काठमाडौं । शेर्पा समुदायको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको परम्परागत पोसाकलाई फेसनका नाममा तोडमोड तथा विकृत रूपमा प्रस्तुत गरिएको भन्दै शेर्पा संघ सस्थाहरुले तीव्र विरोध सहित विज्ञप्ति निकालेर आपत्ति जनाएको छ।

शेर्पा समुदायको संस्कृति, परम्परा र पहिचानसँग प्रत्यक्ष रूपमा जोडिएका बख्खु , पाङ्देन लगायतका परम्परागत पोसाक तथा तिनमा प्रयोग हुने बुट्टा र धागोलाई जथाभावी प्रयोग गरी अशोभनीय ढंगले फेसन डिजाइनार बिसाल गुरुङले बिसाल गुरुङ नामक सामाजिक संजाल मार्फत प्रस्तुत गरिएको भन्दै सांस्कृतिक सरोकारवालाले आपत्ति जनाएका हुन्।

उनीहरूले फेसन र सिर्जनशीलताको नाममा कुनै समुदायको मौलिक संस्कृति, आस्था र ऐतिहासिक पहिचानलाई मनोरञ्जन वा व्यावसायिक प्रचारको साधन बनाउनु उचित नभएको बताएका छन्।

“फेसनको नाममा शेर्पा समुदायको पवित्र र ऐतिहासिक पोसाकमाथि भइरहेको खेलबाड र विकृत प्रदर्शन घोर लज्जास्पद, गैरजिम्मेवार र आपत्तिजनक कार्य हो,” विरोधमा संलग्न पक्षको भनाइ छ।

उनीहरूका अनुसार शेर्पा समुदायको परम्परागत पोसाक केवल शरीर ढाक्ने पहिरन मात्र नभई पुर्खादेखि हस्तान्तरण हुँदै आएको इतिहास, संस्कार, सामाजिक पहिचान र सांस्कृतिक गौरवको प्रतीक हो। त्यसैले यसको स्वरूप, प्रयोग र प्रस्तुतीकरणमा सांस्कृतिक संवेदनशीलता आवश्यक रहेको उनीहरूको जोड छ।

विशेषगरी सामाजिक सञ्जालमा लोकप्रियता, ‘लाइक’ तथा ‘भ्युज’ हासिल गर्ने उद्देश्यले सांस्कृतिक पहिरनलाई अशोभनीय वा मूल स्वरूपभन्दा फरक ढंगले प्रस्तुत गर्नुले सम्बन्धित समुदायको भावनामा चोट पुग्न सक्ने उनीहरूको भनाइ छ।

“कुनै संस्कृतिको इतिहास र मर्यादा थाहा छैन भने त्यसलाई जथाभावी प्रयोग वा परिवर्तन गर्ने अधिकार कसले दियो?” भन्दै उनीहरूले प्रश्न गरेका छन्।

विरोधकर्ताहरूले आधुनिकता र सिर्जनशीलताको नाममा मौलिक सांस्कृतिक पहिचानलाई कमजोर बनाउने प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार नयाँ पुस्ताले आधुनिकता अपनाउनु स्वाभाविक भए पनि त्यस क्रममा आफ्नो तथा अरू समुदायको सांस्कृतिक सम्पदा र मर्यादाको सम्मान गर्न आवश्यक छ।

शेर्पा संस्कृतिसँग जोडिएका प्रत्येक परम्परागत पहिरन, बुट्टा, कपडा र त्यसको प्रयोग विधिले लामो सांस्कृतिक इतिहास बोकेको भन्दै उनीहरूले यस्ता सामग्रीलाई केवल फेसनको वस्तुका रूपमा नहेर्न आग्रह गरेका छन्।

सांस्कृतिक पहिरनको प्रयोग गर्दा सम्बन्धित समुदायका जानकार, सांस्कृतिक संस्था तथा सरोकारवालासँग परामर्श गर्नुपर्ने मागसमेत उठाइएको छ। साथै, सांस्कृतिक रूपमा संवेदनशील विषयलाई व्यावसायिक वा मनोरञ्जनात्मक प्रस्तुतिका रूपमा प्रयोग गर्दा आवश्यक मर्यादा कायम गर्नुपर्ने उनीहरूको भनाइ छ।

शेर्पा संघ सस्थाहरुले सार्वजनिक प्रेस विज्ञप्तिमा उल्लेख गर्दै यस्ता गतिविधि तत्काल रोक्न तथा सांस्कृतिक अपमान भएको अवस्थामा सम्बन्धित व्यक्ति वा संस्थाले सार्वजनिक रूपमा आफ्नो धारणा स्पष्ट पार्दै आवश्यक परे माफी माग्नुपर्ने माग गरेका छन्।

उनीहरूले शेर्पा समुदायको सांस्कृतिक पहिचान र परम्परागत पोसाकलाई सम्मान गर्न, त्यसको मौलिकता संरक्षण गर्न तथा फेसन वा व्यावसायिक प्रयोजनमा प्रयोग गर्दा सांस्कृतिक मर्यादा कायम गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।
press note sherpa association south korea

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय