दुई महिनाअघि टेक्सासको गारल्यान्डमा नेपाली युवा ३५ वर्षीय मनिष पाण्डेको हत्या लुटेराहरूको एक समूहद्वारा भयो । आफन्तको स्टोरमा क्लर्कको काम गर्दै आएका पाण्डेको हत्या काम सकेर स्टोर बन्द गर्दागर्दै मध्यरातमा भएको थियो । केही वर्षयता अमेरिकाका विभिन्न राज्यमा ग्याँस स्टोरमा काम गर्ने नेपाली युवाहरू लुटेराको निसानामा परेर यसरी नै अनाहकमा ज्यान गुमाउन बाध्य छन् । यस्ता ग्याँस स्टोरमा प्राय:जसो नेपालीले नै काम गरेको पाइन्छ । विशेष गरी यस्ता स्टोरमा नेपालीहरूले क्लर्कको काम गर्दै आएका छन् । यस्ता स्टोरमा एक्लै काम गर्नुपर्ने भएकाले पनि उनीहरू लुटेराहरूको निसानामा पर्ने गरेका हुन् । एकान्त स्थानमा सञ्चालनमा रहेका ग्याँस स्टोरलाई लुटेराहरूले ‘टार्गेट’ बनाउने गरेका छन् भने यस्ता अधिकांश घटना राति हुन्छन् ।
दुई वर्षअघि टेक्सासकै डेन्टनमा आफ्नै स्टोरमा काम गरिरहेको अवस्थामा समिरा शिवाकोटीको हत्या भएको थियो । ३० वर्षीया शिवाकोटीलाई लुटेराले दिउँसै गोली हानी हत्या गरेका थिए । हत्या गरिएको समयमा शिवाकोटीकी एउटी छोरी नौ महिना तथा अर्की छोरी तीन वर्षकी थिइन । पत्नी वियोगबाट पीडित उनका श्रीमान् नवराजको पनि झन्डै १४ महिनापछि टेक्सास नजिकैको राज्य ओक्लाहोमामा असमायिक निधन भएको थियो । सपरिवार अमेरिकामा व्यापार–व्यवसाय गरेर बसिरहेको शिवाकोटी परिवारलाई लुटेराहरूले तहस–नहस बनाइदिए । अहिले उनीहरूका अबोध नानीहरूको पालनपोषणको जिम्मा नवराजका दाजुको परिवारले लिएको छ ।
नेपालीहरूको बाक्लो बसोबास रहेको टेक्सास राज्यमा अन्यत्रभन्दा नेपाली, भारतीय एवं पाकिस्तानीहरूले सञ्चालन गरेका ग्याँस तथा फुड स्टोरको संख्या उल्लेख्य छ । नेपाली समाज टेक्सासका अनुसार टेक्सास क्षेत्रमा नेपालीले मात्र सञ्चालन गरेका ग्याँस स्टोरको संख्या १ हजारजति भएको अनुमान छ । बढ्दो स्टोरसँगै त्यसमा काम गर्ने कामदारहरूमा नेपालीको संख्या पनि ठूलै रहेको व्यवसाय सञ्चालन गर्दै आएका समाजका अध्यक्ष सुमन थापा बताउँछन् । थापा भन्छन्— ‘लुटेरासँग जोरी नखोज्ने हो भने ज्यान जाने सम्भावना कमै हुन्छ ।
थापाका अनुसार लुटेरा आएका बेला लुटेराको अनुहारमा नहेर्ने, हात माथि गरिदिने, रजिस्टर खुला गरिदिने र फोन नचलाउने जस्ता काम गर्ने हो भने धेरैहदसम्म ज्यान जोगिन सक्छ । यस्ता स्टोरमा काम गर्ने कति नेपाली मारिएका छन् भन्ने कुराको यकिन तथ्याङ्क भने कतै भेटिँदैन । स्टोरका अतिरिक्त एकान्त ठाउँमा पनि नेपालीहरू बन्दुकको निसानामा पर्दै आएका छन् भने चक्कु प्रहार गरेर हत्या गरिएका केही घटना पनि छन् ।
टेक्सासमै २००६ को एउटा घटनामा स्टोरमा लुटपाट गरेपछि लुटेराहरूले नेपाली युवा प्रकाश कोइरालाको शरीरमा आगो सल्काई हत्या गरेका थिए । यस्ता लुटेरामध्ये केहीले लुटपाट, कुटपिट गरेर छाड्छन् भने अधिकांशले हत्या नै गर्छन् । यस क्रममा हतियारले सुसज्जित लुटेरासँग भिड्न जाँदासमेत केही नेपालीले ज्यान गुमाउनुपरेको छ । स्टोरमा काम गर्ने नेपालीहरूलाई पेस्तोल देखाएर धम्काउदै कुटने–पिट्ने घटना नियमित भैरहे पनि ती घटनाका बारेमा सत्यतथ्य बाहिर आउँदैनन् ।
टेक्सासकै अर्भिङमा पोखराको २४ वर्षीय ज्वाला कार्कीलाई उनकै अपार्टमेन्टमा लुटपाट गर्ने क्रममा एक अश्वेत युवाले गोली प्रहार गरी घाइते बनाएका थिए । उनको उपचारका लागि नेपाली समाज टेक्सासले सहयोगसमेत संकलन गरेको थियो । प्रहरीले सार्वजनिक गरेका भिडियोमा त्यस्ता लुटेराको अनुहार समेत सार्वजनिक हुँदै आएको छ । यस्ता घटनामा संलग्नहरूमध्ये केही उमेर हदका कारण कारबाहीको दायरामा समेत आउँदैनन् । धेरै घण्टा काम गर्न पाइने र आम्दानी पनि सोहीअनुरूप हुने भएकाले ज्यान जोखिममा राखेर पनि नेपालीहरू ग्याँस स्टोरमा काम गर्न तयार हुन्छन् । पाँच महिनाअघि डिभी परेर अमेरिका आएका एक युवा पाकिस्तानीको ग्याँस स्टोरमा कार्यरत थिए । काम गरेको एक सातामै उनको जम्काभेट लुटेराहरूसँग भयो । ‘हात उठाएर नगद दिएपछि कञ्चटमा पेस्तोल तेर्साएर छाड्यो’ आफ्नो नाम उल्लेख नगर्ने शर्तमा उनले भने– ‘भाग्यले बाँचे ।’ उक्त घटनापछि उनले ग्याँस स्टोरको काम छाडेर अर्कै काम थालेका छन् ।
विशेषत: विद्यार्थीहरू पढाइ खर्च जुटाउन ज्यानको परवाह नगरी ग्याँस स्टोरमा काम गर्न विवश छन् । ‘लुटपाट र आक्रमणका घटना बढ्दो छ,’ लामो समयदेखि ग्याँस स्टोरमा काम गरेर अनुभव बटुलेका स्टोर म्यानेजर नेत्र पौडेल भन्छन्– ‘सतर्कता अपनाइएन भने अपराधीको निसानामा पर्न सकिन्छ ।’ उनले आक्रमणकारीहरूसँग लड्न र भिड्न नहुने बताए । लुटेरासँग जाईलाग्दा ज्यान जाने जोखिम बढी हुन्छ । झन्डै ३ लाख नेपालीको बसोबास रहेको अनुमान गरिएको अमेरिकामा बढीजसो नेपालले ग्याँस स्टोरसँगै खाद्य स्टोर, विभिन्न कम्पनी, रेस्टुराँ तथा सपिङ मलहरूमा काम गर्दै आएका छन् ।
अमेरिकामा बन्दुक राख्ने सहज कानुन तथा त्यसको जथाभावी प्रयोगले अपराधको ग्राफ पनि ह्वातै बढाइरहेको छ । यही बन्दुकको सहजताले ग्याँस स्टोरहरूमा लुटेराहरूलाई बन्दुक बोकेर जान सहज बनाएको पाईन्छ । अमेरिकामा यस्ता गोलीकाण्डको विरोध र त्यसको नियन्त्रणका लागी प्रदर्शनसमेत हँुदै आएको छ । विशेष गरी यहाँका विद्यालय, चर्च, कन्सर्ट तथा सार्वजनिक समारोहमा ठूला गोली काण्डहरू भएका छन् । हालै सार्वजनिक भएको एक तथ्याङ्कअनुसार अमेरिकी विद्यालयहरूमा ३२ वटा गोलीकाण्ड भएका छन्, जसमा सयांैले ज्यान गुमाइसकेका छन्
source saptahik
