काठमाडौं : दुवै खुट्टा नभएका ३८ वर्षीय हरि बूढा मगरले ६ हजार चार सय ७६ मिटर उचाइको मेरापिक हिमाल आरोहण गरी रेकर्ड कायम गरेका छन् । ६ हजारभन्दा माथिका हिमाल आरोहण गर्नेमा उनी दुवै खुट्टाविहीन पहिलो आरोही हुन् ।

हिमालयन स्की एन्ड ट्रेकमार्फत यही असोज ३ गते बिहान ९ बजे उनी हिमालको चुचुरोमा पुगेको आरोहण दल प्रमुख कृष्ण थापा मगरले जानकारी दिए । बेलायती गोर्खा सैनिक उनी लडाइँमा दुवै खुट्टा गुमाउनुपरेपछि परिवारसँग बस्दै आएका छन् । सन् २०१० मा अफगानिस्तानमा भिडन्त हुँदा बम लागेर उनले दुवै खुट्टा गुमाउनुपरेको थियो । खुट्टा नहुनेले हिमाल आरोहण गर्न सक्दैन भन्ने धारणालाई चुनौती दिन यस क्षेत्रलाई रोजेको उनले बताए । सन् २०१८ मा सगरमाथा आरोहण गर्ने उनको तयारी छ ।

‘गोर्खालीको नाम र सान छँदै छ’, उनले भने, ‘युद्धमा घाइते भए पनि अझै गोर्खालीको सानलाई माथि उठाउने लक्ष्य छ ।’ सगरमाथा आरोहण गरी सफलताका लागि उदाहरण बनेर शारीरिक अपांगता भएकाहरूको हितमा काम गर्ने उनले बताए । रोल्पामा जन्मिएका उनी सन् २००१ मा गोर्खा सैनिकमा भर्ना भएका थिए । उनी श्रीमती, एक छोरी र दुई छोरासहित लन्डनमै बस्दै आएका छन् ।
Source:annapurna Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय