शेर्पा र पत्रकारिता

शेर्पा समुदाय विशेषतः हिमाली विकट क्षेत्रमा बसोवास गर्ने र जोखिमपूर्ण पर्वतहरूमाथि विजयी हुने जाति हो । विश्वको सर्वोच्च शिखर र जोखिमपूर्ण अरू पर्वतहरूको सफल आरोहण गरेका शेर्पा समुदायले पत्रकारिताको पहाडलाई भने छिचोल्न सकिरहेका छैनन् । अर्थात्, हामी मूलभूत विषयमा पछि परिरहेका छौँ । सञ्चारसँग टाढिनुले हामी शारीरिक रूपमा अब्बल भए पनि बौद्धिक रूपमा भने ‘निर्धो’ नै छौँ । सामाजिक, आर्थिकसँगै जोडिएर आउने प्रमुख एजेन्डा राजनीतिक अधिकार हो । आर्थिक रूपमा सम्पन्न, सामाजिक प्रतिष्ठाहरू आर्जन गरे पनि त्यो क्षणिक नै हुन्छ । तर, सञ्चारको शक्तिले राजनीतिक अधिकार प्राप्तिका खातिर हामी अघि बढ्न नसक्ने हो भने समुदाय पछि पर्छ । यसलाई नजर अन्दाज गर्न मिल्दैन ।
शेर्पा समुदायले अहिले पनि मूलधारका मिडियाहरूमा स्थान पाउन सकिरहेका छैनन् । र, विद्यमान अवस्थामा सक्तैनन् पनि । उत्तरआधुनिक युगमा हामी समाचारका लागि जर्नलका ‘कोलम’हरू खरिद गरी आफ्नो नाम लेखाउन आतुर हुन्छौँ तर हामीमा नै राष्ट्रियस्तरमा पहुँच राख्ने गरी पत्रकार उत्पादन र ‘मिडियाहाउस’ सञ्चालन गर्न किन सक्दैनौँ ? प्रश्न सधैँ अनुत्तरित नै छ । समुदायको विकासलाई आर्थिक पाटोसँग मात्रै जोडेर विश्लेषण गर्ने गर्छौं । जस्तैः घर, घडी, गाडी, घडेरी ।
शेर्पा समुदायमा सञ्चारमाध्यम स्थापना, विकास र दिगोपनका विषयमा समय समयमा सामान्य छलफल भने हुन्छ । यसले आकार लिन सकेको भने छैन । बौद्धिक व्यक्तित्वको जन्म हुन लागेको संकेत चाहिँ मिलेको छ । समय सापेक्ष परिवर्तन, विधिपद्धतिलाई शिरोपर गर्दै अघि बढ्ने सन्दर्भको बहस अघि बढाउँदा पत्रकारितामा हाम्रो उपस्थितिलाई पहिलो सूचकांकका रूपमा जबसम्म हेरिन्न, तबसम्म अघि बढ्न सक्दैनौँ ।
सञ्चारमाध्यमको स्थापना मात्रै पनि प्रधान विषय बन्दै जानुलाई अस्वाभाविक रूपमा नहेरिनुपर्ने अवस्था शेर्पा समुदायमा छ । हामी सञ्चारमाध्यमको भूमिकालाई अहिले पनि बुझ्न सकिरहेका छैनौँ । बरू, उही पुरानै ‘कट्वाल’ प्रथाको पिछा गर्छौं । अहिले पनि समुदायका अग्रज, बुद्धिजीवी भन्नेहरूले समुदायबारे कलम चलाएको पढ्न पाउँदैनौँ । अनगन्ती सञ्चारमाध्यम छन् । समयको विकासक्रमसँगै अनलाइन पत्रिकाहरू व्यक्तिपिच्छे छन् तर त्यहाँ हाम्रा भावना, विचार, दृष्टिकोण लिपिबद्ध हुन सकेको छैन । हामीले इतिहास अध्ययन गरेका छौँ । यहाँ व्यक्तिले इतिहास कायम गरेर दस्तावेजीकरण गरेका छन् तर समुदायको भने ‘हरहमेसा हालत दयनिय’ नै छ ।
समुदायमा मिडिया विकास र पत्रकारितामा प्रवेशको प्रसंगलाई मनोगत विश्लेषणका आधारमा मात्रै हेर्ने हो भने पनि ‘कर्पोरेट+विज्ञापन+बजार+बुझाइ+बौद्धिकता’मध्ये कुनै एक मात्रै सक्षम रहे पनि ‘मिडियाहाउस’ केही समय बाँच्न सक्छ तर त्यो अवस्था शेर्पा समुदायमा बनिसकेको छैन । ‘ल्होसारको शुभकामना, प्रवासीहरूको आशीर्वाद’ले मात्रै मिडिया हाउसहरूको दिगोपन असम्भव देखिन्छ । अर्कोतर्फ मिडियामा बुझेर लाग्ने, मिडियालाई बुझ्ने जमात अत्यन्तै न्यून छ । पत्रकारितामा जीवन खोज्ने, समुदायको समृद्धि चाहनेहरूले अनेकन् चुनौती खेप्नुपरेको छ ।
राष्ट्रिय मिडियामा आबद्ध भएकाहरू पनि समुदायका बीचमा भन्दा बाह्य रूपमा र अन्य क्षेत्रमै बढी केन्द्रित हुने र सकेसम्म समुदायसँग घुलमिल नै नगर्न पाए हुन्थ्यो भन्ने मानसिकताका साथ अघि बढ्नुपर्ने दुःखद अवस्था छ । अब हाम्रो मानसिकतालाई परिवर्तन गरेर समुदायबाट मिडियाप्रतिको बुझाइमा परिवर्तन र सोचलाई फराकिलो बनाउनु जरुरी छ । सञ्चारलाई नबुझ्दा हामीले उठाउन खोजेका अनेक ‘अजेन्डा’, सपना, योजनाहरू दिवासपनामै रहन्छन् । तथापि, मिडियामा हाम्रो सहभागिता र बुझाइलाई तत्काल व्यापक मात्रमा संशोधन र पुनर्विचार गर्न आवश्यक छ । उप्रान्त, शेर्पा समुदायमा पत्रकारिताको विकास र बुझाइबीचको अन्तद्र्वन्द्वलाई समाधान गर्नु नितान्त जरुरी छ ।

प्रकाशित मिति २६ कार्तिक २०७४, आईतवार १६:०९