यूरोपमा शेर्पाहरूको अवस्था, चुनौती र सम्भावनाहरू


– पेम्बा गेलु शेर्पा

सचीव, नेपाल पत्रकार महासंघ, युरोप शाखा
सल्लाकर शेर्पा संचार समूह नेपाल
महासचिव, शेर्पा संघ यूरोप

 

 

यूरोपमा शेर्पाहरूको बसाई सुरुवात कहिलेबाट भयो त्यो यकिनका साथ भन्न सकिने अवस्था छैन तर पछिल्लो समयमा आएर अहिले धेरै शेर्पाहरूको गन्तव्य यूरोप बनिरहेको छ । सर्वप्रथम त नेपालको राजनीतिक भद्रगोलको अवस्था र बेरोजगारीको कारणले नै अरु नेपालीहरू जस्तै शेर्पाहरूको पनि विदेशिने वातावरण बनेका हुन भने अर्को चहि यूरोपका विकसित देशहरूमा केही सहज तरिकाले पाईने स्थायी बसोबास सुविधा र अन्तत्वगत्व युरोपियन नागारिक हुने आकंक्षले पनि यूरोप शेर्पाहरूको गन्तव्य बनेको करा नकार्न सकिदैन । समयक्रम सँगै यतिबेला यूरोपका धेरै मुलुकहरूमा शेर्पाहरूको बसोबास रहेका छन । बेल्जियम, जर्मन, स्वीजरल्याण्ड, डेनमार्क, ईटाली, पोर्तुगल, बेलायत, फ्रान्स, नेदरल्याण्ड, नर्वे, लग्जेम्वर्ग, स्पेन, साईप्रस र रोमानियामा समेत शेर्पाहरूको बसोबास रहेको तथ्यांक छ । यूरोप एउटा महादेश हो र यो महादेशका २८ वटा देशहरू जो युरोपियन युनियनको झण्डामुनि एकितृत भएकोमा हालै बेलायत बाहिरिएको छ भने २७ वटा राष्ट्रको यूरोपियन युनियनलाई नै हामी यूरोप भनेर बुझ्दछौं । दोश्रो विश्वयुद्धमा ठुलो क्षेती बेहोरेको यूरोपका देशहरूले त्यसपछि विकासलाई नै प्रधान मानेर अगाडी बढेकै कारण आज ती देशहरु सबै विकसित देशको सुचीमा छन ।

यूरोपियन नागारिक नै किन बन्ने ?
हुन त जुनसुकै देशको पनि नागारिक नै हुने हो । हामी पनि नेपाली नागारिक हौ तर नेपालका नागारिक हुनु र युरोप लगायतका अन्य विकसित देशका नागारिक हुनुमा आम मानिसका लागि धेरै फरकहरू भएकै कारणले युरोप गन्तव्य बनाएका सबैले युरोपियन नागारिक बन्ने ध्याउन्नमा बसेको अड्कल काट्न गाह्रो छैन । वर्तमान भु–मण्डलीकृत विश्वमा सबै देशका नागारिकहरूको मुल्यलाई मयर्दाक्रममा मुल्यांकन गरिने गरेको अवस्थामा नेपाली नागारिक र युरोपेली नागारिकको हैसियतमा धेरै फरक हुने व्यवहारिक पक्ष छदैछ । उदाहरणको लागि विश्वका ठुला र विकसित देशहरूको भ्रमण गर्नका लागि मात्रै पनि आम नेपालीलाई सहज छैन, अर्थात त्यहाँका नागारिकहरू ती देशहरूमा पर्यटकको रुपमा भ्रमण गर्ने हैसियत राख्दैनन भन्ने बुझाई कुटनीतिक निकायहरूको सदैब रहने गर्दछ भने त्यही मान्छे केही समय व्यतित गरेर युरोपेली देशका नागारिक बनेमा त्यही बुझाई र व्यवहारमा फरक हुने गर्दछ । यसले पनि नेपालीहरूको युरोपेली नागारिक हुने आशामा सुगन्ध दिने काम गरेको छ । त्यसै पनि युरोपमा मान्छेका आधारभुत आवश्यकताहरूलाई सम्बन्धित देशका सरकारले राम्रोसँग व्यस्थापन गरिदिएका छन, यहाँको राजनीतिलाई सिस्टमले चलाएका छन, गुण र दोषको आधारमा मुल्यांकन गरिने व्यवस्था पनि छन । नेपालको जस्तो आम मान्छेले पैसा भएपनि अध्यारोमा बस्नुपर्ने, एक लिटर पेट्रोलका लागि घण्टौ घण्टा लाईनमा बस्नुपर्ने, धुलम्मे सडकहरूमा मुख छोप्दै हिड्नुपर्ने, बन्द र हडतालले हुने अनेकान सास्ती जस्ता समस्यहरूबाट पक्कै मुक्त छन युरोपको बसाई । त्यसो भए के यूरोपमा चुनौतीहरू चहि छदै छैनन त भन्ने पश्न उठ्न सक्छ । भर्खर यूरोपमा प्रवेश गर्नेहरूका लागि युरोप बसाईको पहिलो चुनौती भनेको नै भाषा हुने गरेका छन । युरोपका २८ वटा देशमा सबैका आ–आफ्नै देशका भाषाहरू सरकारी कामकाज र चलनचल्तीका भाषा हुने गरेका कारण पनि भर्खर यूरोप प्रवेश गर्दा सम्बन्धित देशको भाषा सिक्नै पर्ने बाध्यता रहेको छ । त्यसै गरी काम गर्नका लागि पनि बैधानिक हुनै पर्ने अवस्था पनि अर्को चुनौती बन्ने गरेको पाईन्छ । यदाकदा अबैधानिक रुपमा रहेर काम गर्दा सदैव प्रशासनको डर त्रास भईरहने अवस्थाबाट गुज्रिरहनुपर्ने समस्याहरू रहन्छ ।

यूरोपियन देशहरू मध्ये अहिले केही सहज रुपमा आप्रवासीलाई स्थायी बसोबासको अनुमति दिनका लागि पोर्तुगल सरकार उदार देखिएका छन । जसका लागि आप्रवासीहरूले यहाँको सरकारलाई मासिक कर तिर्नुपर्छ । नेपाल द्धन्दग्रस्त भएको बेलामा बेल्जियम, जर्मन, नर्वे लगायतका यूरोपियन देशहरूले पनि नेपाली आप्रवासीहरूलाई स्थायी बसोबासका लागि प्रकृया पु¥याएर ती देशका नागारिकता दिएका थिए । तर अहिले नेपालमा शान्ति भईसकेको अवस्थामा ती देशहरूले नेपालीलाई स्थायी बसोबास अनुमति दिन बन्द जस्तै गरेका छन । पोर्तुगलमा भने यहाँ प्रवेश गर्ने वित्तिकै भरेको व्यक्तिगत भ्याट नम्बरको आधारमा ६ महिनापछि बैधानिक रुपले काम गर्न पाउनेछन । त्यसपछि मासिक ८ महिना लगातर काम गरेको तलबको आधारमा सरकारलाई कर तिरेको र पोर्तुगल बैधानिक रुपले यूरोपको पर्यटन भिषा (सेन्जेन) मा म्याद रहदा नै प्रवेश गरेको जसलाई “लिगल ईन्ट्री” भनिन्छ त्यो भएमा यहाँको अस्थायी बसोबासका लागि आवेदन दिन योग्य भएको ठहरिने छ । यदि सबै कागाजातहरू सही तरिकाले पेश भएमा त्यसपछि एक बर्षे अस्थायी अनुमति पत्र पाईन्छ र त्यसलाई पहिलो बार्षिक र त्यसपछि दुई–दुई बर्षमा नवीकरण गर्नेपर्ने हुन्छ । यसरी नवीकरण गर्दा पनि सरकारलाई तिरेका करलाई नै प्रथामिकताका साथ हेरिने गरिन्छ र ६ बर्ष पनि यहाँको स्थायी बासिन्दाको रुपमा पोर्तुगलको नागारिक हुनको लागि आवेदन दिन योग्य भएको मानिनेछ । यसरी स्थायी बसोबास अर्थात पोर्तुगलको नागारिक हुन आवेदन दिनेहरूका लागि सरकारलाई निरन्तर कर तिर्नुपर्ने व्यवस्थासँगै भाषाको आधारभुत परिक्षालाई पनि अनिवार्य गरिएको हुन्छ ।

यूरोपमा बसोबास गर्ने शेर्पाहरूको अवस्था र भविष्य
युरोपको बसाई र च्ुनौतीबारे यी केही कुराहरू संक्षिप्तमा राखिसकेपछि अहिलेसम्म यूरोपमा बसोबास गरिरहेका शेर्पाहरूको अवस्था कस्तो छ भन्ने बारेमा पनि केही चर्चा गरौ । समग्रमा भन्नुपर्दा अहिलेसम्म यूरोपमा बसोबास गरिरहेका शेर्पाहरूको अवस्था केही अपवादबाहेक राम्रै छ भन्न सकिन्छ । सुरुमा यूरोप प्रवेश गरेका शेर्पाहरूको तुलनामा अहिले भर्खर प्रवेश गर्ने शेर्पाहरूलाई केही सहजता पनि छ । यसको कारण अगाडी आएकाहरूले नयाँ आउनेहरूका लागि बाटो खोलिदिएको अर्थमा पनि हामी बुझ्न सक्दछौं । युरोपका विभिन्न देशहरूमा शेर्पाहरूको जनघन्त्व सबैभन्दा बढी बेलायत पछि पोर्तुगलमा रहेका छन । त्यसपछि बेल्जियम र साईप्रसमा पनि शेर्पाहरूको संख्यात्मक उपस्थिती राम्रै छ । तर, साईप्रसमा शेर्पाहरूको बसोबास अरु यूरोपियन देशहरूमा भन्दा केही फरक छन । त्यहाँ करार अवधिका लागि मात्रै बसोबास गर्ने व्यवस्था रहेको छ तर यूरोपको अरु देशहरूमा बसोबास गर्ने शेर्पाहरू भने त्यही देशको नागरिकको रुपमा स्वीकार गरेर बसेकाहरू र बस्न चहानेहरू नै छन । यसरी यतिबेला युरोपमा धेरै शेर्पाहरूले विभिन्न देशहरूमा स्थायी बसोबासका लागि ती देशका नागरिकता लिएका छन र लिने लाईन पनि थुप्रै छन । संख्यात्मक हिसाबले अहिलेकै व्यवस्था कायम रहेमा पोर्तुगलमा स्थायी नागारिक हुने शेर्पाहरूको संख्या धेरै हुने अनुमान गर्न सकिन्छ र भोलीको दिनमा यहाँ जन्मिने शेर्पा बालबालिकाहरू पनि स्वतः यहाँकै नागारिकको रुपमा रहने कुरा पनि आफैमा स्वभाविक कुरा नै हो ।
व्यक्तिगत जिवनसँगको सुख सुविधा र पारिवारीक भविष्यलाई मात्रै जोडेर तुलनात्मक रुपमा हेर्दा युरोपेली नागारिकको रुपमा रुपान्तरण हुनु खुशी कै कुरा हो तर पनि केही भविष्यमा देखा पर्ने गम्भीर कुराहरूबारे बेलैमा ध्यान दिन नसके शेर्पाहरूको ऐतिहासिक पहिचान र शेर्पापनमा नै खतरा उत्पन्न हुने अवस्थाहरू पनि देखिदै जान थालेका छन । मुलतः शेर्पा एउटा जाति समूदाय हो, शेर्पाहरूको आफ्नो छुट्टै भाषा संस्कृति, कला साहित्य र परम्परागत मुल्य मान्यताहरू पृथक रुपमा रहेका छन । तर, नेपालको एकात्मक शासन व्यवस्थाको कारणले मासिदै गएको शेर्पा पहिचानका यी कुराहरू युरोपेली नागारिकको रुपमा शेर्पाहरू रुपान्तरण हुदै गर्दा समाप्त भएर जाने हो की भन्ने ठुलो चिन्ताको बिषय हो । उदाहरणको लागि यहाँ यूरोपमा अहिले भर्खर जन्मेर हुर्किदै गरेका बालबालिकाहरू अहिले देखि नै शेर्पाको मौलिक भाषा संस्कृतिहरूबाट विमुख भईरहेका छन । युरोपियन विद्यालयहरूमा भर्ना हुन थालेको ती बालबालिकाहरू किशोर अवस्थासम्म पुग्दा उनीहरू पुरै युरोपियन मुलका भाषा, संस्कार र संस्कृतिका लागि परिपक्क भएर निस्कन्छन, तर शेर्पा भाषा संस्कृति र कला साहित्यहरूबारे उनीहरू अनविज्ञ रहदाँ त्यसपछिका अर्को पुस्ता पुरै बेखबर हुने अवस्था निश्चित हुन जान्छ र यो नै शेर्पाहरूको ऐतिहासिक पहिचान समाप्त हुने खतराको रुपमा लिन सकिन्छ ।

त्यसो भए शेर्पाको पहिचान जोगाउन प्रयासहरू भएकै छैनन त ?
युरोपियन नागारिक भईकन पाईने उपलब्धीका पाटाहरू छदैछन । अन्तराष्ट्रिय बजारमा युरोपियन नागारिक भएर उभिदा अवसरहरूमा पाईने सहज सहभागिता लगायतका थुप्रै उपलब्धीहरू हुँदाहुदै पनि शेर्पाहरूले आफ्नो मौलिक शेर्पापनलाई जोगाउनुपर्छ भन्ने ध्येका साथ युरोपमा पुगेका शेर्पाहरूले सामाजिक संघ संस्थाहरू पनि स्थापना गरेका छन । शेर्पा समूदायको भाषा, कला संस्कृति र परम्परागत मुल्य मान्यताहरूको संरक्षण र प्रवद्र्धन गर्ने भन्ने पहिलो उद्देश्यका साथ अहिलेसम्म शेर्पा किदुग बेल्जियम, शेर्पा संघ बेलायत, शेर्पा संघ पोर्तुगल, शेर्पा किदुग स्पेन, शेर्पा किदुग जर्मन, शेर्पा किदुग साईप्रस औपचारिक रुपमा स्थापना भएका छन भने ईटाली स्वीजरल्याण्ड र रोमानियामा स्थापना गर्नका लागि छलफलहरू भईरहेका छन । यसरी शेर्पाको पहिचानलाई जिवन्त राख्ने उदेश्यका साथ स्थापना भएका सामाजिक संघ संस्था तथा किदुगहरूले उद्देश्य अनुरुपको कार्यसम्पादन निरन्तर जारी राखेमा युरोपेली नागारिकको रुपमा रुपान्तरण भएका शेर्पाहरूलाई आफ्नो ऐतिहासिक मौलिक पहिचानलाई जागाईराख्ने दीर्घकालीन भुमिका निर्वाह गर्न सक्दछ । यतिबेला शेर्पाका ती संघ संस्थाहरूले विभिन्न सामाजिक गतिविधिहरूमा सहभागिता जनाउदै मौलिक पहिचानका खातिर अग्रसरताहरू देखाईरहेका छन । त्यसै गरी यूरोपका विभिन्न देशहरूमा स्थापित यी संघ संस्था तथा किदुगहरूले जुनसुकै देशमा रहेपनि साझा शेर्पापनलाई एउटा मिलनविन्दु मान्दै सबै देशका संघ संस्थाहरूको साझा प्रतिनिधिमुलक संस्थाको रुपमा शेर्पा संघ यूरोपको पनि स्थापना गरेका छन । यो पनि भविष्यमा शेर्पाहरू जुनसुकै देशको नागारिक भएपनि शेर्पाको आफ्नो मौलिक पहिचानका खातिर एकजुट हुने प्रयासको एउटा महत्वपूर्ण कडीको रुपमा हेर्न सकिन्छ किनकी यसको उद्देश्य भविष्यमा विश्वलाई जोडने अभियान नै हो । र, अहिले यसैको वृहत रुप हुने खालको विश्व शेर्पा संघको बारे पनि व्यापक छलफल र बहसहरू भईरहेका छन । हिजोको एउटा त्यस्तो समय थियो जतिबेला शेर्पाहरु नेपालका हिमाली क्षेत्रहरुमा मात्रै बस्छन र शेर्पाहरुको केवल नेपालका मात्रै नागारिक हुन भन्न सकिन्थ्यो तर आज नै त्यो अवस्थामा परिवर्तन आएर शेर्पाहरुको विश्वका विभिन्न मुलुकका नागारिकको रुपमा रुपान्तरण भएर उभिन थालेका छन । यस्तो अवस्थामा पनि शेर्पाहरुको मौलिक ऐतिहासिक पहिचान र शेर्पापनलाई जिवन्त राख्नका लागि यस्ता सामाजिक संघ संस्थाहरुको भुमिका ठुलो रहन्छ । थुचिछे ।

प्रकाशित मिति ३२ श्रावण २०७४, बुधबार १७:५१