‘म जस्तै कोही नफसुन्` एक किशोरीको ‘कोठी’ यात्राको दर्दनाक वयान

‘सोह्र बर्ष लाग्न लागेकी थिएँ । एसएलसी परीक्षा दोस्रो श्रेणीमा उतिर्ण भएपछि थप पढाइका लागि खर्च जुटाउन नसकिने बारे बाबु–आमाबीच गनथन भैरहँदा मनमा आत्यसका तरङ्गहरु दौडिरन्थ्यो ।’

दोलखाका एक युवतीले दिल्लीको वेश्यालय कोठीमा बेचिनुअघिको पृष्ठभूमि पारिवारको गरिबीको चत्रव्युहबाट सुरु गरिन् । ‘पैसा अभावमा बाबु–आमाले एसएलसी उतिर्ण गरेकी छोरीलाई घरनजिकको विद्यालयमा ११ कक्षामा भर्ना गरिदिनेसम्म आँट गर्नसक्नु भएन ।’ युवतीले भन्दै गइन, ‘बाबु सिकर्मी र डकर्मी काम गर्नुहुन्थ्यो तर पैसा जति जाडरक्सीमा उडाउनु हुन्थ्यो । साँझ मात्तिएर घर आएपछि आमालाई कराउन सुरु गर्नुहुन्थ्यो, आमा डरले भाग्नुहुन्थ्यो र बुबा सुतेपछि राती फेरि घर फर्कनुहुन्थ्यो ।’

गरिवी र घरायसी किचलोले किशोरीको मन भुत्भुत्तिरहेको थियो । त्यो थाहा पाएकी एकजना नातामा भाउज्यू पर्ने सीत नेपालीले किशोरीको कमजोरी पक्षमा मलहम लगाउन लागिन् । नुवाकोट जिल्लाबाट दोलखा बिहे गरेर आएकी तिनै सीताको लोलोपतोमा मन बहकिंदै नरकीय संसारमा फस्न पुगेको जिल्ला प्रहरी कार्यालयमा अभियोजनकर्ताको तर्फबाट सनाखत गर्न आउदा किशोरीले सुनाइन् । अहिले सीता नेपाली किशोरीलाई बेच्ने मतियारका रुपमा दोलखास्थित कारागारमा पूर्पपक्षका लागि थुनुवामा छिन् ।

सीताले आफन्त पर्ने नुवाकोट खरानीटार— ५ बस्ने २१ बर्षीय जवान निरकुमार नेपालीलाई २०७२ साल साउन ३ गते १६ बर्षीया किशोरीको जिम्मा लगाएकी थिइन् । दोलखाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले सुरु गरेको फरार अपराधीको फाइल अध्ययन र खोजीको क्रममा किशोरीलाई भारतको दिल्लीमा लगेर बेचेको अभियोगमा निरकुमार पक्राउ परेपछि मानव तस्कर र विक्रीका दलालहरुबारे थप तथ्यहरु खुल्दै गएका छन् ।

दलाली प्रेमको दुष्परिणाम

करिब एकबर्ष अघिदेखि भाउज्यू पर्ने सीता नेपालीले निरकुमारसँग किशोरीलाई फोनबाट सम्पर्क गराइदिएका थिए । फोनको तरङ्गबाट सुरु भएको प्रेमयात्रा २०७२ साल जेठमा एकआपसमा भेट भएपछि थप बाक्लिएको थियो । दोलखा सदरमुकाम चरिकोटमा तिनै सीताको साहरामा आएकी किशोरीले नुवाकोट घर भएका निरकुमारलाई भेट गराइदिएपछि बिहे गर्ने सहमति भयो ।

चरिकोटको होटलमा खाजा खाएर घर फर्किएकी किशोरीले काठमाडौं बसेर थप अध्ययनको अवसरदेखि गरिवीको चक्रव्युहबाट मुक्तीको आशाको सपना देख्न थालिन् । बेलाबेलामा आउने निरकुमारको फोन र सीताको ललाइफकाइपछि अन्तत् २०७२ साउन ३ गते चरिकोट हुँदै निरकुमारसँग भागेर काठमाडौं पुगिन् । त्यो बेला पनि सीताले नै ल्याएर निरकुमार कहाँ छाडेको किशोरीले बताइन् ।

किशोरी तस्करको प्रपञ्च
भूकम्प आएपछिका दिनहरुमा पुष्पलाल—बर्दिवास मार्ग र लामोसाघुँ हुँदै अरनिको राजमार्गबाट दोलखाका बालबालिका, किशोरी र युवती तस्करी हुने गरेको अनुसन्धानबाट खुलेको छ । चरिकोटबाट बस चढेर अरनिको राजमार्ग हुँदै प्रणयसूत्रमा बाधिएको अनूभुतिसाथ किशोरी साउन ३ गते काठमाडौंस्थित टोखामा बास बस्न पुगिन् ।

यहाँ परिवारको सदस्य खोज्न आउन सक्छ भन्दै निरकुमारले किशोरीलाई भारतको दिल्लीस्थित दिदीको कोठामा बस्ने र दसैंमा फर्कने भन्दै फकाए । घरबाट आमाको लगातार फोन आउदा पनि किशोरीलाई कुरा गर्न रोकियो । तिम्रो भाउज्यु सीता नेपालीमार्फत घरमा भनिसकेको छ भन्दै फोनमा कुरा गर्न नदिइकनै स्वीचअफ गरिदिएपछि किशोरी बाहिरी सम्पर्कविहीन भइन् ।

काठमाडौं पुगेको भोलीपल्ट विहान भारत जान भनेर सानो गाडी रिर्जभ गरेर निरकुमारले किशोरीलाई लिएर चढे । कलंकी पुगेपछि अरु दुई जना बयष्क मानिसहरु पनि मोटरमा बसे । नेपालगञ्ज पुगेपछि किशोरीलाई कुर्था र पाइन्टहरु किनिदिएपछि त्यही राती नै सबैजना सीमापार गर्दै गाडीमा इन्डिया प्रवेश गरे । सीमापार नभएसम्म कसैले सोध्यो भने तिमीहरु चाररपाँच बर्षदेखि बिहे भएको, घुम्न जान लागेको भन्नु भनेर ति नयाँ दुई जनाले सिकएका थिए । तर, कसैले पनि सोधखोज गरेनन् ।

एकपछि अर्कोलाई बिक्री

नेपालको गाउँदेखि भारतसम्म पुगेको मानव बेचबिखनको जालोमा फसेकी किशोरीले दुई हप्ता जति मात्र दलाल प्रेमी निरकुमारसँग बस्न पाइन् । प्रहरी अनुसन्धानअनुसार निरकुमारले श्रीमती बनाएर दिल्ली बेच्न पुर्‍याएको किशोरी दोस्री हुन् । निरकुमारलगायतले किशोरीलाई एक लाख ३५ हजार भारुमा बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

किशोरीका अनुसार दिदी भनिने लक्ष्मी तामाङको डेरामा पुगेपछि किशोरी र निरकुमारलाई जिम्मा लगाएर दुई जना फर्किए । लक्ष्मीले ‘अब के काम गर्छौ रु भाँडा माझ्ने काम गर्छौ रु’ भनेर बारम्बार सोधिरहन्थिन् । एकदिन निरकुमार बाहिर गएका बेला लक्ष्मीले ‘बेश्यालय जाने, देहव्यापार गर्ने, दसैमा घर जाँदा पैसा र सुनको पोका लिएर जाने’ भनेर फकाएको तर आफुले अस्वीकार गरेपछि दिदी रिसाएर घर फर्क भनेको किशोरीले बताइन् ।

त्यसपछि कोठा सर्ने बाहनामा लक्ष्मीले सीता तामाङको घरमा लगेर किशोरीलाई बुझाइदिइन् । किशोरीका अनुसार सीताले केहीदिनपछि घुमाउदै दिल्लीस्थित जेपी रोडको कोठीमा पुर्याइन् । ‘त्यहाँ भीडभाड थियो, गाना बजिरहेको थियो र मोलतोल भैरहेको थियो ।’  किशोरीले भनिन्, ‘मेकअप गरेर यहीँ वस भनेर सीताले भन्दा मैले अस्वीकार गरेँ अनि हामी बाहिरियौं ।’

त्यहाँबाट फर्किएपछि किशोरीलाई मनमा डर लाग्न थालेको बताइन् । ‘म नराम्रो काम गर्दिनँ, घर जाउँ’ भनेर निरकुमारलाई भनेपछि घर जाने खर्चका लागि कानमा लगाएको सुनसमेत निरकुमारबाट लुटिएको दुस्ख किशोरीले सुनाइन् । आमाले किनिदिएको सुन कानबाट फुकालेर दिएको केहीदिनमै होटलमा काम गर्छु भनेर हिडेको निरबहादुर कहिल्यै फर्किएनन् ।

बिरामीको बाध्यता, कोठीको यात्रा

निरकुमार वेपत्ता भएपछि सीताको साहरामा बसेकी किशोरीलाई जण्डिसले छोयो । भएको सुनसमेत लुटिएपछि बेखर्ची उनी रुदै दिन काट्थिन । ओछ्यान परेकी उनी रुँदा सम्झाउने र पानी तताएर दिने मान्छेसमेत थिएन । मर्ने स्थितिमा पुगेपछि एकदिन सीता तामाङले कोठीमा गएर काम गर्ने भए उपचार गरिदिन्छु भनेर सर्त तेर्साइन् । ‘मैले टाउको हल्लाएपछि घरमै के के औषधि खान दिएर मुख बार्न लगाएपछि तीन महिनामा ठीक भएँ । ठीक भएपछि सीता  तामाङले मलाई जेपी रोडकै कोठीमा लगेर छाडिदिइन् ।

ग्राहककै सहयोगमा उद्दार
त्यो नेपालीसहितले चलाएको कोठी रहेछ । नुवाकोट र सिन्धुपाल्चोकका साहुनी कुराकानी मिलाउँथे, एकजना नेपाली केटा पैसाको हिसाव राख्थ्यो । नेपाली, बंगालदेशी र कलकत्ताका चेलीहरु शरीर बेच्थे ।
अत्यन्तै पीडापूर्ण जीवन विताइरहेका बेला एकजना भारतीय पुरुष ग्राहकसँग सम्बन्ध भयो । ती भारतीयले फोन र सीम दिएपछि आमालाई लुकेर फोन गरेको किशोरीले बताइन् । उनले भनिन, ‘आशुँ र दुस्ख लुकाउदै आमासँग राम्रो ठाउँमा काम गरिरहेको सुनाएँ ।’

कोठी छिरेपछि कालको मुखमा छिरेजस्तै बाहिर निस्कन नपाउने किशोरीले बताइन् । ‘एकदिन फोन दिने भारतीय पुरुषलाई कोठीबाट बाहिर निकालिदिन सहयोगको याचना गरें,’ उनले भनिन् । उनीलगायत तीनजना केटाहरु मिलेर कोठीको छाना उधारेर अर्को कोठी रहेको घर हुँदै इन्डिया गेट भन्ने ठाउँमा पुर्‍याइदिएपछि कालकोठीबाट मुक्ती पाएको किशोरीले सुनाइन् । उद्दार गर्ने केटाहरुले मसँगै भागेकी अर्की साथीको दाजुको जिम्मा लगाइदिएपछि प्रहरीको सम्पर्कमा पुग्न सफल भएको उनले बताइन् ।

नावालक भन्दै नेपाल फर्कन रोक

किशोरीको भनाईमा उनी २०५५ सालमा जन्मेकी हुन् । त्यसैले १८ बर्ष नपुगि फर्काउन मिल्दैन भनेपछि अरु केही महिना इन्डिया नै बस्नुपर्‍यो । त्यहाँ अखिल नेपाल भारत संस्था र शक्ति बाहिनी संस्थाले सहयोग पुर्‍यायो । उनीहरुकै साहयतामा मुछिएका केहीलाई इन्डियाको प्रहरीले कार्वाही पनि चलायो ।

प्रहरी हुने इच्छा

बाबु र मामा दिल्ली पुगेर नेपाल ल्याएपछि केही महिना घर बसेकी किशोरी अहिले माइती नेपालको सीमा निगरानीकर्ताकी रुपमा जागिर खान्छिन् । ११ कक्षा पढ्दै गरेकी उनी अध्ययनलाई एउटा तहमा पुर्‍याएपछि नेपाल प्रहरीमा प्रतिस्पर्धा गर्ने र मानव बेचविखनको बिरुद्धमा काम गर्ने इच्छा राख्छिन् ।

दोलखास्थित जिल्ला प्रहरी कार्यालयमा भेटिएकी उनले लहैलहैमा लागेर आफु दलालको चंगुलमा फसे पनि कुनै दोलखाली दिदीबहिनी त्यसरी नफसुन भन्ने उनको भनाई छ । मेरो जस्तै घटना भएर अपराधीको डरले लुकेर कोही बसेका भए तत्काल कानूनी उपचारमा लाग्न पनि उनले सुझाइन् । उनलाई सहयोग गर्न आएकी माइती नेपालका कानुन अधिकृत उमा तामाङले मानव बेचबिखचको घटनाको उजुरीको हदम्याद नहुने र जतिखेरै पनि अभियोजन गर्न सकिने बताइन् । साभार इकान्तिपुर अनलाईनबाट

प्रकाशित मिति १५ मंसिर २०७४, शुक्रबार १८:५१