जनजातिले किन निर्बाचनमा आत्मघाती गोल गर्छन् ?

विषय प्रवेश

नेपाल सरकारले ५९ जातिलाई आदिवासी जनजातिमा सूचिकरण गरेको छ । त्यस अघि ६१ जातिलाई सूचिकरण गरेको थियो । अध्ययनको क्रममा नेपालका जनजातिहरू सबै आदिवासी भएको पाइयो र सबै आदिवासीहरू जनजातिको अवस्थामा रहेको पाइयो । जसले गर्दा ती समुदायलाई आदिवासी जनजाति भनिएको हो । आदिवासी शब्द समय, कालखण्डसंग सम्बन्धित छ भने जनजाति शब्द मानव समुदायको एउटा अस्थायी, अविकसित अवस्थासंग सम्बन्धित छ । २०६८ को तथ्याङ्क अनुसार नेपालमा आदिवासी जनजातिहरू ३५५ भन्दा बढी छन् । यति धेरै संख्यामा रहेर पनि उनीहरूको राजनीतिमा हस्तक्षेपकारी भूमिका छैन । यो समुदायका केही टाठा नेताहरू पार्टीको अध्यक्ष महोदयको निगाह र गुटगत भागवण्डाबाट पाएको आरक्षण कोटामा रमाउन बाध्य छन् । राणाकाल तिर नेपाल प्रवेश गरेका मधेशी समुदायले राज्यसत्तामा आफ्नो समुदायगत प्रतिनिधित्व देखायो तर जनजातिहरू किन अझै व्यक्तिगत प्रतिनिधित्वमा चित्त बुझाउँदै छन् त ? पहिचानको मुद्दा बोक्ने दललाई किन जनजातिले नै भोट दिएनन् ? प्रश्न सोधिदैछ र खुशीको कुरो जनजाति समुदाय भित्र यतिबेला बहस प्रक्रिया अघि बढेको छ तर यतिबेलासम्म यसको सही समाधान भेटिएको छैन । संसारमा हेर्ने हो भने अहिले मानव समुदायमा ३ वटा रंगका महाजातिहरू छन् । ती हुन् १) कालो (Negro), २) पहेँलो (Mangolian) र ३) सेतो (Caucasus) । मानव विकासको क्रमसँगै जाति र रंगको आधारमा गरिएको विभेदपूर्ण सामाजिक संरचनाको निर्माणले बौद्धिक असमानताको स्थितिलाई निम्त्यायो । यसबाट संसारमै सेतो रंगका महाजाति अन्य दुई (कालो र पहेँलो) लाई उछिनेर अघि बढ्न सफल भए भने कालो र पँहेलो रंगका महाजातिहरू अहिलेसम्म जनजाति अवस्थामै गुज्रिरहेका छन् । यहाँ यीनै दुई महाजाति अन्तर्गतका नेपालमा बसोबास गर्ने आदिवासी जनजातिहरुको सम्बन्धमा चर्चा गरिनेछ ।

आदिवासी को हुन् ?

आदिवासीको सन्दर्भमा संसारभरि एउटै परिभाषाले सम्बोधन गरे पनि यसलाई विभिन्न देशमा भिन्नाभिन्नै ढंगले बुझ्ने र बुझाउने गरिन्छ । जस्तो, छिमेकी मुलुक भारतमा ट्राइबल (Tribal) शब्दले सम्बोधन गरिन्छ भने चीनमा जनजाति (Nationalities) शब्द प्रयोग गरिएको छ । त्यस्तै अष्ट्रेलियामा मूलवासी (aborigin), क्यानाडामा प्रथम नागरिक (first citizen) र संयुक्त राष्ट्रसंघको दस्तावेजमा आदिवासी जनताहरू (Indigenous Peoples) शब्दले बुझाउने गरिएको छ । यसैले नेपालमा पनि आदिवासी शब्द प्रयोग गरिएको हो । यसमा मूलवासी या आदिवासी भनेर अनावश्यक तर्क गर्नु र विवाद भिकिरहनु आवश्यक छैन ।
जहाँ जुन नामले सम्बोधन गरिएपनि संसारभरिका आदिवासीमाथि राज्यपक्षले गर्ने विभेद, दमन, शोषण र उत्पीडन एकै खालको रहेको छ । सबैभन्दा पहिले गैरआदिवासीहरूबाट उसको पहिचानमाथि आक्रमण गरेको पाइन्छ । यस सन्दर्भमा रंगभेदी आन्दोलनका महानायक नेल्सन मण्डेलाको भनाई स्मरण योग्य छस् ‘जुनबेला गोराहरू हाम्रो देशमा आए उनीहरूको हातमा बाइबल थियो, हाम्रो हातमा जमीन र राज्यसत्ता थियो । जब हामीले आँखा चिम्लिएर बाइबल समात्यौ, आँखा खोलेर हेर्दा हाम्रो हातमा बाइबल थियो, गोराहरूको हातमा हाम्रो देशको शासन व्यवस्था र जमीन थियो’ । अफ्रिकामा जस्तै नेपालमा पनि सुरु चरणमा दुईवटा बल (सैन्यबल र धर्मबल)को आडमा आदिवासी जीवन पद्दतीलाई तहसनहस पारियो । सत्ता सञ्चालन (सैन्यबल) को जिम्मेवारी क्षेत्री÷ठकुरीहरूले लिएका थिए भने हिन्दू राष्ट्र (धर्मबल)को जिम्मेवारी बाहुनले लिएका थिए । यो दुवै बलबाट वर्षौ वर्षदेखि नेपालका आदिवासी जनजाति समुदायले उत्पीडन, शोषण, दमन र विभेद भोग्दै आएका छन् । यसलाई खस जातीय अहंकारवाद भनिन्छ ।
आदिवासीको सम्बन्धमा ज–जसले जुन जुन ढंगबाट परिभाषा गरेपनि सारमा तीनवटा तत्वहरूको संयोजनले मात्र आदिवासी शब्दलाई सम्बोधन गर्दछ । पहिलो, आदिमकालदेखि बसोबास गर्दै आएको/ऐतिहासिक थातथलो भएको जाति । दोश्रो,  आफ्नो छुट्टै भाषा, धर्म, संस्कृति, परम्परा र मौलिक विशिष्ट पहिचान भएको जाति । तेश्रो, वर्तमान राज्यसत्ताबाट उत्पीडन, बहिष्करण र शोषणमा पारिएको जाति । त्यसैले उल्लेखित तीन तत्वहरू नभएका अर्थात उल्लेखित मापदण्ड पुरा नगरेका समुदायहरू आदिवासी हुन सक्दैन । यो आदिवासी जनजाति हुनको लागि आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड पनि हो । स्वभावैले आदिवासीहरूले आफ्नो भूमि छोड्दैनन् जसले गर्दा उनीहरूमा बाह्य संस्कृतिको प्रभाव पर्दैन । यसकारण उसको प्रगति सम्भ्व हुँदैन र प्रायः ती समुदाय जनजाति अवस्थामै रहन्छन् ।

जनजाति को हुन् ?

पृथ्वीमा मानव जातिको उत्पति पछि लामो कालखण्ड उनीहरू जंगलमै रहन बाध्य भए । जंगली जीवनमा जंगलका हिंश्रक जनावरसँग संघर्ष गर्नुपथ्र्यो । एंगेल्सले जंगली अवस्थालाई मानव जातिको शैशवकाल भनेका छन् । जंगलमा असुरक्षित हुने हुँदा उनीहरूले सुरक्षाका खातिर जंगली अवस्था छाडेर आआफ्नो कुल, वंशको छुट्टाछुट्टै झुण्ड अर्थात् एउटा गोत्रीय समाजमा बाँधिएर बस्न थाले । एकीकृत भएर बस्न थालेपछि मानव समुदायले आफ्नो अवस्थाको विकासमा दु्रततर फड्को मार्न थाल्यो । त्यसपछि अहिलेसम्म मानव विकास क्रमको चारवटा चरण देखिएको छ । ती हुन् : १) गोत्र, २) जनजाति, ३) राष्ट्रियता र ४) राष्ट्र । तसर्थ, मानव विकास क्रममा जनजाति अवस्था दोश्रो खुड्किलोमा अल्झिएको अवस्था हो । जसको क्रमशः चर्चा गरिनेछ ।

१. गोत्र (Tribe)
गोत्र भनेको कविला अवस्था हो । केवल नातागोताको सम्बन्धले मात्र बाँधिएर एउटा साझा भूखण्डमा रहेको सजातीय समुदाय नै कविला समाज हो । मानव समुदायले जंगली युगको उत्तरार्धतिर सभ्य युगमा प्रवेश गर्नु अघि यो चरणमा प्रवेश र्गयो । यो समाजमा नातागोताको मात्र सम्बन्ध स्थापित रहन्छ । जंगली अवस्थामा रहँदा आफ्नै वंशभित्रको शारीरिक सम्पर्कबाट सन्तान उत्पादन गर्ने मानव समुदायले गोत्रीय समाजमा प्रवेश गरेपछि यसमा प्रतिवन्ध लगायो । रक्त शुद्धताले गर्दा पशुभन्दा मानव भिन्न ठहरियो । यसरी मानव समाज ठूलो प्रजातीय समाजमा एकीकृत हुनु अघि ससाना थुप्रै गण, गोत्र, कुलमा बाँडिएर बसे ।
गोत्रीय समाजमा प्रवेश गरेपछि उनीहरूले आआफ्नै भिन्न आस्था, मूल्य/मान्यता र सांस्कृतिक विशिष्ट पहिचानको विकास गर्दै गए । आ–आफ्नै भाषाको विकास गरे । गोत्रको संख्या बढ्दै गएपछि गोत्रहरू बीच प्राकृतिक स्रोतको उपयोग, व्यवस्थापन र नियन्त्रण कायम गर्न सामाजिक संयन्त्रको आवश्यकता महसुस गरियो । यसबाट गण प्रमूख अर्थात मुखिया प्रथाको जन्म भयो । जस्तो, तामाङ समाजमा चोहो प्रणाली, थारुहरूको बडघर प्रणाली, नेवारको जुजु, थकालीको १३ मुखिया, हिमालीमा देउनिया, मेचेमा चिवा र गुरुङ समाजमा हाङ्ग आदि । यसले ती भिन्ना भिन्नै गोत्रीय समाजलाई व्यवस्थित, मर्या्दित र अनुशासित बनायो । तसर्थ, गोत्र व्यवस्था नै मानव जातिको परिवार विकासको इतिहासको प्रस्थान विन्दू थियो ।
वास्तवमा कविला अवस्थाको मानव समुदायलाई समाज, राज्य, राष्ट्र, कानून, संविधान, राजनीति, आफ्नो जातीय हक, अधिकार जस्ता कुनै कुरामा पनि चासो रहँदैन । यो अवस्थाले आफू बाहेक अन्य जातजाति, समुदायलाई चिन्दैन । किनकि यो अवस्थामा पारिवारिक क्रान्ति मात्र हुन्छ । आफ्नो वंश, परिवारको कहाँ, कसरी पेट भराउने ? मात्र चिन्तामा रहेको हुन्छ । राजनीतिक विज्ञानको नजरले हेर्दा यो ५ वर्षभन्दा मुनिको बच्चाको जस्तो अवस्था हो । जसले खान पाएन भने रुँने, चिच्याउने भन्दा अरु केही गर्न सक्दैन । जस्तो, नेपालको राउटे, कुसुण्डा जनजातिहरूलाई अझै पनि यही गोत्रीय अवस्थामा रहेको बुझ्न सकिन्छ । उनीहरुले को बाहुन ? को जनजाति ? को दलित ? कोही पनि चिन्दैन ।

२. जनजाति (Nationalities)
जनजाति भनेको मानव विकासक्रमको एउटा चरण अर्थात अवस्था हो । तसर्थ, जनजाति भन्नाले– ‘गोत्रीय (कविला) समाजभन्दा एक कदम अघि बढेको, राष्ट्रको रुपमा विकास गरी नसकेको, प्रभुत्वहीन स्थितिमा रहेको र राज्य समुदायको भन्दा आफ्नो भिन्न सांस्कृतिक विशिष्ट पहिचान भएको, अविकसित, अस्थायी अवस्थालाई बुझनु पर्दछ । जनजातिको यही अवस्थालाई ठाडो विश्लेषण गर्दै नेपाली बृहद् शब्दकोषको पृष्ठ संख्या ४६९ मा जनजातिको परिभाषा यस्तो लेखिएको छ स् ‘जंगल फाडेर खनि खोस्री खाने, नागा, कोचे, कुसुण्डा जस्ता सभ्यता, शिक्षा आदिमा पछि परेका, नजिकको परिवेशसँग पनि प्रभावित नहुने पछौटे जातिलाई जनजाति भनिन्छ’ ।
जंगली युगको अन्त्य र सभ्य युगमा प्रवेश गरेपछि नेपालका आदिवासीहरूले कविला समाजबाट एक कदम अघि बढेर जनजाति चरणमा प्रवेश गरेका हुन् । जनजाति अवस्थाले आफ्नो भाषा, धर्म, सांस्कृतिक पहिचान र समाजसम्मलाई बुझ्दछ । उमेरको हिसावले हेर्ने हो भने यो ५ वर्षभन्दा माथि र १५ वर्षभन्दा मुनिको केटाकेटीको जस्तो अवस्था हो । जसलाई सामाजिक चासो रहन्छ तर राजनीतिक चासो हुँदैन । मेरो वंश, मेरो भाषा, मेरो धर्म, मेरो संस्कृति सम्म भन्दछ तर मेरो राज्य, मेरो राष्ट्र, मेरो अधिकारको सवालमा अनविज्ञ रहन्छ ।

३. राष्ट्रियता (Nationalism)
राष्ट्रियता भनेको भावना हो । यसलाई सामाजिक क्रान्तिको चरणबाट राजनीतिक क्रान्तिमा संक्रमण हुन लागेको अवस्थाको रुपमा बुझ्दा उपयुक्त हुन्छ । यस चरणमा उसको नाकले राजनीतिको गन्ध सुघ्न सक्ने हुन्छ । यो १५ वर्षदेखि २५ वर्ष बीचको अल्लारे जवान युवा जस्तो आलोकाचो अवस्था हो, जसमा राजनीतिक, सामाजिक दृष्टिकोणले हेर्दा परिपक्वता हुँदैन अर्थात् बुद्धि छिप्पिएको हुँदैन ।

खासगरी यो चरणमा उसमा राष्ट्र ९ल्बतष्यल० को विशेषता, लक्षणहरू देखा पर्न थाल्दछ । राष्ट्रियताको चरण स्थायी चरण होइन । यो भावनात्मक, संवेगात्मक चरण भएको हुनाले यहीबाट राजनीतिक क्रान्तिको सुरुवात हुन्छ । आफ्नो गोत्र, वंशको मात्र नभएर समाजको अभिभावकको भूमिका निर्वाह गर्ने नेतृत्वकला यही चरणमा सिक्दछ । समाजभन्दा केही परको राज्य र राजनीतिको बारेमा चासो राख्न थाल्दछ ।

४. राष्ट्र ९ल्बतष्यल०
राष्ट्र भनेको पूर्ण रुपमा राज्यसत्तामा हस्तक्षेप गरिसकेको अवस्था हो । उमेरको हिसावले हेर्दा यो २५ वर्षभन्दा माथिको पूर्ण रुपमा सक्षम भइसकेको अवस्थालाई बुझ्न सकिन्छ । जुन अवस्थामा हरेक हिसावले परिपक्वता आउनुका साथै समाज, राज्य, राष्ट्रको उ एउटा अभिन्न अंग बन्दछ । उ घर, परिवारको मात्रै मालिक नभएर राज्यकै मालिक बनिसकेको हुन्छ । उसको भाषा, धर्म, संस्कृति जस्ता पहिचानलाई राष्ट्रले वैधानिक रुपमै स्वीकार गरिसकेको हुन्छ ।

नेपालका बाहुन, क्षेत्री समुदायले यो चरणमा विकास गरिसकेका छन् । डा. विपिन अधिकारीले ‘नेपालमा खस जाति’ पुस्तकमा बाहुन, क्षेत्री समुदायले २००० वर्ष अघि नै जनजातिको अवस्था पार गरिसकेको उल्लेख गरेका छन् । उल्लेखित भनाइलाई आधार मान्ने हो भने नेपालका आदिवासीहरू बाहुनक्षेत्री समुदायभन्दा २ हजार वर्ष पछि छन् ।

जनजाति आन्दोलनको चरण

नेपालका आदिवासीहरूले जनजाति अवस्थाबाट राष्ट्रको रुपमा विकास गर्न २ वटा क्रान्तिको चरण पाार गर्नु पर्छ । यसमध्ये पहिलो सामाजिक क्रान्तिको चरण हो भने दोश्रो राजनीतिक क्रान्तिको चरण हो ।

पारिवारिक क्रान्ति
(१) सामाजिक क्रान्ति
आदिवासी जनजातिका राजनीतिक शल्य चिकित्सक गोरेबहादुर खपाङ्गी मगरले जनजातिको अवस्थालाई सटिक ढंगले विश्लेषण गर्दै भनेका थिए– ‘जुन जातिको नाकले राज्यसत्ताको गन्ध सुघ्न सक्दैन, त्यो जातिले गर्ने पहिलो क्रान्ति सामाजिक क्रान्ति हो, जुन बाटो कठिन भएपनि सटिक र वैज्ञानिक छ’ । वास्तवमा अहिलेसम्म आदिवासी जनजाति आन्दोलन सामाजिक क्रान्तिको चरणमा गुज्रिरहेको छ । विगतको २४० वर्षे लामो कालखण्ड शाहकाल (१८२५–१९०३), राणाकाल (१९०३–२००७) र पञ्चायतकाल (२००७–२०४६) मा जनजातिहरूले सामाजिक क्रान्ति गर्न पाएनन् । ती कालखण्डमा जनजातिका पहिचान (भाषा, धर्म, संस्कृति) माथि राज्यपक्षले दमन गरी खसभाषा, हिन्दू धर्म र हिन्दू संस्कृति लाद्ने काम गरे । यदी पञ्चायकाल अघिको समयमा सामाजिक क्रान्ति गर्न पाएको भए उसले यतिबेला राजनीतिक क्रान्ति गर्ने थियो । पञ्चायत काल र त्यस अघिको कालखण्डमा सामाजिक क्रान्तिलाई पनि स्वीकार गर्दैनथे तर अहिले राजनीतिक क्रान्ति (परिवर्तन) लाई स्वीकार गर्दैनन् । राजनीतिक क्रान्तिलाई स्वीकार गरियो भने उसको पार्टी, उसको नीति, सिद्दान्त र विचारबाट गइयो भने मात्र स्वीकार गरिन्छ ।
विभेदलाई वैधानिकता दिनको लागि वि.सं. १९१० मा जंगबहादुर राणाले मुलुकी ऐन नै जारी गरी जातप्रथामा आधारित वर्ण व्यवस्थालाई कानून बनाएका थिए । जसले गर्दा लामो समय जनजातिले सामाजिक क्रान्ति गर्न पाएनन् । तर २०४६ सालको प्रथम जनआन्दोलनको सफलता पछि जनजातिले आफ्नो भाषा, धर्म र संस्कृति संरक्षणको लागि सामाजिक आन्दोलन गर्ने ढोका सम्म खोलिदियो । यसपछि हरेक जातजातिले आआफ्नो जातीय संगठनको स्थापना गरी सामाजिक क्रान्तिको सुरुवात गरे । आज सामाजिक क्रान्ति सुरु भएको २५ वर्ष मात्र भएको छ । धोती लगाउने बाहुनले राष्ट्रको रुपमा विकास गरेर अहिले बिर्खे टोपी, दौरा/सुरुवाल र कोटलाई आफ्नो भेषभूषा बनाएर सजिएको देख्न सकिन्छ तर जनजातिहरू भने चार ठाउँ गाँठो पारेको घलेक र कम्मरमा आधा फुटको तौली बेर्दै मारुनी नाचिरहेको हुन्छ । अझैपनि कतिपय आदिवासीको गाउँ वस्तीलाई त त्यही घलेक लगाउने सामाजिक क्रान्तिले पनि छुन सकेको छैन । अझै विशुद्ध आदिवासीको गाउँमा यो क्रान्तिको हावा पुग्न सकेको छैन । उनीहरू अर्काको संस्कृति, परम्परामा रमाइरहेका छन् । अर्कोतर्फ बाहुन नेताको पछि लागेर पार्टीको झोले कार्यकर्तामा जीवन फ्याक्दै गरेका जनजाति ठुटे नेतालाई पनि यो क्रान्तिले छुन सकेको छैन । त्यसैले अहिलेको जनजाति विकासक्रमको गतिलाई हेर्ने हो भने नेपालमा जनजाति समुदायको सामाजिक क्रान्तिको चरण अझै कम्तिमा २५ वर्ष लम्बिन सक्छ । त्यसैले त माओले भन्नुभएको थियो– ‘गुमनाम आदिवासीको वस्तीमा गएर राजनीतिक प्रशिक्षण देऊ, तिमीलाई कहिल्यै धोका दिने छैन’ ।

(२) राजनीतिक क्रान्ति
सामाजिक क्रान्तिको चरण पुरा गरेपछि यसले स्वतः राजनीतिक क्रान्तिको चरणमा फड्को मार्छ । यसमा फड्को मार्ने बाटो भनेको पहिचानको आन्दोलन हो जुन अहिले नेपालका जनजाति, मधेशी समुदायले लडिरहेका छन् । पहिचानलाई राज्यले स्वीकार नगरे सम्म उसको प्रतिनिधित्व हुँदैन र प्रतिनिधित्व नभए सम्म पहुँच कायम हुन सक्दैन । पहिचान प्राप्ती सामाजिक आन्दोलनबाट सम्भव छैन, राजनीतिक आन्दोलनबाट मात्र सम्भव हुन जान्छ । त्यसैले पहिचान राज्यसत्तामा प्रतिनिधित्व र पहुँच पु¥याउने पहिलो ढोका हो । पहिचानले जनजातिलाई समुदायगत रुपमा सिंहदरवारको ढोका भित्र छिर्ने पास उपलव्ध गराउछ ।

यसर्थ, नेपालको यथास्थितिवादी राजनीतिक दलहरू पहिचानलाई स्वीकार गर्न चाहदैनन् । उनीहरू दुरदर्शी छन्, भविष्यमा हुनसक्ने सम्भावित अवस्थाको विश्लेषण गर्छन् । जसरी २०७० को दोश्रो संविधानसभा निर्वाचनमा गाछी र बाच्छीको नारा लाग्यो । यो नारा लगाउने जनजाति, मधेशी, दलित लगायतका उत्पीडित समुदाय होइनन् । उनीहरूले धर्म रक्षाको लागि कमल थापाको बाच्छी र सत्ता रक्षाको लागि काङ्ग्रेसको गाछी रोजेका हुन् । यसलाई कसैले उडन्ते ढंगबाट भन्दा त हासिमजाक होला तर सवाल गम्भिर छ । १० वर्षे जनयुद्ध लडेको माओवादी पार्टीका बाहुन नेताहरूको लागि समेत राजनीतिक परिवर्तन स्वीकार्य नहुँदा पहिलो संविधान सभाको सुनियोजित ढंगबाट विघटन हुन पुग्यो । जुन हामी सबै सामु घाम झैँ छर्लङ्ग छ । अव जनजातिहरूले पनि बुझ्नु पर्छ कि राजनीतिक दर्शनबाट एकाकार भइसकेको शक्तिलाई परास्त गर्न सामाजिक क्रान्तिबाट सम्भव छैन, राजनीतिक क्रान्ति नै गर्नु पर्छ । परास्तको अर्थ फेरि गलत नलागोस्, एक जाति, एक भाषा, एक धर्म र एक संस्कृतिको निरन्तरताको परास्त मात्र हो । यो भनेको समावेशीकरण र समानुपातिक प्रतिनिधित्वको माध्यमबाट समतामुलक समाज निर्माण गर्नु हो ।

जनजातिले किन भोट दिएनन् ?
दोश्रो संविधानसभाको निर्वाचनमा पहिचानको मुद्दालाई स्थापित गर्ने उद्देश्यका साथ खोलिएको जनजाति नेतृत्वका राजनीतिक दलहरूले अपेक्षा गरे जस्तो मत ल्याउन सकेनन् । निर्वाचनमा अनपेक्षित हार पछि उनीहरूले अनेकन ढंगले समीक्षा गरेको पाइयो तर मलाई लाग्छ उनीहरू मुख्य कारणमा अझै पुग्न सकेनन् । कसैले निर्वाचनमा संरचनागत धाँधली भएको भने त कसैले पहिचानको मुद्दालाई जनता माझ बुझाउन नसकेको, विरोधीले फैलाएको भ्रम चिर्न नसकेको कारण आदि देखाएर चित्त बुझाए । उल्लेखित कारणहरू सहायक कारण हुन सक्छन् तर मुख्य कारण भनेको जनजातिको अवस्था नै हो । माथि नै चर्चा गरिसकियो कि अहिले जनजातिहरू सामाजिक क्रान्तिको चरणमा छन् । उनीहरू राजनीतिक क्रान्तिको चरणमा प्रवेश गरेकै छैन । यस्तो अवस्थाको समुदायलाई राजनीति, राज्यसत्ताको महत्वको बारेमा थाहा हुँदैन । उसको जिव्रोले राज्यसत्ताको स्वाद लिन सकेको छैन । बाहुन नेताले लात्ती हान्दा आँखा तिल्मिलाएको बेला पार्टी खोल्न पुगेको सीमित जनजाति नेता÷कार्यकर्ता बाहेक बाह्य समुदाय प्रवेश नगरेको गुमनाम जनजाति वस्तीको अवस्था हेर्दा उ कत्ति तल छ भन्ने प्रष्टै तस्वीर आउछ । एकपटक त्यो वस्तीको तस्वीरलाई नेपाली बृहद् शव्दकोषमा गरिएको जनजातिको परिभाषासंग दाँजेर हेर्ने हो भने भिन्नता पाइदैन ।

त्यसकारण यो अवस्थाको मान्छेहरूले भोट दिएन भन्नुको तात्पर्य उसको अवस्थालाई नजिकबाट बुझ्न÷चिन्न नसक्नु हो । आफ्नो अमूल्य भोट (मत) को महत्वको बारेमा जनजातिले बुझ्दैनन् । एउटा अण्डा र एकमाना रक्सीमा भोट बेच्छ । अहिले नै पनि हामी देख्न सक्छौ कि ल्होछार समारोहको बेला काठमाडौ टुँडिखेलमा एकलाख तामाङ डम्फू बोकेर नाच्न आइपुग्छ तर ताम्सालिङ प्राप्तीको आन्दोलन भन्यो भने त्यहाँ ५ सय तामाङ भेला हुनु मुस्किल पर्छ । यो भनेको सामाजिक आन्दोलनमा रमाइरहेको, राजनीतिक क्रान्तिमा प्रवेश गरी नसकेको अवस्था हो । तसर्थ, उसले अझै केही समय आफ्नो मुक्तिको सवाल चिन्दैन, यसको मतलव पहिचानको पक्षमा भोट दिँदैन ।

निष्कर्ष

अब हाम्रो काम भनेको आदिवासी समुदायलाई जनजाति अवस्थाबाट राष्ट्रको रुपमा विकास गर्ने र सामाजिक क्रान्तिलाई पुरा गर्दै राजनीतिक क्रान्तिको बाटोबाट नेपालको राज्यसत्तामा समुदायगत प्रतिनिधित्व, पहुँच कायम गराउनु हो । यसको लागि अव हाम्रो मुख्य नारा ‘सामाजिक क्रान्तिलाई पुरा गर्दै राजनीतिक क्रान्तिको तयारी गरौ ! अविकसित अवस्थामा रहेका जनजातिलाई राष्ट्रको रुपमा विकास गरौ !!’ हुनु पर्नेछ । त्यसकारण यतिबेला सामाजिक, राजनीतिक अभियन्ताहरूको मुख्य काम भनेको उसलाई ल्होछार, साकेला आदि जनजातिको पर्वहरूमा नाच्न बोलाउने र बीच बीचमा राजनीतिक भाषण सुनाएर राजनीतिक क्रान्तितर्फ विस्तारै डो¥याउने हो । राजनीतिक सभा, सम्मेलनमा सिधै बोलाउदा उ आउदैन । नाच्नु पाउछ, रमाइलो हुन्छ र भरिसके खान पनि पाइन्छ भन्यो भने उ भेला हुन्छ । थुप्रैपटक डम्पूm बोकेर टुँडिखेलमा नाचिसकेपछि मात्र उसले आफू माथिको विभेद, अन्याय, शोषणलाई राजनीतिक रुपबाट बुझ्दछ । जव आफू माथि भएको सामाजिक÷सांस्कृतिक, धार्मिक र जातीय विभेद राजनीतिक कारणबाट भएको हो भन्ने थाहा पाउछ त्यतिबेला ऊ स्वतः राजनीतिक क्रान्तिमा होमिन्छ ।

त्यसैले यतिबेला जनजातिका अभियन्ताहरूको अगाडि दुइवटा बाटा छन् । तत्कालको फाइदा हेर्ने कि दिर्घकालीन मुक्ति खोज्ने ? व्यक्तिगत रुपमा तत्कालको फाइदा हेर्ने हो भने राष्ट्रको रुपमा विकास गरी सकेको समुदायले खोलेको पार्टीको पछि लाग्दा हुन्छ किन कि अझै एकडेड दशक उनै पार्टीको वरिपरि नेपालको राजनीति घुमिरहन्छ । तर दीर्घकालीन मुक्ति खोज्दै न्याय र समानताको पक्षमा उभिने हो भने उत्पीडित समुदायको अगुवाई गर्नुपर्छ । अगुवाई गर्दा जोखिम पनि मोल्नुपर्छ तर अर्काको पछि लाग्दा जोखिम मोल्नु पर्दैन । त्यसैले जोखिम मोलेर अगुवाई गर्ने नेता हुन्छ, पछि लाग्ने झोले हुन्छ । हामी दुःखमा मरौ तर सन्तान बाँचिरहोस् भन्ने सोचका साथ अघि बढियो भने एकदिन अवश्य सफलतामा पुगिनेछ । यो बाटो अप्ठ्यारो भएपनि यसैमा सन्तानको भविष्य उज्वल छ ।

जसरी समाज विकासमा क्रमशः दासयुग, सामन्ती युग, पुँजीवादी युग, समाजवादी युग हुँदै साम्यवादी युगमा पुग्दछ त्यसरी नै जनजातिहरू सामाजिक आन्दोलनबाट राजनीतिक आन्दोलनमा एकदिन अवश्य पुग्छ । एउटा चरण पुरा नभई अर्को चरणमा जानै सकिदैन । यो विज्ञानको नियम जस्तै हो । सामाजिक क्रान्तिको चरण पुरा गरेपछि मात्र उसले राजनीतिक क्रान्ति मार्फत राष्ट्रको रुपमा विकास गर्नेछ । अहिलेकै अवस्थामा जनजाति राज्यसत्तामा पुग्न सक्दैन । राज्यको मालिक हुनको लागि पहिलो त सामाजिक क्रान्तिबाट राजनीतिक क्रान्तिको सुरुवात गर्नुप¥यो । यही क्रान्तिबाट मात्र जनजाति राष्ट्रको रुपमा विकास हुनेछ । नत्र सधैभरि आत्मघाती गोल गरिरहने छन् ।

Source:sailung online

प्रकाशित मिति ५ मंसिर २०७४, मंगलवार १७:०२