शेर्पा समुदायको संस्कृति जीवनका हरेक चरणसँग गहिरो र अभिन्न रूपमा जोडिएको छ । जन्मदेखि विवाह, रोग उपचारदेखि मृत्यु संस्कार सम्म, जीवनका प्रत्येक मोड पार गर्न धार्मिक आस्था, परम्परा र सांस्कृतिक मूल्य मान्यताले मार्गनिर्देशन गर्छन् । यी संस्कारहरूले व्यक्तिगत जीवन मात्र होइन, समुदायको एकता, सहअस्तित्व र सांस्कृतिक पहिचानलाई पनि सुदृढ बनाउँदै आएका छन् ।
न्वारन संस्कार
शेर्पा कुलमा जन्मेका शिशुको न्वारन संस्कार सामान्यतः जन्मेको ३ दिन वा ५ दिनपछि गरिन्छ । यस अवसरमा एक जना लामालाई आमन्त्रण गरी धार्मिक विधि अनुसार न्वारन संस्कार सम्पन्न गरिन्छ । न्वारनका क्रममा स्थानीय देवदेवी तथा कुलदेवतालाई प्रसूति अवस्थाका कारण लागेको अशुद्धता हटाई स्थान तथा घरलाई शुद्ध पार्न मूख्य रूपमा धूप पूजा (साङ) गर्ने परम्परा रहेको छ ।
लामाले साङको पाठ गर्दै घर बाहिर सफा स्थानमा आगो बालेर थाशिङ, श्युक्पा, मासुर, फुर्माङ, खेन्पा आदि सामग्री जलाउने गरिन्छ । त्यसपछि साङ–जेमा विभिन्न पवित्र द्रव्य तथा सामग्रीहरू मिश्रण गरी अधिष्ठान गरिन्छ । यसमा तीन सेतो अन्तर्गत दूध, घिउ र दही तथा तीन गुलियो अन्तर्गत चिनी, मह र गुड प्रयोग गरिन्छ । साथै कर–सुम–ङर–सुम, विभिन्न प्रकारका साङ, पाँच प्रकारका साना–साना कपडा, चेन्देन (रातो र सेतो), गहुँ, उवा, चामल तथा चम्पा लगयातका सामग्री मिसाई विधिपूर्वक जलाउने गरिन्छ । यसरी साङ पूजा सम्पन्न गरेपछि घर, परिवार तथा शिशुको शुद्धीकरण हुने र स्थानीय देवदेवी तथा कुलदेउताको आशीर्वाद प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
सेरर्क्येम
धर्मपाल विभिन्न देवीदेवतालाई अर्पण गरिने विशेष प्रकारको धार्मिक तथा पवित्र तरल पदार्थ हो । यसमा दूध, दही, घिउ, चियाको रङ, रक्सी, छ्याङ आदि विभिन्न पदार्थहरू प्रयोग गरी सम्बन्धित देवीदेवतालाई विधिपूर्वक चढाउने गरिन्छ । यस्तो अर्पणबाट देवीदेवताको सम्मान, प्रसन्नता तथा आशीर्वाद प्राप्त हुने धार्मिक विश्वास शेर्पा समुदायमा रहेको छ ।
क्षिमार
चम्पा, कर–सुम (दूध, घिउ र दही) तथा ङर–सुम (तीन प्रकारका गुलियो पदार्थ चिनी, मह र गुड आदि) मिसाई विशेष विधि अनुसार तयार गरिन्छ ।
याङ – छ्याङ्
शुद्ध छ्याङ, रक्सी आदि पवित्र तरल पदार्थलाई सफा तथा आकर्षक पात्रमा राखी धार्मिक विधि अनुसार अमृतका रूपमा परिणत गरिन्छ । त्यसपछि विधिपूर्वक घरमा याङ (समृद्धि तथा सौभाग्य) भित्र्याउने संस्कार सम्पन्न गर्ने परम्परा रहेको छ ।
दादर्
पाँच प्रकारका विभिन्न रङका कपडालाई विशेष विधि अनुसार संयोजन गरी तयार गरिने धार्मिक प्रतीकात्मक स्वरूपलाई दादर् भनिन्छ । दादर्लाई बौद्ध धर्ममा पाँच ध्यानि बुद्धको प्रतीकका रूपमा लिईन्छ । यसमा पूर्व दिशाका अक्षोभ्य,पश्चिम दिशाका अमिताभ,उत्तर दिशाका अमोघसिद्धि, दक्षिण दिशाका रत्नसम्भव र बीचमा रहने वज्रसत्त्वको स्वरूपलाई प्रतिनिधित्व गरिन्छ । यी पाँच बुद्धले बौद्ध दर्शनमा पाँच दिशाका साथै ज्ञान, शुद्धता र आध्यात्मिक चेतनाका विभिन्न पक्षलाई प्रतिनिधित्व गर्ने धार्मिक विश्वास रहेको छ ।
डाल्हा
देवताका सेनापतिको प्रतीकका रूपमा प्रयोग गरिने विशेष प्रकारको तरवार वा हतियारलाई डाल्हा भनिन्छ । धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार डाल्हाले सम्पूर्ण शत्रु तथा नकारात्मक शक्तिलाई दमन गर्ने र जीवनमा आउने विभिन्न प्रकारका बाधा–विघ्नलाई निवारण गरी सुरक्षा प्रदान गर्ने विश्वास गरिन्छ ।
ठु केले बनाउने केसर, खाने कपूर तथा विभिन्न पवित्र द्रव्यहरूलाई बुम्जे ञेरङ लगयात २५ प्रकारका सामग्रीसँग मिश्रण गरी विशेष विधि अनुसार तयार गरिने पवित्र जललाई ‘ठु’ भनिन्छ । धार्मिक तथा सांस्कृतिक परम्परामा ठुलाई शुद्धीकरण तथा पवित्रताको प्रतीकका रूपमा प्रयोग गर्ने गरिन्छ ।
ठु गर्ने विधि
लामाले बुम्डुप विधि सम्पन्न गरेपछि आमा र नवजात शिशुलाई लामाको अगाडि राखी पवित्र जलद्वारा शुद्धीकरण गर्ने कार्यलाई ‘ठु गर्ने’ भनिन्छ । यस विधिमा विभिन्न पवित्र द्रव्यहरू मिश्रण गरी तयार गरिएको शुद्ध जल तथा मन्त्रजल प्रयोग गरिन्छ । ठु गर्ने विधिपछि घर,परिवारका सदस्य,बिछ्यौना तथा अन्य सामग्रीमा रहेको प्रसूति अवस्थाको अशुद्धता तथा जुठो हटाई शुद्धीकरण गरिन्छ । यस क्रममा स्नान देवको साधना गरी आमा र नवजात शिशुलाई पवित्र जल छर्केर शुद्ध पारिन्छ । साथै घरमा उपस्थित मानिसहरू, ओछ्यान, बिछ्यौना तथा घरभित्रका अन्य स्थान र सामग्रीहरूमा समेत मन्त्रद्वारा अभिमन्त्रित पवित्र जल छर्की शुद्धीकरण गर्ने परम्परा रहेको छ ।
शुद्धीकरणको विधि सम्पन्न भएपछि घरको अगाडि वा उपयुक्त स्थानमा करिब एक हात लामो सेतो कपडा काठ वा बाँसको डन्डाको टुप्पोमा बाँधेर दर्सीङका रूपमा फहराइन्छ । दर्सीङ उठाउनु घर तथा परिवारबाट अशुद्धता र जुठो हटाई शुद्धीकरण सम्पन्न भएको तथा नकारात्मक शक्ति र बाधामाथि विजय प्राप्त भएको प्रतीकका रूपमा लिईन्छ । त्यसपछि लामाले नवजात शिशुको जन्म भएको बार, गते, साल, नक्षत्र आदि हेरी शुभलक्षण तथा ज्योतिषीय आधारबाट उपयुक्त नाम र शुभ साईत निर्धारण गर्छन् । सोही अनुसार शुभ समयमा नवजात शिशुको नामकरण संस्कार सम्पन्न गरिन्छ । शेर्पा समुदायमा परम्परागत रूपमा नवजात शिशुको नाम राख्दा जन्मेको बार (हप्ताको दिन) लाई विशेष आधार मान्ने प्रचलन रहेको छ । यसरी धार्मिक विधि, शुभलक्षण तथा जन्मबारका आधारमा नामकरण गरी बालक वा बालिकाको जीवन सुख, समृद्धि र मंगलमय होस् भन्ने कामना गरिन्छ ।

बार अनुसार राखिने प्रचलित नामहरूः
• आइतबार् – ङिमा लामा शेर्पा
• सोमबार – दावा पिनासा शेर्पा
• मङ्कलबर – मिङमार सलाका शेर्पा
• बुधबार – ल्हाक्पा खम्बाचे शेर्पा
• बिहीबार – फुर्वा गर्जा शेर्पा
• शुक्रबार – पासाङ ठग्तोक शेर्पा
• शनिबार – पेम्बा ग्वाले शेर्पा
जन्मेको बार अनुसार राखिएको नाम परिवार वा नातागोतामा पहिल्यै प्रचलित नामसँग मिल्न गएमा, अथवा कुनै कारणले उक्त नाम उपयुक्त वा मनपर्ने नलागेमा,परम्परा अनुसार मूल नामको अघि वा पछि अर्को उपयुक्त नाम जोडेर नामकरण गर्ने चलन पनि शेर्पा समुदायमा रहेको छ । यसरी जन्मबार अनुसारको नामलाई कायम राख्दै थप नाम जोडेर व्यक्तिको छुट्टै पहिचान कायम गर्ने गरिन्छ । उदाहरणका रूपमा पेम्बा डोल्मा, ल्हाक्पा गेलु, मिङमार दावा आदि नामहरू उल्लेख गर्न सकिन्छ । नवजात शिशुको जन्मपछि घरको मूल ढोकामा ‘द्वारध्वज’ राख्ने परम्परा पनि शेर्पा समुदायमा रहेको छ । परम्परा अनुसार छोरा जन्मिएमा द्वारध्वज ढोकाको दायाँतर्फ र छोरी जन्मिएमा बायाँतर्फ राख्ने गरिन्छ । यसले घरमा नयाँ सदस्यको आगमन भएको संकेत गर्नुका साथै शुभता र मंगलको प्रतीकका रूपमा समेत लिईन्छ ।
नवजात शिशुको नामकरण तथा अन्य संस्कार सम्पन्न भएपछि आफन्तजन तथा ईष्टमित्रहरूले बाबुआमा र शिशुलाई खादा, उपहार तथा शुभाशीर्वाद प्रदान गर्दै सुख, शान्ति, दीर्घायु र समृद्धिको कामना गर्ने प्रचलन रहेको छ । कुनै कारणवश लामा वा धर्मगुरु उपलब्ध हुन नसकेमा घरका ज्येष्ठ तथा जानकार सदस्यले पनि परम्परागत विधि अनुसार नामकरण संस्कार सम्पन्न गर्न सक्ने चलन रहेको पाईन्छ । आजभोलि समय र परिस्थितिमा आएको परिवर्तनसँगै शेर्पा समुदायमा व्यवसाय,अध्ययन तथा रोजगारीका सिलसिलामा आफ्नो थातथलो छोडेर विदेशिने क्रम तीव्र हुँदै गएको छ । विदेशमा बच्चा जन्मिँदा आवश्यक समयमा लामा तथा धर्मगुरुको सहज उपलब्धता नहुने अवस्थाका कारण न्वारन संस्कार सम्पन्न गर्न नयाँ प्रविधिको प्रयोग गर्ने चलनसमेत बढ्दै गएको देखिन्छ । विशेषगरी नेपालमा रहेका घरपरिवारका सदस्यहरूले लामा बोलाई,विदेशमा रहेका परिवारसँग अनलाइन वा भर्चुअल माध्यमबाट जोडिएर बच्चाको न्वारन तथा शुद्धीकरणसम्बन्धी धार्मिक संस्कार सम्पन्न गर्ने प्रचलन पनि विस्तारै विकसित हुँदै गएको देखिन्छ । यसले आधुनिक प्रविधिको प्रयोगसँगै शेर्पा समुदायले आफ्नो परम्परागत धार्मिक तथा सांस्कृतिक संस्कारलाई निरन्तरता दिँदै आएको देखाउँछ ।
गोदर किरु
गोदर शेर्पा समुदायमा प्रचलित एक महत्त्वपूर्ण सांस्कृतिक तथा सामाजिक परम्परा हो । यस परम्परा अनुसार सुत्केरी भएको घरमा आफन्त, छिमेकी तथा ईष्टमित्रहरू नवजात शिशुको मुख हेर्न जाने, शिशु तथा उसका आमाबुबालाई बधाई दिने र शुभकामना व्यक्त गर्ने चलन रहेको छ । विशेषगरी न्वारनको अवसरमा गोदर गर्ने प्रचलन बढी रहेको पाईन्छ । कुनै कारणवश न्वारनको समयमा सहभागी हुन नसकेका आफन्त,छिमेकी वा ईष्टमित्रहरूले पछि अनुकूल समयमा सुत्केरीको घरमा पुगेर पनि गोदर गर्ने परम्परा रहेको छ । गोदर गर्न जाँदा नवजात शिशुका लागि लुगा–कपडा,नगद पैसा तथा विभिन्न प्रकारका उपहार र कोसेली लैजाने गरिन्छ । साथै शिशुको सुस्वास्थ्य, दीर्घायु, सुख–समृद्धि तथा उज्ज्वल भविष्यको कामना गर्दै आमाबुबालाई बधाई तथा शुभाशीर्वाद दिने गरिन्छ । सुत्केरी आमालाई समेत बधाईस्वरूप विभिन्न प्रकारका कोसेली तथा उपहार प्रदान गर्ने चलन रहेको छ । कतिपय स्थानमा आमा र नवजात शिशुलाई सम्भावित बाधा–विघ्न तथा नकारात्मक प्रभावबाट रक्षा होस् भन्ने धार्मिक विश्वासका साथ सेतो वा रातो रङको धागो अथवा खादा गलामा लगाईदिने परम्परा पनि पाईन्छ ।
न्वारनको अवसरमा भाईबन्धु, आफन्त तथा ईष्टमित्रहरूलाई आमन्त्रण गरी भोजभतेर गर्ने प्रचलनलाई ‘अङी गोदर’ भनिन्छ । यस अवसरमा आफन्त तथा शुभेच्छुकहरूले नवजात शिशुको मुख हेर्ने, नाम सोध्ने तथा परिवारसँग खुसी साटासाट गर्ने गर्दछन् । यसरी न्वारनको भोज तथा गोदरमार्फत नवजात शिशुको जन्मको खुसी मनाउने र आफन्त तथा समुदायबीचको आत्मीयता,सद्भाव तथा सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउने गरिन्छ । न्वारनका क्रममा लामाले धार्मिक विधि अनुसार कुलदेवताको पूजा तथा आराधना गर्नुका साथै घरमा शुभलक्षण तथा सकारात्मक ऊर्जा आह्वान गर्ने धार्मिक कार्य सम्पन्न गर्छन् । शुभमंगलको पाठ तथा वाचन गरी नवजात शिशु र सुत्केरी आमाको सुस्वास्थ्य, दीर्घायु र सुख–समृद्धिको कामना गरिन्छ । साथै घरपरिवारमा सुख, शान्ति, समृद्धि तथा मंगलमय वातावरण कायम रहोस् भन्ने उद्देश्यले धर्म तथा परम्परा अनुसार शुभकामना पाठ गरिन्छ । यसरी अङी गोदर तथा न्वारनका विभिन्न विधिहरूले नवजात शिशुको आगमनलाई सामूहिक रूपमा स्वागत गर्नुका साथै शेर्पा समुदायको धार्मिक आस्था, सांस्कृतिक परम्परा, पारिवारिक आत्मीयता र सामाजिक एकतालाई निरन्तरता दिने महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
ठु गर्ने समयमा चाहिने सामग्रीः
१) ठु बनाउने केसार
२) खाने कपुर
३) क्षिमार
४) याङ – छ्याङ्
५) दादर्
६) डाल्हा (तरवार)
७) सेरर्क्येम
८) साङ
९) बुम्पा
१०) मेलोङ
११) जुङ – थक दोर्जे
१२) दुङ – क्षुङ
१३) गुगुल धुप
१४) घिउको बत्ती र फल–फूल इत्यादि पनि तयार हुनु पर्छ । (धेरै जसो सामान लामाले नै ल्याइदिनु हुन्छ ।)
विवाह संस्कार
शेर्पा समुदायमा विवाह प्रायः शेर्पा जाति भित्रकै विभिन्न रु (थर) बीच हुने परम्परा रहेको छ । शेर्पा समुदायमा विभिन्न रु (थर) हरू रहेका छन् र तीमध्ये केही रुहरूलाई परम्परागत रूपमा स्वाँगे भाइ अर्थात् आपसमा नजिकको वंशीय सम्बन्ध भएको मानिने भएकाले त्यस्ता रुहरूबीच विवाह गर्न नहुने सामाजिक मान्यता रहेको छ । उदाहरणका रूपमा सलाका–सलाका,खम्बचे–खम्बचे, पिनासा–पिनासा र लामा–लामा जस्ता एउटै रु (थर) भित्र विवाह नगर्ने परम्परा रहेको पाईन्छ । यसरी एउटै थर वा स्वाँगे भाइ पर्ने थरबीच विवाह नगर्ने चलन शेर्पा समुदायमा परम्परादेखि नै प्रचलित रहेको छ ।
त्यसैगरी, एउटै थर वा स्वाँगे भाइ पर्ने थरबाहेक नजिकको नातासम्बन्ध भएका व्यक्तिहरूबीच पनि विवाह गर्न नहुने सामाजिक तथा सांस्कृतिक मान्यता रहेको छ । उदाहरणका रूपमा मामा–भान्जी, माउ पर्ने नाता, मामा वा फुपुका छोराछोरीबीच विवाह नगर्ने परम्परा रहेको पाईन्छ । यस प्रकार शेर्पा समुदायमा विवाह गर्दा वंश, थर, नातासम्बन्ध तथा सामाजिक मान्यतालाई विशेष ध्यान दिईने गरेको देखिन्छ । विवाह गर्न मिल्ने रु (थर) का सम्बन्धमा पनि शेर्पा समुदायमा आफ्नै परम्परागत मान्यता रहेको पाईन्छ । सलाका र लामा,खम्बचे र लामा तथा पिनासा र सलाका बीच विवाहलाई योग्य तथा स्वीकार्य मान्ने परम्परा रहेको छ । तर विवाह गर्दा स्वाँगे भाइ पर्ने वा नजिकको नाता सम्बन्ध भएका रु (थर) बीच भने विवाह गर्न नहुने मान्यता रहेको छ ।
विवाहको प्रक्रिया अघि बढाउनु अघि सर्वप्रथम लामा वा समाजका विज्ञद्वारा केटा र केटीको उमेर, जन्मको दिन तथा जन्म वर्ष (लोर्ता) र खामका आधारमा ज्योतिषीय रूपमा मिलान गर्ने परम्परा रहेको छ । लोर्ता र खाम् मिलान गर्दा भावी दाम्पत्य जीवन,पारिवारिक सुख–समृद्धि,आपसी अनुकूलता तथा वैवाहिक जीवनमा पर्न सक्ने सम्भावित प्रभावका बारेमा विचार गरी विवाहका लागि उपयुक्तता निर्धारण गरिन्छ । लोर्ता र खाम् अनुकूल देखिएमा मात्र विवाहको प्रक्रिया अघि बढाउने परम्परा रहेको पाईन्छ ।
परम्परागत रूपमा केटपक्षका परिचित वा आफन्त व्यक्तिहरू केटीको घरमा गई उनका आमाबुबासँग विवाह सम्बन्धी कुरा राख्ने तथा केटी माग्ने प्रारम्भिक प्रक्रियालाई ‘टि–क्षङ’ भनिन्छ । टि–क्षङको क्रममा केटा र केटीको लोर्ता तथा खाम् अनुकूल रहेको जानकारी गराई दुवै पक्षबीच विवाह सम्बन्धी सहमति कायम गर्ने गरिन्छ । केटीका आमाबुबाले विवाहको प्रस्ताव स्वीकार गरेपछि विवाहको औपचारिक प्रक्रिया अगाडि बढाउँदै ‘लोङ–क्षङ’ गर्ने तयारी गरिन्छ ।
‘लोङ–क्षङ’ विवाहका लागि केटी माग्ने औपचारिक तथा विधिवत् प्रक्रिया हो । यस अवसरमा केटा पक्षका मानिसहरूले केटीका आमाबुबा तथा आफन्तहरूका लागि फेमर, खतक, छ्याङ लगयातका सामग्री लिएर गई परम्परागत विधि अनुसार कन्या माग्ने कार्य गर्छन् । यस क्रममा फेमर र पोङमा खतक लगाउने परम्परा पनि रहेको छ । लोङ–क्षङका आवश्यक विधि तथा प्रक्रिया पूरा भएपछि दुवै पक्षबीच विवाह गर्ने सहमति औपचारिक रूपमा पक्का भएको मानिन्छ ।
विवाह पक्का भएपछि केही हप्तापछि ‘देम–क्षङ’ गर्ने परम्परा रहेको छ । देम–क्षङका अवसरमा केटपक्षबाट केटीको घरमा फेमर र छ्याङ अनिवार्य रूपमा लैजाने गरिन्छ । साथै, जन्तीका लागि आवश्यक छ्याङ तयार गर्न प्रयोग गरिने अन्नसमेत लैजाने परम्परा रहेको छ,जसलाई ‘क्षावी’ भनिन्छ । यसरी टि–क्षङ, लोङ–क्षङ र देम–क्षङजस्ता विभिन्न चरणहरू पूरा गर्दै शेर्पा समुदायमा विवाहको प्रक्रिया परम्परागत विधि र सामाजिक सहमतिअनुसार अघि बढाइने गरेको पाईन्छ । गाउँघरमा क्षावीका रूपमा अन्न तथा खाद्यान्न उपलब्ध गराउने परम्परा रहेको पाईन्छ भने,सहरी तथा बजार क्षेत्रमा यसको सट्टा नगद रकम नै दिने चलन पनि प्रचलनमा आएको देखिन्छ । क्षावी बढी माग गरिएको अवस्थामा विवाहमा दिईने फेमरको मात्रा कम गर्ने र क्षावी कम दिइएको अवस्थामा फेमर बढी दिने जस्ता चलनहरू पनि केही स्थानमा रहेको पाईन्छ । केटपक्षबाट कर्मा साईत विवाहको तिथि तथा शुभ दिन तय भएको जानकारी केटीपक्षको घरमा पुर्याउनु पर्ने हुन्छ । साथै, विवाहका लागि ल्याइने खतक र फेमरको मात्रा तथा जन्तीमा सहभागी हुने मानिसहरूको संख्या समेत दुवै पक्षबीचको सहमतिअनुसार पहिले नै टुँगो लगाई सोहीअनुसार व्यवस्था गर्ने परम्परा रहेको छ ।
‘पे–क्षङ’ भन्नाले केटा र केटी दुवै पक्षका परिवार तथा आफन्तहरूले आ–आफ्नो गाउँका मानिसहरूसँग विवाह सम्बन्धी आवश्यक सर–सल्लाह गर्ने परम्परागत प्रक्रियालाई बुझिन्छ । विवाह हुनुभन्दा केही हप्ता अगाडि पे–क्षङका अवसरमा गाउँले तथा आफन्तहरूलाई खाना खुवाउने चलन रहेको छ । यस क्रममा जन्ती तथा गाउँलेहरूलाई ‘डेन’ खुवाउने व्यवस्था, जन्तीको तयारी तथा विवाह सम्बन्धी अन्य आवश्यक कामका विषयमा समेत सर–सल्लाह गरिन्छ ।
विवाहको मिति तय भएपछि विवाह समारोहको मिति, समय र स्थानको जानकारी साईत नातेदार, ईष्टमित्र, हितैषी तथा साथीभाईहरूलाई विवाह समारोहमा सहभागी हुन निमन्त्रणा पठाउने परम्परा रहेको छ । शेर्पा समुदायमा यस प्रकारको औपचारिक निमन्त्रणालाई ‘देन्ज्याङ’ भनिन्छ । विवाहको दिन लामाले साङ–सेरक्येम लगयातका आवश्यक धार्मिक विधि सम्पन्न गरेपछि डाल्हा पाठ गर्ने समयमा बेहुलाले हातमा तरवार र क्षिमार लिएर लामाको निर्देशन अनुसार आवश्यक विधि पूरा गर्नुपर्ने परम्परा रहेको छ । उक्त धार्मिक विधि सम्पन्न भएपछि बेहुला जन्तीका साथ विवाह स्थलतर्फ प्रस्थान गर्न घरबाट बाहिर निस्कन्छ । विवाहको समयमा एउटा लामा अनिवर्य रूपमा लगेर जाने गरिन्छ । जुन लामालाई खोर्लोवा भन्ने गरिन्छ । कतिपय ठाउ“मा खोर्लोवा लामाले नै सिपा खोर्लो बोक्दै जन्तीको अघि हिड्ने गरेको पनि देखिन्छ ।
बेहुला घरबाट बाहिर निस्कनुअघि जन्ती जाने दिशातर्फ खोर्लो गाडेर त्यसको अगाडि बेहुलाका कपडा, क्षुवा लगयातका सामग्री खोलेर राख्ने परम्परा रहेको छ । जन्तीमा सहभागी हुने आफन्त तथा ईष्टमित्रहरू पराम्परागत शेर्पा पोशाक साईत सबै भेला भएपछि उनीहरूलाई चिया तथा खाना खुवाईन्छ । त्यसपछि जन्ती दुलाहीको घरमा पुग्ने समयलाई ध्यानमा राखी बेहुलालाई तयार पारिन्छ र घरको दैलोमा सुरज्याङ विधि सम्पन्न गरिन्छ ।
जन्ती प्रस्थान गर्दा शेर्पा समुदायका परम्परागत सांस्कृतिक सामग्रीहरू गेलिङ, बुकशेल (झयाम्टा), तरवार तथा याकको पुच्छर आदि बोक्ने चलन रहेको छ । यी सामग्रीहरू विवाह संस्कारका धार्मिक तथा सांस्कृतिक पक्षसँग सम्बन्धित हुनुका साथै शेर्पा समुदायको मौलिक परम्परा र सांस्कृतिक पहिचानका प्रतीकका रूपमा समेत महत्त्वपूर्ण मानिन्छन् ।

विवाहका लागि निमन्त्रणा गरिएका लामाले विवाहको दिन प्रातःकालमै आवश्यक धार्मिक विधि अनुसार साङ (धूपपूजा) गर्ने परम्परा रहेको छ । साङपछि दूध, दही, छ्याङ (जाँड) लगयातका तरल पदार्थलाई सगुनका रूपमा राखी सेरक्येम गरिन्छ र घरको कुलदेवताको शरण तथा आशीर्वाद लिने गरिन्छ । सेरक्येम भन्नाले दही, दूध,चिया तथा अन्य रसिला एवं तरल पदार्थलाई सगुनका रूपमा अर्पण गरी घरका कुलदेवता तथा स्थानीय देवदेवीको पूजा–आराधना गर्ने तान्त्रिक धार्मिक विधिलाई बुझिन्छ ।
विवाहका क्रममा आउन सक्ने बाधा–विघ्न निवारण तथा शुभफल प्राप्तिको कामनाका लागि लामाले सिपा खोर्लो (भवचक्र) सजाई बाधा छेक्ने धार्मिक विधि सम्पन्न गर्ने परम्परा रहेको छ । सिपा खोर्लोमा संसारका विभिन्न चित्र, १२ प्रतीत्यसमुत्पाद, ९ ग्रह, ८ पर्खा तथा ६ लोक लगयातका धार्मिक तथा ज्योतिषीय प्रतीकहरू समावेश गरिएका हुन्छन् । यसलाई बौद्ध धार्मिक तथा ज्योतिषीय मान्यता अनुसार विवाहमा आउन सक्ने अशुभ प्रभाव तथा बाधा–विघ्न निवारण गर्ने प्रतीकका रूपमा प्रयोग गरिन्छ ।
दुलाही लिन जन्ती प्रस्थान गर्ने समयमा सिपा खोर्लो (भवचक्र) लाई दुलहीको माइतीतर्फ मुख फर्काएर राख्ने परम्परा रहेको छ । जन्ती दुलहीको घर अर्थात् माइती पुगेपछि भने सिपा खोर्लोलाई दुलाहाको घरतर्फ मुख फर्काएर राख्ने गरिन्छ । यसरी सिपा खोर्लोको दिशालाई परिवर्तन गर्नु पनि विवाह संस्कारमा शुभता, संरक्षण तथा दुवै परिवारबीचको सम्बन्धलाई प्रतीकात्मक रूपमा जोड्ने परम्परासँग सम्बन्धित रहेको मानिन्छ ।
जन्ती प्रस्थान गर्ने समयमा दुलाहालाई परम्परागत शेर्पा/हिमाली पोशाकमा सजाउने गरिन्छ । यस क्रममा पहेँलो खोचेनको बख्खु रातो जालीदार टोपी तथा काँधमा पाँच रङ्कका कपडाबाट बनेको दत्तर भिर्ने परम्परा रहेको छ । साथै, दुलाहाले हातमा बुम्पा (कलश) लिएर जन्तीका साथ प्रस्थान गर्ने चलन रहेको पाईन्छ । यी परम्परागत पोशाक, सामग्री तथा धार्मिक विधिहरूले शेर्पा समुदायको विवाह संस्कारमा रहेको धार्मिक आस्था, सांस्कृतिक मौलिकता र परम्परागत पहिचानलाई प्रतिबिम्बित गर्दछन् ।
जन्ती घरबाट प्रस्थान गर्ने समयमा आँगनमा दूध वा दही, छ्याङ तथा खप्से सगुनका रूपमा राखी शुभारम्भ गर्ने परम्परा रहेको छ । यस शुभारम्भसम्बन्धी विधिलाई ‘सुरज्याङ’ भनिन्छ । विवाहको अवसरमा दुलहाको घरको मूल आँगनमा गलैंचा ओछ्याई चोक्चि सजाउने परम्परा रहेको छ । चोक्चिमा पोङमा छ्याङ् तथा टाकियोमा दही, दूध, क्षिमार लगयातका शुभ सामग्री राख्ने गरिन्छ । साथै,वातावरणलाई पवित्र तथा शुभ बनाउन धूप बाल्ने चलन पनि रहेको छ । यी सामग्रीहरूलाई विवाह संस्कारका लागि आवश्यक शुभ तथा धार्मिक प्रतीकका रूपमा लिईन्छ ।
जन्ती प्रस्थान गर्नुअघि विवाहमा सहभागी हुने ईष्टमित्र, आफन्त तथा पाहुनाहरूलाई लामाले रातो टीका तथा सिन्दूर लगाईदिने परम्परा रहेको छ । त्यसैगरी बेहुलाका आमाबुबा लगयातका परिवारका ज्येष्ठ सदस्यहरूको निधारमा पनि धार्मिक तथा सांस्कृतिक विधि अनुसार सिन्दूरको टीका लगाईदिने चलन रहेको पाईन्छ । जन्ती प्रस्थान गर्दा जन्तीको अगाडि लामाले खोर्लो लिएर हिँड्ने परम्परा रहेको छ । परम्परागत धार्मिक मान्यता अनुसार खोर्लोले जन्तीको बाटोमा आउन सक्ने भूत–प्रेत, अशुभ प्रभाव तथा अन्य बाधा–विघ्न हटाउने र जन्तीको यात्रा शुभ तथा सुरक्षित बनाउने विश्वास गरिन्छ ।
पहिले–पहिले लामो तथा टाढाको बाटो हुँदै जन्ती जाने प्रचलन रहेको समयमा बाटोमा पर्ने दिदीबहिनी तथा आफन्तहरूले समेत विभिन्न स्थानमा सुरज्याङ राखी जन्तीको स्वागत गर्ने चलन रहेको थियो । यस्तो सुरज्याङमा आफ्नो गच्छे तथा क्षमता अनुसार रकम दिने परम्परा पनि शेर्पा समुदायको पुरानो सामाजिक तथा सांस्कृतिक चलनका रूपमा रहेको पाईन्छ । विशेषगरी टाढाको बाटोमा राखिने सुरज्याङमा जन्तीका लागि चिया, रक्सी, छ्याङ तथा विभिन्न खाजा खुवाउने परम्परा रहेका छ । यसले जन्तीको स्वागत–सत्कार गर्नुका साथै बाटोमा थकाइ मेटाउने र आफन्त तथा समुदायबीच आपसी सद्भाव, आत्मीयता तथा सहयोगको भावना अभिवृद्धि गर्ने सामाजिक परम्परालाई समेत प्रतिबिम्बित गर्दछ । सुरज्याङमा हातमा टकियामा रक्सी,छिमार आदि बोकेर संभव भए सम्म आमा बाबु दुबै भएका कन्यााहरू परम्परागत शेर्पा पोशाकमा राख्ने गरिन्छ ।
शेर्पा समुदायको विवाह संस्कारमा गेलिङ बजाउने विशेष परम्परा रहेको छ । गेलिङ एक प्रकारको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत बाजा हो । विवाहका अवसरमा विशेषगरी जन्ती जाने तयारीको समयदेखि नै गेलिङ बजाउन सुरु गरिन्छ । त्यसैगरी, जन्ती दुलहीको घरमा पुग्ने समयमा, दुलही माग्ने क्रममा तथा दुलही लिएर फर्कने समयमा पनि गेलिङ बजाउने चलन रहेको पाईन्छ । गेलिङ बजाउने व्यक्तिलाई ‘गेलिङबा’ भनिन्छ । गेलिङको धुनले विवाह समारोहलाई उल्लासमय बनाउनुका साथै शेर्पा समुदायको मौलिक सांस्कृतिक पहिचान र परम्परालाई अभिव्यक्त गर्दछ । जन्ती प्रस्थान गर्ने समयदेखि दुलाहीलाई दुलाहाको घरमा भित्राउने कार्य सम्पन्न नभएसम्म दुलाहासँगै एक जना विशेष सहयोगी साथी रहने परम्परा रहेको छ । उक्त सहयोगीलाई ‘क्याल्मी’ भनिन्छ । त्यसैगरी, दुलही पक्षमा पनि एक जना क्याल्मी राख्ने चलन रहेको पाईन्छ । विवाहको विशेष अवसरमा क्याल्मीले दुलाहा तथा दुलहीलाई छाता ओढाउने,आवश्यक सामग्री बोक्ने,पोशाक तथा श्रृङ्कारमा सहयोग गर्ने लगयातका विभिन्न जिम्मेवारी पूरा गर्छन् । यसरी क्याल्मीले विवाहको महत्त्वपूर्ण चरणमा दुलाहा–दुलहीलाई आवश्यक सहयोग तथा संरक्षण प्रदान गर्ने परम्परागत भूमिका निर्वाह गर्दछन् ।

जन्ती दुलहीको घरमा पुगेपछि सर्वप्रथम बहिरा स्वागतको लागि राखिएको सुरज्याङमा ग्रहण गर्दछन र त्यसपछि दुलाही पक्षाको लामाले ज्याम्टा बजाउदै जन्ती बस्नको लागि बनाएको ठाउमा लगेर बसाउने गर्दछन । जहाँ पुजा गर्नको लागि पूजा मण्डल(छोपा),लामा बस्ने ठाउँ,दुलाहा–दुलही बस्ने मण्डप र जन्तीहरू बस्नको लागि व्यवस्था गरिएको हुन्छ । गाउँघर तिरा घरको छिंडी तथा घर नजिकै सानो गोठको व्यवस्था गरि जन्तीलाई राखिन्छ । आफ्नो स्थानमा बसिसकेपछि दुलहीका आमाबुबा आएर सबै जन्तीलाई ‘ईट्रो शोर्गे तोङनु’ गर्ने परम्परा रहेको छ । यस क्रममा केटाका लागि ‘ग्यागर पेन्छेन’ र केटीका लागि ‘मार्सम ज्योतमे’ स्तुति गर्दै छ्याङ तथा अन्य पेय पदार्थ खुवाउने गरिन्छ । यसलाई ‘ङोसी तोड्गु’ अर्थात् परिचय आदान–प्रदान गर्ने परम्परा पनि भन्ने गरिन्छ ।
ङोसी तोड्गुको क्रममा दुलही पक्षले जन्तीमा आएका आफन्त तथा पाहुनाहरूलाई रक्सी, छ्याङ, चिया तथा अन्य परिकारहरू सत्कारपूर्वक खुवाउने गर्दछन् । एक आपसमा ख्याल ठठ्टा र्ने चलन पनि छ । जसलाई शेर्पा भाषमा स्या गेकु पनि भनिन्छ । यसरी टाढाबाट आफ्नो घरसम्म आइपुगेका जन्तीलाई स्वागत, सम्मान तथा आतिथ्यता प्रदान गर्नुका साथै विवाह सम्बन्धी सम्बन्धलाई आत्मीय बनाउने सामाजिक तथा सांस्कृतिक परम्परा शेर्पा समुदायमा रहिआएको पाईन्छ ।
त्यसपछि दुलहाको तर्फबाट दुलहीको माइती पक्षलाई कोसेली राख्ने तथा सम्मान गर्ने परम्परा रहेको छ । दुलाहीको घरमा कोसेली राख्ने र सम्मान गर्नुपर्ने मानिसहरू रोलक्रमा अनुसार मिलेर राखिएको हुन्छ । यस क्रममा दुलाहीका बुबा–आमा, दाजुभाई, ईष्टमित्र तथा अन्य नातेदारहरूलाई उनीहरूको नाता,सम्बन्ध र मर्यादा अनुसार क्रम मिलाएर कोसेली प्रदान गर्ने गरिन्छ । विशेषगरी दुलहाको तर्फबाट दुलहीका बुबा–आमा तथा ईष्टमित्रहरूलाई फेमार, खतक र छ्याङ लगयातका कोसेली राख्ने चलन रहेको छ । यस कार्यलाई कतिपय स्थानमा “दुलाहा देखाउने” पनि भनिन्छ ।

परम्परागत रूपमा कोसेलीमा फेमार, रक्सी र खतकलाई विशेष महत्व दिईन्छ । विगतमा कतिपय स्थानमा एक रूपैयाँ, लारी सिक्का तथा खतकसँगै दुई–चार हात कपडा दिने चलनसमेत रहेको पाईन्छ । विशेषगरी दुलहीका बुबा र आमाका लागि अन्यको तुलनामा विशेष प्रकारको फेमार र खतक राख्ने परम्परा रहेको छ । कतिपय स्थानमा आमालाई सम्मानस्वरूप घिउबाट तयार गरिएको विशेष फेमार राख्ने चलन समेत रहेको पाईन्छ । त्यसैगरी नजिकका दाजुभाई तथा आफन्तहरूलाई पनि फेमार र खतक राख्ने गरिन्छ ।
कोसेली राख्ने तथा सम्मान गर्ने कार्यक्रम सम्पन्न भएपछि दुलाहालाई “सीलज्याङ” खुवाईन्छ र त्यस पछि दुलहाको परम्परागत पोशाक परिवर्तन गरिन्छ । त्यसपछि सामूहिक खानपानको कार्यक्रम सञ्चालन गरिन्छ । साथै, शुभ साईत र समय अनुकूल भएमा दुलाहा र दुलाही बीच टिकाटालो गर्ने परम्परासमेत रहेको पाईन्छ ।
त्यसपछि बेहुलालाई “क्षाज्याङ” खुवाउने परम्परा रहेको छ । क्षाज्याङ खुवाई सकेपछि बेहुलालाई पुनः परम्परागत पोशाक लगाई विशेष रूपमा सिंगारेर मण्डपमा राख्ने गरिन्छ । बेहुला र बेहुलीलाई पूजा मण्डपमा खोर्लो सुम्बा गलैँचामा चामलको गेँडाले स्वस्तिक चिन्ह कोरिएको आसनमा बस्ने व्यवस्था गरेको हुन्छ । त्यसैगरी, बेहुलीलाई पनि विवाहका लागि निर्धारित विशेष पोशाक तथा गहनाले सुसज्जित गरी परम्परागत विधि अनुसार सिंगार्ने चलन रहेको छ ।
बेहुली सिंगार्ने क्रममा बेहुला पक्षबाट गेलिङ बजाउने तथा केही व्यक्तिहरूले सांस्कृतिक गीत गाउँदै बेहुलीलाई बोलाउने परम्परा रहेको छ । बेहुली विवाहको विशेष पोशाक र गहनासाईत तयार भएपछि क्याल्मीले उनलाई छाता ओढाइदिने गरिन्छ । त्यसपछि गेलिङ बजाउँदै र विहेको् गीत गाउँदै बेहुलीलाई बेहुलासँग भेट गराउन लैजाने परम्परा रहेको छ । यस क्रममा स्याप्टो नाचसमेत प्रस्तुत गर्ने सांस्कृतिक चलन रहेको पाईन्छ । बेहुलीलाई स्वागतपूर्वक ल्याउने क्रममा “शून्य कलश (बुमतोङ)” नामक ग्रहको व्यवधान हटाउने उद्देश्यले ध्वजयुक्त भाला (दादर्) तथा कलश लिएर जाने परम्परा रहेको छ । उक्त दादर् र कलश बेहुलीको हातमा प्रदान गरिन्छ ।

त्यसपछि लामाले पूजा मण्डलको अगाडि बेहुला–बेहुलीलाई विधिपूर्वक आसनमा राखी शरणगमन र चित्तोत्पाद साईत इष्टदेवको प्रत्यक्ष आह्वान गरी नमन, पूजन, जप तथा गणचक्र पूजा सम्पन्न गर्ने गरिन्छ । यस विधिमार्फत त्रिरत्नको साक्षीमा विवाह सम्पन्न भएको धार्मिक तथा सांस्कृतिक संकेत गरिन्छ ।
यस अवसरमा विशेष रूपमा सजाइएको आसनमा बेहुला–बेहुलीलाई परम्परागत विवाहको भेषमा बसाइन्छ । त्यसपछि लोक परम्परा अनुसार बेहुला पक्षका अनुभवी व्यक्ति वा खोर्लोवा लामाबाट बाट “मोला” अर्थात् आफ्नो कुल तथा गोत्रको परिचय र प्रस्तुति गर्ने विधि सम्पन्न गरिन्छ । मोलाको क्रममा जन्म दिने आमाप्रति सम्मान र कृतज्ञता प्रकट गर्दै “आमाको जङदर” प्रदान गर्ने परम्परा समेत रहेको छ । आमाको सम्मानस्वरूप प्रदान गरिने यस जङदरमा लामो सेतो कपडाको एक छेउमा केही सिक्का गाँठो पारेर राखी सम्मानपूर्वक प्रदान गर्ने चलन रहेको पाईन्छ ।
दुलाहा र दुलाही दुवै पक्षका परिवारले आफ्नो छोरा र छोरी एक–अर्कालाई सुम्पिएको घोषणा गर्ने धार्मिक तथा सांस्कृतिक कार्यलाई “मोला” भनिन्छ । मोलाको क्रममा दुल्हा र दुलही दुवैको वंशीवली, तीन पुस्ताको नाम तथा थर समेत उल्लेख गरी आजको दिनदेखि वैवाहिक सम्बन्धमा बाँधिएको घोषणा गर्ने परम्परा रहेको छ । त्यसैगरी आफ्नो प्रमुख लामा तथा समाजका प्रमुख व्यक्तिहरूलाई खतक लगाई सम्मान गर्ने परम्परा पनि रहेको र विवाहको साक्षीको रूपमा समाजले प्रमाणित गरेको ठानिन्छ । त्यसपछि लामाले वर वधुलाई देव मण्डलमा सिद्धि (प्रसाद) लिन लगाईन्छ । शिरमा नौनी घिउको टीका लगाई धर्मानुकूलका शुभकामना र मंगलमय उच्चारण गरी आशीर्वाद दिईन्छ । त्यसपछि बेहुलाले बेहुलीलाई टिका लगाई दिने परम्परा रहेको छ । त्यसपछि दुलाहाले पहिले ३ पटक सिन्दुर त्रिरत्न लाई छर्की गरेर आफुले आफ्नो निधारमा तीन पटक सिन्दुर लगाई, त्यसपछि दुलाहीको निधारमा तीन पटक सिन्दुर लगाईदिने चलन रहेको छ । जसलाई शेर्पा भाषामा नमा र मक्पा ग्याङकु ग्यिगु (ग्येङ कुतु) भनिन्छ । शेर्पा समाजमा केल्मी लाई पनि सिन्दुर लगाउने चलन छ ।

दुलाहा र दुलहीको टिकाटालो सम्पन्न भएपछि जन्तीहरू चौंरीको पुच्छर र तरवार हातमा लिई झ्याम्टाको तालमा सांस्कृतिक गीत गाउँदै “एहोक एहोक” भन्दै नाच्ने परम्परा रहेको छ । यस नाचलाई “सिली नाच” भनिन्छ । त्यसैगरी दुलहा–दुलहीको अगाडि गाङ वा कयुङमा छ्याङ् भरेर राख्ने गरिन्छ । उक्त छ्याङ् दुलहा पक्षले दुलाही पक्षलाई खुवाई उपस्थित मान्यजन तथा ज्येष्ठ व्यक्तिहरूबाट आशीर्वाद लिने परम्परा रहेको छ । दुलाहा पक्षले दुलही पक्षका मान्यजनहरूलाई तथा दुलही पक्षले दुलहा पक्षका मान्यजनहरूलाई “याङजी” गर्दै ढोग गरी आशीर्वाद लिने शेर्पा समुदायको महत्त्वपूर्ण सांस्कृतिक परम्परा रहेको छ । यस विधिले दुवै परिवारबीच पारस्परिक सम्मान,आत्मीयता र सम्बन्धलाई अझ प्रगाढ बनाउने सांस्कृतिक अर्थ बोकेको हुन्छ ।

त्यसपछि उपस्थित सबैले प्रसाद ग्रहण गरिसकेपछि सांस्कृतिक गीत गाउने, सामूहिक रूपमा स्याप्टो नाच्ने तथा विभिन्न लोकपरम्परा अनुसार मनोरञ्जन गर्ने गरिन्छ । यसै क्रममा लामाले देवमण्डलसँग सम्बन्धित आवश्यक पूजापाठ तथा धार्मिक विधिहरू सम्पन्न गरिन्छ । राति जन्तीमा सहभागी युवा–युवती तथा अन्य व्यक्तिहरूले गीत,नाच तथा दोहोरी प्रस्तुत गर्दै रमाइलो गर्ने र जाग्राम बसेर विवाह उत्सव मनाउने परम्परा रहेको छ ।
विवाहको अर्को दिन बिहान करिब ३–४ बजेको समयमा दुलहीलाई दुलहाको घरतर्फ लैजाने शुभ साईत निकालिन्छ । शुभ साईतका लागि “सिपा खोर्लो” (भवचक्र) लाई दुलहाको घरतर्फ फर्काएर बाटोमा राख्ने परम्परा रहेको छ । त्यसपछि शुभ साईत अनुसार दुलाहीलाई साथमा लिएर जन्ती दुलहाको घरतर्फ प्रस्थान गर्ने परम्परा रहेको छ । यसरी दुलहीलाई नयाँ घरतर्फ भित्र्याउने प्रक्रिया विवाह संस्कारको एक महत्वपुर्ण चरणका रूपमा सम्पन्न गरिन्छ ।
त्यसपछि भोजन कार्यक्रममार्फत जन्ती तथा आफन्तहरूलाई सत्कार गरी सन्तुष्ट बनाएपछि विवाहका आवश्यक रीतिरिवाज तथा सांस्कृतिक विधिहरू सम्पन्न गरिन्छ । यसपछि जन्ती दुलहीलाई साथमा लिएर दुलहाको घरतर्फ प्रस्थान गर्ने तयारी गरिन्छ । यस क्रममा गाउँलेहरूले “डेन ख्वाउने” परम्परा पनि निर्वाह गर्ने चलन रहेको छ । विशेषगरी “नाङ्पी डेन” तथा सामूहिक डेनमार्फत जन्ती, आफन्त तथा सहभागीहरूलाई सत्कार गर्ने परम्परा रहेको पाईन्छ ।
जन्ती दुलहाको घरतर्फ प्रस्थान गर्नु अघि दुलहा र दुलही दुवैलाई पुनः परम्परागत पोशाक तथा गहनासाईत विशेष रूपमा सिंगार्ने गरिन्छ । दुलहीलाई सिंगार्ने क्रममा गेलिङ बजाउने, दुलही माग्नेसम्बन्धी सांस्कृतिक गीत गाउने तथा केही व्यक्तिहरूले स्याप्टु नाच प्रस्तुत गर्ने परम्परा रहेको छ । दुलही पूर्ण रूपमा तयार भएपछि गेलिङ बजाउँदै, सांस्कृतिक गीत गाउँदै तथा नाच्दै उनलाई दुलहाको छेउमा ल्याएर राख्ने गरिन्छ । त्यसपछि शुभ प्रतीकका रूपमा रहेको बुम्पा (कलश) दुलहालाई हस्तान्तरण गर्ने परम्परा रहेको छ ।
दुलहीलाई बिदाई गर्ने क्रममा दुलही पक्षका परिवार, आफन्त तथा जन्तीहरू घरबाहिर रहेको “सुरज्याङ” तर्फ जाने गरिन्छ । त्यहाँ दुलहीको बिदाई सम्बन्धी आवश्यक विधि सम्पन्न गरिन्छ । दुलही पक्षका परिवार तथा आफन्तहरूले दुलहा–दुलहीलाई खतक लगाई शुभकामना तथा आशीर्वाद दिँदै बिदाई गर्ने परम्परा रहेको छ । यस क्रममा दुलही पक्षले “सुरज्याङ” तयार गरी राख्ने र लामाले त्यसमा आवश्यक छर्की तथा पूजाविधि सम्पन्न गर्ने चलन रहेको छ । सुरज्याङ बोकेर लैजाने व्यक्तिलाई दक्षिणा स्वरूप पैसा दिने परम्परासमेत कतिपय स्थानमा रहेको पाईन्छ ।
यस अवसरमा दुलहा–दुलहीलाई सँगै राखी एकपटक सिन्दुर लगाईदिने चलन पनि कतिपय स्थानमा रहेको छ । त्यसपछि जन्तीहरूले बुकशेल बजाउँदै “याङ–खुग”, “एम्हो” तथा “एहोक–एहोक” जस्ता सांस्कृतिक उद्घोष गर्दै नाचगान गर्ने परम्परा रहेको छ । यसरी गीत, संगीत र नृत्यका साथ दुलहीलाई माइतीघरबाट बिदाई गरी दुलहाको घरतर्फ लैजाने गरिन्छ ।
परम्परागत रूपमा गाउँघरमा शेर्पा समुदायको विवाह संस्कार प्रायः तीन दिनमा सम्पन्न गर्ने चलन रहेको पाईन्छ । पहिलो दिन दुलही लिन जन्ती जाने, दोस्रो दिन दुलहीलाई साथमा लिएर दुलहाको घर फर्कने तथा तेस्रो दिन भोजभतेर, “टासी सोलुप” र “सरो उठाउने” जस्ता धार्मिक तथा सांस्कृतिक विधि सम्पन्न गर्ने परम्परा रहेको छ । विगतमा माइतीघर टाढा पर्ने वा अन्य विशेष परिस्थितिमा विवाहका कार्यक्रम चार–पाँच दिनसम्म पनि सञ्चालन गर्ने गरिन्थ्यो ।
समय, स्थान र सामाजिक परिस्थितिमा आएको परिवर्तनसँगै विवाह संस्कारको अवधि र सञ्चालन शैलीमा पनि परिवर्तन आएको देखिन्छ । विशेषगरी काठमाडौं लगयात सहरी क्षेत्रमा तथा विदेशमा बसोबास गर्ने शेर्पा समुदायमा समयको अभाव र व्यावहारिक परिस्थितिका कारण विवाहका अधिकांश विधि एकै दिनमा सम्पन्न गर्ने प्रचलन बढ्दै गएको छ । यद्यपि, विवाहका मूल धार्मिक तथा सांस्कृतिक परम्परा,आपसी सम्मान, आशीर्वाद, खतक तथा अन्य सांस्कृतिक विधिहरूलाई भने आफ्नो अवस्था र स्थान अनुसार निरन्तरता दिने प्रयास भइरहेको पाईन्छ ।

विवाहको अवसरमा दुलहाको घरको मूल आँगनमा गलैंचा ओछ्याई चोक्चि सजाउने परम्परा रहेको छ । चोक्चिमा पोङमा छ्याङ् तथा टाक्योमा दही, दूध, क्षिमार लगयातका शुभ सामग्री राख्ने गरिन्छ । साथै, वातावरणलाई पवित्र तथा शुभ बनाउन धूप बाल्ने चलन पनि रहेको छ । यी सामग्रीहरूलाई विवाह संस्कारका लागि आवश्यक शुभ तथा धार्मिक प्रतीकका रूपमा लिईन्छ ।
बेहुली पक्षलाई विभिन्न विधि तथा सांस्कृतिक परम्परा अनुसार सम्मानपूर्वक मनाएर बेहुलीलाई साथमा लिएपछि जन्ती दुलहाको घरतर्फ प्रस्थान गर्ने गरिन्छ । यस क्रममा गेलिङ तथा अन्य परम्परागत बाजागाजा सहित गीत गाउँदै, नाच्दै र रमाइलो गर्दै जाने चलन रहेको छ । विगतमा कतिपय स्थानमा बेहुलीलाई बिदाई गरी लैजाने क्रममा बेहुली पक्षका युवा–युवतीहरूले हाँसो–ठट्टा र रमाइलोका क्रममा जन्ती तथा दुलहापक्षका व्यक्तिहरूलाई पीठो लगाईदिने चलनसमेत रहेको पाईन्छ । यस्तो परम्पराले विवाहको वातावरणलाई थप उल्लासमय र मनोरञ्जनपूर्ण बनाउने गर्दछ ।
दुलहीको बिदाई समारोहमा “याङछ्याङ्” गर्ने परम्परा पनि रहेको छ । यस क्रममा दुलही पक्षले जन्तीमध्ये दुई–तीन जना व्यक्तिलाई केही समय रोकेर सम्मानपूर्वक रक्सी वा छ्याङ खुवाउने तथा त्यसपछि बिदाई गर्ने चलन रहेको पाईन्छ । यसलाई दुलही पक्ष र जन्तीबीचको आत्मीयता, सम्मान तथा सद्भाव अभिव्यक्त गर्ने सांस्कृतिक परम्पराका रूपमा लिईन्छ ।
दुलहीलाई बिदाई गर्ने क्रममा प्रस्तुत गरिने “सिली नाच” शेर्पा समुदायको महत्त्वपूर्ण सांस्कृतिक नृत्य हो । परम्परागत मान्यता अनुसार सिली नाचलाई त्रिकुलको प्रतीकात्मक नृत्यका रूपमा समेत लिईन्छ । यस क्रममा मञ्जुश्री, अवलोकितेश्वर र वज्रपाणिसँग सम्बन्धित प्रतीक वा चिन्हहरू हातमा लिएर नृत्य गर्ने परम्परा रहेको उल्लेख पाईन्छ ।
सिली नाचको अर्को महत्त्वपूर्ण सांस्कृतिक पक्ष दुलहीको बिदाईसँग जोडिएको भावनात्मक अभिव्यक्ति हो । परम्परागत रूपमा गाउँका पुर्खाहरूले विकास गरेको मानिने यस नृत्यलाई दुलही बिदाईका बेला माइती पक्षका आमाबुबा, आफन्त तथा परिवारजनमा उत्पन्न हुने भावुकता र मनको खिन्नतालाई केही कम गरी वातावरणलाई हर्षोल्लासपूर्ण बनाउन प्रस्तुत गर्ने गरिन्छ । दुलहा पक्षका व्यक्तिहरूले गीत, संगीत र नृत्यका माध्यमबाट दुलही पक्षलाई खुसी पार्दै बिदाईको भावनात्मक क्षणलाई सहज र उल्लासमय बनाउने उद्देश्यले सिली नाच प्रस्तुत गर्ने परम्परा रहेको छ । यस अर्थमा सिली नाच केवल मनोरञ्जनका लागि गरिने नृत्य नभई दुलहीको बिदाई, पारिवारिक सम्बन्ध र सामाजिक सद्भावसँग जोडिएको महत्त्वपूर्ण सांस्कृतिक अभिव्यक्ति हो ।
दुलाहीको बिदाई सम्पन्न भएपछि जन्तीहरू दुलहीलाई साथमा लिएर दुलहाको घरतर्फ फर्कने परम्परा रहेको छ । दुलही दुलहाको घरमा पुगेपछि विभिन्न स्वागत तथा धार्मिक विधिहरू सम्पन्न गरिन्छ । यस क्रममा “टशिसोलुप” गर्ने परम्परा रहेको छ । टशिसोलुप सम्पन्न भएपछि विवाहका प्रमुख संस्कार तथा विधिहरू पूरा भएको मानिन्छ । त्यसपछि डेन खुवाउने लगयातका आवश्यक परम्परागत विधिहरू सम्पन्न गरिन्छ । सबैलाई डेन खुवाईसकेपछि दुलहीको घरमा “ठोमजाङ” खुवाउने तथा त्यसपछि गीत,संगीत र नाचगान गरी विवाहको उत्सव मनाउने चलन रहेको छ ।
शेर्पा समुदायमा विवाहको निमन्त्रणा प्राप्त गरेपछि विवाह समारोहमा सहभागी हुने र नवविवाहित दुलहा–दुलहीलाई सुखी, समृद्ध तथा सफल वैवाहिक जीवनको शुभकामना दिने परम्परा रहेको छ । विवाहमा सहभागी आफन्त, ईष्टमित्र तथा शुभेच्छुकहरूले दुलहा–दुलहीलाई खतक लगाई सम्मान गर्ने र आफ्नो गच्छे अनुसारको रकम खाममा राखेर उपहारस्वरूप प्रदान गर्ने चलन रहेको छ । यसरी नवदम्पतीलाई आर्थिक सहयोग तथा शुभेच्छा प्रदान गर्ने कार्यलाई “सरो उठाउने” भनिन्छ ।
“सरो उठाउने” परम्परा दुलहा पक्ष र दुलही पक्ष दुवैतर्फ हुने गर्दछ । दुलही पक्षमा पनि छुट्टै रूपमा सरो उठाउने चलन रहेको छ भने विशेषगरी “कर्ता” उठाउने परम्परा समेत रहेको पाईन्छ । कर्ताका रूपमा संकलन गरिएको रकम दुलाहीलाई विवाहपछिको आवश्यक खर्च तथा व्यक्तिगत आवश्यकतामा सहयोग पुर्याउने उद्देश्यले प्रदान गर्ने गरिन्छ । यसले नवविवाहित दुलाहीलाई माइती पक्ष तथा आफन्तबाट आर्थिक तथा सामाजिक साथ–सहयोग प्राप्त हुने भावनालाई अभिव्यक्त गर्दछ ।
दुलहाको घरमा सरो उठाउने कार्य प्रायः टशिसोलुप सम्पन्न भएपछि विवाह संस्कारको अन्तिम चरणतिर गरिने परम्परा रहेको छ । यस क्रममा आफन्त, ईष्टमित्र, गाउँले तथा विवाहमा सहभागी शुभेच्छुकहरूले आफ्नो क्षमता र हैसियतअनुसार आर्थिक सहयोग गर्ने गर्दछन् ।
प्राचीन समयदेखि नै शेर्पा समुदायमा विवाह समारोहमा विभिन्न धार्मिक, सांस्कृतिक तथा सामाजिक विधि सम्पन्न गर्दा ठूलो खर्च हुने भएकाले दुलाहा–दुलहीका परिवारलाई आर्थिक भार कम गर्न आफन्त, ईष्टमित्र तथा गाउँलेहरूले स्वेच्छाले सहयोग गर्ने परम्परा विकसित भएको देखिन्छ । आफ्नो सामर्थ्य अनुसार गरिने यस्तो सहयोग केवल आर्थिक लेनदेनमा सीमित नभई नवदम्पती प्रतिको शुभेच्छा,पारिवारिक आत्मीयता, सामाजिक उत्तरदायित्व र सामुदायिक एकताको अभिव्यक्ति समेत हो । त्यसैले “सरो उठाउने” तथा “कर्ता उठाउने” जस्ता परम्परालाई शेर्पा समुदायको पारस्परिक सहयोग, सद्भाव र सामाजिक सहकार्यलाई मजबुत बनाउने सकारात्मक सांस्कृतिक अभ्यासका रूपमा लिन सकिन्छ ।
दुलाही दुलहाको घरमा पुगेपछि सोही दिन बेलुका अघिल्लो दिन दुलहीको माइतीघरमा गरिए झैं देवमण्डल सजाई आवश्यक पूजापाठ तथा धार्मिक विधि सम्पन्न गर्ने परम्परा रहेको छ । यसपछि विवाहको भोजभतेर आयोजना गरिन्छ । भोजका क्रममा शेर्पा समुदायको परम्परा अनुसार विभिन्न परिकार तथा पेय पदार्थको सत्कार गर्दै गीत, संगीत, नाचगान तथा अन्य सांस्कृतिक मनोरञ्जनका कार्यक्रम सञ्चालन गर्ने गरिन्छ ।

भोलिपल्ट पुनः देवमण्डल सजाई लामाद्वारा स्थानपति तथा कुलदेवदेवीको पूजा गरिन्छ । यस क्रममा साङ (धूपपूजा) तथा सेर्क्येम (हिमतृष्णा) लगयातका पूजाहरू विधिपूर्वक तथा विस्तृत रूपमा सम्पन्न गर्ने परम्परा रहेको छ । विवाहका धार्मिक तथा सांस्कृतिक विधिहरू सम्पन्न भएपछि लामालाई दान–दक्षिणा प्रदान गरी सम्मान गर्ने गरिन्छ । त्यसैगरी, दुलाहीलाई माइतीघरबाट ल्याउन सहयोग गर्ने उनका साथीहरूलाई समेत कृतज्ञता स्वरूप उपहार दिने चलन रहेको पाईन्छ ।
विवाह सम्पन्न भएपछि दुलहाको घरमा विशेष प्रकारको विस्तृत मंगलपूजा गराई घरपरिवारको सुख, शान्ति, समृद्धि तथा शुभलक्षणको कामना गर्ने परम्परा रहेको छ । यस अवसरमा घरका सदस्यहरूलाई सकारात्मक सोच, शुभभावना तथा मंगलमय वातावरणबाट अभिप्रेरित गराउने धार्मिक तथा सांस्कृतिक विधिहरू सम्पन्न गरिन्छ । यसरी विवाहपछि नवविवाहित दम्पती साईत घरपरिवारमा सुखद, शुभ र मंगलमय वातावरण कायम राख्ने प्रयास गरिन्छ ।
परम्परागत रूपमा शेर्पा समुदायमा विवाह सम्पन्न गर्ने प्रक्रिया एउटै दिनको कार्यक्रमसम्म सीमित नभई विभिन्न चरण र विधिबाट अगाडि बढ्ने गरेको पाईन्छ । प्रारम्भमा “टिछ्याङ” दिने, त्यसपछि “देमछ्याङ” पुर्याउने, “क्षयी” पुर्याउने, मूल जन्ती जानुअघि आपसी सरसल्लाहका लागि जाने, विवाहको सम्बन्धमा औपचारिक रूपमा कुरा सोध्न जाने,मूल जन्तीका साथ दुलाही लिन जाने, त्यसपछि “कर्मलोकु” कार्य सम्पन्न गरेपछि विवाह संस्कार पूर्ण भएको मानिने परम्परा रहेको छ । यी विभिन्न चरणले दुई परिवारबीच सम्बन्ध स्थापित गर्ने, सामाजिक सहमति कायम गर्ने तथा वैवाहिक सम्बन्धलाई क्रमशः औपचारिकता दिने महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन् ।
विवाह सम्पन्न भएको केही दिनपछि दुलाहा–दुलही दुलहीको माइती अर्थात् ससुरालीघर जाने परम्परा पनि रहेको छ । यसलाई “कर्मलोकु” वा कतिपय स्थानमा “कर्म लोकु” समेत भनिन्छ । यस अवसरमा दुलाहा–दुलहीले माइती पक्षका परिवारजन तथा आफन्तहरूसँग भेटघाट गर्ने, आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने तथा नयाँ पारिवारिक सम्बन्धलाई आत्मीय बनाउने चलन रहेको छ । यसरी विवाहपछि माइती र दुलहाको घरबीचको सम्बन्धलाई निरन्तरता दिने तथा पारिवारिक आत्मीयता र सामाजिक सद्भाव कायम राख्ने महत्त्वपूर्ण सांस्कृतिक परम्पराका रूपमा कर्मलोकुलाई लिईन्छ ।
शेर्पा समुदायमा विवाह सम्पन्न भएपछि पनि दुलही र माइती पक्षबीचको सम्बन्धलाई निरन्तरता दिने उद्देश्यले केही वर्षसम्म विभिन्न सांस्कृतिक परम्परा पालना गर्ने चलन रहेको पाईन्छ । विशेषगरी विवाह भएको करिब तीन वर्षसम्म दुलहीको माइती पक्षलाई समय–समयमा “केका” अर्थात् कोसेली पुर्याउने परम्परा रहेको उल्लेख पाईन्छ । सामान्यतय तीन वर्षसम्म केका पुर्याउने परम्परा पूरा भएपछि “लारी” गर्ने चलन रहेको छ ।
“लारी” गर्ने अवसरमा माइती पक्षले आफ्नो गच्छे तथा सामर्थ्य अनुसार छोरीलाई दाईजो तथा आवश्यक सामग्रीहरू प्रदान गरी औपचारिक रूपमा बिदाई गर्ने परम्परा रहेको छ । परम्परागत मान्यता अनुसार लारी नगरी छोरीलाई पूर्ण रूपमा बिदाई नगरेमा छोरीको मृत्यु भएपश्चात् माइती पक्षले आवश्यक अन्त्येष्टि तथा गेवा सम्बन्धी सामाजिक दायित्व पूरा गर्नुपर्ने मान्यता रहेको उल्लेख पाईन्छ । त्यसैले लारीलाई छोरीको वैवाहिक जीवनलाई औपचारिक रूपमा स्थापित गर्दै माइती पक्षको जिम्मेवारी पूरा गर्ने महत्त्वपूर्ण सामाजिक तथा सांस्कृतिक विधिका रूपमा लिईन्छ ।
लारी सम्पन्न नभएसम्म छोरीले कहिले माइतीघर र कहिले श्रीमानको घरमा बस्ने चलनसमेत रहेको पाईन्छ । यसले विवाहपछि पनि केही समयसम्म माइती पक्षसँगको सम्बन्ध र आवतजावतलाई निरन्तरता दिने परम्परालाई प्रतिबिम्बित गर्दछ । तर समयसँगै शेर्पा समुदायको सामाजिक, आर्थिक तथा पारिवारिक जीवनशैलीमा आएको परिवर्तनका कारण केका पुर्याउने र लारी गर्ने जस्ता परम्पराहरू पनि क्रमशः कम हुँदै गएको देखिन्छ । विशेषगरी सहरीकरण, वैदेशिक बसाइँसराइ तथा बदलिँदो सामाजिक परिवेशका कारण कतिपय स्थानमा यी परम्पराहरूलाई पुरानो स्वरूपमा नभई समय र परिस्थितिअनुसार सरल रूपमा पालन गर्ने गरिएको पाईन्छ ।
शेर्पा समुदायको विवाह संस्कार समग्र रूपमा समान सांस्कृतिक आधारमा आधारित भए पनि स्थान, क्षेत्र, स्थानीय परम्परा तथा सामाजिक मान्यता अनुसार यसको विधि र अभ्यासमा केही भिन्नता पाईन्छ । भौगोलिक अवस्था, स्थानीय संस्कृति तथा पुस्तौँदेखि चलिआएका परम्पराका कारण विवाह समारोहका विभिन्न चरण, बाजागाजा, कोसेली तथा नृत्य–संगीतमा क्षेत्रगत विविधता देखिन्छ । उदाहरणका रूपमा, सोलुतिर दुलहा–दुलहीबीच टिकाटालो तथा सिन्दुर लगाउने विधि सम्पन्न भएपछि मात्र सिली नाच प्रस्तुत गर्ने चलन रहेको पाईन्छ भने रामेछाप, सिन्धुपाल्चोक र दोलखा क्षेत्रमा भने जन्ती दुलाहीको घरतर्फ जाने क्रममा नै सिली नाच प्रस्तुत गर्दै जाने परम्परा रहेको छ । सोलुखुम्बुको माथिल्लो भेगअन्तर्गत खुम्बु क्षेत्रमा भने विवाहका लागि दुलहाको घरबाट जन्ती प्रस्थान गर्ने समयमा शंख बजाउने विशेष परम्परा रहेको उल्लेख पाईन्छ । यसले विवाह समारोहको शुभारम्भ तथा जन्ती प्रस्थानको धार्मिक–सांस्कृतिक महत्वलाई अभिव्यक्त गर्दछ । यसरी हेर्दा, शेर्पा समुदायमा विवाह संस्कारका मूल धार्मिक तथा सांस्कृतिक मान्यता समान रहे पनि विभिन्न क्षेत्रको स्थानीय संस्कृति, सामाजिक परिवेश र परम्परा अनुसार यसको सञ्चालन विधिमा विविधता पाईन्छ । यस्ता क्षेत्रगत
भिन्नताहरूले शेर्पा समुदायको विवाह संस्कारलाई अझ समृद्ध, जीवन्त र विविधतापूर्ण बनाएका छन् । साथै, यी स्थानीय अभ्यासहरू शेर्पा समुदायको सांस्कृतिक पहिचान र मौलिकताको महत्त्वपूर्ण हिस्सा पनि हुन् ।
शेर्पा समुदायको विवाह संस्कारमा स्थान, क्षेत्र र स्थानीय परम्परा अनुसार केही भिन्नता पाईन्छ । परम्परागत रूपमा विवाहको तयारीदेखि जन्ती प्रस्थान, दुलहीको घरमा पुग्ने समय, टिकाटालो तथा दुलही लिएर फर्कने बेलासम्म बन्दुक पड्कउर विवाहको उत्सव मनाउने चलन कतिपय स्थानमा रहेको थियो । समयको परिवर्तन, कानुनी व्यवस्था र सामाजिक परिवर्तनसँगै नेपालमा यो परम्परा क्रमशः हट्दै गएको देखिन्छ भने सिक्किम र दार्जिलिङतिर अझै प्रचलनमा रहेको पाईन्छ ।
सोलुखुम्बुको खुम्बु क्षेत्रमा भने कतिपय स्थानमा युवक–युवती आपसी सहमतिमा सँगै बस्ने र सन्तान जन्मिएपछि मात्र औपचारिक रूपमा विवाह गर्ने परम्परा पनि रहेको उल्लेख पाईन्छ । यसरी शेर्पा समुदायको विवाह संस्कारका मूल मान्यता समान भए पनि स्थान र स्थानीय सामाजिक परिवेशअनुसार विभिन्न अभ्यास तथा परम्पराहरू प्रचलनमा रहेका छन् ।
खाम ६ प्रकारको हुन्छ
१) सखाम – जमिन
२) क्षुखाम – पानी
३) मेखाम – आगो
४) लुङखाम – हावा
५) शिङखाम – दाउरा
६) च्याखाम – फलाम
विवाहको लागि हुनु पर्ने सामग्री हरू
१) खोर्लो
२) गेलिङ
३) बुकशेल (झ्याम्टा)
४) दादर्
५) बुम्पा
६) डापलाङ
७) याकको पुच्छर
८) तरवार
९) फेमार
१०) पोङ
११) खतक
१२) सिन्दूर
१३) टीकाको घिउ
१४) छाता
बेहुलालाई चाहिने सामग्री
१) पहेंलो क्षुवा
२) विशेष प्रकार टोपी
३) खाराको पटुका
४) दादर्
५) पटुका जति रातो र सेतो कपडा
६) पुर्का
७) डाबलाङ
८) छाता
बेहुलीलाई चाहिने सामग्री
१) अङगी
२) श्याम्जर
३) खाराको पटुका
४) माटिल ग्याब्टिल – दोङटिल
५) काजा
६) सिकोक
७) बेहुलीको विशेष प्रकारको टोपी,
८) विभिन्न प्रकारको ग्येन–क्षा
९) छाता
१०) नामा–माक्पा बस्ने ठाउँमा देन, खोर्लो, सुम्पा ऽ ३ चक्र भएको गलैंचा ।
सिक्किम तथा दार्जिलिङ तिरको शेर्पा विवाह गर्ने चलन
सिक्किम तथा दार्जिलिङ क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायमा विवाह केवल दुई व्यक्तिबीचको सम्बन्ध मात्र नभई दुई परिवार तथा कुटुम्बबीचको सम्बन्ध स्थापित गर्ने महत्त्वपूर्ण सामाजिक तथा सांस्कृतिक संस्कारका रूपमा लिईन्छ । विवाहका विभिन्न चरणमा आफ्नै परम्परा, धार्मिक विधि, सगुन, शुभमुहूर्त तथा पारिवारिक सहमतिलाई विशेष महत्व दिईन्छ ।
शेर्पा समुदायको परम्परागत दस्तुर अनुसार केटी माग्न जाँदा केटपक्षले पोङ लिएर जाने चलन छ । त्यससँगै जोडी बोतल रक्सी पनि लैजाने गरिन्छ, जसलाई स्थानीय शेर्पा भाषामा लोङज्याङ भनिन्छ । कतिपय स्थानमा छायुको पनि उल्लेख पाईन्छ । सिक्किमका एक–दुई स्थानमा छायु प्रयोग गर्ने चलन भए पनि अधिकांश ठाउँमा यसको सट्टामा देमज्याङ लैजाने परम्परा रहेको पाईन्छ । केटीपक्ष अर्थात् बेहुलीका बुबाआमा तथा माइती पक्षले मगनीको कार्यक्रम पूर्ण हुनुअघि केटपक्षको रु, लो र खाम आदिका विषयमा छलफल गर्ने चलन हुन्छ । कुटुम्बेरी चल्ने तथा रु, लो र खामको विषयमा सहमति भएमा केटीका आफन्तले सगुन स्वीकार गर्ने र छोरी दिने सम्बन्ध तय भएको मानिन्छ ।
केटी दिने सहमति भएपछि विवाहको शुभमुहूर्त हेरी अर्को चरणमा टिज्याङ नामको कार्यक्रम मार्फत विवाहको मिति तथा अन्य आवश्यक विषयमा सहमति गर्ने परम्परा छ । केटपक्षले शुभमुहूर्त हेरी जन्ती जाने दिन तय गर्छन् र पुनः टिज्याङमा सो मिति लिएर बेहुलीको घरमा पुग्छन् । बेहुलीको घरपरिवारसँग बसेर छलफल तथा सरसल्लाह
गरेपछि विवाहको मिति अन्तिम रूपमा निश्चित गरिन्छ । त्यसपछि दुवै पक्षका परिवारले आफनो–आफनो परम्परा र जिम्मेवारीअनुसार विवाहको तयारी सुरु गर्छन् ।

विवाहको मुख्य दिन जेन्दीको शुभ मुहूर्त हेरी केटाको घरबाट बेहुलीको घरतर्फ प्रस्थान गर्ने तयारी गरिन्छ । जन्ती हिँड्नुअघि सुर्ज्याङ राख्ने चलन हुन्छ । खोलुपा लामाले त्यस सुर्ज्याङलाई देवी–देवताका नाममा चढाउँदै विवाह शुभ होस्, कुनै बाधा–अड्चन नआओस् भन्ने कामना सहित सानो पूजा तथा धार्मिक विधि सम्पन्न गर्छन् । पूजा सम्पन्न भएपछि बन्दुक पड्कउने चलन पनि रहेको पाईन्छ । बन्दुकको आवाजलाई शुभ संकेतका रूपमा लिईन्छ । त्यसपछि सिलीपा अगाडि लाग्छन् । सिलीपाले दाहिने हातमा तलवार वा देब्रे हातमा चौँरीको पुच्छर बोकी नाच्दै–नाच्दै जन्तीको अगाडि हिँड्ने परम्परा छ । त्यसपछि खोलुपाला, बेहुला र क्रमशः अन्य जन्तीहरू अघि बढ्छन् ।

बेहुलीको घर टाढा भए बाटोमा केही समय विश्राम गरी देवी–देउरालीको पूजा गर्ने चलन पनि छ, जसलाई कतिपय ठाउँमा लाप्चा सोप भनिन्छ । त्यसपछि जन्ती पुनः आफना े गन्तव्यतर्फ अघि बढ्छ । जन्ती फेरि हिँड्दा बन्दुक पड् कउने चलन रहेको र यसको आवाजले बेहुलीको घरमा समेत जन्ती कहाँसम्म आइपुगे भन्ने संकेत दिने विश्वास गरिन्छ ।
जन्ती बेहुलीको घर नजिक पुगेपछि सिधै घरमा प्रवेश गर्ने चलन हुँदैन । बेहुलीको घरभन्दा माथिल्लो बाटोबाट समेत जन्ती जान नहुने परम्परा रहेको पाईन्छ । बेहुलीको घर पुग्नुअघि जन्तीलाई केही दूरीमा रोकेर दुई जना पर्मीलाई अगाडि पठाइन्छ । पर्मीहरूले सगुन लिएर बेहुलीका आमाबुबा समक्ष पुग्छन् र जन्ती आइपुगेको जानकारी दिँदै घरमा प्रवेश गर्ने आदेश माग्छन् । बेहुलीका आमाबुबा तथा आफन्तबाट अनुमति प्राप्त भएपछि पर्मीहरू पुनः जन्ती लिन फर्कन्छन् । बेहुलीको परिवारबाट जन्तीलाई घरमा आउने अनुमति प्राप्त भएको संकेतस्वरूप बेहुलीको घरमा पनि बन्दुक पड्कउने चलन छ। यसलाई जन्तीलाई घरमा स्वागत गर्ने अनुमति प्राप्त भएको शुभ संकेतका रूपमा लिईन्छ ।
जन्ती बेहुलीको घर पुगेपछि त्यहाँ पनि सुर्छयाङ् राखी स्वागत गरिन्छ । लामाद्वारा सुर्ज्याङको पूजा तथा धार्मिक विधि सम्पन्न गरिन्छ र त्यसलाई उपस्थित सबैलाई अलिअलि प्रसाद वा सगुनका रूपमा खुवाउने चलन छ । त्यसपछि जन्तीलाई बसाउने तथा स्याब्डो लगाएर नाचगान गर्ने कार्यक्रम सुरु हुन्छ । बेहुलीको घरमा हुने नाचगानका क्रममा शेर्पा समुदायमा प्रचलित गीत तथा नृत्य प्रस्तुत गरिन्छ । दुई पक्षबीच जुवारीजस्तै प्रश्न–उत्तर शैलीमा गीत गाउने परम्परा पनि हुन्छ । विवाह समारोहलाई रमाइलो, जीवन्त र आकर्षक बनाउने महत्त्वपूर्ण पक्षमध्ये यो एक हो ।
बेहुलीको घरमा सम्पन्न हुने विभिन्न विधिमध्ये अज्याङ स्याङ्दार पनि महत्त्वपूर्ण मानिन्छ । यस क्रममा बेहुलीका मामाहरूलाई विशेष रूपमा राखी सगुन अर्पण गरिन्छ र उनीहरूबाट बेहुली तथा नवविवाहित जोडीका लागि आशीर्वाद लिने चलन हुन्छ । मामापक्षलाई शेर्पा सामाजिक परम्परामा विशेष महत्व दिईने भएकाले यो विधिले पारिवारिक सम्बन्ध र आशीर्वादको सांस्कृतिक अर्थ बोकेको हुन्छ ।
बेहुलीले आमाको दूध खाएको ऋण तथा आमाप्रतिको सम्मान प्रकट गर्ने एउटा महत्त्वपूर्ण परम्परा आमी नुरिम हो। यस क्रममा चाँदीको सिक्का खदामा बाँधेर आमाको हातमा राखिन्छ । यसलाई बेहुलीले आमाको दूधको ऋण तिर्ने र आमाप्रति कृतज्ञता व्यक्त गर्ने सांस्कृतिक प्रतीकका रूपमा लिईन्छ ।
त्यसपछि लामागुरुद्वारा बेहुला र बेहुलीलाई घिउको टीका लगाउने तथा धार्मिक विधि सम्पन्न गर्ने चलन छ । कतिपय स्थानमा नेपाली सांस्कृतिक प्रभाव अनुसार सिन्दूर तथा गहनापात लगाउने चलन पनि देखिन्छ ।

यसै क्रममा बेहुली पक्षका एकजना ज्येष्ठ तथा सम्मानित व्यक्तिले सबैको उपस्थितिमा बेहुलीलाई बेहुलाको जिम्मामा दिने औपचारिक वाचा गर्ने परम्परा रहेको पाईन्छ । बेहुलीलाई एकपटक, दुईपटक र तीनपटक दिने वाचा दोहोर्याइएपछि बन्दुक पड्कउने चलन पनि छ । त्यसपछि बेहुलीलाई उठाएर बिस्तारै घरबाट बाहिर ल्याउने तथा जन्तीसँगै पठाउने विधि अघि बढ्छ ।
बेहुलीको घरमा विवाहका मुख्य कार्यक्रम सम्पन्न भएपछि मूल खा“बामा बाँधेर राखिएको खतक खोल्ने विधि हुन्छ । यो खादा बेहुला पक्षबाट गएका पर्मीहरूले मात्र खोल्ने परम्परा रहेको छ । खादा खोल्नु अघि सगुन राखी बेहुलीको परिवारबाट पुनः आदेश तथा अनुमति लिईन्छ । परिवारबाट अनुमति प्राप्त भएपछि पर्मीहरूले खतक खोल्छन् र त्यसपछि बेहुलीलाई लिएर जन्ती बेहुलाको घरतर्फ प्रस्थान गर्छ ।
शेर्पा विवाह संस्कारमा सिलीपाको भूमिका विशेष र आकर्षक मानिन्छ । सिलीपाले आफनो परम्परागत जातीय पोशाक लगाउने गर्छन् । उक्त पोशाकमाथि दुवैतर्फ रातो कपडा वा रिबन राखी त्यसलाई सेतो कपडाले छोप्ने चलन रहेको पाईन्छ । यसमा रातो रङलाई खतरा, अशुभता वा नकारात्मक शक्तिको संकेतका रूपमा र सेतो रङलाई शान्ति, पवित्रता तथा शुभताको प्रतीकका रूपमा बुझिन्छ । रातोमाथि सेतो कपडा राखिनुलाई नराम्रो माथि राम्रो, अशुभ माथि शुभ र अन्धकार माथि प्रकाशको विजयको प्रतीकका रूपमा व्याख्या गरिन्छ ।

यसरी सिक्किम तथा दार्जिलिङ क्षेत्रमा प्रचलित शेर्पा विवाह संस्कारमा धार्मिक विश्वास, पारिवारिक सहमति, सगुन, शुभमुहूर्त, नाचगान, गीत, पोशाक तथा विभिन्न सांस्कृतिक प्रतीकहरू एकअर्कासँग जोडिएका छन् । विवाहको प्रत्येक चरणले परिवार, कुटुम्ब, देवी–देवता तथा समुदायबीचको सम्बन्धलाई बलियो बनाउने उद्देश्य बोकेको देखिन्छ । यस कारण यो परम्परा केवल विवाह सम्पन्न गर्ने विधि मात्र नभई शेर्पा समुदायको सामाजिक संरचना, धार्मिक विश्वास र सांस्कृतिक पहिचानलाई पुस्तान्तरण गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा रहेको छ ।
औषधी उपचार
शेर्पाहरू बिरामी पर्दा आफ्नै परम्परागत विधि अनुसार औषधोपचार गर्नुका साथै रोग, भूत–प्रेत तथा विभिन्न विघ्नबाधाबाट मुक्ति पाउन धार्मिक विधि र संस्कारहरू अपनाउने गर्दछन् । सरुवा रोग तथा अन्य बाधा–व्यवधान निवारणका लागि पनि धर्मअनुकूल पूजा, पाठ तथा आवश्यक धार्मिक अनुष्ठान गर्ने परम्परा रहेको पाईन्छ ।
त्यसैगरी दीर्घायु, सौभाग्य, ऐश्वर्य तथा सुख–शान्तिका लागि शुभ साईत पारेर विभिन्न धार्मिक कार्य गर्ने चलन छ । दीर्घायुको कामनाका लागि अपरिमितायु देवताको अभिषेक गर्ने,धार्मिक सूत्र तथा ग्रन्थहरूको पाठ गराउने,दान–दक्षिणा दिने र शुभ साईतका लागि डाँडा–पहाडमा मन्क्रयुत्त ध्वजा फहराउने जस्ता धार्मिक विधिहरू गरिन्छन् । यस्ता कार्यबाट प्रतिकूल बाधा–व्यवधानबाट संरक्षण प्राप्त हुने तथा अनुकूल वातावरण,सुख र शान्ति कायम हुने विश्वास गरिन्छ ।
जीवनका विभिन्न अवसरमा पर्व, उत्सव तथा पवित्र तिथि–मिति मनाउने, परिवार तथा आफन्तको संरक्षण र कल्याणका लागि धार्मिक कार्य गर्ने परम्परा पनि शेर्पा समुदायमा रहेको छ । निर्माण,उद्योग यवसाय तथा विकासका कार्यहरू गर्दा समेत धार्मिक तथा सांस्कृतिक परम्परालाई ध्यान दिने गरिन्छ । समय–समयमा पवित्र तिथि र अवसर पारेर पूजा आयोजना गरी वरिष्ठ लामा तथा गुरूहरूबाट स्वास्थ्य, सुख–शान्ति र दीर्घायुको आशीर्वाद लिने प्रचलनसमेत रहेको छ । यसका साथै आयुर्वेदिक चिकित्सकबाट परम्परागत विधि अनुसार विभिन्न प्रकारका उपचार गर्ने चलन पनि पाईन्छ ।
मृत्यु संस्कार
विशेष गरी जीवनको अन्तिम क्षण अर्थात् मृत्युको अवस्थामा शेर्पा समुदायमा विभिन्न धार्मिक तथा सांस्कृतिक विधिहरू पालना गर्ने परम्परा रहेको छ । मृतकको बाह्य श्वास पूर्ण रूपमा बन्द हुनुअघि नै लामागुरुलाई निमन्त्रणा गरी आदर–सत्कार गर्ने गरिन्छ । लामागुरुले मृतकको शान्ति र सद्गतिको कामना गर्दै ईष्टदेवताको मण्डलमा एकाग्रचित्त भई पूजा–प्रार्थना गर्नुहुन्छ ।
मृत्युको आसन्न अवस्थामा रहेको व्यक्तिलाई धार्मिक उपदेश दिई मानसिक शान्ति प्रदान गर्ने, त्रिरत्नमा शरणगमन, बोधिचित्तोत्पाद तथा शील ग्रहण गराउने गरिन्छ । साथै मृत्यु पश्चात्को अन्तराभाव अर्थात् बार्दो अवस्था सम्बन्धी ‘बार्दो थोडोल’ जस्ता धार्मिक ग्रन्थको पाठ सुनाउने परम्परा रहेको छ । यी धार्मिक विधिहरू मार्फत मृतकको चेतनालाई शान्त बनाउँदै सद्गतिको कामना गर्ने गरिन्छ ।
(क्यब्डो (शरणगमन) बुद्धरत्न, धर्मरत्न र संघरत्नको शरणमा जान स्वीकार गर्ने विधि)
–बर्दो अन्तराभव यसलोक र परलोक बीचको संसार । मरण पश्चात् मानिसको भौतिक शरीर त्यागेर अर्को शरीर प्राप्त नहुन्जेलसम्म मानसिक रूपमा बस्नु पर्ने संसार ।
बाह्य सास टुट्न लाग्दा शेर्पा समुदायमा मृतकको धार्मिक तथा आध्यात्मिक शान्तिका लागि विभिन्न विधि अपनाउने परम्परा रहेको छ । यस क्रममा आँखासामु बुद्धको प्रतिमा देखाउने, सेवन मुक्तिको द्रव्य (प्रसाद) मुखमा राखिदिने, वेदना मुक्तिका लागि धूप सुँघाउने तथा स्पर्श मुक्तिका धार्मिक चक्रहरू शरीरमा लगाईदिने गरिन्छ । साथै, शरीरलाई ‘सिंह सुत्ने’ आसनमा मिलाएर राख्ने परम्परा पनि रहेको छ ।

शेर्पा समुदायमा मृत्यू संस्कार बौद्धधर्म ङीङमपा सम्प्रदायको कर्मकाण्ड अनुसार सम्पत्र गरिन्छ । जस अनुसार कसैको मृत्यू हुन साथ सर्वप्रथम मृतकको सिरानिको छेउमा धूप र छ्योमीन बाल्नु पर्दछ । बाह्य सास टुटिसकेपछि तर भित्री सास नटुटेको अवस्थामा मृतकलाई मोक्ष प्राप्तिको कामना गर्दै विशेष धार्मिक उपदेश दिने गरिन्छ । यस क्रममा ‘फोवा’ अर्थात् चेतनालाई उच्च आध्यात्मिक अवस्थातर्फ स्थानान्तरण गराउने धार्मिक विधि सम्पन्न गरिन्छ । यसलाई मृतकको मुक्ति तथा सद्गतिको कामना गर्ने महत्त्वपूर्ण धार्मिक अभ्यासका रूपमा लिईन्छ ।
(फोवा संक्रान्ति मरणासन्न मानिसको विज्ञनलाई शिरको ब्रह्माण्डबाट छिराई सुगतिमा पठाउने तान्त्रिक विधि । मरण संस्कार सम्बन्धि १ नं. मा पनि हेर्नुहोस् ।)
शेर्पा समाजमा कसैको मृत्यू भएमा मृतकको नाताहरू धुप, केम्छयाङ र छोवा (प्रसाद) लिएर मृतकको घरमा जाने प्रचलन छ जसलाई सेम्सो खिरु पनि भनिन्छ । लास संस्कार गरिने दिन पनि सबै नाता कुटुम्ब तथा मित्रहरू जम्मा भै दाह संस्कारको लागि जानु पर्दछ । मृतकको शवलाई छुनुअघि शिन–चि हेर्ने परम्परा रहेको छ । लोर्ता नमिल्ने व्यक्तिले शव छुन नहुने तथा गर्भवती श्रीमतीले समेत शव छुन नहुने मान्यता पाईन्छ । लासलाई संस्कार गर्न तोकिएको स्थानमा लगी धार्मिक विधिबिधान अनुसार पाठपुजा गरि जलाउने चलन छ । शिन–चिको आधारमा शव निकाल्ने दिशा,दिन,बार र समय निर्धारण गरिन्छ । प्रायः औँसी र आईतबारका दिन शव निकाल्न नहुने परम्परा रहेको छ ।
त्यसपछि मृतकको उद्धार तथा पुण्य सञ्चयका लागि ईष्टदेवताको मण्डल सजाई लामागुरुहरूलाई आमन्त्रण गरिन्छ । मृतकको भित्री ताप अर्थात् सास पूर्ण रूपमा समाप्त भएको निश्चित भएपछि शवलाई विधिपूर्वक धोई पवित्र केशरयुक्त जलले स्नान गराइन्छ । त्यसपछि हात जोडेको र गोडा खुम्च्याएको प्रार्थनाको मुद्रामा राखी सेतो कपडाको कफनमा बेरिन्छ र मण्डलको एक छेउमा राखिन्छ । शवलाई जीवित व्यक्तिजस्तै पद्मासनमा राखी पर्दाले ढाक्ने परम्परा पनि रहेको छ । यसपछि त्रिरत्नमा शरणगमन, बोधिचित्तोत्पाद लगयातका धार्मिक विधिसाईत ईष्टदेवताको आह्वान गरिन्छ ।
नमन,पूजा,उपासना,जप,मन्त्रपाठ,पापशोधन,पुण्यपरिणामना तथा प्रणिधानजस्ता विधिहरू सम्पन्न गरिन्छन् । साथै, क्येरिम (उत्पन्नक्रम) र जोगरिम (सम्पन्नक्रम) लगयातका गम्भीर धार्मिक पूजाविधिको पाठ मृतकको सद्गति र उद्धारको कामना गर्दै सकेसम्म धेरै पटक दोहोर्याउने गरिन्छ ।
त्यसको बीच बीचमा उत्पन्न क्रम, र सम्पन्नक्रमको शक्तिको आधारबाट मरणको हंश खिचेर मुर्दामा पसाई स्नान गराई शुद्ध पार्ने,मृतकलाई मनपर्ने खाना दिने, पेय पदार्थ (दूध, दही) आदि पनि दिने गर्दछन् । शबको अगाडि जिउदो मानिसलाई जस्तै पेय पदार्थ (दूध, दही) जान दिए जस्तै राखिन्छ । जसलाई केम्छ्याङ् भनिन्छ । समय अनुकूल हेरी यदि मुर्दालाई तीन दिनसम्म राख्ने भए त्यही अनुसार व्यवस्था गर्नुपर्ने र तीन दिन चार विहान राख्नु पर्छ र चौथों दिनको विहान नेपोर गर्नु पर्छ ।
न्यपोर चाहिँ कुनै ठाउँमा दुई दिनमा र कुनै ठाउँमा तीन रात, चार बिहान अर्थात् स्याक्सुम टोपजीमा गर्छन्, स्याक्सुम टोपजीको दिन गर्ने न्यपोरलाई सुम्पी न्यपोर पनि भनिन्छ । (न्यपोर (स्थानन्तरण) मरेको मृतकलाई यस स्थानबाट बुद्ध भूमिमा स्थानान्तरण गरी पठाइदिने पूजा विधि ।) विधिको पूजा सिद्धिने वित्तिकै शुभ साईत हेरी पञ्चरंगको ध्वजा लिएर स्वागत साथ लासलाई ज्योतिष शास्त्रनुसार कुन दिशामा लाँदा उचित हुन्छ, त्यस दिशा तर्फको घाटमा लगिन्छ ।
शेर्पा समुदायको मृत्यु संस्कारमा ‘मोला’ गर्ने परम्परा पनि महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक विधिका रूपमा रहेको छ । यस क्रममा मृतकका नजिकका आफन्त तथा ईष्टमित्रहरूबाट मूलघरको तर्फबाट सहयोग गर्ने र मृतकको पुण्य तथा सद्गतिको कामनाका लागि ४९ दिनसम्म गरिने पूजा तथा धार्मिक विधिबारे जानकारी गराइन्छ । विवाह संस्कारमा जस्तै मृत्यु संस्कारमा गरिने मोलाले पनि धार्मिक तथा सांस्कृतिक महत्व बोकेको हुन्छ ।

मृतकको दाहसंस्कारका लागि शवयात्रा निकाल्दा ‘लम्तेन लामा’ अर्थात् बाटो देखाउने लामाको महत्त्वपूर्ण भूमिका हुन्छ । यस क्रममा लामाले लामो खतक वा कपडाको एक छेउ हातमा समात्ने र अर्को छेउ शव राखिएको बाकसमा बाँध्ने गरिन्छ । त्यसपछि लामा अगाडि लागेर शवयात्रालाई घाट सम्म डोर्याएर लैजाने गरिन्छ । मृतकको चेतनालाई
सही मार्गतर्फ डोर्याउने धार्मिक विश्वासका कारण यसरी बाटो देखाउने लामालाई ‘लम्तेन लामा’ भनिन्छ ।
लास निकल्दा पहिला शिपा खोर्लो बोकिन्छ साथमा च्याप्दर पनि बोकुनु पर्छ । च्याप्दर पाँच रंगको कपडा द्वारा तयार गर्नु पर्छ । जस्तै
१) निलो रंगको कपडा – आकाश
२) सेतो कपडा – पानी
३) रातो कपडा – आगो
४) हरियो कपडा – दाउरा
५) पहेंलो कपडा – जमिन
यो पाँच रंग पाँच महाभूत संगा सम्बन्धित भएको कुरा प्रचलित छ । त्यस्तै गरी पाँच रंगको कपडा लास माथि पनि क्रमश सजाउँनु पर्छ ।
१) निलो
२) सेतो
३) रातो
४) हरियो
५) पहेंलो मिलाउँनु पर्छ ।
अथवा
• पूर्व दिशाको वज्र कुलकी डाकिनीलाई सेतो रेशमी कपडाले प्रतीकात्मक रूपमा जनाउँछ ।
• दक्षिण दिशाको रत्न कुलकी डाकिनीलाई पहेंलो रेशमी कपडाले प्रतीकात्मक रूपमा जनाउँछ ।
• पश्चिम दिशाको पद्म कुलकी डाकिनीलाई रातो रेशमी कपडाले प्रतीकात्मक रूपमा जनाउँछ ।
• उत्तर दिशाको कर्म कुलकी डाकिनीलाई हरियो रेशमी कपडाले प्रतीकात्मक रूपमा जनाउँछ ।
• केन्द्रमा वैरोचन कुलकी डाकिनीलाई निलो रेशमी कपडाले प्रतीकात्मक रूपमा जनाउँछ ।
एक जाना लामाले लम–चोद पनि गर्नु पर्छ । लास दुर–ठोदमा लैजाँद लामाले गेलिङ,साङ–दुङ, बुकशेल र ङ बजाउँछ । लास लाई पनि विबिपुर्वक सुरज्याङ गर्नुपर्छ । संसार चक्र भनेको संसारको चक्र हो, जसले जन्म, बुढ्यौली, रोग, मृत्यु र पुनः जन्मको चक्रलाई जनाउँछ ।
मृत शरीरलाई दाहसंस्कार वा समाधिस्थलतर्फ लैजाँदा यसलाई बोक्नुको मूख्य अर्थः
• मृत्यु अन्त्य मात्र होइन, संसार चक्रको एउटा भाग हो भन्ने सम्झना गराउनु ।
• मृत व्यक्तिको चेतनाको अर्को जन्म र संसारमा हुने गतिको प्रतीक हुनु ।
• जीवित मानिसहरूलाई पनि मृत्यु र अनित्यताको स्मरण गर्नुपर्ने धार्मिक शिक्षा दिनु ।
• अन्ततः संसारको चक्रबाट मुक्त भई बोधि तथा निर्वाणको मार्गमा लाग्नुपर्ने कुरा जनाउनु ।
• यसका साथै, बितिसकेका सम्पूर्ण मृतात्माहरूलाई बाटोमा कुनै बाधा–अवरोध नआओस् भन्ने उद्देश्यले पनि यसलाई बोकेर लैजाने गरिन्छ भन्ने बुझ्नुपर्छ ।
मृतकको दाहसंस्कारका लागि उपयुक्त धार्मिक विधि अनुसार चित्ता तयार गरिन्छ । शवलाई चित्तामा राखेपछि
लामागुरुहरूद्वारा दागबत्ती दिई यज्ञ तथा जिन्सेकजस्ता धार्मिक विधि सम्पन्न गरिन्छ । लासमा आगो लगाएपछी सबै मलामीहरूलाई पैसा दिईने चलन छ यसलाई “लक्पा रोप्छे” भनिन्छ । मृतकको अन्तिम संस्कारमा सहभागी भई सहयोग गरेपछि मलामीहरूलाई ‘लाक्पा रोप्छे’ अर्थात् दुःख–सास्तीबापत दान–दक्षिणा दिने परम्परा रहेको छ । पहिले–पहिले लाक्पा रोप्छेमा रूपैयाँको सट्टा मलामीहरूलाई नुन बाँड्ने प्रचलन रहेको मानिन्छ ।
दाहसंस्कारपछि मलामीहरू मृतकको घर फर्कँदा घरभित्र पस्नुअघि आँगनमा राखिएको पवित्र जल ठु ले स्नान गरी सुगन्धित जल सेवन गर्ने र धूप सुँघेर शुद्ध भएपछि मात्र घरभित्र प्रवेश गर्ने परम्परा रहेको छ ।
दाहसंस्कारको दुई दिनपछि मृतकका आफन्तहरू एकजना लामासाईत पुनः घाटमा गई पवित्र जल छर्केर ‘रुक्षोग’ (अस्तिविधि) विधि सम्पन्न गर्छन् । त्यसपछि अस्तुहरू संकलन गरी खोलामा विसर्जन गर्ने गरिन्छ । जसलाई थुटी सुम्पु भनिन्छ । कतिपयले आफ्नो गच्छे अनुसार शव जलाएको स्थानमा ‘पुरखाङ’ (शवगृह) निर्माण गरी राख्ने तथा कतिपयले त्यही स्थानमा सामान्य ढुँङ्काहरू मिलाएर पुरखाङको स्वरूपमा स्मारक बनाउने परम्परा पनि रहेको छ । जसलाई कतै च्योरत्यान पनि भन्ने गरिन्छ ।
सुम्पी न्यपोर सम्पन्न भएको बेलुकादेखि मृतकको तेन अर्थात् प्रतिरूप वा आलम्बन स्थापना गरी ४९ दिनसम्म विभिन्न धार्मिक विधि निरन्तर गर्ने परम्परा रहेको छ । मृतकको तेन अर्थात् प्रतिरूपको अगाडि खाने समयमा खाना र मन पर्ने पेया पद्धार्थहरू केम्छ्याङ् राख्ने पनि गरिन्छ । यसरी खानपिन अर्पण गरेर देवी–देवता तथा कुलदेवताप्रति श्रद्धा व्यक्त गर्ने र परिवारको सुख, शान्ति तथा समृद्धिको कामना गर्ने परम्परा रहेको पाईन्छ । नजिकका नाता अफान्त र गाउँलेहरू पनि समय लिाएर पालो पालो गरि केम्छ्याङ् गर्न आउने चलन छ । यस अवधिमा लामागुरु मार्फत ईष्टदेवताको मण्डलबाट बर्दो (अन्तराभव) सम्बन्धी पाठ श्रवण गराउने, धर्मदेशना तथा पापशोधन गर्ने लगयातका शिनक्षोग (मरण पूजाविधि) दैनिक रूपमा गरिन्छ ।
त्यसैगरी प्रत्येक हप्ता ठुक्षोग (स्नान विधि) गरी ईष्टदेवताको पूजा–आराधना गर्ने र गरिब तथा दुःखीहरूलाई दान–दक्षिणा दिने गरिन्छ । यी धार्मिक तथा पुण्यकार्यहरू मृतकको शान्ति, सद्गति र उद्धारको कामनाका लागि गरिन्छन् ।
विहानीपख क्षबतोर (जलार्पण) (छ्याबत्तोर (जलार्पण) लामा गुरुले मृतकको नाममा वा अरू कसैको नाम गरेर शुद्ध पानीकासाथ सात्तु पिठोको गुटिका बनाई प्रेतलाई भोजन दिने पाठ विधि ।)
मृतकको नाममा बेलुकी ‘सुर’ अर्थात् सुगन्धार्पण गर्ने परम्परा रहेको छ । यस क्रममा लामागुरुले सातुको पिठो लगयात विभिन्न सामग्रीबाट परिकार तयार गरी भूत–प्रेत तथा अन्य अदृश्य प्राणीहरूलाई भोजन अर्पण गर्ने धार्मिक विधि सम्पन्न गर्नुहुन्छ । राति ‘च्योद्’ गरी आसक्ति तथा अहंकार नष्ट गर्ने र देव–देवीलाई भोजन अर्पण गर्ने तान्त्रिक परम्परा पनि रहेको छ । यसै क्रममा मृतकको पुण्य सञ्चय र पापावरण शोधनका लागि ‘क्येल्हा’ अर्थात् जन्मदेव मण्डल निर्माण गर्ने लगयातका विभिन्न धार्मिक तथा शुभ कार्य पनि गरिन्छ । यसरी तीन, पाँच वा सात सातासम्म धार्मिक विधि सञ्चालन गरी मृतकको सद्गति तथा शुद्ध भुवनमा प्रवेशको कामना गरिन्छ । संचित पुण्य र लामागुरुहरूको आशीर्वादले मृतकलाई शान्ति तथा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
दिन्जिन गर्ने विधि
प्रत्येक सात दिनमा गरिने पूजालाई ‘दिन्जिन’ भनिन्छ । मृतकको नाममा सातै हप्तासम्म दिन्जिन गर्ने परम्परा रहेको छ । यद्यपि परिवारको आर्थिक तथा अन्य परिस्थिति अनुसार यसको संख्या र विधिमा केही फरक हुन सक्ने गर्दछ ।
गेवा गर्ने अथवा छ्याङ्गा गर्ने विधि
धेरैजसोले ३ सप्ताह वा ३ हप्तामा गेवा वा क्षेङगामा गर्ने गरिन्छ । र कुनैले ४९ को दिन ठूलो पूजा गेवा वा क्षेङगामा गरिन्छ । क्षेङगामा धेरैजसोले शिठो दम्पारिग्य (४२ वटा शान्ति र ५८ क्रोधि) (शिठो दम्पारिग्गय (१०० सय शान्तिक्रोधी) देव देवीको नाम, यसमा ४२ वटा शान्ति स्वभावको देवदेवी र ५८ वटा क्रोधी स्वभावका देवदेवीहरू सम्मिलित भएका हुन्छन् ।) कुलदेवको मण्डल स्थापनागरी पुण्य संचय गर्न जपसाधना, पापावरण शोधन गर्ने, त्यसरी पूजा पाठको अंश राम्ररी पूरा भएको पूजा विधिको पाठसंख्या सय, हजार, दशहजार, लाख आदि आ–आफ्नो मनासय र क्षमता (साधन) अनुसार मृतकको उद्धार होस् भनी पूजा गरिन्छ । त्यसपछि आध्यात्मिक दर्शन (ज्ञान) र भावना विशुद्ध भएको एउटा लामाले मृतकलाई धर्म देशना सुनाउने र अभिषेक दिने आदि वस्तुस्थितिको पूजा विधि (न्यापोर)को माध्यमबाट दिवंगत (मृतक) को हंस (विज्ञन) लाई शुद्ध भुवनमा उद्धार गरिन्छ ।
गेवा वा क्षेङगामा पनि मोला गर्नुपर्छ । (मृतकको नजिकको आफन्तहरू र ईष्टमित्रबाट मूलघरको तर्फबाट मृतकप्रति सहयोग गरेको र पूजा विधिहरू ४९ दिनसम्म पूजा कसरी गरियो भनेर जानकारी दिने प्रचलन छ । त्यसै गरि गेवा वा क्षेङगामा आएका मानिसहरूले आफनो गच्छे अनुसार पैसा पनि हालेर जान्छन । जसलाई टेछ्याङ भनिन्छ ।
(शेर्पा समुदायमा मृत्यु भएको तीन साता, पाँच साता वा सात साता पूरा भएपछि परिवारको अवस्था र अनुकूलता अनुसार ’क्षेङगा’ वा ’गेवा’ गरिन्छ । यो मृतकको नाममा गरिने विशेष पुण्यकर्म हो । यस अवसरमा लामागुरुहरूद्वारा विशेष पूजा, पाठ र धार्मिक विधि सम्पन्न गरिन्छ । संचित पुण्य, धार्मिक अनुष्ठान तथा लामागुरुहरूको आशीर्वादका प्रभावले मृतकको आत्माले शुद्ध भुवन (सुखावती) प्राप्त गरोस् भन्ने कामना गर्दै यो विधि सम्पन्न गरिन्छ ।)
तत्पश्चात (ङोवा (बोधिपरिणामना) आफू र अरूले सञ्चय गरेको पुण्यहरू बोधिज्ञान प्राप्त हुने कारण बनून् भनी गरिने पाठ ।) र सम्यक् प्रणिधानले (मृतक) को हंसलाई शुद्ध भुवनमा छाम्ज्योर (संधि) गर्ने विधि गर्दछ । शेर्पा समुदायमा यस्ता शुभ कार्यका हस्तचिन्ह र त्यस्ता सद्परम्पराहरू अहिलेसम्म पनि प्रत्यक्ष दर्शन गर्न र ब्यवहारमा उतारी संरक्षणगरी रहेकोछ ।
सेम्सो खिरु
सेम्सो खिरु को शाब्दिक अर्थ ‘सान्त्वना दिनु’ हो । परिवारमा मृत्यु भएपछि आफन्त, ईष्टमित्र तथा छिमेकीहरू शोकमा सहभागी हुन मृतकको घरमा जान्छन् । उनीहरूले बत्ती बाल्नका लागि घ्यु, प्रसादका लागि फलफूल तथा आफ्नो श्रद्धाअनुसार नगद रकम लिएर परिवारप्रति समवेदना र सान्त्वना प्रकट गर्छन् । यसरी शोकमा सहभागी भई मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्ने तथा शोकसतप्त परिवारलाई ढाडस दिने परम्परालाई सेम्सो खिरु भनिन्छ ।
केम्छ्याङ् गेङगु
केम्छ्याङ् गेङगु शेर्पा समुदायको मृत्यु संस्कारको महत्त्वपूर्ण परम्परा हो । यस क्रममा मृतकको लास वा दाहसंस्कारपछि तयार गरिएको मृतकको तेन (प्रतिरूप) को अगाडि आफन्त, ईष्टमित्र तथा छिमेकीहरूले पेय पदार्थ, फलफूल तथा अन्य श्रद्धा सामग्री अर्पण गरी मृतकप्रति सम्मान व्यक्त गर्छन् । यसरी मृतकको स्मृतिमा श्रद्धा प्रकट गर्ने, सम्मान अर्पण गर्ने तथा परिवारप्रति ऐक्यबद्धता जनाउने धार्मिक–सांस्कृतिक विििधलाई केम्छ्याङ् गेङगु भनिन्छ ।
च्यब्तर लोङगु
च्यब्तर लोङगु शेर्पा समुदायको मृत्यु संस्कारमा शवयात्राका क्रममा गरिने महत्त्वपूर्ण धार्मिक परम्परा ह ो । मृतकको दाहसंस्कारका लागि शवयात्रा लैजाँदा मलामीहरूको अगाडि निलो, सेतो, रातो, हरियो र पँहेलो गरी पाँच रङका
ध्वजाहरू लामबद्ध रूपमा बोकेर हिँड्ने चलन छ । यी पाँच रङ बुद्धका पाँच ज्ञान तथा पञ्चतत्वका प्रतीक मानिन्छन् । यसरी पञ्चरङ्की ध्वजा अगाडि राखी शवयात्रा सञ्चालन गर्ने परम्परालाई च्यब्तर लोडगु भनिन्छ ।
झिन्सक लुकु
झिन्सक लुकु मृतकको दाहसंस्कारपछि गरिने धार्मिक अनुष्ठान हो । मृतदेहमा अग्नि प्रज्वलन गरेपछि मृतकका पाप तथा अशुद्ध कर्महरूको शोधन होस् भन्ने उद्देश्यले लामागुरुहरूले सामूहिक रूपमा विशेष यज्ञ तथा पूजाविधि सम्पन्न गर्छन् । यस धार्मिक अनुष्ठानलाई झिन्सक लुकु भनिन्छ । यसले मृतकको आत्माको कल्याण तथा सुगतिप्राप्तिका लागि पुण्य सञ्चय हुने धार्मिक विश्वास रहेको छ ।
छपर ग्यक्कु
छपर ग्यक्कु मृतकको अस्तु (धातु) सँग सम्बन्धित धार्मिक परम्परा हो । दाहसंस्कारपछि संकलन गरिएको अस्तु धातुलाई धुलो बनाई सफा तथा शुद्ध माटसँग मिसाएर लेदो तयार गरिन्छ । त्यसपछि उक्त लेदो साना स्तूपा (चैत्य) को ढाँचामा राखी चैत्य निर्माण गरिन्छ । निर्माण गरिएको चैत्यमा लामागुरुबाट रब्ने (प्राणप्रतिष्ठा) सम्पन्न गरिन्छ । त्यसपछि ती चैत्यहरू अग्लो, सफा तथा गुम्बा वा धार्मिक स्थलको वरिपरि स्थापना गरिन्छ । यस सम्पूर्ण प्रक्रियालाई छपर ग्यकु भनिन्छ ।
क्येल्हा श्येङगु
क्येल्हा श्येङगु मृतकको सुगति प्राप्ति तथा शुभ पुनर्जन्मको कामनासँग सम्बन्धित धार्मिक परम्परा हो । ज्योतिषशास्त्र तथा धार्मिक विधि अनुसार मृतकको नाममा उपयुक्त बुद्ध, बोधिसत्त्व वा संरक्षक देवताको मूर्ति अथवा थान्का निर्माण गरिन्छ । त्यसपछि लामागुरुबाट उक्त मूर्ति वा थान्कामा रब्ने (प्राणप्रतिष्ठा) सम्पन्न गरी पूजा–आराधना गरिन्छ । यसरी प्राणप्रतिष्ठा गरिएको मूर्ति वा थान्का स्थापना गर्दा मृतकले सुगति प्राप्त गरी शुभ लोकमा पुनर्जन्म लिने विश्वास गरिन्छ । यस धार्मिक प्रक्रियालाई क्येल्हा श्येङगु भनिन्छ ।
टेछ्याङ (दुसोक)
शेर्पा समुदायमा छेङ्का (गेवा) को अवसरमा मृतकका नातागोता, ईष्टमित्र, छरछिमेकी तथा गाउँलेहरू आर्थिक सहयोगका लागि स्वेच्छाले रकम संकलन गर्ने परम्परा छ । यस सामूहिक आर्थिक सहयोगलाई टेछ्याङ भनिन्छ । केही स्थानमा यसलाई दुसा भनेर पनि चिनिन्छ ।
मृत्यु संस्कार सम्पन्न गर्न विभिन्न धार्मिक अनुष्ठान, पाहुनाको सत्कार तथा अन्य व्यवस्थापनका कारण परिवारमा ठूलो आर्थिक भार पर्ने भएकाले शेर्पा समुदायमा प्राचीनकालदेखि नै यस प्रकारको पारस्परिक सहयोगको परम्परा विकसित भएको हो । टेछ्याङ मार्फत सङ्कलित रकम मृतकको परिवारलाई हस्तान्तरण गरिन्छ, जसले उनीहरूको आर्थिक भार कम गर्न सहयोग पुर्याउँछ । यो परम्पराले शेर्पा समुदायमा रहेको आपसी सद्भाव, सहकार्य र सामाजिक एकताको भावनालाई समेत प्रतिबिम्बित गर्दछ ।
वार्षिक पूजा लमज्यु गर्ने विधि
कसैले ३ वर्षसम्म र कुनैले ५ वर्षसम्म र आर्थिक सम्पन्न व्यक्तिले प्रत्येक वर्ष वार्षिक पूजा लम्ज्यु गरिन्छ । वार्षिक पूजा लम्ज्युमा पनि नाता अफान्त,साथी भाई ईष्टमित्रहरूलाई बोलाई मृतकको सम्झनामा भोजन गराउने,चिया,पानी,जुस खुाउने र प्रशाद ग्रहण गराउने पनि गरिन्छ ।
विभिन्न स्रोत हरू
• शेर्पाहरूको ईतिहास र वंशावली,
• थोडोल क्षेन्मो,
• भोट ईतिहास,
• विभिन्न गुरु हरूको मुखविर बाट श्रवाण गरेको केही कुरको अंश,
• विभिन्न मराण संस्कार भोट भाषामा भएको इत्यादि ।
लेखकको संक्षिप्त परिचय

नाम : डाक्टर युल्हा शेर्पा
जन्म मिति: ३ अक्टोबर १९६६
बाल्यकालमा ब्राग शिनतोक गुम्बामा प्रारम्भिक अध्ययन गर्नुभयो । सन् १९८१ मा नेपालस्थित पाल शेचेन तेन्नी दार्ग्येलिङ गुम्बामा बौद्ध अध्ययन गर्नुभयो । सन् १९९० देखि २००५ सम्म भारतको वाराणसीमा उच्च शिक्षा तथा अनुसन्धानमा संलग्न रहनुभयो ।
सन् २००६ देखि २००७ सम्म नेपाल सरकारअन्तर्गत गुम्बा विकास समितिमा सदस्यको रूपमा कार्य गर्नुभयो । सन् २००३ देखि नेपाल ञिङ्मा संघको अध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो र नेपाल बौद्ध महासंघको स्थापना कार्यमा पनि योगदान दिनुभयो ।
सन् २००८ देखि अमेरिकाको न्युयोर्कमा छेचु पूजा तथा धार्मिक गतिविधिहरूको नेतृत्व गर्दै आउनुभएको छ । सन् २०१३ देखि उत्तर अमेरिकी ञिङ्मा संघमा विभिन्न जिम्मेवारी निर्वाह गर्नुभयो । सन् २०१७ देखि उत्तर अमेरिकी ञिङ्मा संघको अध्यक्षको रूपमा सेवा गर्दै आउनुभएको छ ।
हाल अमेरिकामा विभिन्न स्थानमा आवतजावत गर्दै धार्मिक तथा सामाजिक सेवामा सक्रिय जीवन बिताई रहनुभएको छ ।
लेख विश्व शेर्पा संघ द्वारा प्रकाशित ‘शेर्पा सम्पदा’ पुस्तक बाट साभार गरिएको हो
