पर्वतारोही गाइडको विश्व भेला सुरु

हिमाली सन्देश काठमाडौं : पर्वतारोहण पथप्रदर्शकको विश्व भेला मंगलबार काठमाडौंमा सुरु भएको छ । पर्वतारोहणमा नयाँ प्रविधि र समस्यामाथि छलफल गर्न अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सहितको हिमाल भएका विश्वका २६ देशका गाइडको भेला भएको हो ।

अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक महासंघमा आबद्ध देशका ६५ जनाको सहभागिता रहेको आयोजक नेपाल राष्ट्रिय पथप्रदर्शक संघ (एनएनएमजीए) का अध्यक्ष सुनारबहादुर गुरुङले बताए । संघमा हालसम्म ६ हजारभन्दा धेरै पथप्रदर्शक छन् ।

समान गुणस्तर, नीति, नियम अन्य राष्ट्रमा सदस्यता विस्तार, दक्षता प्रदान गर्ने, प्रशिक्षक, नयाँ प्रविधि र आवश्यक सामग्रीबारे जानकारी, पर्वतारोहण प्रोत्साहन गर्ने र सघाउने, पर्वतारोही पथप्रदर्शकलाई सहयोग गर्नमा कार्यक्रम केन्द्रित हुने छ । विश्वका सबैभन्दा अग्ला हिमशिखर नेपालमा धेरै भएकाले आरोहणमा अपनाउनुपर्ने प्रविधिसम्बन्धमा समेत थप छलफलको तयारी गरिएको गुरुङले बताए ।

अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक महासंघ (आईएफएमजीए) को सदस्यता नेपालले पाँच वर्षअघि लिएको हो । नेपाल राष्ट्रिय पथप्रदर्शक संघ (एनएनएमजीए) ले संघको साधारणसभा आयोजना गरेको हो । साधारणसभा मंसिर १७ सम्म हुनेछ । महासंघ सन् १९६५ मा अस्ट्रिया, फ्रान्स, स्विजरल्यान्ड र इटालीका पथप्रदर्शकले स्थापना गरेका थिए ।

विश्वका आठ हजारभन्दा अग्ला १६ वटा हिमालमध्ये १० वटा नेपालमा छन् । विश्वभरका हिमाली क्षेत्रमा काम गर्ने पथप्रदर्शक नेपाल भित्रिनुले नेपालको पर्यटनमा सुधार आउनेमा विश्वस्त रहेको नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले बताए । नेपालमा हालसम्म ५० जना अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक र १८ जना राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक छन् । अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघअन्तर्गत करिब ६ हजार पर्वतारोहण पथप्रदर्शक छन् ।

Source:annapurna post

प्रकाशित मिति १३ मंसिर २०७४, बुधबार १४:००