थाई राजकुमारी लुम्बिनीमा

काठमाडौं, कार्तिक ३ । थाइल्याण्डका राजकुमारी महाचाकरी सिरिनधोरन् आज भगवान बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा आउनुभएको छ । राजकुमारी सिरिनधोरन् पहिलो दिन नै विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ ।

थाइ एअरको विशेष वायुयानबाट आज बिहान काठमाडौं ओर्लिएकी सिरिनधोरन् बुद्ध एअरको चार्टर विमानमार्फत लुम्बिनी पुग्नु भएको हो । राजकुमारी सिरिनधोरन्को टोलीमा ४४ जना थाइ सरकारका विशिष्ट पाहुना सहभागी छन् । राजकुमारी लुम्बिनी आउने कार्यक्रम रहेपछि करिब एक सातादेखि थाइल्याण्डबाट झण्डै चार हजारभन्दा बढी थाई बौद्धमार्गी र थाई सरकारका प्रतिनिधि लुम्बिनी पुगेको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिनुभयो ।

राजकुमारीले लुम्बिनीस्थित थाइल्याण्ड सरकारद्वारा निर्मित थाइ राजकीय बौद्ध विहारको समुद्घाटन गर्नुभएको छ । करिब दुई दशकअघिबाट निर्माण थालिएको थाई बौद्ध विहार लुम्बिनीमा तीनवटा निर्माण भएका छन् । यी बौद्ध विहार थाइ कला, संस्कृतिसहित बौद्ध कला संस्कृतिमा आधारित थाइ आर्किटेकमा आधारित निकै कलात्मक ढंगले निर्माण गरिएको छ । बौद्ध विहारको उद्घाटनपश्चात् राजकुमारी सिरिनधोरन्ले लुम्बिनीमा आयोजना गरिएको आँखा शिविरको उद्घाटन गर्नुका साथै बेबी बुद्ध र मायादेवी मन्दिरको दर्शन तथा पूजाअर्चना गर्नु भएको भट्टराईले जानकारी दिनुभयो ।

लुम्बिनीको विकास र लुम्बिनी गुरु योजना सम्पन्न गर्न विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको थाइ सरकारले सडक, पर्यटन, बौद्ध विहार र त्यहाँका ग्रामीण क्षेत्रमा शिक्षा स्वास्थ्यका क्षेत्रमा समेत सहकार्य गर्दै आएको छ ।

श्रोत इकान्तिपुर

प्रकाशित मिति ३ कार्तिक २०७४, शुक्रबार २०:०६