पेम्बा गेलु शेर्पा / बेल्जियम ।
– न्यूयोर्क सिटीका नवनिर्वाचित मेयर Zohran Mamdaniले आफ्नो प्रशासनका प्राथमिकता तय गर्न गठन गरेको ट्रान्जिसन टिममा समुदाय केन्द्रित काममा लामो समयदेखि सक्रिय रहदै आएका शेर्पा किदुग अमेरिकाका पुर्वअध्यक्ष उर्गेन शेर्पा औपचारिक रूपमा नियुक्त भएका छन्। यो नियुक्तिलाई न्यूयोर्कमा बसोबास गर्ने नेपाली, शेर्पा तथा हिमाली समुदायका लागि ऐतिहासिक प्रतिनिधित्वको रूपमा लिइएको छ ।
साना व्यवसाय, प्रवासी अधिकार र समुदाय स्तरको आर्थिक स्थिरताका मुद्दामा प्रत्यक्ष रूपमा काम गर्दै आएका शेर्पा हाल दक्षिण–एशियाली प्रवासीहरूका लागि आवास, आर्थिक सशक्तिकरण र व्यवसाय सहयोग कार्यक्रम सञ्चालन गर्ने प्रतिष्ठित संस्था Chhayaमा साना व्यवसाय प्रबन्धकका रूपमा कार्यरत छन्। महामारीपछिको न्यूयोर्कमा साना उद्यमीहरूलाई पुनःउठाउन, सरकारी अनुदान तथा कागजी प्रक्रिया सहज बनाउन, तथा आप्रवासी व्यवसायीमाथि पर्ने प्रशासनिक चुनौतीहरू कम गर्न उनले खेलेको भूमिका उल्लेखनीय मानिन्छ।
नियुक्तिपछि शेर्पाले आफू अत्यन्तै सम्मानित र कृतज्ञ महसुस भएको बताए। “मेयर–इलेक्ट जोहरान ममदानीको ट्रान्जिसन टिममा सेवा गर्न पाउनु केवल व्यक्तिगत अवसर होइन, यो हाम्रो समुदायको आवाजलाई सिटी हल्लसम्म पुर्याउने जिम्मेवारी पनि हो,” उनले भने। उनले लामो समयदेखि सामूहिक रूपमा काम गर्दै आएका विभिन्न समुदायका अनुभवी नेतृत्वहरू यही टिममा समेटिएको देख्दा आफू अत्यन्त उत्साहित भएको प्रतिक्रिया पनि जनाए।
शेर्पासँगै छायाकै कार्यकारी निर्देशक Annetta Seecharran पनि ट्रान्जिसन टिममा चयन भएकी छन्। आवास न्याय, आर्थिक समानता र प्रवासी अधिकारका क्षेत्रमा तीन दशकभन्दा बढी समय समर्पण गर्दै आएकी सीचारनको समावेशीकरणसँगै छायाको संस्थागत अनुभव अब सिटी प्रशासनको तयारी प्रक्रियासम्म पुगेको छ। छायाले दुवै प्रतिनिधिको नियुक्तिलाई “न्यूयोर्कलाई न्यायपूर्ण र समावेशी शहर बनाउने यात्रामा समुदायको आवाज बलियो रूपमा प्रवेश गरेको क्षण” भनेर स्वागत गरेको छ।
न्यूयोर्कमा महँगो भाडा, साना व्यवसायको अस्थिरता, कागजी प्रक्रियाको जटिलता, तथा प्रवासी समुदायमाथि बढ्दो आर्थिक दबाबजस्ता चुनौतीहरूको बीचमा, शेर्पाको अनुभव र समुदायप्रतिको समझाइ मेयर–इलेक्ट ममदानीको समावेशी शासन दृष्टिकोणसँग गहिरो रूपमा मेल खान्छ। विशेषगरी हिमाली र दक्षिण एशियाली समुदाय जो लामो समयदेखि नीतिगत स्तरमा सीमित उपस्थितिमा सीमित थिए, अब प्रत्यक्ष रूपमा आवाज उठाउन सक्ने अवस्था बनेको छ।
उर्गेन शेर्पाको ट्रान्जिसन टिममा सहभागिता न्यूयोर्क सिटीका प्रवासी समुदायका लागि मात्र होइन, साना व्यवसाय तथा आर्थिक समानताका सवालमा नयाँ सम्भावनाको ढोका खुल्ने संकेतका रूपमा हेरिएको छ। समुदाय–उन्मुख नेतृत्व, अनुभव र प्रतिबद्धताले मेयर–इलेक्ट ममदानीले अघि सारेको “नयाँ युगको न्यूयोर्क सिटी” निर्माणमा गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ।