सोलुखुम्बुमा एक बृद्धमाथी ३ जना युवा मिलेर निर्घात कुटपिट, वृद्धको अवस्था गम्भिर

भदौ १५, काठमाडौ । – सोलुखुम्बुमा एक जना ६३ बर्षिय बृद्धलाई ३ जना युवाहरूले निर्घात कुटपिट गरेका छन । सोलुखुम्बु दुधकुण्ड नगरपालिका ३ माठुङका स्थानीय रिन्जी शेर्पालाइ सोही वडा कै तामाखानी गाउँका ३ जना युवाहरू श्याम पुलामी मगर, मिलन मगर र मनिष रेग्मी मगर नाम गरेका युवाहरूले निर्घात कुटपिट गरेका हुन ।

केही दिन अगाडि निर्माणधिन बेनि हाइड्रो निर्माण स्थलमा समेत गइ गुण्डागर्दी शैलीमा ढुङ्गामुढा गरेर आतंक मच्चाएका ती ३ युवाहरूले गत भदौ १२ गते तामाखानी गाउँमा एक स्थानीयको काजकिरिया भैरहेको सामाजिक जमघटमा बृद्ध शेर्पालाइ कुटपिट गरेका हुन । सो सामाजिक जमघटमा ती पिडक युवाहरू हाइड्रोको बिषयको विवादबारे बहस गर्न लागेपछि वृद्ध रिन्जी शेर्पाले यस्तो काजकिरिया जस्तो दु:खद कार्यक्रममा यस्ता विवादका कुराकानी नगर्न भनेका थिए, तर ती युवाहरूले “तँ भोटेलाइ के मतलब” भन्दै अति जातीय सङ्कृणताको गालीगलौज समेत गरेर एक्कासी कुटपिट गरेको एक जना प्रत्यक्षदर्शीले जानकारी दिए ।

३ जना युवाहरूको लात्ती र मुक्कामुक्कीको चोटले वृद्ध रिन्जी शेर्पा त्यही बेहोस भए र उनलाइ अर्धचेत अवस्थामा बोकेर केही सहयोगिहरुले घर पुर्‍याएका थिए । उक्त कुटपिटबाट बिक्षिप्त बनेका शेर्पाको अवस्था थप गम्भीर हुन थालेपछि भोलिपल्टै उनलाइ बोकेर फाप्लु जिल्ला अस्पताल पुर्‍याएको थियो तर जिल्ला अस्पताल फाप्लुले उनको उपचार त्यहाँ सम्भव नभएको बताएपछि थप उपचारको लागि रिन्जी शेर्पालाइ एम्बुलेन्समा काठमाडौ ल्याएको छ । शेर्पालाई अहिले टिचिङ अस्पतालको एमर्जेन्सी कक्षमा राखी उपचार गरी रहेको छ । कुटपिटबाट शेर्पाको मुख, दात, र छातीमा चोट लागेको पीडितका छोरी लमु शेर्पाले जानकारी दिएको छ । उनको छोरी लमु शेर्पाले बुवाको हालत यस्तो बनाउनेलाई कानुनी दाँयरामा ल्याएर कडा कारबाहीको माग गरेकी छिन । उनी बुवाको उपचारका लागि काठमाडौं आएकि छिन ।

यता कुटपिटपछि ती ३ जना अभियुक्तहरु फरार रहेको वडा चौकिका प्रहरिले बताएका छन । तर तिनिहरु गाउँमा नै रहेको र वडा चौकिका प्रहरीले पनि अभियुक्तहरुलाइ प्रकाउ गर्न तदारुकता नदेखाएको पिडित पक्षको दावी रहेको छ ।

वडा चौकिका प्रहरीले फरार भनेका ती अभियुक्तहरुले पिडितको पक्षबाट प्रहरीमा उजुरी दिन सहयोग गर्नेहरूलाई समेत फोन गरेर धाकधम्की दिने गरेको पिडित पक्षका एक सहयोगीले बताए । पिडितले भदौ १४ गते जिल्ला प्रहरी कार्यलयमा ज्यान मुद्दाको किटानी जाहेरी समेत दिइसकेका छन ।

प्रकाशित मिति १५ भाद्र २०७७, सोमबार ०६:०६