शेर्पा महिला निर्देशकको ‘टिन्छेन फमा’

काठमाडौं : आफ्नो परम्परागत मूल्य मान्यतादेखि जीवन जिउन कला सिक्न पनि असल अभिभावकको मुख्य भूमिका हुने सन्देश दिन्छ सिनेमा टिन्छेन फमाले । शेर्पा भाषामा निर्माण गरिएको टिन्छेन फमा अर्थात् असल अभिभावक सिनेमामा हिमाली क्षेत्र बसोबास गर्ने जातजातिको पेसा र जनजीवन समेटिएको छ ।

इतिहास पल्टाउँदा शेर्पाहरूले १८५० देखि पर्वतारोहण क्षेत्रमा काम गर्दै आएको देखिन्छ । हिमाललै हिमालको देश भनेर चिनिने नेपाल चिनाउन शेर्पाको भूमिका महत्वपूर्ण रहेको तर धेरै शेर्पा परिवार अभिभावकविहीन भएकाले बुनिएका सपनाहरू पूरा गर्न नसकेको सिनेमामा देखाइएको छ । आरोहीलाई लिएर पुगेका शेर्पाको हिमालमा मृत्यु भएपछि तिनका बालबालिकाको बिचल्ली हुँदा देखिने समस्यालाई पनि उजागार गर्न खोजिएको छ ।

गोपीकृष्ण मुभिजका ६ वटा हलमा २७ असोजमा गरिएको प्रिमियर शोमा हाउस फुल भएको भएको थियो । भीआईपी सो चाबहिलको केएल टावरमा प्रदर्शन गरिएको छ भने अब चाँडै विभिन्न जिल्लामा प्रदर्शन गरी हलमा ल्याउने तयारीमा जुटेका छन् यसका निर्माताहरू ।

फिल्मलाई आङनिमा शेर्पा (कुङगा) ले निर्देशक गरेका हुन् । पहिलो शेर्पा निर्देशकको रूपमा उदाएकी उनको पहिलो प्रस्तुति भए पनि सिनेमाले दर्शकको मन जितेको छ । यसको कथा, पटकथा, गीत र संगीत पनि आङ निमाले गरेकी हुन् । फिल्मलाई कुङगा शेर्पा, आङनिमा शेर्पा (कुङगा), छोङवा शेर्पा (रिन्छेन) र तेन्जिङ शेर्पाले निर्माण गरेको हुन् ।

सोर्स:अन्नपूर्ण पोस्ट

प्रकाशित मिति १७ मंसिर २०७४, आईतवार १०:१०