१. परिचय र पृष्ठभूमि
🖎आचार्य सार्की शेर्पा, सदस्य, परम्परागत शिक्षा समन्वय समिति: विश्वका विभिन्न मानव समुदाय र सभ्यताहरूमा आफ्ना भावना, आदर, श्रद्धा र मङ्गलकामना व्यक्त गर्ने अनुपम तरिकाहरू छन् । तीमध्ये विशेषगरी हिमाली सभ्यता र बौद्ध दर्शनमा आधारित समाजहरूमा प्रचलित ‘खताग’ (खताक / खदर) अर्पण गर्ने परम्परा सबैभन्दा विशिष्ट, जीवन्त र अर्थपूर्ण सांस्कृतिक अभ्यास मानिन्छ । खताग शब्द भोट भाषाको शब्दबाट आएको हो, जसको अर्थ ‘सेतो, शुद्ध कपडा बाँध्नु’ भन्ने बुझिन्छ। खताग मूलतः रेशम, कपास वा ऊनबाट तयार पारिएको एक प्रकारको विशेष र पवित्र कपडा ( स्कार्फ ) हो, जसलाई धार्मिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक उत्सवहरूमा शुभ सङ्केत र आदरको सर्वोच्च प्रतीकका रूपमा प्रयोग गरिन्छ ।

विश्वमा रहेका हिमाली बौद्ध समुदाय तथा नेपाल, भारत, भूटान, चीन, मङ्गोलिया लगायतका हिमाली तथा बौद्ध क्षेत्रका जनसमुदायहरूले यसलाई आफ्नो पहिचान र जीवन पद्धतिको अभिन्न अङ्ग बनाएका छन् । जन्मदेखि मृत्युसम्मका हरेक साना ठुला गतिविधिहरूमा खतागको प्रयोग अनिवार्य रहन्छ। खतागले केवल एक भौतिक वस्त्रको रूपमा मात्र काम गर्दैन, बरु यसले अर्पण गर्ने व्यक्तिको निष्कपट हृदय, शुद्ध अध्याशय, करुणा र मैत्रीपूर्ण भावनालाई समेत प्रतिनिधित्व गर्दछ। वर्तमान समयमा यसको महत्ता र स्वीकार्यता केवल बौद्ध वा हिमाली समुदायमा मात्र सीमित नरहेर विश्वव्यापी रूपमा फैलँदै गइरहेको छ ।

२. ऐतिहासिक उत्पत्ति र विकासक्रम
खतागको ऐतिहासिक उत्पत्तिको विषयमा इतिहासकार, संस्कृतिविद् र धार्मिक विद्वानहरूका बिच विभिन्न मत र धारणाहरू पाइन्छन् । यसको विकासक्रमलाई बुझ्न विशेषगरी तीनओटा ऐतिहासिक तथा सांस्कृतिक दृष्टिकोणहरूलाई अध्ययन गर्नुपर्ने हुन्छ :

क) चिनियाँ राजवंश र रेशम परम्परासँगको सम्बन्ध एक पुरानो मान्यता अनुसार, खतागको सुरुआत चीनको हान राजवंश (२०६-२२० ई.पू.) वा पछि छिङ राजवंशको कालखण्डमा भएको मानिन्छ । प्राचीन कालमा चिनियाँ र मङ्गोलियन संस्कृतिमा विशिष्ट अतिथि वा छिमेकी राज्यका प्रतिनिधिहरूलाई मित्रता र सम्मानको प्रतीक स्वरूप बहुमूल्य रेशमी कपडा उपहार दिने परम्परा थियो । चिनियाँ राजदूतहरूले तिब्बती नरेश, धार्मिक गुरु तथा राजनीतिक नेताहरूलाई भेट्दा मित्रता प्रगाढ बनाउन रेशमी स्कार्फ चढाउने गर्दथे । यही परम्परा क्रमशः परिमार्जित हुँदै बौद्ध धर्मको प्रभावसँगै खतागको रूपमा विकसित भएको कतिपय इतिहासकारहरूको मत रहेको छ ।

ख) तिब्बतको रैथाने सन्तति र त्र्येठी चेन्पोको कालखण्ड अर्को र सबैभन्दा विश्वसनीय रैथाने मान्यता अनुसार, खतागको इतिहास तिब्बतको प्राक् बौद्ध काल अर्थात् बोन संस्कृति र तिब्बतका पहिलो राजा ज्येठी चेन्पो ( १२६ ई. पू.) को समयसँग जोडिन्छ । प्राचीन हिमाली घुमन्ते समाजमा कपास वा रेशमको उपलब्धता थिएन । त्यतिबेला स्थानीय पर्यावरण र स्रोतका रूपमा भेडाको कच्चा ऊन र जनावरको छाला मात्र उपलब्ध हुन्थ्यो । जब राजा ञ्येठी चेन्पोलाई गद्दीमा आसीन गराइयो, तब रैथाने प्रजाहरूले आफ्नो असीम खुसी, निष्ठा र सम्मान व्यक्त गर्नका लागि पहाडका टाकुराहरूमा रहेका रुखहरूलाई सेतो ऊनले सजाएका थिए । साथै, शुभ लक्षण दर्शाउनका लागि सेतो पिठो (जौं, गहुँ आदि अन्नको चाम्पा ) वा सेतो ऊनको झुप्पा काँधमाथि राख्ने र सेतो पिठोले पवित्र रेखाहरू तान्ने रैथाने परम्परा थियो । यही सेतो ऊनको टुक्रा वा धार नै कालान्तरमा विकसित भएर आधुनिक खतागको रूपमा स्थापित हुन पुगेको प्राप्ट देखिन्छ ।

ग) भाषिक रूपान्तरण र नामकरण प्राचीन समयमा सेतो ऊनबाट बनाइएका स्कार्फहरूलाई (धार) भनिन्थ्यो । पछि ती धारहरूलाई आकर्षक र व्यवस्थित बनाउनका लागि त्यसको अन्त्यमा ‘खा- त्सार’ अर्थात् दुईतर्फी झुम्का (झालर) बनाउन थालियो । यही विशेषताका कारण यसलाई ‘खा-धार’ भन्न थालियो । चिनियाँ र तिब्बती भाषाहरूको संमिश्रण र स्थानीय उच्चारणको विकाससँगै ‘खा’ (जसको अर्थ मुखबाट वाचन गरिने शुभ वचन वा आकार पनि हुन्छ) र ‘ताग’ (जसको अर्थ घाँटी वा हातमा झुन्ड्याउनु वा बाँध्नु हुन्छ) मिलेर ‘ खताग’ शब्दको उत्पत्ति भयो ।

समाजको विकासक्रमसँगै भेडाको ऊनबाट बनेको प्रारम्भिक ‘सुरशी’ (चार कुना भएको कपास वा ऊनको कपडा) बिस्तारै परिष्कृत हुँदै आजको आधुनिक रेशमी अशे, ञिमो देलेग र नाम्चु वाङ्देन जस्ता बहुमूल्य र बुट्टेदार खतागको रूपमा रूपान्तरित भएको हो । ऐतिहासिक मत भिन्नताहरू रहेता पनि, तिब्बतको रैथाने भूमिमा सेतो ऊन र पिठोबाट सुरु भएको माङ्गलिक परम्परा नै पछि दर्शनको शुद्ध अध्याशय करुणा र मैत्रीपूर्ण भावनाको सिद्धान्तसँग समाहित भई वर्तमान स्वरूपमा आएको मत सबैभन्दा न्यायसङ्ग देखिन्छ ।

३. खतागका प्रकार, रङ्ग, चिह्न र सामग्री
खतागहरू विभिन्न प्रकारका सामग्री, रङ्ग, आकार र धार्मिक चिह्नहरूका आधारमा वर्गीकरण गरिएका हुन्छन् । बजारमा र व्यवहारमा पाइने खतागहरूको संरचना निकै विशिष्ट हुन्छ : क) गुणस्तर र सामग्रीका आधारमा वर्गीकरण
१. पुरातन खतागः यो भेडा वा चौरीको शुद्ध ऊनबाट बन्ने प्राचीन प्रकारको खताग हो । हाल यो कतिपय दुर्गम हिमाली क्षेत्र र विशेष परम्परागत पूजाआजामा मात्र सीमित रूपमा प्रयोग गरिन्छ । २. सुब्छ्यी खताग: साधारण कपास वा सुती कपडाबाट बन्ने यस खतागको अर्थ ‘चार कुना मिलेको ‘ भन्ने हुन्छ । यो विशेषगरी दैनिक प्रयोग, श्रमदान वा सामान्य सामाजिक भेटघाटमा उपयोग गरिन्छ ।
३. अशे खतागः सामान्य तथा उच्च-स्तरीय रेशम (सिल्क) बाट बन्ने यो खतागमा सम्भोट लिपिमा ‘टासी देलेग’ (शुभकमना) जस्ता मगल सूचक शब्द र चिह्नहरू बुनिएका हुन्छन् ।
४. जिन्मो देलेग खतागः यस खादामा अष्ट मङ्गलका चिह्नहरूका साथै सम्भोट लिपिमा “दिन, रात र मध्याह्न सधैँ मङ्गलमय होस्, त्रिरत्न (बुद्ध, धर्म र सङ्घ) को कृपाले सधैं कल्याण होस्, भन्ने शुभकामना शब्द लेखिएको हुन्छ ।
५. नाम्चु वाड्देन खतागः यस खादाको बीचमा ‘नाम्चु वादेन’ (दश शक्तिशाली अक्षर अर्थात् कालचक्रको प्रतीक)को महामन्त्र अंकित हुन्छ । यसको दायाँ बायाँ अष्टमङ्गलका चिह्नहरूका साथै ‘ञिन्मो देलेग’ खतागमा जस्तै शुभप्रार्थनाका हरफहरू लेखिएका हुन्छन् ।
ख) रङ्ग र तिनीहरूको दार्शनिक प्रतीक
परम्परागत रूपमा खताग प्रायः सेतो रङ्गको गर्दछ । समाजमा सामान्यतया सेतो रङ्गकै खताग प्रयोग गर्नुपर्छ भन्ने बलियो मान्यता रहिआएको छ । तर बौद्ध वज्रयान दर्शन र हिमाली संस्कृतिमा पाँच फरक फरक रङ्गका खतागहरूको विशेष महत्त्व छ । यी रङ्गहरूले ब्रह्माण्डका पाँच तत्त्व (पञ्चमहाभूत) र बुद्धका पाँच कुल (पञ्चबुद्ध) लाई सङ्केत गर्दछन्ः

नितोः निलो रङ्गले विशाल आकाश र अनन्ततालाई सङ्केत गर्दछ । मङ्गोलियन संस्कृतिमा निलो खतागलाई शक्ति र सामर्थ्यको सर्वोच्च प्रतीक मानिन्छ । १२ औँ शताब्दीमा मङ्गोल साम्राज्यको विस्तारसँगै यो रङ्गको खताग तिब्बती र हिमाली संस्कृतिमा पनि भित्रियो । यसले मानवको सफलता आकाश जस्तै उच्च र अनन्त होस् भन्ने कामना व्यक्त गर्दछ ।

सेतोः यो खतागको आधारभूत र सबैभन्दा बढी प्रयोग हुने रङ्ग हो । हिउँजस्तै सेतो यो रङ्गले चित्तको शुद्धता, निष्कपटता, शान्ति, सद्भाव र मैत्रीपूर्ण भावनालाई सङ्केत गर्दछ । धार्मिक दृष्टिले यो ‘शान्त लीला’ वा शान्त कर्मको प्रतीक हो ।

रातोः रातो रङ्गले वज्रयान बौद्ध धर्ममा शक्ति, वशीकरण र अनुरागलाई सङ्केत गर्दछ । यो मुख्य गरी ‘अभिषेक लीला’ वा विशेष तान्त्रिक अनुष्ठानहरू र संरक्षण गर्ने धर्मपाल देवी-देवताहरूको प्रयोग गरिन्छ ।

हरियो : हरियो रङ्गले प्रकृति, जीवन, र कर्मको पूर्णतालाई दर्शाउँछ । यो ‘उग्र लीला’ वा अमोधसिद्धि बुद्धको कर्म क्षेत्रसँग सम्बन्धित छ, जसले विघ्न-बाधाहरूको नाश र कार्य सफलताको शुभ सङ्केत गराउँछ ।

पहेँलो: पहेँलो रङ्ग बुद्ध शासन, आध्यात्मिक ज्ञान र विद्वताको प्रतीक हो । यो खताग मुख्य गरी उच्च लामा गुरुहरू, बुद्धका मूर्तिहरू र गोन्पाका प्रमुख देवी-देवताहरूलाई विशेष अर्पणको रूपमा चढाइन्छ। यसले ‘विजय लीला’ वा समृद्धि र वृद्धि कर्मलाई जनाउँछ ।
पाँच-रङ्गी खतागः विशेष धार्मिक अनुष्ठान, लोसार (नयाँ वर्ष) र उच्च तान्त्रिक पूजाहरूमा निलो, सेतो, रातो, हरियो र पहेँलो रङ्ग लहरै मिलाएर बनाइएको पाँच रङ्गी खताग प्रयोग गरिन्छ, जसले ब्रह्माण्डको सन्तुलन र पञ्चबुद्धको प्रत्यक्ष आशीर्वादलाई प्रतिनिधित्व गर्दछ ।

ग) खतागमा अङ्कित चिह्न र अक्षरहरू
आधुनिक रेशमी खतागहरूमा विभिन्न प्रकारका पवित्र धार्मिक चिह्न र अक्षरहरू लेखिएका हुन्छन्, जसले खतागको आध्यात्मिक मूल्यलाई अझ बढाउँछन्ः
१. अष्टमङ्गल (आठ शुभ चिह्न : खतागमा छत्र (छाता), स्वर्ण मत्स्य (सुनको माछा), कलश (अमृत पूर्ण कलश), पद्म (कमलको फूल), शङ्ख (दक्षिणावर्ती शङ्ख) श्रीवत्स (अनन्त गाँठो), ध्वज (विजय पताका), र चक्र (धर्मचक्र) अङ्कित हुन्छन् । यी चिह्नहरूले व्यक्तिको जीवनमा अष्टमङ्गलको उदय होस् भन्ने कामना गर्दछन् ।

२. सात राज्य रत्न : चक्ररत्न, मणिरत्न, स्त्रीरत्न, हस्तिरत्न, अश्वरत्न, गृहपतिरत्न (वा सेनापतिरत्न) जस्ता चक्रवर्ती राजाका सात रत्नहरू पनि कतिपय विशिष्ट खतागमा अङ्कित हुन्छन् ।

३. मङ्गत चिह्न र अक्षरहरू: खतागको बिच वा किनारमा सम्भोट लिपिमा ীसुसुहास (मङ्गलं सुखं सर्वसम्पूर्णम् ।) शुभमङ्गल र समृद्धि होस्, जस्ता मङ्गलकामना लेखिएका हुन्छन् । ठुला र लामा खतागहरूमा मङ्गल तथा प्रार्थनास्वरूप देव བདེ་ལེགས་མཚན་བདེ་ལེགས།། ཉི་མའི་གུང་ཡང་བདེ་ལེགས་ཤིང་། །ཉིན་མཚན་རྟག་ཏུ་བདེ་ལེགས་པ།། དཀོན་  | दिनं मङ्गलमयं भूयात्, रात्रिर्मङ्गलमयैव च । मध्यान्होऽपि मङ्गलः स्यात्, त्रिरत्नैः मङ्गलं भवेत् ।। अर्थात् दिन, रात र मध्याह्न सधैँ मङ्गलमय होस्, त्रिरत्न (बुद्ध, धर्म र सङ्घ) को कृपाले सधैँ मङ्गल होस् । साथै, केही विशेष खतागहरूमा (दश अक्षर विशिष्ट कालचक्र मन्त्र चिह्न) समेत लेखिएको हुन्छ, जसले नकारात्मक ऊर्जालाई नाश गरी जीवनमा सकारात्मकता प्रवाह गर्ने जनविश्वास रहिआएको छ ।
४. खतागमा हुनुपर्ने गुणहरू र यसको सांकेतिक अर्थ
सांस्कृतिक र धार्मिक मान्यता अनुसार, खताग जथाभाबी वा गुणस्तरहीन हुनु हुँदैन । आदर र मङ्गल कामना व्यक्त गरिने वस्तु भएकाले यसमा केही अनिवार्य गुणहरू हुनु आवश्यक मानिन्छः
क) खतागमा हुनुपर्ने भौतिक तथा आध्यात्मिक गुणहरू
शुद्धता र सफापनाः खताग पूर्ण रूपमा सफा, दाग, धब्बा रहित र पवित्र हुनुपर्दछ । कालो फोहोर वा मैला लागेको खताग अर्पण गर्नुलाई अपमान र अशुभ मानिन्छ ।
अखण्डताः खताग कतैबाट च्यातिएको, फाटेको, धागो उत्रिएको वा काटिएको हुनु हुँदैन । अक्षत र सग्लो खतागले नै पूर्णताको सङ्केत गर्दछ ।
फेद र टुप्पोको सन्तुलनः खतागको दुवै किनारा ( झलझली परेको भाग) र लम्बाइ समान हुनुपर्दछ । विशेषगरी मङ्गल कामनाका शब्दहरू लेखिएका खतागहरू लामो र स्पष्ट अक्षर देखिने हुनुपर्छ ।
ख) खतागको दार्शनिक र सामाजिक सङ्केत
खतागले मानव जीवन र सम्बन्धका विभिन्न आयामहरूलाई अत्यन्तै गहन ढङ्गले सङ्केत गर्दछः
अटुट सम्बन्धको प्रतीकः खतागको लम्बाइले दुई व्यक्तिबिचको सम्बन्ध, माया र सद्भाव पानीको अविरल धारा भन्दा पनि लामो र स्थायी रहने सङ्केत गर्दछ ।
समानताको भावनाः सेतो रङ्गको खताग उच्च निच, धनी गरिब सबैले समान रूपमा प्रयोग गर्न सक्ने भएकाले यसले बौद्ध दर्शनको समतामूलक समाजको परिकल्पनालाई साकार पार्छ ।
शुद्ध अध्याशय (महान् उद्देश्य): खताग चढाउने व्यक्तिको मनमा कुनै पनि छल कपट, स्वार्थ वा कुटिल भावना छैन, बरु ऊ शुद्ध र निष्कपट हृदयले अर्को व्यक्तिको हित चाहन्छ भन्ने कुराको प्रमाण खताग हो ।
५. स्थान र परिस्थिति अनुसार खतागका विभिन्न नामहरू
नेपाली तथा विश्वका हिमाली बौद्धमार्गी जनसमाजमा खतागलाई यसको प्रयोग गरिने स्थान, परिस्थिति र व्यक्तिको मर्यादा अनुसार फरक फरक नामले पुकारिन्छ। यसले भोट भाषा र संस्कृतिको संवेदनशीलता र व्यापकतालाई झल्काउँछः
खतागः यो विश्वव्यापी रूपमा प्रयोग गरिने सामान्य र प्रचलित नाम हो ।
अशे: रेशमी र बुट्टेदार उच्च स्तरको खतागलाई दिइने नाम ।
दरख/खदरः विशेषगरी लामाहरू र स्थानीय समुदायले आदरपूर्वक प्रयोग गर्ने शब्द ।
सुब्छ्यीः कपास वा सुतीबाट बनेको चार कुना स्पष्ट भएको साधारण खताग।
ज्यादरः विशिष्ट धर्मगुरु, राष्ट्रप्रमुख, मन्त्री वा उच्च राजनीतिक ओहोदाका व्यक्तिहरूलाई अर्पण गरिने सम्मानजनक खताग ।
गुदरः कसैको गलामा वा घाँटीमा पहिराइदिने खताग ।
ङेनदर र डेरश्यातः बौद्ध धर्मका तीन आश्रय ( त्रिरत्न बुद्ध, धर्म र सङ्घ) वा देवी देवताका मूर्ति एवम् पवित्र धर्मग्रन्थहरूमा चढाइने खताग ।
ल्हाजे र ल्हारे: उच्च आध्यात्मिक गुरुहरू, रिम्पोछेहरू वा अवतारी लामाहरूको दर्शन गर्दा चढाइने अत्यन्तै पवित्र खताग ।
पुरदरः कसैको अवसान वा मृत्यु हुँदा मृत शरीर (लास) माथि श्रद्धाञ्जली स्वरूप ओढाइने विशेष खताग । यसमा सामान्यतया कुनै बुट्टा वा रेखा हुँदैन र यसलाई गम्भीरताको प्रतीक मानिन्छ ।

६. खताग चढाउने स्थान, अवसर र सामाजिक सन्दर्भहरू
खताग मानव जीवनका हरेक मोड र सामाजिक उत्सवहरूमा अनिवार्य रूपमा प्रयोग हुन्छ। यसलाई चढाउने मुख्य स्थान र अवसरहरू यस प्रकारका रहेका छन् :
क) धार्मिक स्थान र अनुष्ठानहरू
गोन्पा र चैत्यहरू: बुद्ध मूर्ति, बोधिसत्त्वका चित्र ( थाङ्का), पवित्र ग्रन्थहरू र चैत्यहरूमा श्रद्धा स्वरूप खताग चढाइन्छ ।
धार्मिक गुरुहरूको दर्शन: विशिष्ट धर्मगुरु, रिम्पोछे, भिक्षु भिक्षुणीहरूको दर्शन गर्न जाँदा, उनीहरूबाट आशीर्वाद ग्रहण गर्न खताग चढाउने परम्परा छ ।
पूजापाठ र संस्कार: नयाँ गोन्पाको उद्घाटन, मणि वा चैत्य (छ्योर्तेन) निर्माणको साथै धार्मिक अनुष्ठान (पाठपूजा) आदि कार्यक्रममा व्यापक रूपमा प्रयोग गर्ने परम्परा रहेको छ। दान चढाउँदाः धर्मगुरुहरूलाई दान चढाउँदा दानको साथमा खताग पनि चढाउँने परम्परा पनि रहेको छ ।
ख) सामाजिक तथा पारिवारिक उत्सवहरू
लोसार र नयाँ वर्षः लोसार (नयाँ वर्ष) को अवसरमा परिवारका सदस्यहरू, आफन्त र छर छिमेकीहरू बिच खताग साटासाट गरेर ” टासी देलेग” शुभकामना आदन प्रदान गर्ने गरिन्छ । विवाह र न्वारानः विवाहको शुभ लग्नमा दुलाहा दुलाहीलाई सुखमय दाम्पत्य जीवनको कामना गर्दै र न्वारान (नवजात बालकको आआफ्नो परम्पराअनुसार नाम राख्न गरिने संस्कार) मा बालकलाई दीर्घायुको कामना गर्दै खताग लगाइदिइन्छ । अतिथि सत्कार र स्वागत: घर, समाज वा संस्थामा आउने अतिथि, पर्यटक वा विशिष्ट व्यक्तिहरूलाई स्वागत गर्दा खताग पहिर्याएर सम्मान गर्ने चलन छ । विदाई र प्रस्थान: कोही व्यक्ति लामो यात्रामा निस्कँदा, सरुवा भएर जाँदा वा अध्ययनका लागि विदेश जाँदा यात्रा सुरक्षित र मङ्गलमय होस् भनी खताग लगाएर बिदाइ गरिन्छ । उपहार दिँदा : विशेष व्यक्तिलाई उपहार दिँदा खताग सहित दिने चलन रहेको छ ।

ग) राजनीतिक र सार्वजनिक समारोहहरू
पुरस्कार र पदक वितरणः कुनै पनि क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तिलाई पुरस्कार, पदक वा प्रशंसापत्र प्रदान गर्दा खतागको साथमा दिने गरिन्छ ।
सांस्कृतिक कार्यक्रमः गीत, नृत्य, नाटक वा साहित्यिक गोष्ठीहरूमा कलाकार र अतिथिहरूलाई सम्मान गर्न खतागको व्यापक प्रयोग हुन्छ ।
माफी र अनुरोधः कसैसँग कुनै गल्ती भएमा माफी माग्न जाँदा वा ठुलो कामको लागि अनुरोध गर्दा खतागको साथमा उपहार वा पत्र लैजाने चलन छ, जसले विनम्रता प्रदर्शन गर्दछ ।

७. खताग चढाउने र अर्पण गर्ने शास्त्रीय विधि
बौद्ध संस्कृतिमा खताग चढाउने कार्य केवल भौतिक रूपमा दिनु मात्र होइन, यसको आफ्नै विशिष्ट र शास्त्रीय नियम तथा विधिहरू छन् । गलत तरिकाले खताग अर्पण गर्दा आदरको सट्टा अनादर हुन जाने खतरा रहन्छ ।
क) वस्तु वा खामसँग चढाउने विधि
यदि खतागको साथमा कुनै उपहार, नगद वा जिन्सी सामान चढाउने हो भने, उक्त वस्तुलाई भित्र र खतागलाई बाहिरबाट राम्रोसँग बेरेर वा ढाकेर चढाउनुपर्दछ । यदि खाम (चिठ्ठी वा पैसा भएको खाम) सँग चढाउने हो भने, खतागलाई तल (आधारको रूपमा) र खामलाई खतागको माथि राखेर दुवै हातले अर्पण गर्नुपर्दछ । विशिष्ट धर्मगुरु तथा मन्त्री, मान्यजन वा उच्च अधिकारीलाई अनुरोध पत्र वा निवेदन दिँदा खतागको भित्र पत्रलाई बेरेर मात्र बुझाउनुपर्ने नियम छ ।
ख) खताग पट्याउने र समात्ने विधि
खतागलाई जथाभाबी खुम्च्याएर वा मुट्ठीमा समातेर दिनु हुँदैन ।
• यदि खताग ठुलो आकारको छ भने, त्यसलाई दुवै तर्फबाट भित्री भाग छोपिने गरी सुन्दर
•तरिकाले पट्याएर बेर्नु पर्दछ । सानो खताग भए नपट्याई सिधै सीधा पारेर बेर्न सकिन्छ ।
खताग समात्दा आफ्नो दुवै हातको बुढीऔंला र चोर औँलाको बिचमा खतागको मध्यभागलाई
हुन्छ ।
समात्नु पर्छ। खतागको खुला वा खुल्ला सिमाना आफूतिर नभई जसलाई चढाउने हो, उसैतर्फ फर्किएको हुनुपर्दछ। यसको अर्थ “मेरो हृदयको ढोका तपाईंका लागि खुला छ” भन्ने ८. मर्यादा र पद अनुसार खताग लगाइदिने र साटासाट गर्ने नियम खताग दिने व्यक्तिको सामाजिक वा धार्मिक मर्यादा र लिने व्यक्तिको पदका आधारमा खताग अर्पण गर्ने प्रक्रियालाई तीन मुख्य भागमा विभाजन गरिएको छः
क) उच्च आदरणीय व्यक्ति तथा त्रिरत्नलाई चढाउँदा
बुद्धका मूर्ति, धर्मग्रन्थ, विशिष्ट धर्मगुरु, रिम्पोछे, लामा, देशका राष्ट्रपति वा मन्त्री र आफ्ना माता पिता जस्ता परम आदरणीय व्यक्तिहरूलाई खताग अर्पण गर्दा कहिल्यै पनि उनीहरूको घाँटीमा सिधै लगाइदिनु हुँदैन । यो घोर अपमान मानिन्छ ।
•विधिः आफ्नो शिरलाई अलि निहुराएर ( विनम्रता प्रकट गर्दै ), दुवै हातले खतागलाई माथि उचाली उहाँहरूको अगाडि रहेको टेबल वा आसनमा सुव्यवस्थित तरिकाले राख्नुपर्दछ । लामा गुरुहरूले उक्त खताग ग्रहण गरेर पुनः आशीर्वाद स्वरूप चढाउने व्यक्तिकै घाँटीमा फिर्ता लगाइदिन पनि सक्नुहुन्छ ।
सङ्घ वा समूहलाई चढाउँदा धेरै भिक्षु वा सङ्घहरू एकै ठाउँमा भएका बेला एक जनाले सफा र सुन्दर ट्रेमा खतागहरू मिलाएर बोक्ने र अर्को व्यक्तिले अगाडिको टेबलमा सम्मानपूर्वक राख्दै जानुपर्दछ ।
ख) आफूसमानका साथीभाइ वा सहकर्मीहरूबिच
आफूसमानको उमेर, पद वा मर्यादा भएका व्यक्तिहरू भेट हुँदा खताग आदानप्रदान गर्ने विशिष्ट नियम छ ।
विधिः यस अवस्थामा एक-अर्काको घाँटीमा लगाइदिनु भन्दा दुवैले आ-आफ्नो खताग एक अर्काको हातमा (हत्केलामा) राखेर साटासाट गर्नु अति उत्तम मानिन्छ । यसले पारस्परिक समानता, मित्रता र आदरलाई सङ्केत गर्दछ ।
ग) आफूभन्दा साना, शिष्य वा छोराछोरीलाई दिँदा आफ्ना छोराछोरी, विद्यार्थी, धार्मिक शिष्य, वा उमेर र पदमा साना भएका व्यक्तिहरूलाई आशीर्वाद वा शुभकामना दिँदा खताग दिने फरक तरिका छ ।
विधिः यस अवस्थामा ज्येष्ठ वा उच्च व्यक्तिले साना व्यक्तिहरूको सम्मान र संरक्षणको

प्रतीक स्वरूप उनीहरूको घाँटीमा सिधै खताग पहिर्याइदिनु पर्दछ ।
घ) विवाह र विशेष सांस्कृतिक सांस्कृतिक कार्यक्रममा विधि
विवाह, लोकनृत्य, वा साङ्गीतिक उत्सवहरूमा खताग लगाइदिँदा खतागलाई आफ्नो बायाँ हातमा व्यवस्थित रूपमा बोक्नुपर्छ । केटा ( दुलाहा ) लाई दायाँ तर्फबाट र केटी (दुलाही) लाई बायाँ तर्फबाट घुमाएर घाँटीमा लगाइदिने विशिष्ट परम्परा हिमाली समाजमा रहेको छ ।
ङ) पुरदर ( मृतकका लागि खताग) अर्पण गर्ने विधि
जब कसैको मृत्यु हुन्छ, तब मृतकप्रति समवेदना र श्रद्धाञ्जली व्यक्त गर्न खतागको प्रयोग गरिन्छ ।
•विधि: मृतकको शरीर (लास) माथि खताग ओढाइदिनु पर्दछ । मृत शरीरको घाँटीमा खताग झुन्ड्याउने वा पहिर्याइदिने परम्परा कतै पनि छैन । शव यात्रा गर्दा खतागको एक छेउ शव वा बाकसमा बाँधिन्छ र अर्को छेउ मुख्य लामाले समातेर अगाडि हिँड्छन्, जसले मृतकको चेतनालाई बुद्धत्वको उज्यालो मार्गतर्फ अगुवाइ गरिरहेको सङ्केत गर्दछ ।
९. खताग चढाउन निषेध गरिएका परिस्थितिहरू
संस्कृति र परम्पराले सबै ठाउँमा अन्धाधुन्ध खताग प्रयोग गर्न अनुमति दिँदैन । कतिपय अवस्थामा खतागको प्रयोगलाई निषेध गरिएको छ, जसको पालना गर्नु प्रत्येक सजग नागरिकको कर्तव्य होः भेटघाटका समयमा टाढा नजाँदा : आफ्नो माता-पिता, पति-पत्नी वा अग्रजहरू टाढाको लामो यात्रामा जाने बेला खताग लगाइदिने परम्परा भए तापनि, सामान्य दैनिक भेटघाट वा छोटो समयका लागि भेट हुँदा खताग चढाउने परम्परा छैन ।
•बिना कारण आपसी आदानप्रदानः आफूसँग जतिसुकै मिलनसार वा नजिकको मित्र भए पनि बिना कुनै उत्सव, पर्व वा विशेष कारण दैनिक रूपमा खताग मात्रै आदानप्रदान गर्नुलाई हलुका व्यवहार मानिन्छ ।
प्रतिबद्धता पुरा नगर्ने व्यक्तिलाई: व्यक्तिगत वा सामाजिक हितका लागि कुनै ठुलो प्रतिबद्धता प्रतिज्ञा गरेको तर उक्त कार्य पुरा नगरेको (असफल वा धोका दिएको) व्यक्तिलाई सम्मान स्वरूप खताग लगाइदिनु हुँदैन ।
अध्ययन पुरा नगरेका विद्यार्थीलाई अध्ययन वा धार्मिक गोन्पाको शिक्षा
आफ्नो तोकिएको विद्यालय वा विश्वविद्यालयको ‘ रूपमा नसकाई बिचैमा छोड्ने विद्यार्थीलाई ढाडस
वा सम्मानका रूपमा खताग पहिर्याउनु संस्कृति विपरीत मानिन्छ । यसले अनुशासनहीनतालाई प्रश्रय दिने विश्वास गरिन्छ ।

१०. खताग चढाउनुको मुख्य उद्देश्य र मानवीय लक्ष्य
मानिसहरूले विभिन्न वर्ग र क्षेत्रका व्यक्तिहरूलाई खताग चढाउनुको पछाडि निश्चित मनोवैज्ञानिक, सामाजिक र आध्यात्मिक लक्ष्यहरू लुकेका हुन्छन्ः
१. बुद्ध र गुरुप्रति : देवी देवता, बुद्धका मूर्ति र गुरुहरूलाई खताग चढाउनाले अगाध पुण्य आर्जन हुने, संचित पापहरूको क्षय हुने र आफ्ना धार्मिक तथा आध्यात्मिक मनकामनाहरू पुरा हुने जनविश्वास छ ।
२. शासक र मन्त्रीप्रतिः राज्यका उच्च पदस्थ अधिकारी वा मन्त्रीहरूलाई खाग चढाउ उद्देश्य समाजको सुख-दुःखको जानकारी गराउनु, आफ्ना न्यायसङ्गत माग वा अनुरोधहरूलाई विनम्रतापूर्वक स्वीकार गराउनु र राज्यप्रति नागरिकको वफादारिता प्रदर्शन गर्नु हो ।
३. माता पिता र परिवारप्रतिः आफ्ना जन्मदाता माता-पिता र पारिवारिक अग्रजहरूलाई खताग चढाउनाले उनीहरूप्रतिको अगाध कृतज्ञता, दया, स्नेहप्रगाढ बन्दछ। यसले पुस्तान्तरणको दूरीलाई कम गरी पारिवारिक सम्बन्धलाई निरन्तर रूपमा बलियो र सुमधुर बनाइराख्न मद्दत गर्दछ । ११. खतागका अनुपम विशेषताहरू
खताग अन्य उपहार वा फूलका मालाहरू भन्दा कतिपय विशिष्ट कारणहरूले गर्दा फरक र अद्वितीय मानिन्छ । यसका मुख्य विशेषताहरू यस प्रकार छन्ः
•बहुआयामिक उपयोगः खताग एउटा यस्तो अद्भुत वस्तु हो जुन खुसी र विजयको उत्सव (जस्तै विवाह, लोसार) मा जति आवश्यक हुन्छ, दुःख र शोकको घडी (श्रद्धाञ्जली, मलामी) मा पनि त्यति नै महत्त्वका साथ प्रयोग गरिन्छ ।
पुनः प्रयोगयोग्यताः फूलको माला एक पटक प्रयोग गरेपछि ओइलाएर जान्छ र फाल्नुपर्छ । तर खताग, जबसम्म त्यसमा कुनै कालो दाग, धब्बा लाग्दैन वा च्यातिँदैन, तबसम्म यसलाई सफा गरेर धेरै पटक, धेरै व्यक्तिहरू माझ पुनः प्रयोग गर्न सकिन्छ । यो आर्थिक र व्यावहारिक दुवै दृष्टिले उत्तम छ ।
ऋतु र स्थानको सीमाहीनताः प्राकृतिक फूलहरू जाडो वा गर्मीको मौसम अनुसार नपाइन सक्छन्, तर खताग कपडाबाट बन्ने भएकाले संसारको जुनसुकै कुनामा, जस्तोसुकै कठोर हिउँदे महिना वा गर्मीको समयमा पनि बिना कुनै रोकतोक सहजै प्रयोग गर्न सकिन्छ।
हृदय परिवर्तनको सामर्थ्यः ठुलो वा सानो, रिस वा द्वेष भएको जुनसुकै व्यक्तिलाई पनि शुद्ध भावले खताग अर्पण गर्दा आपसी तित्तता मेटिएर दया र करुणामा परिणत हुने सामाजिक अनुभव रहेको छ। यसलाई मङ्गल वस्तुको रूपमा सिद्ध गरिएको छ ।

१२. वातावरणीय संवेदनशीलता र खतागको व्यवस्थापन
वर्तमान समयमा खतागको प्रयोग तीव्र रूपमा बढेको छ । तर, यसको जथाभाबी प्रयोग र विसर्जनले गम्भीर धार्मिक र वातावरणीय समस्याहरू निम्त्याइरहेको छ । यसतर्फ सजग हुन अि आवश्यक भइसकेको छ ।
क) जथाभाबी फ्याँक्नु नहुने कारणहरू
•धार्मिक अनादरः आधुनिक खतागहरूमा बुद्धका वचन, मङ्गल अक्षर र अष्टमङ्गल जस्ता अत्यन्तै पवित्र शब्द र चिह्नहरू लेखिएको हुन्छन् । जब यस्ता खतागहरू प्रयोगपछि सडक, फोहोरको थुप्रो वा जथाभाबी फ्याँकिन्छन्, तब ती पवित्र अक्षरहरू खुट्टाले कुल्चिने र अपमानित हुने सम्भावना रहन्छ, जसलाई बौद्ध धर्ममा ठुलो पाप मानिन्छ ।
वातावरणीय प्रदूषण: अचेल बजारमा पाइने सस्तो खतागहरू सश्लेषित (सिन्थेटिक / नाइलन ) कपडाबाट बनेका हुन्छन्, जुन सहजै माटोमा कुहिँदैनन् । यस्ता खतागहरू नदीनाला, जङ्गल र सार्वजनिक ठाउँमा फ्याँकिँदा जलचर र स्थलचर जीवहरूलाई असर पुग्नुका साथै वातावरण कुरूपता र प्रदूषण बढिरहेको छ ।
ख) सही विसर्जन र व्यवस्थापनका उपायहरू
१. आगोमा विसर्जन ( जलाउने): पूर्ण रूपमा पुरानो भएको, मैलो भएको वा पुनः प्रयोग गर्न नमिल्ने गरी च्यातिएको खतागलाई सम्मानपूर्वक सफा ठाउँमा लगेर आगोमा जलाएर शुद्धिकरण (ठुसोल) गर्नुपर्दछ । यसो गर्दा त्यसमा रहेका पवित्र शब्द र चिह्नहरूको अपमान हुन पाउँदैन । २. रचनात्मक पुनः प्रयोग: पुराना खादाहरूलाई सिलाएर वा बाटेर डोरी बनाई थाङ्का चित्र अथवा ध्वजा (लुङ्दर / धर्ची) टाँग्ने डोरीको रूपमा प्रयोग गर्न सकिन्छ ।
३. विकल्पको खोजीः सम्भव भएसम्म नाइलनको सट्टा शत-प्रतिशत कपास वा शुद्ध रेशम बाट बनेका जैविक रूपमा कुहिने खतागहरूको उत्पादन र प्रयोगमा जोड दिनुपर्दछ ।
१३. आधुनिक नेपाल र विश्वव्यापी सन्दर्भमा खतागको महत्त्व
नेपाल एउटा बहुसांस्कृतिक, बहुधार्मिक र बहुजातीय मुलुक हो । नेपालको भौगोलिक बनावट अनुसार दार्चुलादेखि ताप्लेजुङसम्मको हिमाली क्षेत्रमा शेर्पा, तामाङ, ह्योल्मो, गुरुङ, थकाली, भोटे, मनाङ्गे, मुस्ताङ्गे, डोल्पाली र वालुङ्गे लगायतका समुदायहरूको बसोबास छ, जसको मुख्य संस्कृति बौद्ध दर्शनमा आधारित छ । नेपालमा करिब ५००० भन्दा बढी बौद्ध गोन्पा र विहारहरू रहेका छन्, जहाँ खताग परम्परा जीवन्त रूपमा चलिरहेको छ ।

क) राष्ट्रिय एकता र राजनीतिक स्वीकार्यता
काठमाडौँ उपत्यका र समग्र नेपालको राष्ट्रिय जीवनमा खतागको सांस्कृतिक प्रभाव यति गहिरो भइसकेको छ कि आज प्रत्येक सरकारी, गैरसरकारी, राजनीतिक तथा सामाजिक समारोहहरूमा खताग अर्पण गर्नु अनिवार्य झैँ भइसकेको छ । नेपालका विभिन्न राजनीतिक दलका नेताहरू, मन्त्रीहरू तथा गैर – बौद्ध (जस्तै हिन्दू, किराँत, इस्लाम) समुदायका विशिष्ट व्यक्तिहरूले पनि कुनै पनि औपचारिक कार्यक्रममा खतागलाई सहर्ष र गर्वका साथ ग्रहण गर्ने गर्दछन् ।
कतिपय कट्टरपन्थी दृष्टिकोणबाट यसलाई गैर संस्कृतिको प्रभाव भनी आलोचना गर्न खोजिए तापनि, नेपालको अस्थिर र रूपान्तरणकारी राजनीतिको पृष्ठभूमिमा यो अनौठो हिमाली परम्परालाई बिना कुनै विवाद सम्पूर्ण समाजले स्वीकार गर्नु अत्यन्तै सकारात्मक पक्ष हो । यसले नयाँ नेपालको समावेशी, जीवन्त, लोकतान्त्रिक र बहुसांस्कृतिक पहिचानलाई विश्वसामु बलियोसँग प्रस्तुत गर्दछ। खताग आज केवल एउटा समुदायको पहिचान मात्र रहेन, बरु यसले समग्र नेपालीहरूलाई भातृत्व र एकताको सुत्रमा बाँध्ने पुलको काम गरेको छ ।
ख) विश्वव्यापीकरण
पर्यटन र बौद्ध धर्मको विश्वव्यापी प्रचारसँगै खतागको संस्कृति आज युरोप, अमेरिका, जापान लगायतका पश्चिमा र पूर्वीय मुलुकहरूमा पनि तीव्र रूपमा फैलिएको छ । विश्वभरका मानिसहरूले यसलाई शान्ति, करुणा, मैत्री र सम्मानको एक विश्वव्यापी भाषाका रूपमा स्विकारेका छन् । जब विश्वका ठुला नेता वा सेलिब्रेटीहरू नेपाल वा तिब्बती क्षेत्रको भ्रमणमा आउँछन्, उनीहरूलाई खताग पहिर्याएर स्वागत गर्दा उनीहरूले आफूलाई धन्य महसुस गर्ने गरेका छन् ।
१४. खतागको सांस्कृतिक मान्यता र ढाका कपडा
हाल नेपालमा नेपाली मौलिक उत्पादन ‘ढाका कपडा’ को प्रवर्द्धन गर्ने उद्देश्यले यसलाई खतागको रूपमा प्रयोग गर्ने चलन बढ्दै गएको पाइन्छ । रैथाने उत्पादनको बजारीकरणका लागि यो प्रयास सकारात्मक देखिए तापनि परम्परागत र धार्मिक दृष्टिकोणबाट हेर्दा खतागमा हुनुपर्ने आवश्यक लक्षण वा विशेषताहरू पुगेको देखिँदैन । बौद्ध दर्शन र हिमाली संस्कृति अनुसार खताग केवल एउटा कपडा मात्र नभएर गहिरो आध्यात्मिक अर्थ बोकेको प्रतीक हो । यदि ढाका कपडालाई खतागको रूपमा सही तरिकाले प्रयोग गर्ने हो भने यसमा मुख्य रूपमा तीनओटा लक्षणहरू अनिवार्य रूपमा समावेश भएको हुनुपर्दछः
·•पहिलो (रङ्ग): खताग अनिवार्य रूपमा सेतो रङ्गको हुनुपर्दछ, जसले मनको शुद्धता, शान्ति र सद्भावलाई जनाउँछ।
दोस्रो (प्रतीक): खतागको भित्री भागमा अष्टमङ्गल (आठओटा मङ्गलमय चिह्न) वा मङ्गल
•सूचक मन्त्र र शुभकामनाका शब्दहरू लेखिएका हुनुपर्दछ ।
तेस्रो (बनोट) : यसलाई आकर्षक र धार्मिक विधिअनुकूल बनाउन यसको दुवै किनारामा ‘खा- त्सार’ अर्थात् कलात्मक रूपमा बुनिएको दुईतर्फी थप झुम्का (झालर) हुनुपर्दछ ।
ढाका कपडालाई खतागको विकल्पमा प्रयोग गर्दा यी परम्परागत मापदण्ड र सांस्कृतिक संवेदनशीलतालाई ध्यान दिनु जरुरी देखिन्छ । यसले गर्दा नेपाली ढाका कपडाको प्रवर्द्धन साथै खतागको मौलिक एवम् पवित्र धार्मिक स्वरूपको पनि संरक्षण हुन पुग्दछ ।
१५.निष्कर्ष
बौद्ध दर्शन र हिमाली सभ्यताको एक जीवन्त खम्बाको रूपमा रहेको खताग परम्परा केवल भौतिक कपडाको आदानप्रदान मात्र नभएर मानव हृदयको शुद्धता, करुणा, मैत्री र आपसी सद्भाव प्रकट गर्ने सर्वोच्च सांस्कृतिक माध्यम हो । प्राक् – बौद्धकालीन रैथाने ऊनको ‘धार’ परम्पराबाट विकसित हुँदै आधुनिक युगको बुट्टेदार रेशमी स्वरूपसम्म आइपुग्दा यसले धार्मिक अनुष्ठान, सामाजिक उत्सव ( लोसार, विवाह), स्वागत तथा विदाईदेखि शोकको घडीसम्म आफ्नो बहुआयामिकता सिद्ध गरेको छ । यसमा अङ्कित अष्टमङ्गल र पवित्र मन्त्रहरूले व्यक्तिको जीवनमा सकारात्मक ऊर्जा र मङ्गलकामना प्रवाह गर्दछन् ।

वर्तमान समयमा खतागको लोकप्रियता नेपालको बहुसांस्कृतिक समाजमा राष्ट्रिय एकता र समावेशी पहिचानको प्रतीक बन्दै विश्वव्यापी रूपमा फैलिसकेको छ । यद्यपि, आधुनिक सिन्थेटिक खतागको जथाभाबी विसर्जनले निम्त्याएको वातावरणीय प्रदूषण र धार्मिक अनादरप्रति सचेत र हँदै यसको शास्त्रीय विधि र उचित व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ । साथै, नेपाली ढाका कपडालाई खतागको विकल्पका रूपमा प्रयोग गर्दा यसको परम्परागत रङ्ग, बुट्टा र बनोटको संवेदनशीलतालाई जोगाउनु पर्छ । अतः खतागको ऐतिहासिक, आध्यात्मिक र दार्शनिक मूल्यलाई आत्मसात् गर्दै यसको मौलिकता संरक्षण गर्नु आजको मुख्य आवश्यकता हो ।
सन्दर्भ सामग्रीहरू

● ཀརྨ་བདེ་ལེགས། ༼༢༠༠༡༽ བཀྲ་ཤིས་ཁ་བཏགས་གུས་སྲོལ་གྱི་འཕེལ་རིམ་དང་རྒྱུས། བོད་ལྗོངས་བོད་ཡིག་དཔེ་རྙིང དཔེ་སྐྲུན་ཁང་།
⚫ World Wildlife Fund (WWF) Nepal. (२०१९). Environmental impact of non- biodegradable cultural artifacts in the Himalayan region [Report]. WWF Nepal.
• https://ne.wikipedia.org/wiki/ अष्टमङ्गल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय