✍️ पेम्बा गेलु शेर्पा/२० फेब्रुअरी बेल्जियम ।

– जापानमा रहेका शेर्पा समुदायले यस वर्षको ग्याल्पो ल्होसार (ता लो–२१५३) लाई सांगीतिक र सांस्कृतिक उत्सवका रूपमा भव्य तयारीसहित मनाउने घोषणा गरेका छन्। भाषा, धर्म, कला र संस्कृतिको संरक्षणलाई आफ्नो मूल ध्येय बनाउँदै आएको शेर्पा संघ जापानले प्रवासमै मौलिक पहिचानलाई जोगाउने सन्देशसहित विविध कार्यक्रम आयोजना गर्न लागेको हो।

यसपटकको ल्होसार विशेष बनाउने पक्ष भनेको बेल्जियममा सक्रिय सांगीतिक कर्म गरिरहेका कलाकार सोनाम शेर्पा ‘कोशिश’ को प्रस्तुति हो। युरोपमा बस्दै आएका उनी प्रवासमा नेपाली तथा हिमाली संगीतको प्रवर्द्धनमा निरन्तर लागिपरेका कलाकारका रूपमा चिनिन्छन्। जापानमा उनको सहभागितालाई आयोजकहरूले प्रवासी समुदायबीच सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसरका रूपमा लिएका छन्।

मुख्य समारोह आगामी मार्च १ तारिख आइतबार टोकियोको हामामाचुस्थित मन्दिर रेष्टुरेन्टमा बिहान ११ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा गायक सोनाम ‘कोशिश’सँगै नेपालबाट चर्चित डिजे छेवाङ शेर्पाको प्रस्तुति रहनेछ। जापानमै बसोबास गर्दै आएका स्थानीय कलाकारहरू सोनाम शेर्पा “काहानी”, दावा के शेर्पालगायतले पनि सांगीतिक तथा सांस्कृतिक कार्यक्रममार्फत उत्सवलाई जीवन्त बनाउनेछन्।

यस वर्षको अर्को उल्लेखनीय पक्षका रूपमा नेपालबाट फुर्किमा शेर्पा कार्यक्रम उद्घोषकका रूपमा सहभागी हुँदैछिन्। शेर्पा सञ्चार समूह नेपालकी पूर्व अध्यक्षसमेत रहेकी उनी सञ्चार क्षेत्रमा अनुभवी व्यक्तित्वका रूपमा परिचित छन्। उनको संयोजनले कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

संघका अध्यक्ष सोनाम लामाले प्रवासमा बस्दा पनि आफ्नो भाषा, संस्कार र परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको बताएका छन्। उनका अनुसार यसपटकको ल्होसारले सांस्कृतिक संरक्षणसँगै सामुदायिक एकताको सन्देश प्रवाह गर्नेछ। बेल्जियम र नेपालबाट कलाकार तथा सञ्चारकर्मीको सहभागिताले कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्वरूप दिने विश्वास आयोजकले व्यक्त गरेका छन्।

केन्द्रीय कार्यक्रमसँगै क्षेत्रीय तहमा पनि उत्सव आयोजना गरिँदैछ। कान्साइ क्षेत्रीय समितिले कोबेमा फेब्रुअरी २१ तारिख शनिबार साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म विशेष कार्यक्रम गर्ने जनाएको छ। त्यस्तै, किताकान्तो क्षेत्रीय समितिले मार्च ७ तारिख गुनमारिस्थित ओटो बार तथा रेष्टुरेन्टमा दिउँसो १२ बजेदेखि बेलुकी ८ बजेसम्म कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ।

तीन फरक स्थान र मितिमा आयोजना हुने यी समारोहहरूमा शेर्पा समुदायको मौलिक पहिचान झल्किने परम्परागत नृत्य, भेषभूषा, धार्मिक अनुष्ठान तथा सामूहिक शुभकामना आदानप्रदानका कार्यक्रम समावेश हुनेछन्। आयोजकले जापानमा रहेका सम्पूर्ण शेर्पा तथा अन्य समुदायका व्यक्तिहरूलाई उत्सवमा सहभागी भई सांस्कृतिक पर्वलाई सफल बनाउन आग्रह गरेका छन्।

प्रवासमा रहेर पनि आफ्ना जरा नबिर्सने संकल्पका साथ आयोजना हुन लागेको यस वर्षको ग्याल्पो ल्होसारमा बेल्जियमबाट गायक ‘कोशिश’ को सांगीतिक प्रस्तुति र नेपालबाट अनुभवी उद्घोषकको उपस्थिति मुख्य आकर्षण बन्ने अपेक्षा गरिएको छ। यसले जापानस्थित शेर्पा समुदायलाई मात्र होइन, विश्वभर छरिएका हिमाली समुदायलाई समेत एकताको सूत्रमा बाँध्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय