नियन्त्रन गर्दै जति स्थापना भएका छन् त्यसबाट प्रभावकारी कार्यक्रम संचालन गर्नु पर्ने आजको आवश्यकता हो ।

भाषा मरे जाति मर्छ जाति मरे समुदाय मर्छ भन्ने भनाईलाई आत्मासात गर्दै शेर्पा समुदायले आजको यो समयमा पनि भाषा, संस्कृतिको महत्वलाई नबुझ्ने हो भने अबको केही बर्षपछि शेर्पाहरुको भाषा छ रे भन्ने स्थिति नआउला बन्न सकिन्न । हिजोको दिन के भयो भन्दा पनि अब कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषय माहत्वपूर्ण हो । त्यसकारण समुदायमा च्याउसरी स्थापना भईरहेका संघ संस्थालाई नियन्त्रण गरि दिर्गकालिन सोचका साथ आगडि बढ्नु पर्छ । संस्था निर्माण कति भन्दा पनि यसबाट आउने नतिजा के भन्ने प्रश्न महत्वपूर्ण छ त्यसकारण साँच्चिकै समुदायको भाषा, संस्कृतिको संरक्षण गर्ने हो , संस्थाको नामबाट राज्यलाई तिर्ने करलाई भाषाको लागि प्रयोग गर्ने हो भने पनि सकरात्मक नतिजा आउनेमा दुइ मत छैन त्यसकारण अबको यो स्थितिमा पनि समुदायले सही निर्णय गर्न नसक्ने हो भने कथामा मात्र सिमित हुन्छ । त्यसकारण समुदायले भाषालाई सम्रक्षण गर्न दिर्गकालिन रुपमा सोच्ने समय आएको छ । धन्यवाद

प्रकाशित मिति १ चैत्र २०७५, शुक्रबार १४:४९