कुपन्डोल यूएन पार्क नजिक बम विस्फोट, राजधानिमा पनि बम अतंका

मंसिर १५, २०७४-कुपन्डोलको यूएन पार्क नजिक शुक्रबार साँझ बम विस्फोट भएको छ । अज्ञात समूहले थापाथलीको पुल र यूएन पार्कको बीचमा फोहोर फालिएको ठाउँमा विस्फोट गराएको जावलाखेल प्रहरीले जनाएको छ । चुनावको विपक्षमा गतिविधि गरिरहेको समूहले आतंक फैलाउन विस्फोट गराएको प्रहरी अनुमान छ ।

विस्फोटबाट कुनै मानवीय क्षति भएको छैन । विस्फोट फोहोरको थुप्रोमा गराइएकोले अवशेष समेत भेटिन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलमा  अनुसन्धान जारी राखेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरण निर्वाचन अघिदेखि नै देशका विभिन्न जिल्लामा उम्मेदवार लक्षित बम विस्फोटका घटना हुँदै आएको छ । मंगलबार तुलसीपुरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने चुनावीसभालाई लक्षित गरेर विस्फोट गराउँदा घाइते भएका एक म्यादी प्रहरीको ज्यान गएको थियो ।

मंगलबार दिउँसो पनि वाम गठबन्धनले लगनखेलमा आयोजना गरेको चुनावसभा नजिक बम विस्फोट गराइएको थियो । गठबन्धनका नेता एवं एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने क्रममा बिस्फोट गराउँदा स्थानीय विद्यालयको झ्यालका सिसा फुटेको थियो ।

-ekantipur

प्रकाशित मिति १५ मंसिर २०७४, शुक्रबार १९:४४