शेर्पा सञ्चार समूह नेपाल ओखलढुंगा र शेर्पा विद्यार्थी संघ उपशाखा खिजि देम्बाको संयुक्त आयोजनमा खिजिदेम्बा गाउपलिका भित्र शेर्पा हरुको बाक्लो बस्ती रहेको स्थान हरुमा शेर्पा समुदायहरुमा लोपोन्मुख अवस्थामा रहेको चाड लोसार पुलुक संरक्षण गरि पछिल्लो पुस्तामा हस्तान्तरण गर्ने हेतुका साथ पहिलो पटक भब्यताको साथ मनाएको छ ।
भोट चन्द्र पात्रो अनुसार नवौं महिनाको पूर्णिमामा मनाउने यो चाँड विशेष गरी परापूर्वकालदेखि समूह–समूह बनाएर अन्न, दान संकलनको लागि छरछिमेकको घरमा गएर नाचगान गर्दै मनाईछ । आफ्नो घरमा आउनु भएका अन्न, दान संकलकहरूलाई अन्न चढाउने पर्व भएकोले यस पर्वलाई लोतोक बुबुप अर्थात् अन्न चढाउने पर्व भनेको कथान रहेको छ । तर लोतोक बुलुप शब्द अपभ्रंश भएर लोसार पुलुक भएको हुन सक्ने शेर्पा भाषा विज्ञहरूको भनाई रहेको छ ।

परापूर्वकालमा घरमा अन्न माग्नु आउनेहरूलाई विशेष प्रकारले स्वागत (सुछाङ) गरेर अन्न चढाउने र सो संकालन गरिएको अन्नलाई विभिन्न परिकार भनाई सामूहिक रुपमा नाचगान रमाईलो गर्दै खाने परम्परा रहेको पूर्खहरूको भनाई रहेको छ । घर–घरमा गएर मंगल कामनाको पाठ गर्दै शुरु गरेर यसै परम्परासँग सम्बन्धित गीत गाउँदै माग्ने गर्दछ । घर मालिकले आफ्नो घरमा पाल्नु भएका पाहुनाहरू सबै जनालाई खादा लगाई स्वागत गरी आफ्नो गच्छे अनुसार दान दिने गर्दछ । घर मालिकले दान दिएपछि अर्शिवाद र शुभकामना दिने यसको छुट्टै मौखिल परम्परा रहेको छ । अन्तमा खुश्यालीका साथ परम्परागत नाचगान गर्दै यो पर्व मनाउँने गरेको पाईन्छ ।

लोसार पुलु सोलुखुम्बु जिल्लाको माथिल्लो भेग खुम्बु क्षेत्र त्यसैगरी दोलखा जिल्लाको उत्तरी भेगको बिगु गविस ,संखुवसभा जिल्लाको केहि भेगका शेर्पा समुदायहरुमा मनाउदै आएको भेटिएको छ । हाल काठमाडौंमा पनि विभिन्न शेर्पा समुदायसँग सम्बन्धित संघसंस्थाले लोसार पुलु मनाउदै आएको पाइन्छ ।