no-image

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचनका लागि जिम्बाजाङ्बु शेर्पा नेतृत्वको प्यानल सार्वजनिक गरिएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि शेर्पाले आफू नेतृत्वको समूह सार्वजनिक गरेका हुन् ।
नेपाल पर्वतारोहण संघ बचाउ अभिायनका तर्फबाट भन्दै शेर्पाले सार्वजनिक गरेका १५ सदस्यीय समूहमा प्रथम उपाध्यक्ष भूमिलाल लामा, द्वितीय उपाध्यक्ष निमी शेर्पा, महासचिव कुलबहादुर गुरुङ, सचिव पी. छेवाङ शेर्पा र कोषाध्यक्षमा विमल नहर्की रहेका छन् । त्यस्तै, सदस्यहरुमा प्राडा हरिप्रसाद श्रेष्ठ, देवीप्रसाद पन्त, आङछेवाङ शेर्पा, दा गेल्जे शेर्पा, तलसिंह गुरुङ, पेम्बादोर्जे शेर्पा, एकनथ न्यौपाने, मुकुन्दप्रसाद पोखरेल र ल्हाक्पा तेन्जी शेर्पा रहेका छन् ।
उम्मेद्वार सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्षका प्रत्यासी जिम्बाजाङबु शेर्पाले नेपाल पर्वतारोहण संघ बचाउनको लागि आफ्नो उम्मेद्वारी भएको बताए । सरकारले एनएमएको पीक खोस्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा एनएमएको प्रतिष्ठामाथि दाग लागेको भन्दै त्यसलाई बचाउन र देश तथा विदेशमा अल्पाइन क्लबको रुपमा रहेको संघको मानप्रतिष्ठा आफू नेतृत्वको टिमले उच बनाउने पनि उनको भनाइ थियो । अध्यक्ष प्रत्यासी शेर्पाले आरोही पेशेवरहरुको हकहीतलाई अविछिन्न ढंगले अघि बढाउने, आरोहीहरुका टुहुरा छोराछोरीको पढाईलाई निरन्तरता प्रदान गर्ने, पेशेवर आरोहीहरुको पेशालाई विभिन्न स्तरको तालिम अध्ययन सञ्चालन गरी सुरक्षित एवं गौरवान्वित बनाउने तथा संघको गौरवपूर्ण इतिहासलाई जोगाउनेलगायतका प्रतिबद्धता जाहेर गरेका छन् ।
सोही कार्यक्रममा महासचिवका उम्मेद्वार कुलबहादुर गुरुङले शेर्पा नेतृत्वको प्यानल समावेशी, सक्षम र अनुभवि रहेकाले पूरै प्यानल विजयी हुने विश्वास व्यक्त गरे । उनले एनएमए हाँक्न सक्ने टिमलाई अत्याधिक बहुमतले विजयी गराउन मतदाताहरु समक्ष अपील गरेका छन् । कार्यक्रममा टानका पूर्व अध्यक्ष तथा निटका अध्यक्ष दीपक महतले व्यवसायिक संस्थाहरुमा राजनीतिक हस्तक्षप कम गर्ने उद्देश्यले स्वतन्त्र उम्मेद्वार शेर्पालाई आफूहरुले समर्थन गरेको बताए । उनले सन्तवीर लामालाई अध्यक्षमा सर्वसम्मत गराउने प्रयास विफल भएपछि आफूहरु बाध्य भएर शेर्पालाई समर्थन गर्न आएको बताए ।
यस्तै, नेपाल पर्यटन परिषद्का कार्यसमिति सदस्य कामी रिन्जी शेर्पाले इमान्दार व्यवसायी र अनुभवी व्यवसायीहरुलाई नयाँ शक्ति निकट पर्यटन व्यवसायीहरुले समर्थन गरेको बताए । उनले पनि एनएमए बचाउनको लागि शेर्पाहरुले शेर्पा नेतृत्वको समूहलाई मतदान दिनु पर्ने बताए ।
आगामी साउन २१ गते शनिवारका दिन हुने एनएमए निर्वाचनमा जिम्बा जाङ्बु शेर्पाको प्रतिस्पर्धीका रुपमा सन्तवीर लामाले उम्मेद्वारी दिने भएका छन् । निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुने भएको छ ।

प्रकाशित मिति १७ श्रावण २०७४, मंगलवार ०५:०२