दीपक कुइँकेलको दाबीः माधव नेपाललाई शर्मनाक हार चखाउँछु

१३ मंसिर, काठमाडौं । अरु उम्मेदवारलाई जस्तै काठमाडौं क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार दीपक कुइँकेललाई पनि घरदैलोमा भ्याई नभ्याई छ । मंगलबार बिहान उनी कागेश्वरी मनोहरा नगरपालिकास्थित थलीमा भेटिए ।

गलामा टन्न माला भिरेर आफ्नो क्षेत्रका प्रदेश सभा उम्मेदवार र करिब ५० कार्यकर्ताहरुको समुहका साथ कुइँकेल घर-घर पस्दै भोट मागिरहेका थिए । बिहान ८ बजे सुरु भएको घरदैलोले १२ बजे मात्र लञ्च ब्रेक लियो । कार्यकर्ताहरु भात खान रेस्टुरेन्ट छिरेको समयमा कुइँकेलले अनलाइनखबरसँग संवाद गरे ।

उनको व्यक्तिगत पृष्ठभूमिबाट कुरा सुरु भयो । कुइँकेलले आफ्नो बारेमा यसरी बताएः

‘म २०२३ साल मंसिर ८ गते काठमाडौंको तत्कालीन डाँछी गाविसमा एक सामान्य परिवारमा जन्मेको हुँ । यो ठाउँ अहिले काठमाडौं क्षेत्र नं. २ को मध्यभागमा पर्छ ।

मेरो बुबा नेपाल आर्मीमा हुनुहुन्थ्यो । मेरोचाहिँ किशोरावस्थादेखि सामाजिक र राजनीतिक क्षेत्रमा झुकाव बढ्यो । अस्कल क्याम्पसमा आइएस्सी पढ्दा ३९ सालमा नेविसंघको सदस्यता लिएर कांग्रेस राजनीतिमा पसेँ।’

कांग्रेस पार्टी नै रोज्नुको कारणबारे उनी भन्छन्, ‘जुनबेला ममा चेतना अभिवृद्धि भयो, त्यो बेला देशमा पञ्चायती व्यवस्था थियो । कांग्रेस र कम्युनिष्ट पार्टीहरु फरक-फरक ढंगले प्रजातन्त्रका लागि संघर्षरत थिए । कम्युनिष्टहरुले कांग्रेसलाई भारतीय विस्तारवादको दलाल भन्थे ।

कम्युनिष्ट पार्टी भूमिगत थिए । अर्कै किसिमले मुभमेन्ट अगाडि बढाइरहेका थिए । तर, उनीहरुले परोक्षरुपमा राजालाई र पञ्चायतलाई सहयोग गरिरहेको हामीले पायौं । उनीहरु विनाकारण वीपी कोइरालालाई भारतीय दलाल भनेर झूठको खेती गर्थे ।

तर, कांग्रेसका नेताहरुले सधंै निष्ठाको राजनीति गर्नुभयो । पदका लागि कहिल्यै सम्झौता गर्नुभएन । बीपी कोइरालादेखि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसम्मले निष्ठाको उदाहरण पेश गर्नुभएको छ । उहाँहरुकै कारण म कांग्रेसतर्फ आकषिर्त भएँ ।

अर्कोतर्फ कम्युनिष्ट पार्टीका नेताहरु भूमिगत हुनुहुन्थ्यो । समाजमा आफ्नो वास्तविक परिचय नै उजागर गर्न नसक्नेले कसरी समाज परिवर्तन गर्लान् भन्ने मेरो मनमा पर्‍यो । त्यही भएर कम्युनिष्ट कहिल्यै पनि मन परेनन् ।’

छोटो समय नेविसंघमा काम गरपछि उनी कांग्रेस पार्टी र प्राध्यापक संघमा लागे । प्राध्यापक संघको केन्द्रीय कोषाध्यक्ष भए । पब्लिक कलेजको एशोशिएसन बनाएर त्यसको केन्द्रीय सचिवसम्म भए । त्यसपछि पार्टीको क्षेत्रीय सभापति महासमितिमा रहेर काम गरिरहेका छन् ।

०६४ सालमा भएको पहिलो संविधासभा चुनावमा कुइँकेल यही क्षेत्रबाट प्रत्याशी भएका थिए । झक्कु सुवेदीले माधव नेपाललाई स्तब्ध पारेको सो चुनावमा उनी तेस्रो स्थानमा रहे । ०७० सालको दोस्रो संविधानसभा चुनावमा उनले टिकट पाएनन् । यस क्षेत्रबाट माधव नेपालले जिते । तर, रौतहटबाट पनि जितेको नेपालले पछि काठमाडौं २ छोडेपछि भएको उपचुनावमा कुइँकेलले टिकट पाए र जिते ।

हामीले सोध्यौं, ‘चुनाव जितेदेखि अहिलेसम्म यस क्षेत्रमा के-के काम गर्नुभयो ?’ उनले लामै फेहरिस्त प्रस्तुत गरे ।

‘संसद हुनु अगाडि पनि मैले यो क्षेत्रमा शैक्षिक तथा सामाजिक आन्दोलनलाई अगाडि बढाएको थिएँ । संसद भएपछिको ३ वर्ष ३ महिनामा मैले धेरै कामको थालनी गरेँ । सबैभन्दा ठूलो कुरा पूर्वाधार हो । पूर्वाधारको क्षेत्रमा यहाँ धेरै काम भएका छन् । २०४८ सालमा किसुनजीेले सुरुवात गरेको पेप्सीकोला-ब्रम्हखेल सडक अधुरो थियो । त्यो बाटोलाई पहिलो प्राथमिकतामा राखेँ र निर्माण कार्य प्रारम्भ गरेँ । साँखु-बज्रयोगिनी-चौकी भञ्ज्याङ सडक र धारापानी-पटाप सडकलाई निर्वाचन क्षेत्र सडकका रुपमा अगाडि बढाएर प्रारम्भिक काम सुरु गरेँ । त्यसपछि यो क्षेत्रको लाइफलाइनको रुपमा रहेको मनहरा कोरिडोरलाई मैले अगाडि बढाएँ ।

दक्षिणढोका-साँखु बाटो चाबहिलबाट क्रिकेट ग्राउन्डसम्मको मात्र आयोजना थियो । त्यसलाई मैले बिस्तार गरेर साँखुसम्म लगेको छु । समयमा काम भएको भए यसपाली बाटो बनिसक्ने अवस्था थियो । विभिन्न मान्छेहरुले मुद्दा हालेको र सरकारी ढिलासुस्तीका कारण त्यो काम हुन सकेन । १ वर्षसम्ममा यो बाटो पुरा हुन्छ ।

अर्जुननरसिंह केसी शहरी विकास मन्त्री भएको बेलामा यो क्षेत्रको (मनहरा फाँट र भक्तपुरको केही क्षेत्र मिलाएर) १ लाख ३० हजार रोपनी जग्गामा स्मार्ट सिटी बनाउने परियोजना अघि बढेको छ ।

३३ सय वर्ष पुरानो साँखुलाई सम्पदा शहरका रुपमा विकास गर्दैछु । यहाँका हरेक घरमा उज्यालो पुग्छ, हरेक घरमा पनीको कुलो बग्छ । हरेक ठाउँमा चोकहरु छन् । डबलीहरु छन् । पुजा गर्नका लागि मुर्तिहरु छन्, पोखरीहरु छन् । १ हजार घर भएको यस शहरलाई सम्पदा शहरका रुपमा विकास गरेर त्यसको पौराणिकता कायम राख्न मैले हिजोको दिनमा काम गरेँ । भुकम्प गएपछि त्यसलाई पुनर्निमाण गर्दै सम्पदा बस्तिको रुपमा राम्रो बनाउन खोजिरहेको छु ।

त्यसैगरी दक्षिणपौवामा गणेशमान सिंह स्मृति पार्क र रमणीय हिमाल देखिने गरी फुटबल ग्राउन्ड बनाउने र पार्क बनाएर होटलहरुको व्यवस्थापन गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना अगाडि बढाएको छु । त्यसैगरी बज्रयोगिनी मन्दिरदेखि सालीनदीसम्म पञ्चमहालक्ष्मी नेपालमाताको मन्दिर बनाएर आध्यात्मिक शहर निर्माणका लागि परियोजना अगाडि बढाएको छु ।

एयरपोर्टसँग जोडिएको मेरो शहरी क्षेत्र पनि अत्यन्त अव्यवस्थित छ । कुनै पनि विदेशी नेपाल छिर्दा पहिलोपटक खुट्टा टेक्ने ठाउँ अत्यन्त सुन्दर र सुविधासम्पन्न बस्ति बनाउनुपर्छ भनेर परियोजना अगाडि बढाएको छु । मनहरा जग्गा एकिकरण परियोजना धेरै वर्ष अगाडिदेखि सुरु भएर ठप्प थियो । त्यसलाई अगाडि बढाएको छु ।

त्यसैगरी एयरपोर्टमा आइकाओको ‘नम्र्स’ अनुसार बनाउनुपर्नेमा सँधै विवाद रहेको र बजेट बिनियोजन नभएर मुआब्जा नपाएको अवस्था थियो । जीवनबहादुर शाही मन्त्री भएको बेलामा यथेष्ट बजेट विनियोजन गरेर त्यो कामलाई पूर्णता दिन प्रयत्नरत रहेको छु । स्थानीय सानातिना समस्याले गर्दा त्यो रोकिएको छ ।

तीनकुनेको जग्गा सँधै अव्यवस्थित देखिरहेका छौं । त्यसलाई व्यवस्थित बनाउन महानगरपालिकाले जग्गा लिएको अवस्था छ । जनताले धेरै वर्षदेखि मुआब्जा नपाएको अवस्था थियो । मुआब्जा दिएर अन्तिम किनारामा लैजान मैले काम गरिरहेको छु । खानेपानी नभएका ठाउँमा खानेपानी आयोजना निर्माण गरेका छौं । मुलपानी क्रिकेट ग्राउन्ड सम्पन्न हुने क्रममा छ । यी यावत् कामकै आधारमा मैले जनताको अगाध प्रेम, विश्वास र सद्भाव पाएको छु ।

यत्रो विधि काम गरेको छु भन्नुभयो, तर स्थानीय चुनावमा त जनताले कांग्रेसलाई पत्याएनन् नि ?

हो, नेपाली कांग्रेसले उठाएका साथीहरुलाई हामीले अनुमोदन गर्न सकेनौं । स्थानीय चुनाव भनेको दाजु र भाईबीचको, दिदी र बहिनीबीचको चुनाव हो । यसमा पार्टीभन्दा व्यक्ति हेरिन्छ । पार्टी ४० प्रतिशत हो भने व्यक्ति ६० प्रतिशत ।

अर्को कुरा, हाम्रो पार्टी संगठित ढंगले अगाडि बढ्न नसकेको पनि हुन सक्छ । हामीले गरेको कामहरुबारे साथीहरुले जनतालाई सही ढंगले बुझाउन नसकेको पनि हुन सक्छ । जनतालाई बुझाउने क्रममा म अहिले पनि लागेको छु ।

यसपाली माधव नेपालजस्तो हेभिवेट उम्मदेवारविरुद्ध चुनाव लड्दै हुनुहुन्छ । आफूलाई बलिको बोको त ठान्नुभएको छैन ?

बलिको बोको होइन, मैले त आफू जितनजिक पुगेको अनुभव गरिरहेको छु ।

पहिले प्रधानमन्त्री भइसकेको, फेरि पनि बन्न सक्ने सम्भावना रहेको राष्ट्रियस्तरको नेतालाई भोट नदिएर जनताले तपाईंलाई देलान् त ?

हो, उहाँ भुतपूर्व प्रधानमन्त्री हो । ४८ सालदेखि निरन्तर रुपमा सांसद पदमा हुनुहुन्छ । पार्टीमा पनि उच्चतम पद प्राप्त गर्ने अवसर प्राप्त गरिसक्नु भएको छ । तर उहाँ ठूलो पदमा पुगेर यहाँका जनताले के पाए त ? आजका दिनसम्म यो क्षेत्रमा उहाँको योगदान शून्य छ । उहाँले यहाँ केही पनि उल्लेखनीय काम गर्नुभएको छैन ।

दोस्रो कुरा, यो उहाँले विगतमा तिरस्कार गर्नुभएको क्षेत्र हो । यहाँका जनताले ९ हजार भन्दा बढि मतान्तरले उहाँलाई जिताएर पठाएका थिए । तर उहाँले त्यो मतलाई लत्याउँदै यो क्षेत्र छोड्नु भयो र रौतहटलाई अंगाल्नुभयो । त्यसैले पनि यहाँका जनता उहाँसँग रुष्ट छन् ।

उहाँले त पार्टीको निर्णयअनुसार काठमाडौं-२ छोडेको भनेर भन्ने गर्नुभएको छ नि ?

उहाँजस्तो शिर्ष नेताको आफ्नो कुनै अडान हुँदैन ? उहाँले यो ठाउँ छाड्दिन भन्न सक्नुहुन्थ्यो । स्थानीय चुनावमा रौतहटका जनताले लात मारेपछि फेरि यहाँ फर्किभयो । अहिले भन्दै हुनुहुन्छ, म यहीँको स्थानीय, मेरो मावली यहीँ छ,, घर बनाएको छु । खासमा उहाँ स्थानीय चुनावमा यहाँ एमालेले जितेको भएर फर्किनुभएको हो । तर, यहाँका मतदाता एमालेका दास होइनन् ।

रौतहटमै चुनाव लडेको भए उहाँको नैतिकता बलियो हुन्थ्यो । तर, हार्ने डरले यता आउनुभयो । उहाँको उम्मेदवारीले काठमाडौं २ का एमालेका होनाहार साथीहरुलाई अन्याय भएको छ ।

उहाँ यहाँ मैले ल्याएको विकासको लहरलाई अवरोध गर्न आउनुभएको देखेको छु । तर, दीपक कुइकेलले प्रारम्भ गरेका योजनाहरु पूरा गर्न अर्को अवधि दिनुपर्छ भन्ने यहाँको जनताको मत छ । उहाँले भोट पाउनुहुन्न ।

तर, उहाँजस्तो राष्ट्रिय नेता संसदमा चाहिन्छ भन्ने मनोविज्ञान पनि त जनतामा होला नि ?

राष्ट्रिय नेता भएर उहाँले राष्ट्रको लागि उल्लेखनीय काम के गर्नुभयो भन्ने मेरो प्रश्न छ । फर्केर हेर्दा नेपालमा लोडसेडिङको उत्पादन गर्ने मान्छे उहाँ नै हो । उहाँले विश्व बैंकलाई चिठी लेखेरै अरुण तेस्रो रोक्न लगाउनुभएको हो । सो आयोजना नबन्दा लोडसेडिङको बिउ रोपियो ।

पार्टीको नेतृत्वमा पनि उहाँ असफल हुनुभयो । हुन त यो उहाँको पार्टीको आन्तरिक विषय हो । तर एमालेजस्तो जुझारु र क्रान्तिकारी पार्टीलाई उहाँले सम्झौतापरस्त र ढुलमुले पार्टीमा परिणत गर्नुभयो ।

उहाँले कहिले पनि निकास दिने ढंगबाट होइन कि अवसरवादी राजनीति गर्नुभएको छ । राजाकहाँ गएर भेटी चढाउने उहाँ नै हो । कम्युनिष्ट नेताले राजालाई त्यसरी ढोग्नुहुन्थ्यो ?

संवैधानिक राजतन्त्र सबैले मानेको त्यतिबेलाको परिस्थितिमा त्यसो गर्नु कुन आश्चर्यको कुरा भयो र ?

होइन, त्यसो नगर्ने नेताहरु पनि त छन् । उहाँले भन्न सक्नुपर्थ्यो म मान्दिन भनेर । पछि राजा फाल्ने पनि मै हुँ भन्नु भयो । उहाँ कुनै इथिक्समा रहनु भएन ।

उहाँले सत्ताका लागि हर प्रकारका सम्झौता गर्नुभएको इतिहास छ । संविधानसभामा दुई ठाउँमा हार्दा पनि प्रचण्डले उहाँलाई संसदमा लिएर गए ।

संवैधानिक समितिको सयोजक बनाए । त्यति नै बेला गिरिजाप्रसादले ईशारा गर्ने वित्तिकै दौडेर प्रधानमन्त्री खान पुग्नुभयो ।

त्यसैले माधव नेपालको चरित्रलाई यहाँका जनताले राम्रोसँग बुझेका छन् । ढुक्क हुनुस, काठमाडौं २ मा उहाँको शर्मनाक हार हुन्छ ।

यहाँ आएको बेलामा उहाँलाई जनताले फुलमाला लाइदेलान् । अतिथि भनेर सत्कार पनि गर्लान् र बस्न-खान देलान् । तर, विश्वासको मत दिएर आफ्नो प्रतिनिधि चाहिँ मान्दैनन् ।

तपाईंको क्षेत्रमा तेस्रो उम्मेदवार पनि चर्चामा हुनुहुन्छ, विवेकशील पार्टीका डा. सुर्यराज आचार्य । उहाँको विषयमा के भन्नुहुन्छ ?

सुर्यराजजी विद्वान हुनुहुन्छ । उहाँको विद्वताको बारेमा म टिप्पणी गर्न चाहन्न, किनभने युनिभर्सिटीले उहाँलाई प्रमाणपत्र दिएको छ । उहाँहरुले केही परिवर्तनका एजेन्डा लिएर हिँड्नु भएको छ । तर, उहाँ त्यत्रो पूर्वाधारविद भएर आजसम्म के-के परिवर्तन गर्नुभयो भनेर जनताको बीचमा ल्याउनुपर्छ ।

दीपक कुइँकेल जन्मेदेखि जनताको सेवाका लागि कति हिँडेको छ, जनताको अगाडि खुल्ला छ । उहाँले त आरामसित जागिर खाएर बस्नुभयो । आफ्नो उर्जा छउञ्जेल जागिर खानुभयो अहिले बुढेसकालमा विलासिताको राजनीति गर्न खोज्नुभएको छ । युवाहरुसँग हिँडेर रमाइलो मानिरहनुभएको छ । युवाहरुले उहाँलाई रमाइलो ढंगबाट हेरेका छन् ।

उहाँहरुको विचार परिवर्तनको कुरालाई जनताले जायज मानेका छन् । तर, परिवर्तनका लागि सत्तामा पुग्ने ढंगबाट उहाँहरुको पार्टी आएको छैन । खाली राष्ट्रिय पार्टी बन्ने लक्ष्य राख्नुभएको छ । त्यसैले उहाँहरुसँग हामीले डराउनुपर्दैन ।

उहाँले आफ्नो भोट काट्नुहोला भन्ने डर लागेको छैन ?

कांग्रेसलाई दिने मत उहाँलाई जान्छ भन्ने मलाई लाग्दैन । युवाहरुले बुझेका छन् । युवाहरु उहाँको पछाडि रमाइलाका लागि लाग्नुभएको छ, मत दिन होइन । देशको भविष्य नेपाली कांग्रेसबाट मात्रै सुरक्षित छ भन्ने युवाहरुले बुझ्नुभएको छ । उहाँकै पछिपछि हिँडेका युवाले पनि भोट हाल्ने भनेको कांग्रेसलाई नै हो ।

तर, त्यसरी नजरअन्दाज गर्न मिल्ला र ? स्थानीय चुनावमा विवेकशील र साझाले नसोचेको भोट ल्याएका होइनन् ?

स्थानीय चुनावमा काठमाडौं महानगरमा अलिकति भोट आयो उहाँहरुको । युवा उम्मेदवार उठ्नुभएको थियो । युवाको सेन्टिमेन्ट उहाँले तान्नुभयो । अहिले मेरो क्षत्रमा युवा उठ्नुभएको होइन । जो उठ्नु भएको छ, उहाँ चुनाव जित्ने होइन युवाहरुसँग रमाइलो गर्ने ढंगले हिँडिरहनुभएको छ ।

एमालेले माओवादीसँग गरेको चुनावी तालमेलले कांग्रेस संकटमा परेको छ भनिन्छ, तपाईंको दृष्टिकोण के छ ?

वामपन्थी गठवन्धनका आधारमा उहाँहरुलाई दम्भ बढेको छ । तर, नेपाली जनता लोकतन्त्रवादी छन् । हिजो मदन भण्डारीले बहुदलिय जनवाद मानिसकेपछि र बहुदलीय व्यवस्थालाई स्वीकार गरिसकेपछि जनताले एमालेलाई पनि लोकतान्त्रिक पार्टी भन्ने गरेका हुन् । प्रचण्डले पनि संसदमा विश्वास गर्छु भनेर आइसकेपछि माओवादीलाई पनि लोकतन्त्रवादी मानेको अवस्था हो । तर अहिले उहाँहरुले हामी साम्यवादको यात्रा प्रारम्भ गर्नका लागि, कम्युनिष्ट पार्टी निर्माण गर्नका लागि गठवन्धन गरिरहेका छौं भन्नुभएको छ । नेपाली जनताले साम्यवाद ल्याउनका लागि हिजो उहाँहरुलाई मत दिएका होइनन् ।

हिजो मदन भण्डारीले लिएको बहुदलीय जनवादमा त्यो पार्टी जाने हो कि प्रचण्डपथमा जाने हो कि ? हामी सिधासधा मान्छेले बुझ्न सकेका छैनौं ।

जनताले के भनेका छन् भने गरीब जनताको भोट लिनका लागि कम्युनिष्ट पार्टी निर्माणको कुरा गरेका हुन् । उहाँहरुको प्रमुख ध्येय सत्ता हो । उहाँहरुले घोषितरुपमै त्यो भन्नुभएको छ । सत्ताका लागि बनेको गठवन्धन हो ।

वामपन्थि गठवन्धनलाई जनताले एक तिहाईभन्दा कम सिटमा जिताउनुहुनेछ । हामी उहाँहरुलाई निमिट्यान्नै पार्न चाहँदैनौं किनभने प्रतिपक्ष पनि चाहिन्छ । जनताले एक तिहाईभन्दा कम मत वाम गठवन्धनलाई दिएर अरु मत नेपाली कांग्रेसलाई दिन्छन् । नेपाली कांग्रेसको बहुमतको केन्द्रीय सरकार र प्रदेश सरकार बन्नेछ ।

तपाईंका चुनावी एजेन्डा के छन् ?

मैले सुरुवात गरेका कुराहरुलाई पूरा गर्नेछु । स्मार्ट सिटी निर्माण गर्ने, साँखुको सम्पदा शहर बनाउने, ९ र ३२ नं. वडामा सुन्दर र सुविधासम्पन्न बस्ति विकास गर्ने, मनोहरा कोरिडोर निर्माण सम्पन्न गर्ने आदि छन् । दीपक कुइकेलले यस क्षेत्रको निष्ठालाई कायम राख्नेछ । यहाँका नजनताको शिर निहुरिन दिने छैन । मानवीय विकासका लागि निरन्तर खट्नेछु । देशलाई शान्ति र समृद्धि बनाउने क्रममा यस क्षेत्रको जनताको पनि सहभागिता हुनेछ ।

चुनाव निकै खर्चिलो बनेको छ भनिन्छ, तपाईंको अनुभव के छ ?

मेरा प्रतिस्पर्धी प्रधानमन्त्री भइसकेको मान्छेले पेसाको खोलो बगाएर मान्छे किनबेचमा लाग्नुभएको छ । हाम्रै पार्टीका केही मान्छेलाई पनि प्रलोभन देखाएर खरिदविक्रीमा लागेको मैले पाएको छु । उहाँहरुले जनतालाई भेडा सम्झेर, दास सम्झेर खरिद विक्रीमा अगाडि बढ्नुभएको छ ।

मैले सपथ खाएको छु, आचारसंहिताविरुद्ध एउटा पनि काम गर्दिनँ । आचारसंहिताले तोकेकोभन्दा एक रुपैयाँ बढी खर्च गर्ने छैन । अत्यन्त कम खर्चमा निर्वाचन अभियानलाई अगाडि बढाएको छुु । भोजभतेर गरेको छैन । घरदैलोमा हाम्रा साथीहरु खाई नखाई हिँडिरहेका छन् । सामान्य निर्वाचन प्रणाली अपनाएको छु तडक-भडक गरेको छैन । सामान्य सदाचारयुक्त जीवन अपनाएको म निर्वाचन पनि सामान्य ढंगबाट लड्दैछु ।

कति खर्च हुने अनुमान गर्नुभएको छ ?

म निर्वाचन आयोगले तोकेकोभन्दा बढी गर्दिनँ । सकभर त्यसको आधा खर्चमा सक्छु ।

निर्वाचन खर्च कसरी जुटाउनुहुन्छ ?

पार्टीले टोकन मनीका रुपमा एक-दुई लाख रुपैयाँ दिने कुरा गरेको छ । त्यो बाहेक सबै खर्च आफैंले जुटाउने हो । साथीभाईहरुलाई आह्वान गरेको छु । साथीभाइहरु जहाँ जहाँ खटिनुभएको छ, आफ्नो खर्च आफैं जुटाउनुभएको छ । हिजोको दिनमा पनि म सामान्य जीवनयापन गरेको, सामान्य परिवारमा हुर्के बढेको मान्छे, धेरै खर्च गर्ने सामथ्र्य छैन ।

चन्दा उठाउनुभएको छैन ?

साथीहरुले स्वेच्छाले आफ्नो युनिटमा खर्च गर्नुहुन्छ । हात थापेर एक रुपैयाँ पनि चन्दा लिन्न ।

चुनाव जित्छु, भन्नुभयो, कति अन्तरले जित्नुहुन्छ त्यो पनि भनिदिनुस ?

हिजो एमालेमा, राप्रपामा, माओवादीमा भोट हाल्ने साथीहरुको पनि माया सद्भाव पाइरहेको अवस्था छ । त्यसले गर्दा मतको अन्तर कति हुन्छ कति ।
Source:onlinekhabar

प्रकाशित मिति १३ मंसिर २०७४, बुधबार १६:०५