के हो एनआरएनए ? विगत केही दशक यता नेपालीहरु आफ्नो जिबनस्तरलाइ उकास्नको निम्ति वा बिभिन्न बहानामा विदेशिने क्रम बढ्दो छ । नेपालमा २०४६ सालको राजनैतिक परिबर्तन पछि यो क्रम तिव्र रुपमा वृद्धि भईरहेको पाइन्छ । सुरुका दिनहरुमा खासै संगठित हुने अबस्थाहरु नरहे पनि सन २००३ मा विदेशमा रहेका सामाजिक अगुवाहरुको अगुवाईमा गैरआवासीय नेपाली संघ स्थापना भएको थियो ।
शुरुवातका दिनहरुमा यसले राम्रो प्रभाब पार्न सक्षम भए पनि विगत केही वर्ष अगाडि देखी समाजमा गैरआवासीय नेपाली सङ्घको छाप राम्रो देखिएको छैन । नेपालीहरुका लागी नेपालीहरु द्वारा भन्ने मुल नाराका साथ अहिले विश्व भरका ८० भन्दा माथिका देशहरुमा एनआरएनए का संरचनाहरु बिकास भएका छन । केही राष्ट्रहरुमा निष्क्रिय भएँ पनि अधिकांशमा सक्रियता नै भएको पाइएको छ । नेपालमा रहँदा एनआरएनए कुन चराको नाम हो भने जस्तो खासै पत्तो भएन वा चासो राखिएन । बिगत २ बर्ष देखि बैदेशिक जिवन ब्यतित गर्ने क्रममा यो संस्थालाई नजिकबाट नियाल्ने मौका मिलिरहेको छ ।
विदेशमा रहेका नेपालीहरुको सुखदुखमा यसले खेल्नु पर्ने भुमिका सकारात्मक रहनु पर्ने आम सोच रहेता पनि अहिले यो धनाढ्य र शक्तिवालहरुको पहुँचको शिकार बन्दै गएको आभाष हुन्छ । पबित्र उद्देश्य राखेर स्थापना भएको यो संस्थामा अहिले ब्यापक राजनैतिक करण र सेन्डिकेट प्रथा देखिदै गएको पाइन्छ । एनआरएनए बास्तबमा विदेशमा रहेका आम मजदुर कामदारको पहुँच भन्दा अहिले धेरै टाडा देखिदै छ ।
यो हुनु बास्तबमा राम्रो सन्देश होइन, यो सबैको पहुँचमा हुनुपर्छ केन्द्रीय स्तरमा त झनै अधिबेशनहरुमा आर्थिक चलखेलले जरा नै गाडेको देखिन्छ ।
सन २००३ मा सुरु भएँको यो अभियान सन २००६ मा पोर्चुगलमा स्थापना हुन पुगेको अग्रजहरूबाट बुझ्न सकिन्छ । भर्खरै मात्र पोर्चुगल मा आठौं अधिबेशन सम्पन्न भएको छ । मलाई लाग्छ अधिवेशनले नेपाली समाजमा कस्तो प्रभाव छोड्न सक्यो भन्ने मुख्य कुरा हो ।
शुरुवातका दिनहरुमा नेपालीहरुको चाप कम रहेका कारण समस्याहरु पनि कम थिए होलान । तर हाल पोर्चुगलमा करिब ३५ हजार नेपाली बसोवास गरेकोे अनुमान गरिएको छ ।पोर्चुगलको एनआरएनएका विगतका गतिविधि लाई हेर्दा कहिले सहमति त कहिले निर्बाचनबाट नै पोर्चुगलको नेतृत्व छनोट भएको पाइन्छ । एनआरएनएलाइ सबैको अपनत्व हुने गरी सबैको साझा संस्थाको रूपमा परिचित गराउँदै लैजानु पर्ने आजको आवश्यकता हो । तर बिडम्बनाको कुरा नेपाली राजनितीको प्रभाब प्रदेशमा रहेका नेपालीमा पनि नराम्रोसँग परेको पाईयो ।
समाजलाइ एकिकृत बनाएर लैजान खोज्दा आफ्नो सर्वस्व गुम्छ कि भन्ने डर र तानाशाही प्रवृत्ति हावी भएको देखियो । सधै नेतृत्वको अड्डा आफैँ जमाइराख्नु पर्छ भन्ने गलत मानसिकताले ग्रसीत केही ब्यक्तिहरुको कारण पोर्चुगल को एनआरएनए प्रति धेरै नेपालीहरूको बितृष्णा बढेको यथार्थ हो । बिगतको अधिवेशनबाट नै बिबादमा मुछिईरहेको एनआरएनए पोर्चुगल यसपटक पनि विवादबाट बाहिर आउन सकेन । यस पटक त झन विवादित मात्र होइन समाजलाई दुई चिरामा बिभाजित हुन बाध्य गराएको छ । सदस्यता आवेदन खुल्ला गरेदेखि निर्वाचन प्रकृयामा पुग्दा सम्म धेरै कमजोरीहरु भएको देखे पनि निर्वाचनलाई शान्ति पूर्ण रूपमा सम्पन्न गर्नु पर्छ भन्ने मनसायले नेपाली समुदायले धैर्यता नगुमाई प्रतिक्षा गरि रहेको समाजका नेतृत्वकर्ताहरु बताउँछन् ।
तर “लागेको बानी नछोड नानी” भने जस्तो यसपटक पनि निर्वाचन निष्पक्ष हुन नसकेको गुनासो गर्दै अध्यक्ष पदका प्रत्यासी सोमफुरी शेर्पाले नेपाली समुदायमा जरा गाडी बसेको अन्याय अत्याचार र ज्यादतिको बिरूद्द संघर्ष गर्न सबै नेपाली समुदायको चाहना अनुरूप समानान्तर एनआरएनए गठन गरिएको बताउनु भयो । यसले नेपाली समुदायमा यतिबेला छुट्टै तरंग छरेको छ भने स्वच्छ प्रतिस्पर्धा हुन नदिई मतदाताको मत हाल्ने पाउने अधिकार सम्म खोसेर निर्वाचनमा धाँधली गर्ने परम्परागत प्रवृत्तिले समाज भाड्ने काम गरेको भन्दै दुख ब्यक्त गरिरहेका छन् । एनआरएनए भित्र अहिले देखिएको धनबाद, डनबाद र लुटतन्त्र जुन मौलाएको छ यसले संस्थाप्रतिको आकर्षण र संस्थाको गरिमा नै घटाएको छ । आम रुपमा नै एनआरएनए भनेको हुने खाने हरुको संस्था हो भन्ने सोचाइ आम सर्वसाधारणमा छाप परेको छ । हुनत यहाँ मात्र होईन भर्खरै सम्पन्न अन्य देशहरूका निर्वाचन हेर्दा पनि म नेपाली हुँ भन्न लाज मान्नु पर्ने स्थिति सिर्जना भईरहेको छ । पद लुप्त भावना र राजनैतिक प्रतिशोधका कारण संस्था भित्र अनावश्यक बिकृतिहरू मौलाउँदै गएको छ ।
समाजमा केही गर्छु भन्ने सोचका साथ पबित्र भावना बोकेर जाने जो कोहीले पनि स्थान नपाउँनु दुखको कुरा हो । यहाँ भित्र रहेका पात्रहरु जसले बिभिन्न समयमा काम गरेका छन तिनीहरूको भुमिकाले पनि संस्था प्रतिको आकर्षणमा प्रभाब पारेको हुन्छ । व्यक्तिको सामाजिक भावना र उसले खेलेको भुमिका नै समाजिक परिबर्तनको बाहक हो । एनआरएनए भनेको हुने खाने हरुको संस्था हो भन्ने सोचाइ आम सर्वसाधारण मा छाप परेको छ । हरेक देशहरुमा आम श्रमजीवी मजदुरहरुका आम आबश्यकता र समस्याहरुमा ध्यान दिनुको सट्टा तीनै मजदुरहरु लाई शोषण गर्नेहरु नै संस्थामा चल्ता पुर्ता भएँकै कारण आम रुपमा यस प्रति आकर्षण घटेको हो ।
अन्त्यमा: गैर आवासीय नेपाली संघ सबै गैर आवासीय नेपालीहरूको साझा संस्थाको रूपमा परिचित हुन सकोस् । यसले सबै गैर आवासीय नेपालीहरूको अभिभावकत्व निर्वाह गर्न सकोस् । बढ्दै गएको राजनीतिक हस्तक्षेप र चलखेल बन्द होस । धन्यवाद