
सचिव, नेपाल पत्रकार महासंघ
बेल्जियम शाखा
पोर्तुगलमा आगामी १८ मई २०२५ मा हुने विधायी निर्वाचनको मिति नजिकिँदै जाँदा देशको राजनीतिक वातावरणमा तनाव र उत्साह दुवै बढेको छ। यो निर्वाचनले पोर्तुगलको आगामी सरकारको नेतृत्व मात्र निर्धारण गर्ने छैन, बरु देशको आप्रवासन नीति, आर्थिक सुधार, भ्रष्टाचार नियन्त्रण र सामाजिक समानताको भविष्यलाई पनि प्रभाव पार्नेछ। पश्चिमी युरोपको यो सानो तर ऐतिहासिक रूपमा समृद्ध देशले हालैका वर्षहरूमा राजनीतिक अस्थिरता र बदलिँदो जनमतको सामना गरिरहेको छ। सन् २०२४ को मार्च १० मा भएको अघिल्लो निर्वाचनपछि मध्य-दक्षिणपन्थी डेमोक्रेटिक एलायन्स (AD) ले अल्पमत सरकार गठन गरेको थियो, तर संसदमा बहुमतको अभावले उसको शासन प्रभावकारी हुन सकेको थिएन। अब, २०२५ को यो निर्वाचनमा विशेषगरी आप्रवासन नीतिलाई लिएर प्रमुख राजनीतिक दलहरूबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।
पोर्तुगलको राजनीति लामो समयदेखि मध्य-वामपन्थी सोसलिस्ट पार्टी Socialist Party (PS) र मध्य-दक्षिणपन्थी सोसियल डेमोक्रेटिक पार्टी Social Democratic Party (PSD) को वर्चस्वमा रहँदै आएको थियो। तर, सन् २०१९ देखि दक्षिणपन्थी पपुलिस्ट पार्टी Chega (Enough) को उदयले यो परम्परागत संरचनालाई चुनौती दिएको छ। सन् २०२३ मा तत्कालीन सोसलिस्ट प्रधानमन्त्री एन्टोनियो कोस्टाले लिथियम खानी र हरित ऊर्जा परियोजनासँग जोडिएको भ्रष्टाचार काण्डमा मुछिएपछि राजीनामा दिएका थिए। त्यसपछि भएको सन् २०२४ को निर्वाचनमा एडी गठबन्धनले ८० सिट जितेर सरकार बनायो । यता PS ले ७८ सिट र Chega ले ५० सिट प्राप्त गरे। Chega को यो सफलताले पोर्तुगलको राजनीतिमा नयाँ तरंग ल्याएको छ।
यो अस्थिरताको बीचमा २०२५ को निर्वाचनले देशको भविष्यको दिशा निर्धारण गर्नेछ। मतदाताहरूले भ्रष्टाचार, बेरोजगारी, कम ज्याला र आवास संकटलाई मुख्य मुद्दाको रूपमा उठाइरहेका छन्। तर, Chega ले आप्रवासनलाई आफ्नो मुख्य हतियार बनाएर मतदाताहरूलाई आकर्षित गर्ने प्रयास गरिरहेको छ। युरोपभरि दक्षिणपन्थी भावनाको लहर चलिरहँदा पोर्तुगल पनि यो प्रभावबाट अछुतो रहन सकेको छैन।
पोर्तुगलले विगतमा आप्रवासनप्रति उदार नीति अपनाउँदै आएको छ। विशेषगरी ब्राजिल, काभा भेर्दे, अंगोला र मोजाम्बिक जस्ता पूर्व औपनिवेशिक देशहरूबाट आउने आप्रवासीहरूलाई स्वागत गर्ने नीति अपनाइएको थियो। सन् २०१५ को युरोपेली शरणार्थी संकटको समयमा पनि पोर्तुगलले अन्य युरोपेली देशहरूको तुलनामा शरणार्थीहरूलाई स्वीकार गर्न सकारात्मक भूमिका खेलेको थियो। यहाँको जनसंख्या वृद्धिदर कम भएको र श्रमशक्तिको अभाव रहेको कारण आप्रवासीहरूलाई अर्थतन्त्रको महत्त्वपूर्ण हिस्साको रूपमा हेरिन्छ। तर हालैका वर्षहरूमा युरोपभरि दक्षिणपन्थी विचारधाराको प्रभाव बढ्दै गएकाले पोर्तुगलमा पनि आप्रवासन नीति प्रमुख बहसको विषय बनेको छ।
यहाँ प्रमुख राजनीतिक दलहरूको आप्रवासन नीतिलाई विस्तृत रूपमा हेरौं:
डेमोक्रेटिक एलायन्स (AD)
मध्य-दक्षिणपन्थी गठबन्धन एडीका नेता लुइस मोन्टेनेग्रोले आप्रवासनमा सन्तुलित नीति अपनाउने प्रतिबद्धता जनाएका छन्। उनले आप्रवासीहरूलाई पोर्तुगलको श्रम बजारमा एकीकरण गर्न जोड दिएका छन्, विशेषगरी निर्माण, पर्यटन र स्वास्थ्य क्षेत्रमा श्रमिकको आवश्यकता पूरा गर्न। तर, उनले अवैध आप्रवासनलाई नियन्त्रण गर्न कडा सीमा नीति र प्रभावकारी प्रशासनको आवश्यकता रहेको पनि बताएका छन्। चेगा पार्टीसँग गठबन्धन गर्न अस्वीकार गरे पनि, अल्पमत सरकारको नेतृत्व गर्दा उनलाई दक्षिणपन्थी मतदाताहरूको दबाब सामना गर्नुपर्ने हुन सक्छ।
सोसलिस्ट पार्टी (PS)
मध्य-वामपन्थी सोसलिस्ट पार्टीले आप्रवासनलाई मानवीय र आर्थिक दृष्टिकोणबाट हेर्छ। पीएसका नेता पेद्रो नुनो सान्तोसले आप्रवासीहरूलाई पोर्तुगलको सांस्कृतिक विविधता र आर्थिक विकासको आधार मान्छन्। सन् २०१५ देखि २०२३ सम्म पीएसको सरकारले आप्रवासीहरूलाई नागरिकता र परिवार पुनर्मिलनको प्रक्रियालाई सहज बनाएको थियो। उनीहरूले यो नीतिलाई निरन्तरता दिँदै आप्रवासीहरूलाई शिक्षा र स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्ने योजना बनाएका छन्। तर, चेगाको बढ्दो प्रभावले पीएसलाई आफ्नो उदार नीतिलाई बचाउन चुनौती थपिएको छ।
चेगा (Enough)
दक्षिणपन्थी पपुलिस्ट पार्टी चेगाले आप्रवासनलाई आफ्नो मुख्य चुनावी मुद्दा बनाएको छ। पार्टीका नेता आन्द्रे भेन्चुराले अवैध आप्रवासनलाई पूर्ण रूपमा रोक्नुपर्ने र आप्रवासी कोटा लागू गर्नुपर्ने माग राखेका छन्। उनले इस्लामिक आप्रवासीहरूलाई “सांस्कृतिक खतरा” को रूपमा चित्रण गर्दै पोर्चुगलको पहिचान जोगाउन सीमा सुरक्षामा ठूलो लगानी गर्नुपर्ने बताएका छन्। चेगाले आप्रवासीहरूमाथि कडा नियम लागू गर्ने, नागरिकता प्रक्रियालाई जटिल बनाउने र शरणार्थी स्वीकार गर्न बन्द गर्ने नीति प्रस्ताव गरेको छ। यो कडा अडानले ग्रामीण क्षेत्रका मतदाताहरू र परम्परागत मूल्य मान्ने समुदायलाई आकर्षित गरेको छ। चेगाको यो कडा नीति केही मतदाताहरूका लागि आकर्षक भए पनि देशको उदार छविलाई चुनौती दिने देखिन्छ।
लिबरल इनिसिएटिभ (IL)
लिबरल इनिसिएटिभले आप्रवासनलाई आर्थिक अवसरको रूपमा हेर्छ। उनीहरूले पोर्तुगलको जनसंख्या घट्दै गएको र श्रमशक्तिको अभाव रहेको सन्दर्भमा आप्रवासीहरूलाई स्वागत गर्नुपर्ने तर्क राख्छन्। तर, उनीहरूले आप्रवासन नीतिलाई बजारको माग र आवश्यकतासँग जोडेर व्यवस्थित गर्नुपर्नेमा जोड दिन्छन्।
वामपन्थी दलहरू: ब्लक अफ लेफ्ट (BE) र कम्युनिस्ट पार्टी (PCP)
यी साना वामपन्थी दलहरूले आप्रवासी अधिकारको पक्षमा बलियो वकालत गर्छन्। उनीहरूले शरणार्थी र आप्रवासीहरूलाई सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने र उनीहरूमाथि कुनै भेदभाव नहुने नीति अपनाउनुपर्ने माग राखेका छन्। बीईले आप्रवासन नीतिलाई युरोपेली संघको मानवअधिकार सिद्धान्तसँग जोडेर हेर्छ भने पीसीपीले आप्रवासी श्रमिकमाथिको शोषण रोक्न जोड दिन्छ।
हालसम्म पोर्तुगलका मतदाताहरूले आप्रवासनलाई प्रमुख चुनावी मुद्दाको रूपमा हेरेका छैनन्। पोर्तुगलका मतदाताहरूले आप्रवासनलाई भन्दा आर्थिक र सामाजिक मुद्दाहरूलाई बढी प्राथमिकता दिएको देखिन्छ। Eurobarometerको सन् २०२४ को सर्वेक्षणअनुसार केवल ३% पोर्तुगलवासीले आप्रवासनलाई प्रमुख समस्याको रूपमा हेर्छन्, जुन युरोपेली संघको औसत २०% भन्दा निकै कम हो। यहाँका नागरिकहरू भ्रष्टाचार, कम ज्याला, स्वास्थ्य सेवाको अभाव र आवास संकटबाट बढी चिन्तित छन्। तर, चेगाले आप्रवासनलाई “खतरा” को रूपमा प्रस्तुत गरेर मतदाताहरूलाई ध्रुवीकरण गर्ने प्रयास गरिरहेको छ। यदि चेगाले २०२५ मा थप सिट जित्यो भने, उसले सरकार गठनमा निर्णायक भूमिका खेल्ने सम्भावना रहन्छ, जसले आप्रवासन नीतिमा कडाइ ल्याउनेछ।
पोर्तुगलको आगामी निर्वाचनलाई युरोपेली संसदको २०२४ को निर्वाचनको परिणामसँग पनि जोडेर हेरिएको छ। सो निर्वाचनमा दक्षिणपन्थी दलहरूले उल्लेखनीय सफलता हासिल गरेका थिए। चेगाले इटालीको माटेओ सल्भिनी, फ्रान्सको मारिन ले पेन (जो मार्च ३१ २०२५ मा युरोपेली संघ (EU) को कोषको दुरुपयोग गरेको अभियोगमा पेरिस अदालतबाट दोषी ठहर भएर आगामी पाँच वर्षसम्म कुनै पनि पदका लागि उम्मेदवारी दिन प्रतिबन्धित भएकी छिन ।) , र स्पेनको भोक्स पार्टीसँग सम्बन्ध विस्तार गर्दै दक्षिणपन्थी गठबन्धन निर्माण गर्ने रणनीति बनाएको छ। यस निर्वाचनको परिणामले पोर्चुगल दक्षिणपन्थी लहरसँग जाने कि आफ्नो उदार परम्परालाई कायम राख्ने भन्ने स्पष्ट गर्नेछ।
अन्तमा सन् २०२५ को पोर्तुगलको निर्वाचनले देशको राजनीतिक दिशा निर्धारण गर्नेछ। एडी र पीएसले सन्तुलित दृष्टिकोण अपनाइरहेका छन् भने चेगाले आप्रवासनबारे कडा नीति अघि सार्दै मतदाताहरूलाई ध्रुवीकरण गरिरहेको छ। यो निर्वाचनले केवल पोर्तुगलको सामाजिक र आर्थिक भविष्यलाई मात्र नभई युरोपभरि फैलिएको दक्षिणपन्थी लहरलाई समेत प्रभाव पार्नेछ। अब सबैको ध्यान मतदाताको निर्णय र नयाँ सरकारको नीतिहरूमा केन्द्रित रहनेछ।