हराएको ‘लोसार’

पुस १५ अर्थात् तोला लोसारलाई गुरुङ वौद्धधर्मालम्बी समुदायले तामझामसाथ विश्वभर मनाउँदै आएको छ। मनोरञ्जनात्मक कार्यक्रमसहित प्रयोजनका व्यानरले धपक्कै ढाकेको टुँडिखेल हेर्दा लाग्छ- यो पक्कै फरक मेला हो।

तिथिमिति परिर्वतन हुँदा नयाँ वर्षका रूपमा धार्मिक परम्पराअनुसार मनाइने बौद्ध धर्मको मुख्य पर्व ‘लोसार’ले पछिल्लो समय मौलिकता गुमाउँदै गएको छ। अहिले ‘डिस्को’ र ‘डिजे’ले लोसारको मौलिकतालाई ओझेलमा पार्दै लगेको छ।

बौद्ध धर्मअन्तर्गत महायानी सम्प्रदायमा सम्बोडा लिपि प्रयोग गरी हिमाली भोटचन्द्र पात्रो (दतु) मा तिथिमिति परिर्वतन भई पुरानो वर्षलाई बिदा गरी नयाँ बर्ष मनाउनु लोसार हो। ‘लो’ भनेको वर्ष ‘सार’ भनेको परिर्वतन भन्ने अर्थ ‘लोसार’ शब्दले बोकेको छ।

वर्ष (लो) परिर्वतन हुँदा लोसार मनाइन्छ। बाँदर, चरा, कुकुर, सुगुर, मुसा, गाई, बाघ, बिरालो, ड्रागन, सर्प, घोडा, भेडा गरी १२ वर्षमा एकपटक लो (वर्ष) परिर्वतन हुने गर्छ। त्यसैले, हिमवत् खण्डबाट सुरु भएको ‘फक लो’ (बङ्‍गुर) लाई बिदा गरी ‘च्युवा लो ’ (मुसा) वर्ष सुरुआत हुनुभन्दा दुई महिनाअघि तोला लोसार मनाउन थालिएको हो। पात्रो अनुसार कोङ्पो, तोला, सोनाम र ग्याल्पो गरी चारवटा लोसार उल्लेख छ। यी चारै चाड नयाँ वर्षको रूपमा बौद्ध धर्मालम्बीले परम्परागत रूपमा यो पर्व मान्दै आएको इतिहासमा उल्लेख छ। नौ प्रकारका पदार्थ मिसाएर पकाइएका खाना (गुथुक), खप्स र फलफूल खाएर शुभकामना साटासाट गरी विश्वभर लोसार मनाउने गरिन्छ।

चार प्रकारका लोसार

कोङ्पो (तिब्बत क्षेत्र) प्रान्तका राजा आग्यालले युद्ध लड्ने जानुअघि लोसार नमनाइ नजाने घोषणा गरेपछि युद्धमा जीत हासिल गर्ने उद्देश्यले लोसार मनाउन सुरु गरिएको पाइन्छ। यो लोसार नै कोङ्पो लोसारको नाममा परिचित छ, हिजोआज लोपन्मुख लोसारको रूपमा यसलाई मानिन्छ। अर्को तोला लोसार ग्रह, नक्षत्र वा आकाशीय पिण्डहरूको चलायमान अवस्थासँग सम्बन्धित रहेको धर्म-संस्कृतिका अध्येताको तर्क छ। ११औं महिना पुसमा पर्दछ। विशेष गरी हिउँदको घाम फर्कदा लोसार मनाउनुलाई मञ्जुश्री (नाग्चीपा) ज्योतिष परम्परा पनि मानिन्छ। पात्रोअनुसार तोला लोसार पुस संक्रान्तिदेखि मसान्तभित्र पर्दछ। सोनामको अर्थ कृषि हो, किसानले रोपेको खेतीपातीबा अन्नबाली घरमा भित्र्याएको खुसीयालीमा सोनाम लोसार मनाउने गरेको इतिहास छ। पात्रो अनुसार १२ महिनाको पहिलो दिन सोनाम लोसार मनाउने चलन छ। यता, पात्रोमा तिथि परिर्वतन भई नयाँ वर्ष सुरुआतसँगै १२ महिना सकेर ग्याल्पो लोसार मनाउने गरिन्छ।

तिथिमिति बिनाको लोसार मनाउनु भ्रम

बौद्ध धर्मको इतिहास हेर्दा लोसारलाई यसरी प्रष्ट बुझ्न सकिन्छ। तर, पात्रोमा नयाँ वर्ष परिर्वतनभन्दा पनि २०४६ सालसँगै भएको राजनीतिक परिर्वतनपछि लोसार जातिगत रूपमा मनाउने चलन बढेको पाइन्छ। अहिले तामाङ जातिले सोनाम र गुरुङ जातिले तोला लोसारलाई तमु नामाकरण गरी हाम्रो भन्दै मनाउने गरेका छन्। यसरी तिथिमिति र आधारबिनै लोसारलाई जातिगत रूपमा नयाँ वर्षका रूपमा मनाउनुले लोसारप्रति प्रश्न उठ्नु पनि स्वभाविक बनेको छ। प्रथा-परम्परा र इतिहासलाई तोड्दै पर्व मनाउनुले इतिहास र बौद्ध धर्ममाथिको राजनीति हो भन्दा दुईमत नहोला। लोसार मनाउने समुदायकै पछिल्लो पिँढीमा लोसारको अर्थ वनभोजजस्तै भएको छ। त्यसैले लोसारबारे यथार्थ तथ्य दिन नसक्ने हो भने आगामी सन्ततिले लोसारको वास्तविकता भुल्दै जानेछन्।

गुरुङ समुदायले पुस १५ मा तोलालाई तमु लोसार नामाकरण गरी मनाएको पाइन्छ, तर यो बौद्ध धर्मको लिपिमा लोसार उल्लेख नै भएको पाइँदैन। यसरी बनावटी रूपमा आगन्तुक लोसार सिर्जना गर्नु बौद्ध धर्ममाथि भएको अपमान हो भन्दै आएका छन् धर्मगुरुहरू। केही अग्रजहरू तोला लोसारलाई तमु लोसार बनाएको भन्ने अपरिपक्व जवाफ दिने गर्छन्, तर, यो जवाफ सिंगो बौद्धमार्गीले स्वीकार्न सक्छन् त? यसरी नै तामाङ जातिका केही समुदायले सोनाम लोसार हाम्रो भन्दै मनाउने गरेको छ। नेपाल तामाङ बौद्ध महासंघका अध्यक्ष आचार्य नुर्वु लामा लोसारबारे फरक-फरक धारणा आउनु गलत भएको बताउँछन्। ‘बौद्ध धर्मालम्बीको सम्पूर्ण तिथिमिति र पात्रो एउटै हो, त्यसैले लोसारमा मात्र फरक हुनै सक्दैन,’ लामाले भने।

लोसार पर्वमा पछिल्लो समय विकृति पनि देखिँदै आएको छ। नयाँ कपडा लगाउने, मिठो खाने , रमाइलो गर्नेमा मात्र युवापुस्ताको ध्यान जाने गरेको छ। लोसारको सुरुआत कसरी भयो? धार्मिक दृष्टिले यस पर्वलाई कसरी मनाउनुपर्छ भन्ने चेत कसैमा पनि भएको पाइँदैन। धर्म-संस्कृति र परम्परा एकातिर अनि लोसार मनाउने तौरतरिका अर्कातिर हुँदा अर्को अर्थ लाग्ने अनुसन्धाता लाक्पा शेर्पाको भनाइ छ। उनी यो परिपाटीलाई सच्याउनु र दोस्रो पुस्तालाई सचेत बनाउनु आवश्यक ठान्छन्।

बौद्ध धर्ममाथि लोसारले प्रश्न उठाउन थालेको पाइएको छ। बौद्ध धर्म मान्ने शेर्पा, भोटे, थकाली, गुरुङ, तामाङलगायत समुदाय पछिल्लो समय आगन्तुक धर्मप्रति आस्था राख्न थालेका छन्। उनीहरूले पनि लोसारलाई प्राथमिकता दिएर मनाउने गरेको पाइन्छ।

संस्कार र संस्कृति फरक पर्दै गएकाले लोसारमाथि प्रश्न उठ्न थालेको पाइएको छ। टुँडिखेलमा आयोजना हुने लोसार कार्यक्रम छुट्टै प्रयोजन र फरक आशयले आयोजना हुने गरेको बौद्ध धर्मका गुरुहरूको भनाइ छ। धार्मिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले परम्परागत रूपमा लोसार मनाइँदै आइएको छ। तर, टुँडिखेलमा मनाइने लोसार बौद्ध धर्मको मूल्य-मान्यताअनुरुप मनाइएको पाइँदैन।

बुद्धधर्मका अगुवाले लोसारको मूल पक्ष ओझेलमा पारेर यसलाई आफूखुसी व्याख्या गर्न थालिएको भन्दै चिन्ता व्यक्त हुन थालेको छ। लोसार जोकोहीले जसरी पनि मनाउँदा हुन्छ भन्ने हो भने बौद्ध धर्म र यो पर्वकै अपमान हुन्छ।

तसर्थ, यसको संरक्षणका लागि निश्चित नियमनको जरुरी महसुस भइसकेको छ। राजनीतिक परिर्वतन र सचेतनाको नाममा धर्ममाथि प्रहार हुनु कति उचित होला भन्ने प्रश्न आएको छ, यसले यस क्षेत्रका धर्मगुरुलाई चिन्तित बनाएको छ।

यसबारे सार्थक बहस गरेर समाधान खोज्नु जरुरी भइसकेको छ। बौद्ध धर्मअनुसार महायानी धर्मालम्बीले सम्बोडा लिपिले दिएको तिथिमिति पात्रोअनुसार न्वारान, घेवा, विवाह समग्र धार्मिक परम्परा शेर्पा, तामाङ, गुरुङ, भोटेलगायत सबै बौद्ध धर्मालम्बीले अनुसरण गर्दै आउनु नै यसको मुख्य प्रमाण हो भन्न सकिन्छ।

पहिचान र लोसार

२०४७ सालपछि हाम्रो पहिचान भन्दै लोसार मान्ने चलनमा व्यापकता आएको देखिन्छ। त्यसो भए के पहिचानको कुरा ३० वर्ष अघिदेखि मात्र हो, त्यसभन्दा पहिलेको पहिचान के हो त भन्ने प्रश्न उत्तिकै उठ्छ। लोसारलाई शब्द र लेखाइमा समेत फरक पारेर ‘ल्होछार’ लेख्ने गरेको पाइन्छ। लो भनेको वर्ष र ‘ल्हो’ भनेको दक्षिण भन्ने अर्थ हुन्छ। सार को अर्थ परिर्वतन हुनु हो त्यसैले ल्होछार नभएर लोसारको अर्थ वर्ष परिर्वतन भन्ने अर्थ लाग्ने हुनाले लिपी अध्ययन गर्ने जोकोहीलाई पनि यसबारे प्रष्ट हुन्छ। त्यसैले हिमवत् खण्डबाट सुरु भएको ‘फक लो’ (बङ्‍गुर वर्ष) लाई बिदा गरी ‘च्युवा लो ’ (मुसा वर्ष) को ग्याल्पो लोसारलाई राष्ट्रिय पर्वको रूपमा मनाउन सुरुआत गर्नुपर्छ।

लोसार जाति विशेष भनिनु, मनाउन प्रेरित गरिनुमा धार्मिक चेतको अभाव खट्किएको धर्मगुरुहरूको भनाइ छ। तिथिअनुसार परिर्वतन हुने मितिले नयाँ वर्ष जनाउने भएकाले लोसार कहिल्यै पनि जाति विशेषको हुन नसक्ने दाबी गर्न सकिन्छ । धार्मिक पहिचान जे छ, त्यो मान्नुको विकल्प छैन। संसारभर मानिँदै आएको लोसारलाई परिर्वतन गर्नु र पहिचान भन्दै जातिगत बनाउनु के उचित हो त ? भनी सच्चा बौद्ध धर्मावलम्बीले एकपटक गम्भीर भएर सोच्नु पर्ला कि?

परापूर्वकालमा यातायात र सूचनाको अभावमा चारैवटा लोसार मनाउने गरेको इतिहास छ। तर, जातिगत रूपमा भन्दा पनि परम्परागत रुपमा क्रमैसँग लोसार मनाएको पाइन्छ। त्यसैले चारवटै लोसार उत्तिकै महत्वपूर्ण भए पनि वर्ष परिर्वतनको सँगै मनाउने लोसार ग्याल्वोलाई मानिन्छ। राज्यले पनि हिन्दुहरूको महान चाड विजयादशमीलाई महान चाडका रूपमा लामो बिदा दिँदै आएको छ। त्यसरी नै जातिगत पर्व नमानी लोसारलाई दशैंजस्तै महान चाडकै रूपमा प्राथमिकता दिनुपर्दछ।

बौद्ध अनुयायीमध्ये महायानी धर्माशास्त्रले दिएको तिथिमितिअनुसार ग्याल्पो लोसार नै आधिकारिक हो भन्ने पुष्टि गर्न सकिन्छ। पुष्टिविहीन भ्रामक कुप्रचार र बौद्ध धर्ममाथि उठेको प्रश्नलाई एकता भएर चिर्नु जरुरी रहेको देखिन्छ। त्यसका लागि नयाँ वर्ष राष्ट्रिय पर्वको रूपमा ग्याल्वो लोसारलाई मनाउनुको विकल्प छैन। बौद्ध अनुयायी बज्रयानीले लोसार मान्दैन तर, महायानीले लोसार मान्ने भएकाले लोसारजस्तो धार्मिक पृष्ठभूमिमा राजनीति घुसाएर यसलाई विवादमा तान्ने प्रयास गर्नु कदापि राम्रो होइन

प्रकाशित मिति १८ पुष २०७६, शुक्रबार १७:२०