सोलुखुम्बु, असोज ११ । सोलुखुम्बुको माथिल्लो क्षेत्रमा भालुको बिगबिगी बढेको छ । भालुको बिगबिगी बढेसँगै स्थानियको दैनिकी समेत कष्टकर बन्दै गरेको छ । मकै पाक्ने यो सिजनमा भालुको त्रासका कारण दैनिक कामकाज तथा साझँ विहान हिड्डुल गर्न समेत समस्या भएको स्थानिय मिङमार शेर्पाले बताउनुभयो ।
भालुको आक्रमणबाट चालु आर्थिक बर्षको ३ महिनामा ४ जना घाईते भएका छन् । घाईते हुनेहरुमा सोलुदुधकुण्ड नगरपालीका ३ लोदिङका ४२ बर्षिय माया शेर्पा, माप्यदुधकोशी गाउँपालीका ३ का ६६ बर्षिय धिरेन्द्र राई, महाकुलुङ गाउँपालीका ३ का ३१ बर्षिय सुजन कुलुङ र सोलुदुधकुण्ड नगरपालीका १ टाक्सिन्दुका ७५ बर्षिय पासङ शेर्पा रहेका छन् । उनीहरु चारै जना अहिले पनि उपचार कै क्रममा रहेको आफन्तले बताएका छन् । चालु आर्थिब बर्षमा घाईते हुने मध्ये श्रावण महिनामा सबै भन्दा बढि रहेका छन् । श्रावणमा ३ जना र असोजमा १ जना गरी ४ जना भालुको आक्रमणमा परी सख्त घाईते भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।
अघिल्लो वर्ष भालुको आक्रमणबाट घाईते भएका नौ जनालाई डिभिजन बन कार्यलय सोलुखुम्बुले रहात रकम वितरण गरेको थियो । भालुले सताउन थालेपछि यहाँका स्थानीयले मार्न पाउनुपर्ने या सुरक्षाको ग्यारेण्टी हुनुपर्ने मागसमेत राख्दै आएका छन् । जिल्ला प्रशासन कार्यालय, नगरपालिकामा समेत लिखितरूपमा निवेदन दिँदै भालु नियन्त्रणका लागि माग गरेका हुन्् । अन्नबाली सखाप पारिदिनुका साथै मानिसलाई समेत आक्रमण गरेपनि सुरुक्षा नभएको गार्माका चन्द्रमाण श्रेष्ठले बताउँनुभयो । सामुदायिक बन हुदै जिल्ला बन डिभिजन, जनप्रतिनिधी तथा प्रशासनलाई समेत किसानले भालु नियन्त्रणका लागी लिखितरुपमा आग्रह गरेका छन् । तर वन ऐनअनुसार वन्यजन्तुलाई कुनै पनि बहानामा सिकार गर्न पाइँदैन । त्यसैले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्दे्शिका, दोस्रो संशोधन, २०७४ अनुसार वन्यजन्तुले आक्रमण गरी सामान्य घाइते बनाएमा २० हजारसम्म, सख्त घाइते बनाएमा दुई लाखसम्म र मृत्यु भएमा मृतकको हकवालालाई १० लाखसम्म राहत उपलब्ध गराउने प्रावधान छ । तर स्थानियले भने क्षतिपुर्ती भन्दा भालु नियन्त्रण नै गर्नु पर्ने माग राखेका छन् ।