सल्लेरी अन्धकारमा

२४ बैशाख २०७५/सोलुखुम्बु समाचार – सोलुखुम्बु सदरमुकाम सल्लेरी बासिन्दा अन्धकारमा बस्न बाध्य भएकाछन् । सल्लेरी र आसपासको क्षेत्रमा विद्युत सेवा प्रवाह गरिरहेको सल्लेरी च्याल्सा विद्युत कम्पनीले नियमित सरसफाई तथा मर्मतका लागि आइतबारदेखि एक हप्ताका लागि विद्युत सेवा बन्द गरेपछि सल्लेरीबासी अन्धकारमा बस्न बाध्य भएका हुन् ।

सल्लेरी, फाप्लु, नयाँ बजार, दोर्पू बजार, छुल्यामु, गार्मा, च्याल्सा लगायत्का क्षेत्रमा विद्युत वितरण गरिरहेको कम्पनीले बार्षिक रुपमा करिब एक हप्ता विद्युत वितरण बन्द गर्ने गरेको छ । एक हप्ताका लागि बन्द गरिएको विद्युत मौसमी प्रतिकुलता र अनुकलता हेरी कम वा बढी समेत हुन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका करिब १५ सय ग्राहक रहेका छन् । विद्युत सेवा बन्द हुँदा सल्लेरीमा सञ्चालनमा रहेका स्थानीय रेडियो, व्यसायीका साथमा सरकारी एवं गैह्र सरकारी कार्यालयसमेत प्रभाबित भएका छन् । विद्युत सेवा अबरुद्ध हुँदा मोबाइल चार्ज गर्न समेत समस्या भएको छ । केही व्यवसायीहरुले महंगो शुल्क लिएर मोबाइल चार्जको सेवा प्रदान गरेकाछन् ।
Source:solukhumbu samachar

प्रकाशित मिति २६ बैशाख २०७५, बुधबार १६:१०