
सोलुखुम्बु, पुस १२ । जनता समाजवादी पार्टी नेपाल(जसपा नेपाल)को सोलुदुधकुण्ड नगरसमिति अध्यक्षमा आङ दावा शेर्पा चयन हुनुभएको छ । आज शुक्रबार सल्लेरीमा सम्पन्न पार्टीको भेलाले शेर्पाको अध्यक्षतामा २१ सदस्यीय नगरसमिति पुर्नगठन गरेको हो ।
पार्टीका केन्द्रीय सचिव ल्हाक्पा शेर्पाको विशेष उपस्थितीमा भएको उक्त भेलाले उपाध्यक्षमा सोना वाङ्डा शेर्पा र कुमार मगर, सचिवमा प्रविण तामाङ, सहसचिवमा ङिमा शेर्पा र लिला श्रेष्ठ तथा कोषाध्यक्षमा डोमा शेर्पालाई चयन गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सचिव ल्हाक्पा शेर्पाले जसपा नेपाल उत्पीडित जाति समुदायको सहअस्थित्वलाई निर्माण गर्दै नेतृत्व स्थापित गर्ने मुल लक्ष्य भएको पार्टी भएको दाबी गर्नुभयो ।
अन्य स्थापित पार्टीमा त्यो संस्कार नभएपनि जसपा नेपाल उत्पीडित जाति समुदायकै लागि स्थापित पार्टी भएको उहाँको भनाइ छ ।
भेला आयोजक समितिका संयोजक किमा शेर्पाको अध्यक्षमा भएको उक्त भेलामा पार्टीका केन्द्रीय पर्यटन विभाग सदस्य काले शेर्पा पिनासा, प्रदेश सदस्य भक्त बहादुर राई लगायत अन्य नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।
नवगठित कार्यसमितिको कार्यकाल ४ वर्षको हुने छ भने सबै पदाधिकारी तथा सदस्यहरुलाई आजै पद तथा गोपनियताको शपथ ग्रहण समेत गराइएको जसपा नेपालले जनाएको छ ।
Source:Himal Fm