महान चाड डुम्जी संग जुन्डियो मोर्डन पार्टी

“दशै नै हो की यो मेरो दसा” एउटा गायकले गाएको गीत मलाई सम्झीन मन लाग्छ । दशै हिन्दु संस्कृतिको एक महत्वपुर्ण चाड, डुम्जी बौद्ध धर्मावलम्बीहरूको एक महत्वपुर्ण चाड हो । मलाई शंका लागेको छ दशैको जस्तै गीत अर्को गायकले डुम्जीको गीत गाउने त होइन । अनि फेरी मनमा प्रश्न उठ्छ सँच्चै यो गीत किन गाएको होला ? कसले लेखेको होला र किन ? शब्द आफैमा कस्तो गम्भीर छ । हुन त कसैको लागि गीत होला तर कसैको लागि सत्य कथा, व्यथा भने पक्कै हो ।

खुम्बु क्षेत्रमा विगत लामो समय (३५० बर्ष) देखि मनाउदै आएको एउटा सानो चाडले हालको समयमा आएर एउटा भयानक स्वारुप लिएको देखिन्छ । प्रतिस्पर्धा गरीब गरीब बिचमा होइन न त धनी धनी बिचमा नै हो । गरीब र धनी बिचमा, घर घर बिचमा अनी गाउँ गाउँ बिचमा अचम्माको छ समाज । धनी खानदानी करोडपतिको केही अंश खर्च गरेर डुम्जी मनाउने गरिन्छ वा खुवाउँछन्, पिलाउँछन्, अनी नचाउँछन् र त्यस्तै गर्न बाध्य तुल्याउछन् गरीबलाई । उत कोही गरीब घर परिवार समाजमा निराश भएर सबै डुम्जीमा रमाउँदा घरैमा बस्न बाध्य देखिन्छ । कोही हीनता बोध मानेर प्रतिस्पर्धामा लागेर घर जग्गा बेचेर भए पनि प्रतिस्पर्धामा लाग्छन । पछिल्लो समयमा धनीहरूको घरमा महँगो महँगो रक्सी र खानाको परिकार खुवाउने चलन बढेको देखिन्छ । बिचरा गरीबहरू पनि त्यस्तै गर्न बाध्य तुल्याउछन । एका तिर शेर्पा समुदायको संस्कृति आफैमा महँगो छ त्यही माथि नै खाने र निल्नेमा प्रतिस्पर्धा भएपछि जीत त्यहाँ कसैको हुँदैन । आखिरमा मार्कामा पर्ने गरीब परिवार तिनका छोराछोरी सन्तान अनि पुरै घरपरिवारमा हुन । जसले जीवनलाई वृहत रुपमा सोचेको हुन्छ महँगो संस्कृति भएको समाजमा प्रतिस्पर्धा भएपछि समाज छोड्न बाध्य हुन्छन जसले जीवनलाई वृहत नबुझ्ने सोझाहरूले त समाजमा बसेपछि जीवन डुम्जी दिनकै लागि जन्मेको जस्तो भान हुन्छ । गरीब परिवार जसलाई हातमुख जोर्न गाह्रो हुन्छ तिनले पनि गाउँघरका सबैलाई खुवाउनुपर्ने रे । त्यस्तो अवस्थाको परिवारले जीबनभरी मेहनत गर्छन दुःख गर्छन र बर्षौदेखि नखाई नखाई नसुती नसुती कमाएको पैसाले सम्पूर्ण गाउँलेहरू आएर एकै दिनमा झ्वाम पारिदिन्छन र पुगेन भने पछाडी कुरा काट्छन । एक बर्षमा दश घर परिवारले गर्नुपर्ने यो चाड पाँच दिनको चाड मज्जाले मनाउछ । एकै दिनमा लगभग चारचोटी मासुभात खाने नाम नजान्ने रक्सी पिउने अनि सानो गाउँको महँगो संस्कृतिमा आफुलाई हिरो ठानेर नाँचेको देखिन्छ । मलाई यस्तो देखेर पहिले म पनि मख्ख पर्थे तर आजाभोली सबै तथ्यगत कुराहरूलाई बुझिसकेपछि हाँसो लाग्छ किनकी जीवन केवल सीमित गाउँको लागि मात्रा होइन । जीवन विश्वको लागि जिउनुपर्छ भन्ने कुरा मलाई सत्य लागेको छ ।

मैले देखेको सत्य कुरा के हो भने आर्थिक स्रोत कम हुनेको लागि डुम्जी साँच्चै दशा हो अथवा डुवाउने चाड हो । गरीबको लागि मात्रै होइन खुम्बुको सबैका आर्थिक हैसियत र महँगीलाई हेर्दा यस्तो प्रतिस्पर्धा गर्ने हो भने गरीबले मात्र होइन धनीलाई पनि मार्का पर्छ । एउटा गुम्बामा सबैको अगाडी लावाको जिम्मा लिएपछि उसको उद्देश्य त्यो दुई दिन सबैलाई कसरी मिठो र राम्रो खुवाउने भन्ने हुन्छ । त्यस वखत उसले आफ्नो छोराछोरीको शिक्षा स्वास्थ्यको बारेमा सोच्न पछि पर्छ । छोराछोरी विद्यालय छाडी कमाउन तिर लाग्नुपर्ने बाध्यता हुन्छ । अनि कसरी उभो लागोस त समाज ? ठिकै छ जीवन त्यसरी नै त्यस समाजमा गुजारा गर्ने हो भने त्यस्तै गर्दा नै हुन्छ तर वास्तवमा हामीले वाहिरी संसार पनि हेर्नुपर्दछ ।

हामी मख्ख पछौ जब कुनै विदेशी आएर तपाईहरूको संस्कृति धेरै धनी छ राम्रो छ भन्दा । किन नहोस त जीवनभरी कमाएको असी प्रतिशत लगानी संस्कृति मै लगाउछ त राम्रो र धनी नभएर के हुन्छ । अनि फेरी हामी एकआपसमा कुरा गर्छौ हामी विदेशी जस्तै गरेर उनीहरूको देशमा किन घुम्न नपाएको होला ? तर घुमोस पनि कसरी विदेशीहरूले असी प्रतिशत लगानी शिक्षामा गर्छन तर हामी भने त्यसको ठीक उल्टो बीस प्रतिशत मात्र शिक्षामा लगानी गरिरहेका हुन्छौं । पछिल्लो समयमा आएको डुम्जीको विकृतिलाई न्युनीकरण गर्न गुम्बा विकास समिति तथा समाजसेवीहरूले विचार गर्नुपर्ने देखिन्छ । विगतमा त्यस किसिमका कोसिसहरू नगरेको पनि होइनन तर उनीहरू आफै महँगो महँगो नामै उच्चारण गर्न नआउने रक्सी अनि एक चोटी विदेशी सँग खाएको परिकार त्यहाँ खुवाउन थालेपछि कसरी नहोस त विकृति ?

एउटा पार्टीमा दुई जनाले एउटा कुखुराको मासु रोस बनाएर खाएको पाइन्छ । यसरी नै दुई जनाल एक प्राणको हत्या गरेर यो चाड मनाउन थालेपछि बौद्ध धर्मावलम्बी हो भनेर कसरी मान्ने ? तसर्थ मेरो सबै युवा पुस्तामा यो अनुरोध छ यसलाई परिवर्तन हामीबाटै गर्नुपर्छ हामीले महँगो पार्टी नगर्नेलाई सम्मान गर्नुपर्छ । पार्टी र भोज भतेरमा गर्ने फजुल खर्चको सम्पूर्ण रकम उठाएर डुम्जी छात्रवृद्धि कोष बनाएर गाउँको गरीब बिद्यार्थीलाई छात्रवृद्धि दिएर शिक्षाको सागारमा लैजाऔ र बाहिरी संसारलाई बुझौं । एउटै समाजमा अरुको मुठ्ठीमा होइन संसारलाई बुझेर आधुनिक युगतिर ढल्कनु पर्छ अनि ढल्काउनु पर्छ । जहिले पनि विदेशीलाई नाटक देखाएर बस्ने नगरौ खुल्ला सोँच विचार र उद्देश्य लिएर बाँचौं ।

डुम्जीलाई सम्मान गरौ तर डुम्जीमा विकृति भित्रयाएर सबैलाई जीवन डुम्जी दिनको लागि मात्र हो जस्तो भान नहोस । युवा पुस्तालाई महँगो संस्कृतिमा फसाएर गाउँ छोड्न नदिउ, विदेश पलायन हुन नदिउ, त्यो भनेको पूरै देशको लागि ठूलो घाटा हुनेछ ।

पासाङ छिरि शेर्पा

खुमजुङ २ सोलुखुम्बु

प्रकाशित मिति ८ माघ २०७३, शनिबार ०५:२५