हल्लामा बहकिएर यसरी डुब्छन् नेपालका सेयर लगानीकर्ता !

सेयर बजारमा सोमबार कारोबार खुलेपछि सामान्य किनबेच भईरहेको थियो । सुरुमा केही कम्पनीहरुको सेयरको भाउ केही बढ्यो र फेरि घट्ने क्रम सुरु भयो । केही समयसम्म घट्दो क्रममै बजार थियो तर बीचको समयमा यस्तो हल्ला फैलाईयो कि धेरै लगानीकर्ता त्यसमै बहकिए र सेयरको मूल्य बढाएर किन्न थाले । बजारमा एक्कासी किन्नेको चाप देखियो ।

भएको के थियो भने कुनै अनलाईन पोर्टलले राष्ट्र बैंकले अब बैंकहरुमा बास्सेल थ्री लागु गर्ने योजना बनाएको र त्यसका लागि अध्ययन सुरु गरेको समाचार छापेको थियो । बास्सेल थ्री अहिले नै लागु छ र त्यसलाई पूर्ण रुपमा लागु
गर्दा तलरता संकट समाधानमा के कस्तो सहयोग पुग्छ भन्ने बारेमा राष्ट्र बैंकले अध्ययनसम्म थालेको समाचारमा उल्लेख थियो ।

बास्सेल भनेको बैंक तथा बित्तीय संस्थाहरुमा हुने जोखिम कम गर्न लागु गरिएको प्रणालीगत ब्यवस्था हो । बैंकहरुको अन्तर्राष्ट्रिय नियमनका लागि बास्सेल कमिटीले तयार पारिएको एउटा परिधिगत प्रणाली हो, जसले बैंकको नियमन, निरीक्षण र जोखिम ब्यवस्थापनका लागि सघाउँछ ।

त्यो आजको भोलि नै पूर्ण रुपमा लागु भईहाल्ने पनि हैन । नेपालका बैंक तथा बित्तीय संस्थाहरु बास्सेल टु हुँदै थ्री मा प्रबेश गरिसकेका छन् र अब बिस्तारै त्यो पूर्ण रुपमा लागु हुँदैछ । बास्सेल थ्री पूर्ण रुपमा लागु हूँदा राष्ट्र बैंकले हाल अनिबार्य गरिरहेको कर्जा पूजी निक्षेप अनुपात अर्थात सीसीडीको ब्यवस्थामा फेरबदल भई बैंकहरुलाई लगानीयोग्य पूँजी अरु धेरै उपलब्ध हुन त सक्छ तर त्यो लामो प्रक्रिया हो ।

अहिलेको तरलता संकट समाधान गर्न दुई महिना जत्ति त यसै लाग्छ भने बास्सेल लागु गर्दा आउने परिणाम हेर्न पनि लामै प्रतीक्षा गर्नुपर्छ । तर सेयर लगानीकर्ताहरुले हल्लै हल्लामा यस्तो बुझे कि लौ आजको भोलि नै समस्या समाधान भईहाल्ने भयो ।

नेपालको सेयर बजार आधारभुत कुरा भन्दा बढी हल्लाको बजार हो र यहाँ सेयर दलाल तथा केही प्रभावशाली हल्लाखोर लगानीकर्ताको कार्यालयबाट फैलाईने हल्लाले चाँडै असर देखाउने गरेको छ । सर्बसाधारण लगानीकर्ताहरु तथ्य बुझ्दै नबुझी हल्लाको पछि लाग्छन् र पछुताउँछन् ।

समाचारमा के थियो भन्ने कुरा जब धेरैले पढ्न थाले र तथ्य बुझे अनि उचालिएर सेयर किन्नेहरु पछुताउमा परे । सेयरको भाऊ फेरि घट्न थाल्यो । कारोबार बन्द भएर नेप्से सूचकमा सात अंकको गिरावट देखिदासम्म उतार चढावमा सेयर किन्नेहरुले सामान्य कम्पनीको सेयरमा १० देखि १५ रुपैयाँ घाटा खाईसकेका थिए ।

हुनै पनि हल्ला वा समाचारमा बहकिएर सेयर कारोबार गर्नुभन्दा अघि तथ्य बुझ्ने प्रयास गर्नुपर्छ । कतिपय समाचार लगानीकर्तालाई बहकाउमा पार्न लेखिएका हुन्छन् भने कतिपय हल्ला लगानीकर्तालाई भ्रमित पार्न फैलाईएको हुन्छ । यत्तिसम्म कि सेयरलगानी डटकमले नै कुनै समाचार लेख्यो भने त्यसबारे तीन चार कोणबाट विश्लेषण गर्ने र तथ्थ्यसँग भियाउने काम गर्नुपर्छ किनभने समाचार लेख्नेले सबै समयमा सही कुरा नै लेखेको हुन्छ भनेर भन्न सकिन्न । समाचारदाताको अन्जानबश भएका गल्ति र तथ्यको गलत उल्लेखले लगानीकर्तालाई भ्रमित पारेको अबस्था पनि हुनसक्छ ।

त्यसैले लगानी राख्ने र झिक्ने निर्णय गर्दा हल्ला, अफवाह, समाचार र अरुको लहै लहैमा भन्दा पनि आफैले तथ्य बुझेर घट्दै गएको बजारमा राम्रा कम्पनीहरुको घटाएरै सेयर किन्ने र बढ्दै गएको बजारमा बढेको मूल्यमा नाफा खाएरै सेयर बेच्ने बानी बसाल्नुपर्छ । कतिपय लगानीकर्ताहरु हल्लै हल्लामा घाटा खाएर घट्दो बजारमा सेयर बेचिरहेका देखिन्छन्, जसलाई सेयर बेच्नुपर्ने बाध्यता नै छैन ।

कुनै हल्ला, अफवाह र समाचारमा बहकिनु अघि धेरै पटक तथ्यको आधारमा बिश्लेषण गर्ने प्रयास गरौं । यस घटनाबाट के देखिन्छ भने नेपालका सेयरलगानीकर्ताहरुको मनोबल अहिले कमजोर भएको छ र त्यसलाई बलियो बनाउने गतिलो बहानाको पखाईमा बजार छ । त्यो गतिलो बहाना बजारले कहिले पाउला भन्ने कुराको प्रतीक्षा धेरैले गरिरहेको अबस्था पनि हो ।

साँच्चै बजारलाई आड दिने भनेको पूर्वाधार बिकास, नयाँ लगानीकर्ताको प्रबेश, तरलता संकट समाधान, आपुर्तिमाथिको नियन्त्रण र लगानीकर्ताको मनोबल उच्च बनाउने कुरा नै हो । त्यो नभएसम्म सामान्य हल्ला र बहानाबाजीले सर्बसाधारणलाई झुक्याउने मात्रै हो ।

घट्दो बजारमा घटाएरै राम्रा कम्तिमा १०- १५ वटा कम्पनीका सस्ता सेयर किनौ, डाईभर्सिफाई लगानी गरौं । याद राखौं, क्षणिक उत्तेजनाले घाटा मात्रै गर्छ ।

प्रकाशित मिति २९ फाल्गुन २०७४, मंगलवार ११:५८