दक्षिण कोरियामा लकडाउनका कारण मानसिक समस्या बढ्दो

सोल – कोरोना भाइरस संक्रमण तथा त्यसबाट उत्पन्न विभिन्न समस्याहरुको मुख्य असर मानिसको मानसिक स्वास्थ्यमा देखिन थालेको छ ।

बिगत ८ महिनादेखि कोरोना संक्रमणकै कारण जारी विभिन्न निषेधाज्ञा, लकडाउन तथा औषधीको अनिश्चताताका कारण मानिसहरुमा मानसिक समस्या बढ्दै गएको हो । न्यूरो तथा साइक्याट्रीक एसोसिएसन कोरियाका किम साङ वुकका अनुसार हाल मानिसहरुमा मानसिक अवस्था विकराल बन्दै गएको छ । उनका अनुसार जागिर हुनेहरुमा समेत झनक्क रिसाउने, डिप्रेशन लगायतका समस्या आउन थालेका छन् । जागिर गुमाउनेहरुको स्थिति भयावह भएको समेत उनले बताएका छन् ।

यस बर्षको मध्य सम्ममा ५ लाख ९५ हजार ७२४ जनाको मानसिक उपचार गरिएको छ जसमध्ये ३,७४,२२१ जनामा डिप्रेशन देखिएको छ । यो संख्या सिङ्गो सन् २०१९ को भन्दा बढी भएको अधिकारीहरुले बताएका छन् । संक्रमणकै कारण उत्पन्न मानसिक समस्याका कारण मानिसमा अनिद्रा, बोलीमा सुस्तता, अरुको कुरा नसुन्ने, कुतर्क गर्ने जस्ता समस्याहरु बढ्दै गएका छन् । ज्येष्ठ नागरिकहरुको स्थिति झनै भयावह भएको सम्बद्ध अधिकारीहरुले बताएका छन् ।

युवा पुस्तामा संक्रमणको असर निकै गहिरो रहेको किमले जानकारी दिएका छन् । जागिर नपाएर भौतारिएका, सरकारी निषेधका नियमहरुद्वारा दैनिक गतिविधिमा अंकुश लागेका कारण डिप्रेशनमा गएका युवाहरुको संख्या उल्लेख्य रहेको उनले जानकारी दिएका छन् । १,७०,७७१ जना २०-३० उमेर समुहका युवाहरुमा डिप्रेशन पाइएको उनले जानकारी दिएका छन् ।

किमले आगामी दिनहरुमा अवस्थालाई थप भयावह हुन नदिन स्वास्थ्य प्रति सचेत सहन, ब्यायाम गर्न, संक्रमणसँग सम्बन्धित समाचारमा ध्यान नदिन सल्लाह समेत दिएका छन् ।

प्रकाशित मिति १५ फाल्गुन २०७७, शनिबार ११:५२