प्रदेश नं-१ ओखलढुंगा जिल्ला, खिजीदेम्बा गाउँपालिका वडा नं-४ काती चर्नालुमा निर्माणधिन नाम्ड्रोल थार्पालिङ निर्माणकै क्रममा संचालन तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ।
वि.स २०७३ सालमा बैधानिक रूपमा जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा दर्ता प्रक्रिया पूरा गरी निर्माण कार्य शुभराम्भ गरिएको नाम्ड्रोल थार्पालिङ गुम्बा निर्माणकै चरणमा संघीय प्रतिनिधि सभा ओखलढुंगाका माननीय संसद यज्ञराज सुनुवारको प्रमुख अतिथ्यमा भव्य कार्यक्रम बीच गुम्बाको अनुगमन तथा संचालन गरिएको थियो ।
धार्मिक सामुहिक नृत्य मणि छ्योकुर पर्वको सुखद उपलक्ष्यमा तीन दिवसीय विश्व शान्ति पुजा कार्यक्रमकै अवसरमा एक कार्यक्रम आयोजना गरी गुम्बा संचालन तथा अनुगमन कार्य सम्पन्न गरिएको नाम्ड्रोल थार्पालिङ गुम्बाका अध्यक्ष ङवाङ थोचेन लामाले बताउनुभयो। अध्यक्ष लामाका अनुसार संसद विकास कोषबाट माननीय संसद यज्ञराज सुनुवारले ५ लाख,शकुन्तला राजभण्डारीले १ लाख र हर्कबोल राईले २ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग बाट गुम्बा निर्माणको कार्य सुरुवात गरी सहयोगी मनहरुको आर्थिक सहायताबाट गुम्बा निर्माण भएको जनाइएको छ।
नाम्ड्रोल थार्पालिङ गुम्बा संचालन, अनुगमन तथा धार्मिक सामुहिक नृत्य मणि छ्योकुर तथा शुभ दिपावली विशेष शुभकामना आदानप्रदान कार्यक्रममा संघीय प्रतिनिधि सभा ओखलढुंगाका माननीय संसद यज्ञराज सुनुवारको प्रमुख अतिथ्यता रहेको एक कार्यक्रममा खिजिदेम्बा गाउँपालिका उपाध्यक्ष सुशील तामाङको विशेष अतिथ्यताका सँगसँगै खिजिदेम्बा गाउँपालिका वडा नं-७ का वडाध्यक्ष भुपेन्द्र बहादुर बस्नेत,वडा -४ का वडाध्यक्ष कमल प्रसाद न्यौपाने,वडा,६ का वडा अध्यक्ष छत्र बहादुर तामाङ,वडा नं-२ का वडाध्यक्ष आङ काजी शेर्पा लगायत गाउँ कार्यपालिका सदस्य,वडासदस्य,समाजसेवी,सहयोगी,शुभचिन्तक,संस्थापक सहयोगी,बुद्धिजीवी,नागरिक समाज,सम्बन्धित सरोकारवाला,सुरक्षाकर्मी,संचारकर्मी र स्थानीय वासिन्दाहरुको बग्लो उपस्थिति रहेको थियोे। 
कार्यक्रम स्वागत मन्तव्य राख्दै वडा नं-४ का वडाध्यक्ष कमल प्रसाद न्यौपानेले खिजिदेम्बा वडा नं-४ को विकास गर्न सबै जिम्मेवारी जनताले आफ्नो काँधमा सुम्पिदिएकोले आफुले जनताको चाहना,आवश्यकता र मागलाई सम्बोधन गर्दै गाउँपालिका र प्रदेश्सभासंग सहकार्य र समन्वय गर्दै वडाको विकास र समृद्धिको सदैव अनवरत खट्ने बताउनुभयो।अध्यक्ष न्यौपानेले उपस्थित सम्पुर्णलाई शब्दरुपी फुलको गुच्छाबाट सबैलाई स्वागत तथा सम्मान गर्दै शुभ दिपावाली,छठ पर्व,ल्होसार लगायत सबैको पर्वको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै खिजिदेम्बा १ नं वडा देखि ९ सम्मको प्रतिनिधित्व गर्दै ७ नम्बर वडाका अध्यक्ष भुपेन्द्र बहादुर बस्नेतले खिजिदेम्बाको बिकासका लागि माथिल्लो तहको संसदको भुमिका अपरिहार्य भएको र खिजीदेम्बामा हुने बिकासका गतिविधिहरुलाई सक्दो सहयोग गर्न अग्रह गर्दै प्रतिनिधि सभाका संसदलाई ध्यानाकर्षण गराउनुभयो।अध्यक्ष बस्नेतले लिखु भुसिङ्गा सडक छिटोभन्दा छिटो कालोपत्रे र खिजी चण्डेश्वरीको निर्माणधिन हवाइमैदान तत्काल सुचारु गर्न अपिल समेत गर्दै खिजिफलाटे हुँदै हातेबन्से,ओखरबोट,श्रीचौर हुँदै ओखलढुंगा जोड्ने सडक छिटो जोड्न अग्रह गर्नुभयो। मन्तव्यकै क्रममा खिजिदेम्बा गाउँपालिका उपाध्यक्ष सुशीला तामाङले नाम्ड्रोल थार्पालिङ गुम्बाले खिजिदेम्बा गाउँपालिका समक्ष माग पत्र नआएको दावी गर्दै खिजिदेम्बा गाउँपालिकाले प्रदेश सरकार संग खिजिदेम्बाले माग पत्र पठाएता पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो।उपाध्यक्ष तामाङका अनुसार चुनावको समयमा मात्र दल बेग्लाबेग्लै भएता पनि अब चुनाव पछि दलको स्वार्थमा लागेर पक्षपात पुर्ण व्यवहार कसैले पनि गर्न नहुने बताउनुभयो।
कार्यक्रममा सबैको गुनासोलाई सम्बोधन गर्दै संघीय प्रतिनिधि सभाका माननीय संसद यज्ञराज सुनुवारले खिजोदेम्बाको बिकास मात्र नभई सिङ्गो जिल्लाको बिकास गर्ने जिम्मेवारी आफ्नो भएको दावी गर्दै अबको ५ वर्षमा जिल्लालाई “सुखी ओखलढुंगा,खुसी जनता” बनाउने विश्वास दिलाउदै खिजिदेम्बालाई समृद्ध र सुशासित बनाउन विशेष भुमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरै नाम्ड्रोल थार्पालिङ गुम्बाको लागि थप आर्थिक सहयोग गर्ने बताउनुभयो।संसद सुनुवारले आफू ७० सालमा संसद भएपछि खिजिदेम्बामा इलाका प्रशासन कार्यालय स्थापना गरेको र अब हजारौं लगत तिरेर जग्गा सम्बन्धि कारोबार गर्न ओखलढुंगा जाने समस्या अन्त्य भएको र खिजिफलाटेमा मालपोत कार्यालय भाडा लिइसकेको र अब छिट्टै मालपोत कार्यालय संचालन गरी आम नागरिक समाजको समस्याको समाधान गर्ने बताउदै लिखुभुसिङ्ग सडक स्तरन्नौती छिटोभन्दा छिटो गरिने जनाइएको छ।
कार्यक्रमका विशेष अतिथि संसद गुरुङ भने हेलिकप्टर उडानमा समस्या भएको कारणले कार्यक्रममा सहभागी हुन नसकेता पनि फोन मार्फत नै शुभ दिपावली,छठ पर्व,ल्होसार सबैको शुभकामना व्यक्त गर्दै गुम्बा निर्माणमा ५ लाख रुपैया सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो।कार्यक्रममा लाक्पागेल्बु शेर्पा,कमल कृष्ण तामाङ लगायतले आफ्नो मन्तव्य राखेका थिए।कार्यक्रम गुम्बा निर्माण गर्दा लागेको लगत खर्चको आर्थिक प्रतिवेदन गुम्बाका कोषध्यक्ष आङ दावा शेर्पाले रु ४० लाख बराबरको आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै सबै सहयोगी,शुभचिन्तक,समाजसेवी, बुद्धिजीवी सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो।धार्मिक सामुहिक नृत्य मणि छ्योकुर कार्यक्रममा लामा छ्याम सहित शेर्पा समुदाय,गुरुङ समुदाय,तामाङ समुदाय र सुनुवार समुदाय लगायतले आफ्नो सांस्कृतिक झाकी प्रस्तुत गरेका थिए।