साेलुखुम्बुमा विद्यालय आफैले उत्पादन गरेको प्याड वितरण

सोलुखुम्बु : सोलुखुम्बुको गार्मा माध्यमिक विद्यालय आफैले घरेलु सेनिटरी प्याड उत्पादन गर्न सुरु गरेको छ । बजारमा पाईने तयारी प्याड भन्दा घरेलु सेनेटरी प्याड हरेक हिसाबले प्रभावकारी भएको भन्दै विद्यालयले वाताबरणमैत्री, स्वास्थ्यमैत्री तथा कम खर्चिलो पुन प्रयोग गर्न मिल्ने प्याड उत्पादन गर्न सुरु गरेको हो ।

सोलुदुधकुण्ड नगरपालिका ७ स्थित उक्त विद्यालयले स्थानिय स्तरमै उपलब्ध कच्चा पर्दाथबाट निर्मित प्याड उत्पादन गरि करिब तिन सय छात्राहरुलाई वितरण गरिसकेको छ । सहयोगी संस्था हिमालयन क्यिर फाउन्डेसनको ब्यवस्थापनमा विद्यालयले गत बर्षको हिउँदे विदामा एक जना शिक्षिका र दुई जना छात्रालाई काठमाण्डौ पठाएको थियो ।

उनीहरुले तालिम सिकेर फर्किएपछि विद्यालय आफैले सुति र फलाटिनको कपडा प्रयोग गरि तयार पारिएकोे विद्यालयका प्रधानाध्यापक विनोदसिङ् तामाङले बताउँनुभयो । बजारमा पाईने प्याड नकुहिने र नजल्ने भएकाले बातावरण मैत्री प्याड उत्पादन सुरु गरेको विद्यालयले जनाएको छ । खर्चको हिसाबले समेत बचत हुने घरेलु सेनेटरी प्याड स्वास्थ्यको दृष्टिकोणले समेत त्यत्तिकै प्रभावकारी मानिने स्वास्थ्कर्मी विनु मोक्तानको भनाई छ ।

घरेलु प्याडलाई धोएर करिब २ बर्ष सम्म प्रयोग गर्न मिल्ने भएकाले पनि बातावरण प्रदुषण नियन्त्रणमा प्रभावकारी सावित हुने विद्यालयको विश्वास छ । विद्यार्थीसँग भनेको समयमा प्याड किन्ने पैसा समेत नहुने भएकाले पुन प्रयोग गनर्न मिल्ने प्याड सहज हुने विद्यालयकी छात्रा प्रमिला प्रधानको भनाई छ ।

बजारमा पाईने प्याड एक पटक प्रयोग गरिसकेपछि अर्को पटक प्रयोग गर्न नमिल्ने भएकाले प्रयोग गरिसकेपछि कहाँ फाल्ने भन्ने समेत समस्या हुन्थ्यो तर घरेलु प्याडलाई धोएर पटक पटक प्रयोग गर्न सकिने भएकाले सहज भएको अर्का छात्रा समिक्षा कुलुङको भनाई छ । उत्पादित प्याड छिमेकी विद्यालयहरुलाई समेत वितरण गर्ने योजना बनाएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले बताउँनुभयो ।

नगरपालिकाले फोहोर ब्यवस्थापनका निम्ति घरेलु सेनेटरी प्याड प्रयोगलाई जोड दिदै नगरका केहि विद्यालयहरुमा वितरण गरिरहेको छ । तर सेनेटरी प्याड भन्दा पनि सिप महत्वपुर्ण भएकाले छात्रा आफैलाई प्याड तयार गर्ने तालिम प्रसारलाई विद्यालयले पहिलो प्राथमिकता राखेको समितिका अध्यक्ष शेर्पाको भनाई छ ।

विद्यालयले संस्थाको सहयोगमा तालिम प्रदानका लागी करिब १ लाख खर्च गरेको जनाएको छ । जसबाट सिलाउने मेसिन र कच्चा पर्दाथ(कपडा) खरिद गरेको छ । प्याकड बनाउन फलाटिनको कपडाभित्र एउटा नरम कपडा प्रयोग गरिन्छ । त्यसले रगत सोसेर राख्ने काम गर्छ । गार्मा मा.विका अन्य छात्राहरुले पनि अहिले तालिम सिकिरहेका छन् । उक्त विद्यालयमा बाली विज्ञान र अपांगता भएकाहरुका लागी कक्षा समेत सञ्चालन भईरहेका छन् । source-solu fm

प्रकाशित मिति २९ आश्विन २०७७, बिहीबार ०९:०२